गाउँ हेर्दै परदेशी संझिदा रोएको मन
-रुपेन्द्र कर्माचार्य,
रत्ननगर, चितवन
आज म त्यस ठाउँमा पुगें, जहाँ म संधै पुग्थें । सुन्दा अचम्म लाग्ला । मेरो बिहान सबेरै उठेर दौडने बानी छ । टाँडी बजारबाट दक्षिण तर्फजाने पक्की बाटो हुँदै लगभग ४ कि.मी. दौडेर भिम बहादुर चोकसम्म पुग्छु । गन्तब्यमा झिसमिसे मै पुग्ने भएकोले त्यो ठाउँ राम्ररी हेर्न नपाएको पनि धेरै दिन भएको थियो । चकमन्न अँध्यारोलाई चिर्दै बिजुलीको कृतिम प्रकाशमा बाटो वरपरका चिजविजहरु मात्र धुमिल आकृतिमा देखिन्थ्यो । धेरै दिनदेखि लागिरहेको थियो, त्यो ठाउँमा दिउ“सो पुगेर राम्ररी हेर्न पाए हुन्थ्यो ।
बजारको धुवाँ, धुलो र कोलाहललाई चिर्दै म गाउँतिर लागें । ओ हो अहिले त गाउँघरको रौनक नै बेग्लै छ । सरर्र हावा चलिरहेको छ । वातावरणमा मिठो महक छ । मनै रमाउने गरी बेली, चमेली र सयपत्री फूलहरुको सुगन्ध हर्रर फैलियो । केही पर पुगे पछि छुट्टै बासना नाकमा ठोक्कियो। बाटोको दायाँतर्फ पारिजातको रुखबाट मसिना सेता फूलहरु टप्प टप्प झरिरहेका थिए । कार्तिकको चिसो । नेपालीहरुको रमाइलो चाड तिहारको बेला । मौसम सफा, स्वच्छ र शान्त भएको समय । गाउँघर साँच्चै रमणिय हुँदोरैछ ।
चारैतिर धानका पहेंला फाँट देखिन्छ । सुनौला धानका बालाहरु हावाको वहाव सगै लहलह झुलिरहेका छन् । कहीं मकैका हरिया बारी छन् त कतै केरा वगान । मानिसहरु खेतिपातीमा मग्न छन् । कोही धान काट्दै छन् । कोही मुठा बान्दैछन् भने कोही धानको मुठा ओसार्दैछन् । धेरै जसो लोग्नेमान्छेहरु धान झाँट्दैछन् । छङ छङ बज्ला जस्तो सुनौला धानका दानाहरु बोरामा भर्दैछन् । एकजना बुढा धानको मुठालाई गोलाकार मिलाएर चाङ लगाउँदै कुन्यु बनाउँदैछ थिए पछि झाँट्नको लागि । म धान झाँटिरहेको ठाउँमा पुगें । धानको राग आइरहेको थियो । महक बेग्लै थियो ।
भरखरै धान काटिएको ठाउँमा ट्राक्टरले जोतिरहेको थियो । जोत्दै गर्दा माटाका डल्लाहरु फक्क फक्क फुट्दै थिए । मलाई माटोसँग खेल्न मन लाग्यो । हातमा माटोको डल्ला लिदै खेलाउन थालें । माटोको आफ्नै सुगन्ध थियो । मैले सोचें, धर्ती माताले आफ्नो विशाल छातीमा यसरी अन्न उब्जाएर आफ्ना करोडौं सन्तानलाई भरण पोषण गर्दैछिन् ।
गाउँ चहार्दा चहार्दै म भिम बहादुर चोक आइपुगेछु, मेरो गन्तब्य स्थान । साँच्चै यो ठाउँ त रमाइलो रहेछ । मलाई अझ पर जाने रहर जाग्यो, तर समय अभावले जान सकिन । धेरै जसो ठाउँमा धान काट्ने, झाँट्ने, थन्क्याउने काम बाहिरी कामदारहरुले गरिरहेको मैले देखें । मन खिन्न भयो । यस बारे बुढा मान्छेसँग सोधें । “धेरै जग्गा जमिन हुनेहरु बाहिरी मान्छेहरु खोजेर काममा लगाउँछन् ।” मलाई थाहा छ, धानको विउ राख्दा, विउ उखेल्दा, गह्रा सम्याउँदा, धान रोप्दा अनि गोडमेल गर्दा हामी सबै दाजुभाई, दिदीबहिनी र छरछिमेक मिलेर हिलो छ्यापाछ्याप गदै, असारे भाकामा गित गाउँदै, दही चिउरा खाँदै रमाइलो गर्दै काम गर्र्छौ । बर्षौ मेहनत गरेर उब्जाएको अन्न यसरीनै सबै जना मिली काम गरेर भकारीमा थन्क्याउन पाए झन् कति मज्जा हुन्थ्यो । आफूले दुःख गरेर कमाएको पैसा बाहिर पनि नजाने, सँगै काम गर्दा दाजुभाई, छरछिमेकमा आत्मियता पनि बढ्ने र रमाइलो पनि हुने ।
गाउँबाट फर्किने क्रममा बाटो भरि सोचिरहें, हाम्रो आफ्नै घरमा यति विघ्न काम रैछ, फेरि हामी किन विदेशमा काम गर्न लायलित छौं ? त्यसो त मानिसका आ–आफ्नै समस्याहरु होलान । तर विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाए त यहीं पनि राम्रो हुन्छ जस्तो लाग्यो । सुन फल्ने माटो त यहीं पनि छ । आफु मालिक बन्न छाडेर विदेशीको दासत्व स्विकार गर्न जाने होड चलेको देख्दा मन रोइरह्यो ।
(अब हाम्रो भेट तिहारपछि हुनेछ । तपाईहरुको तिहार सुखमय रहोस-नेपलप्लस) ।