विदेशी नागरिक सुजाता कसरी नेपालको परराष्ट्र मन्त्री ?
-प्रमोद पौडेल
नेपालको कानुनले अहिलेसम्म दुई वटा नागरिकता लीन छुट दिएको छैन । यदि कसैले कुनै विदेशी मुलुकको नागरिकता लिइसकेको छ भने उसको नेपाली नागरिकता स्वत: रद्द हुन्छ । महिलाको नामबाट नेपाली नागरिकता पाउनुपर्ने र नेपाली महिलासित बिहे गर्ने विदेशीले नेपाली नागरिकता पाउनुपर्ने माग र बहस चलेपनि कानुनले अहिलेसम्म दिएको छैन ।
त्यसको अर्थ कुनै नेपाली महिलाले विदेशी केटोसित बिहे गरि भने उ लोग्नेको घर जानुपर्छ । त्यसैले, जर्मन नागरिक जोस्टसित बिहे गर्ने सुजाता कोइराला नेपाली भन्दापनि जर्मन नागरिक हुन् भन्ने धेरैको तर्क छ । नेपाली कानुन अनुसार विदेशी केटोसित बिहे गरेकी सुजाता कसरी नेपाली नागरिक भइन् । किनभने विदेशी नागरिकसित बिहे गर्नासाथ उनको नेपाली नागरिकता स्वत: खत्तम हुन्छ भन्ने तर्क गर्छन् धेरैले । त्यसैले, उनी विदेशी नागरिक हुन् कानुन त । विदेशी नागरिकलाई के नेपालमा मन्त्री बन्ने छुट छ ?
२०४५ सालको जन आन्दोलन सफल नहुन्जेल सम्मपनि सुजाता कोइराला (जोस्ट) आफ्ना जर्मन पत्नी सँगै जर्मनीमा थिइन् । राजनीतिमा उनको कुनै संलग्नता देखिएको थिएन । सक्रिय पञ्चायती व्यवस्थालाई ढालेर बहुदलीय व्यवस्थामा ल्याउन निकै नेपालीले ज्यान दिए, मेहनत गरे । उनी त्यो कठिन परिस्थितिमा विदेशमा बसिन् । जब देशमा बहुदलीय व्यवस्था आयो तब सुजाता आफ्ना बाउ गिरिजा प्रसाद कोइरालाको शक्ति प्रयोग गरेर राजनीतिमा टुप्लुक्क देखा परिन । एकाएक कांग्रेस राजनीतिमा उदाइन् । बाबुको पहुँचलाई नगद गरेर भ्रष्टाचारका अनेक गाथा बुनिन् । लाउडा काण्ड र धमिजा काण्डमा करोडौँ करोड भ्रष्टाचारका कथा रचिन् । तर बाउको पहुँचको अगाडि कसैले केही छुन सकेन ।
फेरी देशमा राजतन्त्र फाल्ने दोस्रो जन आन्दोलन भयो । आन्दोलन निष्कर्षतिर पुग्दै गर्दा व्यापक दमन र धरपकड गर्यो ज्ञानेन्द्र सरकारले । थुप्रै नेता बन्दी बनाइए । सयौंले यातना पाए । त्यही बेला सुजाता भने जन आन्दोलनलाई छोडेर भाग्दै भारत पुगेकी थिइन त्यहाँबाट उम्किन । जब अलि सहज स्थिति बन्यो देशमा अनि फेरी उनको सक्रियता चुलियो । गणतन्त्र ल्याउन अनेक यातना खपेका, प्रजातन्त्रका लागि ज्यान फालेकाहरुको स्थिति दयनीय रह्यो । तर सुजाता पुगिन सत्ताको माथिल्लो सिँढीमा । यहाँपनि आशीर्वाद उनै पिता गिरिजाको थियो । उनको चुरीफुरी र लूट अहिलेसम्म कायम छ । मेशिन रिडेबल पासपोर्ट काण्डमा भ्रष्टाचारका लागि झन्डै उनले नेपालको राष्ट्रियता भारतलाई सुम्पिन लागिसकेकि थिइन् । विदेशीसित बिहे गरेको । उतै बालबच्चा पाएको । नेपाली नागरिक बन्न नपाउने व्यक्तिले जस्तो मनपरी पनि गर्न पाउँछ ?
सुजाता स्वयं विदेशी नागरिक हुन् । जर्मन लोग्नेबाट जन्मिएकी उनकी छोरी यसैपनि नेपाली होइनन् । जर्मन नै हुन् । उनको ज्वाइँ झन् बंगलादेशी नागरिक । विदेशी नागरिक भैसकेकि सुजातालाई नेपालको कुन कानुन अनुसार परराष्ट्र मन्त्री बन्ने छूट मिलेको हो । आफैँ विदेशी भएर उल्टो आफ्नी विदेशी छोरी र विदेशी ज्वाईलाई कुन हैसियतले नेपालमा राखेकी छन् सुजाताले ? के त्यसको छानबिन हुनु पर्दैन ? विधिको शासनको कुरा गर्ने नेपाली कांग्रेसले जवाफ दिनुपर्छ- कुन आधारमा विदेशी नागरिक सुजाता जोस्ट नेपालको परराष्ट्र मन्त्री बनेकी हुन् ?
अहिले आम नागरिकले भनिरहेका छन्- सुजाता नेपाले नागरिक होइनन् । उनको छानबिन गरिनुपर्छ । के अब नेपाली कांग्रेसको त्यो नैतिकताभित्र पर्दैन सुजाताको नागरिकता के हो ? उनी कुन देशकी नागरिक हुन् भन्ने छानबिन गर्नु ? विदेशीलाई नेपालमा परराष्ट्र मन्त्री बनाएर उसले विधिको शासनको वकालत गर्ने ? कानुनी राज्यको कुरा गर्ने ? यी विदेशीहरू नेपाललाई ठग्न आएका हुन् । नेपालको बारेमा चिन्ता र हित चाहेको भए सुजाताले किन नेपालीसित बिहे गरिनन् । किन नेपालमा जब राजनीतिक संकट हुन्छ त्यो बेला भाग्छिन् । किन आफ्नी छोरीलाई विदेशीसित बिहे गराइन् ? किन कहिल्यै नेपालको राष्ट्रियताको बारेमा चिन्ता गर्दिनन् ? विदेशी लोग्ने, विदेशी ज्वाइँ चाहिने भए बस्ने चाहिँ नेपालमा किन ? यी सारा नेपाललाई कंगाल बनाउन, लुट्न बसेका हुन् । र त्यसको संरक्षक नेपाली कांग्रेस पार्टी बनेको छ ।
यदि नेपाली कांग्रेसले त्यसको वास्ता गर्दैन भने आम सचेत नेपाली नागरिकहरू उठ्नुपर्छ त्यसका विरुद्ध । यी विदेशी सुजाता कोइराला, उसकी विदेशी छोरी मेलानी र ज्वाइँ रुबेललाई तत्कालै नेपालबाट लघार्नुपर्छ । तिनलाई नेपालको कानुन उल्लंघन गरेबापत पक्राउ गरेर कारबाही गर्नुपर्छ । यी विदेशीलाई नेपालका बारेमा बोल्दै हिँड्ने के अधिकार ?
(ब्यक्त बिचार लेखकका नीजि हुन् । यस लेखमा नेपालप्लसको पूर्ण समर्थन र पूर्ण विरोध दुबै छैन-नेपालप्लस) ।




