क्रान्तिको रणभूमिबाट बुवा आमालाई पत्र

सरिता खनाल / कपिलवस्तु

आदरणीय बुवा आमा

क्रान्तिको रणभूमिबाट यो क्रान्तिकारी छोरीको लाल सलाम ! सन्चो बिसन्चोको खबर त तपाईंहरुले देशलाई हेरेर थाहा पाउनु हुनेछ । जति बेला  देश रुन्छ त्यति बेला छोरी दुखी हुन्छे र जति बेला देश हाँसेको हुन्छ त्यति बेला छोरी खुशी हुन्छे ।   खास लेख्न पर्ने त केही पनि थिएन । तैपनि जनयुद्धमा लागेकी छोरीको यादले सतायो  होला भनी यो पत्र लेख्दै छु । बुवा आमा मेरो चिन्ता लिनु पर्दैन । म त तपाईंहरुको मुक्तिको लागि हिँडेकी मरेपनी मुक्तिकै लागि सहिद ।  बाँचेपनि मुक्तिकै लागि सदा तत्पर ।

यो पत्र हात परेपछि निश्चय पनि शिक्षित व्यक्तिको खोजीमा हिँड्नुहुनेछ  चिठ्ठी बाचिदेउ न भन्दै । चिठ्ठी सुन्ने क्रममा मेरो सम्झनाले  मुटुमा गाँठो अवश्य पर्ला । तर आँसु झारी आफूलाई कमजोर पार्ने काम नगर्नू होला । किनकी मैले  इतिहास तपाईंहरुको मुखबाट सुनेकी हुँ र आज हामी तपाईंहरुले बसालेको जगमा इँटा थप्दै हिँडेका छौं । उमेरको कारणले  काममा खट्न नसकेपनी हाम्रो प्रेरणाको स्रोत हुनुहुन्छ  तपाईंहरु । हामी इतिहासको सम्मान गर्ने छौं ।

तपाईंहरुको प्रेरणाले आज हामी  सामन्तवादी र साम्राज्यवादी आर्थिक राजनैतिक र सांस्कृतिक संरचनाका विरुद्ध महान् विद्रोहका रूपमा सञ्चालित सशस्त्र जनयुद्ध  अँगालेका छौं । हामीले सामन्ती निरंकुश राजतन्त्रका विरुद्ध केन्द्रित क्रान्तिकारी सर्वहारावादी आन्दोलन ०४६/४७ को आंशिक लोकतान्त्रिक परिवर्तन पछि शिथिल र यथास्थितिवादको पृष्ठ‍ठपोसक बन्दै  गएपछि र देशमा सामन्तवाद र साम्राज्यवाद विस्तार वादको उत्पीडन यथावत्  रहेपछि आमूल क्रान्तिकारी परिवर्तनका लागि सशस्त्र  जन युद्धको थालनी गरेका छौं ।

बुवा,

जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ भन्ने सार्वभौम सिद्धान्त अनुरूप नै प्रतिकृयावादी राज्य संस्थाको भीषण र अमानवीय दमनको परिणाम स्वरूप विद्रोहको गोलबन्द आव्हान गरी सामाजिक न्याय समानता र स्वन्त्रताको लागि सर्वश्रेष्ठ मानव जीवनको बलिदान गर्ने हजारौं क्रान्तिकारी योद्धाको रगतले रंगिएको नेपाली इतिहासको गाथा लेख्ने क्रममा यो रणभूमिमा प्रतिबद्ध छौं । बुवा आमा तपाईंहरुको आशा, इच्छा, आकांक्षा बमोजिम तपाईंहरुको पृष्ठभूमिलाई अँगालेर तपाईंहरुकै संघर्षलाई कदर गर्दै आज हामी इतिहासको सम्मान गर्न लागिपरेका छौं । संघर्षले पाको हुनुभएको तपाईंहरुलाई नेपालको राजनैतिक पृष्‍ठभुमी  त अवगतै छ । तपाईंहरुको सिंगो जीवनपनि त एउटा क्रान्तिकारी जीवन्त उपन्यास  हो ।

