प्रचण्डको यस्तो रहेछ भारतलाई भित्र्याउने प्लान

भारतलाई प्रधान शत्रु घोषणा गर्नुपर्छ । भारतबिरुद्द युद्दको तयारी गरेर राष्ट्रिय मुक्ति आन्दोलन छेड्नुपर्छ भन्ने माओवादीका अध्यक्ष प्रचण्डको भनाईले पालुङटार भेला मात्रै तताएन । राष्ट्रिय र अन्तर्राष्टिय रूपमापनि उत्तिकै चर्चा चलिरहेको छ । सुदसँग सुटुक्क भेट्ने, एसडी मुनीसित आफू भारत विरोधी नभएको सफाइ पेस गर्ने र कार्यकर्तासामु भने चर्को क्रान्तिकारी देखाउनैपर्ने उनको बानीलाई पार्टीभित्र लोकप्रियताका लागि मात्रै भनेर धेरैले आलोचना गरे पनि प्रचण्डका पछिल्ला भनाइ निकै गम्भीर रूपमा आइरहेको खुलासा गरेका छन्, एक पूर्व राजदूतले ।

त्यसको रहस्योद्घाटन गर्ने अरू कोही नभएर माओवादी अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईसित निकै पटक अन्तरंग गरेका नेपालका लागि फ्रान्सका पूर्व राजदूत मिसेल जोलिभे हुन् । उनले माओवादीले भारतीय हस्तक्षेप होस् भन्ने चाहेको अभिव्यक्ति दिएका छन् ।

सन् २००६ मा जब माओवादीहरु शान्तिवार्तामा आएका थिए त्यति बेला पार्टी अध्यक्ष प्रचण्डपनि सार्वजनिक भए । त्यो बेला विदेशी कूटनीतिज्ञ मध्ये प्रचण्डसित वार्ता गर्ने प्रथम जस्तै थिए नेपालका लागि फ्रान्सेली राजदूत मिसेल जोलिभेट । उनलाई माओवादीले त्यसरी रुचाउनुको कारण के थियो ? माओवादी जनयुद्दका बेला उनले नेपाललाई गरेको बिर्सिनसक्नुको सहयोग ।

त्यति बेला सडक सडकमा मान्छे मारिन्थे । त्यसले उनलाई छुँदैनथ्यो । उनी एक्लै टहलाउँथे सुरक्षापनि नमागि । गाउँ गाउँमा भिडन्त हुन्थे तर उनले वास्ता गर्दैनथे । गाउँबाट सारा मानिस शहर पस्थे । उनी लाग्थे पहाडतिर । अमेरिकी, बेलायती र अन्य मुलुक ‘लौ नेपाल असुरक्षा छ, नजाउ’ भनेर धमाधम सूचना जारी गर्दा उनी चाहिँ हातमा लौरो लिएर अन्नपूर्ण र सगरमाथा अनि हेलम्बुतिर पैदल यात्रा गरेर नेपालमा असुरक्षा छ भन्नेलाई चुनौती नै दिन्थे । माओवादीहरुबाट पर्यटकलाई कुनै असुरक्षा छैन भन्दै विज्ञप्ति जारी गर्थे ।

पेरिसस्थित उनैको निवासमा पंक्तिकारलाई निमन्त्रणा गरेका जुलिभेटको खुला हुनासाथ प्रचण्डसित पटक पटक छलफल भएको थियो । त्यो बेला उनले प्रचण्डलाई नेपाल ग्रिहयुद्दमा जान सक्ने खतरा औँल्याएको बताए । भने- मैले उनलाई के भनेँ भने नेपाल पहिलेनै एकदम नाजुक अवस्थामा पुगिसकेको छ । यो ग्रिहयुद्दले गर्दा देश टुक्रिने छ अनि भारतले हडप्ने छ अलि अलि गरेर ।

प्रचण्ड र बाबुराम भट्टराईसित पटक पटक राजनीतिक छलफल गरेका, माओवादी बन्द, हडताल छेकबारका क्रममापनि बिना सुरक्षा नेपालका गाउँ गाउँ घुमेका, थुप्रै पदयात्रा गरेका र माओवादी दस्तावेज नीति र सिद्धान्तबारे गहिरो अध्ययन गरेका उनले माओवादीहरुले त्यति बेला भारतीय सैन्य हस्तक्षेप चाहेको बताए । सैन्य तरिकाले नेपाल जस्तो देशलाई नियन्त्रण गर्न भारतलाई सहज हुने तर दीर्घकालीन रूपमा टिक्न धेरै गाह्रो र त्यसरी आक्रमण गरेको भए त्यो युद्द राष्ट्रिय मुक्ति आन्दोलनमा परिणत हुन्छ भन्ने आस प्रचण्डको रहेको बताउँदै भने” यदि त्यस्तो हस्तक्षेप गरेको भए भारतको असाध्यै ठूलो गल्ती हुने थियो । प्रचण्डको आशा के थियो भने मार्क्सवादी लेनिनवादी संघर्ष राष्ट्रिय मुक्ति आन्दोलनमा परिणत हुने थियो । अनि नेपालमा भारतीयको हालतपनि भियतनाममा अमेरिकीको जस्तै हुन्थ्यो”। प्रचण्डको त्यो  बिचार उनको सहि विश्लेषण भएकोपनि सुनाए उनले ।

