भेडा भन्दा’नी मूख पार्टी कार्यकर्ता त

नेपालमा कहिल्यै छ कुनै वस्तुको मूल्य घटेको ? जुनसुकै सरकार आओस् । जुनसुकै सरकार जाओस् । सधैँ मूल्य ब्रिद्दी भएको छ । २०४६ साल अघि राजतन्त्रको एकलौटी शासनकालमा पनि वस्तु मूल्य मनपरी बढेकै हो । त्यसैको आलोचना गरेर, हामीले यसो गर्छौं र उसो गर्छौं भन्दै गुलियो चटाएर नेपाली कांग्रेस र एमालेले जनताको समर्थन बटुले । भोट मागे । सरकारमा गए । तर भयो के ? पञ्चायती कालमा भन्दा दशौं गुणा मूल्यब्रिद्दी भयो । काला व्यापारीका लागि खुदो । ब्रम्हलूट । मनपरी । जनतालाई महँगीको मार ।

पञ्चायती कालमा त्यति बेलाको माले (अहिलेको एमाले), नेपाली कांग्रेस लगायतका दलसित मिलेर त्यसको विरोध गरे पार्टी कार्यकर्ताले । पछि एमाले र कांग्रेसले सरकार बनाए । तर झन् बढ्यो महँगी । रातारात करोडौँ करोड भो भ्रष्टाचार । तैपनि कार्यकर्ता चुप्प । पालो आयो विरोध गर्ने माओवादी र राजावादी पार्टीहरूको । दशकौं राज्य चलाउँदा राजतन्त्रले गरेको महँगी र अत्याचार अनि भ्रष्टाचारको ख्याल गरेनन् राजावादी पार्टीका कार्यकर्ताले । कांग्रेस र एमालेको विरोधमा उत्रिए । अब आयो माओवादीको पालो ।

संविधान सभाको निर्वाचन अघि माओवादी नारा थियो- महँगी घटाउने । जनतालाई राहत दिने । भ्रष्टाचार छानबिन गर्ने । भ्रष्टाचारीलाई कारवाही गर्ने । तर सक्यो त ? उल्टो माओवादीकै पालामा पनि ब्रिद्दि भयो वस्तुको मूल्य । बढ्यो इन्धनको भाउ । त्यो बेला एमाले र कांग्रेसका कार्यकर्ता खुब उफ्रिए । आफ्नो पार्टीले दशक भन्दा बढि लुटेको । जनताको टाउकोमा गिर खेलेको भुले । कति सम्म भने लोडसेडिङ भयो भनेर कांग्रेसको भात्रि संगठन नेवीसंघले नाराजुलुस समेत गर्‍यो । लोडसेडिङ अहिले कांग्रेस र एमाले सरकारले झन् बढाउँदै लगेको छ । अहिले ती चुपचाप ठीक मानेर बसिरहेका छन् ।

अहिले माओवादी बाहिर छ । उसले इन्धनको मूल्य ब्रिद्दीको चर्को विरोध गरेको छ । यो सरकार अपराधी, जनबिरोधी के के भनिरहेको छ । सडक संघर्षको घोषणा गर्दै छ । हिजै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले मूल्य ब्रिद्दिका विरुद्ध राँके जुलुस निकाले । तर के राजाले जनतालाई सुख दिएका थिए ? सहुलियत दिएका थिए ? त्यति बेला किन बोल्न नसकेका ? हिजो माओवादीले जनतालाई ख्वात्तै वस्तुको मूल्य घटाएर सुविधा दिएका थिए त ?

आजसम्म कुनैपनि सरकारले मूल्य घटाएको छैन । जनतालाई राहत दिएको छैन । तर आफू समर्थक दलले बढाउँदा चुप्प बस्छन् किन ? विरोधी दल सरकारमा रहेको बेला बढ्यो भने राँके जुलुस गर्ने । रेलिङ भाँच्ने । सरकारी गाडी तोड्ने । सरकारी भवनमा आगो झोस्ने । अनि आफ्नै धन सत्यानाश पारेको केही दिनपछि शान्त हुने । आफ्ना नेताहरूलाई हैन ए तिमीहरूपनि सरकारमा गएका थियौ किन घटाएनौ त मूल्य ? किन बढाको तिमीहरूले चाहिँ मूल्य भनेर किन सोध्न नसकेका होलान् ?

सरकारबाट बाहिर हुँदा छटपटी हुन्छ नेतालाई । अनि सरकार कसरी गिराउँ । कसरी जनताको आँखामा छारो हालौं ? कसरी सरकारलाई अलोकप्रिय बनाएर ढालौं । जनताका अगाडि असल देखियौं भन्ने चिन्ता । त्यसैको लागि निहुँ चाहिएको हुन्छ । अनि कार्यकर्ता तिनका विगतका कामको मूल्यांकननै नगरि काँधमा पार्टी झण्डा र हातमा राँको, लाठी अनि ढुंगा मुढा बोकेर लाग्छन् जुलुसमा । आफू समर्थक दलले चाहिँ देश नै बेचेपनि सहि ? किन यति साह्रो अन्ध समर्थक भएका हँ पार्टी कार्यकर्ता ? के पार्टी कार्यकर्ता भनेका भेडा भन्दापनि मूर्ख हुन्छन् कि के हो ? (तस्विर: नागरिक न्युज)

तपाइँको प्रतिक्रिया