बुवा आमा,
यति बेला हाम्रो पार्टी जीवन मरणको  दोसाँधमा छ । देशभित्रको  सामन्तवाद दलाल तथा नोकरशाही  पुँजीवाद र अन्तर्राष्ट्रिय साम्राज्यवाद खास गरेर अमेरिकी साम्राज्यवाद हामीहरूलाई समाप्त पार्न जिउ ज्यान कसेर लागेका छन् । देशभित्रको सामन्तवाद र त्यसको राजनैतिक प्रतिनिधि राजतन्त्र मात्रै हुँदो हो त हामीले उहिले परास्त  गरिसक्ने थियौँ । तर त्यसको पछाडिको साम्राज्यवाद र विस्तारवाद हाम्रा अगाडि ठूलो चुनौतीको रूपमा खडा छन् । नेपालमा विदेशी चलखेल निक्कै बढेको छ । राष्ट्र र राष्ट्रियता जोगाउने जिम्मापनि अब हाम्रो क्रान्तिकारी पार्टीको काँधमा आएको छ । नेपालको शिरदेखि पाउसम्म परराष्ट्रले ढाकेको छ । राष्ट्रिय उत्पादन विदेशी सामानहरूको  सगरमाथा मुनी दबिएका छन् । राष्ट्रियता राष्ट्रिय अर्थतन्त्रमा आधारित  छ । त्यसका लागि कृषि क्रान्ति गर्नु, राष्ट्रिय औद्योगिक क्रान्ति गर्नु आवश्यक छ । तर बुवा राजनैतिक क्रान्ति सम्पन्न नभै आर्थिक क्रान्ति सम्भव छैन । त्यसैले हामी यति बेला राजनैतिक क्रान्ति गरिरहेका छौं ।

आमा ,
तपाईंका शब्दहरूमा क्रान्तिको बुलन्द आवाज थियो । आज पलपलमा ती आवाज मेरा मस्तिष्कमा गुन्जिरहेछन् । महान् रूसी उपन्यासकार गोर्कीको विश्व प्रसिद्ध उपन्यास आमाको पात्र पावेलकी आमा जस्ताइ हुनुहुन्छ तपाइ । हामी तपाइलाई क्रान्तिकी आमा भनेर सम्मान गर्छौ । आमा, विदेशी वेश्यालयमा नारी अस्मिता बेच्ने यो असमान र अपराधपूर्ण राज्यसत्ताको विरोधमा हामी छौं । हेपिएका र चुलो चौकोमा सीमित महिलालाई घरको चार पर्खालबाट बाहिर निकाल्न प्रयत्नरत छौं । श्रीमतीलाई पैसा कमाउने वा मनोरञ्जनको साधनका रूपमा हेर्ने, चुलो चौकोमा प्रवेश नगरि बच्चा स्याहार्न हात फोहोर नगर्ने सामन्ती क्रूर अधिनायकवादी पुरुषका बीच  पनि आवाज उठाएका छौं । नारीलाई वैँशको उन्मादमा मात्र भोग गर्ने पित्रीसत्ताका भद्दा र कुरूप अभियन्ताहरूलाई परास्त गर्दैछौ । महिलालाई एउटा सामन्त सिल्ली किसानले झैँ भोग्न चाहने, महिलाकै काँधमाथि चढेर दुनियाँसामु आफू अग्लिन चाहने अधम र लम्पटहरूलाई आज क्रान्तिकै माध्यमबाट पाता कसेर सिस्नुघारिमा फ्याँक्दैछौं ।

बुवा आमा,
हाम्रो क्रान्ति नेपालको आफ्नै विशेषता र विशिष्टता अँगालेको विश्वका अन्य देशका गणतान्त्रिक क्रान्तिको सारलाई नेपाली माटोमा मिलाइएको जातीय, क्षेत्रीय, लैंगिय, आर्थिक, धार्मिक र वर्गीय समानता सहितको नयाँ जनवाद र समाजवाद उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रात्मक क्रान्ति हो । सामन्ती आर्थिक सामाजिक र सांस्क्रितिक सम्पत्ति सम्बन्ध समाप्त गरी पुँजीवादी सम्पत्ति सम्बन्ध स्थापित गर्ने क्रान्ति हो ।

अन्त्यमा बुवा आमा,
महा विनाशकारी हतियार निर्माण गर्ने, युद्ध थोपर्ने र हतियारको व्यापार गर्ने उदारीकरण र विश्वव्यापीकरणको नाममा प्राकृतिक विश्व सम्पदामाथि कब्जा जमाउने दुनियाँ भरीका देशको मालिक बनेर दादागिरी चलाऊने सामन्ती साम्राज्यवादी देशको चलनले आज हाम्रो देश ठूलो संकटमा परेको छ । नेपाल भूगोल र भूराजनीतिक दृष्‍टिले अत्यधिक संवेदनशील मुलुक हो । यसको उत्तर र दक्षिणमा विशाल शक्तिशाली देश छन् । यी दुई देशबिच रहेको सानो तरुल जस्तो कोमल यो स्वतन्त्र नेपालमा आफ्ना खुनी पन्जा गाडेर दुबै तिरको गतिविधिमाथि निगरानी गर्न चाहने अर्को साम्राज्यवादी देश अमेरिका हो । त्यसै कारण अमेरिकाले नेपालको राजनीतिमा हात हालिरहेको छ र क्रान्तिकारी गतिविधि रोक्न सबै खाले हथकण्डा प्रयोग गरिरहेको छ । तर हामी सशस्त्र आन्दोलनका माध्यमले देशलाई खुनी पन्जाबाट रोक्न खोजेका छौं । र खुनी पन्जा गाड्न दिने पनि छैनौं ।

नेपाल असंलग्न राष्ट्र हो र यो भोलिपनि तटस्थ नै रहनुपर्छ । तर,बुवा व्यवहारमा तटस्थ हिजो पनि थिएन । आज पनि छैन । नेपाललाई भोलि साँच्चिकै असंलग्न राष्ट्रको रूपमा अगाडि बढाउनुपर्छ । नेपालको धर्तीलाई कसैलेपनि कसैका विरुद्ध प्रयोग गर्न दिनुहुन्न । अझ खासगरी यस्ता सामन्त साम्राज्यवादी देशहरूकोलागि । त्यसैले, बुवा यति बेला हाम्रो पार्टीले गाउँको संघर्षलाई ध्यान दिँदै शहर केन्द्रित संघर्षलाई विशेष ध्यान दिएको छ ।

संविधान सभा वा व्यवस्थापिका मार्फत राजतन्त्रको अन्त्य गरी गणतान्त्रिक राजनीतिक व्यवस्था कायम गर्नु नै अहिलेको माओवादको मूल उद्देश्य हो । आफूले हुर्काए बढाएका सन्तानले के गर्दै छन् भन्ने जान्न पाउनु पर्छ हरेक बुवा आमाले । त्यही भएर म के गर्दै छु ? के सोच्दै छु ? कता लाग्दै छु भनेर हजुरहरूलाई जानकारी गराउन चाहेर मैले लामै पत्र लेखेँ । अब पत्र समाप्त गर्नु अगाडि बुवा आमा तपाईंहरुको प्रेरणाले यो क्षेत्रमा लागिपरेकी म मुक्तिको लागि संघर्षको युद्ध मैदानमै रहने दोहोर्‍याउन चाहन्छु । मरे सहिद त बाँचे राजनैतिक अभियन्ता ।

उही तपाईंहरुकी क्रान्तिकारी छोरी
निलिमा
१४ फागुन २०६१, समय रातको १: ३० बजे
जाजरकोटको सिलेभिरबाट

(माओवादीहरु शान्ति वार्तामा आउनु अघिको परिस्थितिमा लेखिएको यो लेखले संभवत हालको अवस्थाभन्दा अलि भिन्न देखाउला । तैपनि माओवादीहरुको स्कूलिङ, सोच र छापमार जिवनबारे भने अवश्यै चित्रण गर्छ भन्ने उद्देश्यले राखिएको हो) ।

तपाइँको प्रतिक्रिया