जोलिभेटको बुझाइमा प्रचण्डको आशा के थियो भने भारतीय सैन्य हस्तक्षेपले सामान्य नागरिकमा भारतीय सैन्य कारवाहीका विरुद्ध जागरण आन्दोलित बनाउने थियो । यदि भारतले त्यसो गरेको भए गैह्र माओवादी नागरिक पनि राष्ट्रिय युद्दमा सहभागी हुने थिए भारतीय सेनालाई लखेट्न । त्यो दीर्घकालीन रूपमा टिक्ने थिएन ।

तर आफूले नेपालमा भारतीय सैन्य हस्तक्षेपको प्रिष्ठभूमी भने कहिल्यै महसुस नगरेकोपनि उनले खुलाए । उनको बुझाइमा ती आएर उपत्यका नियन्त्रणमा लीन सक्थे । तर केका लागि ? भारतसम्म जोडिएको खुल्ला सडकमा त्यत्रा पुल छन् । घुम्ती र भिराला उत्तिकै छन् । त्यो  निक्कै मुस्किल पर्थ्यो । माओवादीका लागि सबै भन्दा सजिलो के हुन्थ्यो भने दुई वटा पुल भत्काइदिने वा राति गाउँमा गएर गाउँलेलाई ५० मिटर सडक भत्काउन लगाइदिने । भारत र नेपालबिचको मार्ग सुरक्षित राख्न संभव थिएन । उनले जोड दिए-“त्यसैले भारतीय सैन्य हस्तक्षेप नेपालमा कहिल्यै टिक्दैन ।”

बरु भारतलाई नेपालमा हस्तक्षेप गर्न आउन जरुरीनै नभएको र नेपाललेनै हस्तक्षेपका लागि बोलाउने गरेको आरोपपनि उनले लगाए । भने- भारतले नेपालमाथि सैनिक हस्तक्षेप गर्नै पर्दैन । नेपालको सरकारले नै वर्षको एक दुई पटक भीख मागिरहेछ विभिन्न खाले समस्या समाधान गर्न भनेर । तिनले हस्तक्षेप गर्नै पर्दैन । तिनलाई हस्तक्षेपका लागि बोलाइन्छन् ।

“हरेक महिना जस्तो भारतले हस्तक्षेप गर्‍यो भनेर कुर्लन्छन्  नेपालका नेता । भारतीय राजदूतले गर्दा, भारतीय प्रधानमन्त्रीले गर्दा, भारतले गर्दा भनेर नेपाली नेताले सधैँ कराउनु उनीहरूको कमजोरी हो । आफूहरू मिलेर आफ्नो देशका समस्या हल गर्नुस् न अरूले के गर्न सक्छ ? ”

काठमाडौं हुँदा एकदम धेरै छलफल गरेछन् उनले नेपालमा भारतीय चाख, हस्तक्षेप बारे । उसको परराष्ट्र नीति, नेपालमा उसको स्वार्थका बारेमा । थुप्रै नेपाली दिग्गजसित वार्तालाप गरेछन् । उनको बिचारमा भारतको पक्कै पनि नेपालमा आफ्नै स्वार्थ भएको परराष्ट्र नीति भने छ । आफ्नो देश राम्रोसित हाँक्न नसक्नुको परिणाम भारतलाई दोष दिनु चाहिँ नेपाली नेताको कमजोरी रहेको उनले कुराकानीका क्रममा पटक उल्लेख गरे, “नेपालको लागि भारत एकदम सजिलै उम्किन सकिने खोरको बाख्रो जस्तै हो । तर सबै असफलताको कारण नेपालीहरू स्वयंले सत्ता चलाउन नसक्नुको परिणाम हो । केही गल्ती हुनासाथ ए त्यो भारतले गर्दा हो भन्यो,  यो र त्यो भारतीय नेतालाई दोष लगायो । त्यो त गम्भिरतानै भएन नि ! बरु नेपालले राम्रोसित सत्ता चलाउन गर्न सकेन भने नेपाल अलि अलि गर्दै भारतको पन्जामा पर्ने छ ।”

आफूले त्यो यथार्थता बाबुराम र प्रचण्डलाई सुनाएको र उनीहरूले स्विकार गरेको पनि खोले “मैले भन्दिएँ तपाईहरुले देश राम्रोसित देश चलाउनु भएन भने बरु अलि अलि गर्दै देश भारतको पञ्जामा पर्ने छ । उनीहरूले स्विकार गरे मेरो कुरोलाई ।”

माओवादीहरु मार्क्सवाद, लेनिनवाद र माओवाद भनेर ज्यादै जोड दिन्छन् । दिइरहेका छन् । सन् १९८० ताकाको भियतनाम लगायतका थुप्रै कम्युनिस्ट मुलुकमा कूटनीतिज्ञ भएर अनुभव सँगालेका, देखे भोगेका यिनको मूल्यांकन के होला नेपालका माओवादीबारे ? माओवादी दस्तावेजहरूमा माओकालिन कम्युनिस्ट राज्य जस्तै बनाउने भनेर लेखिएको उनले पाएका त हुन् । तर व्यवहारिक रूपमा हेर्दा माओवादीहरुलाइ के थाह थियो भने भारत र चीनको बीचमा नेपाल तरुल झैँ छ । यस्तो अवस्थामा त्यस्तो राज्य टिकाउन सकिन्न भन्ने माओवादीहरुलाई राम्रो जानकारी । अनि नेपालको कारणले गर्दा भारत र चीनले एक अर्काबिचको असल संबन्धमा आँच आउन नदिने सुझबुझ रहेको पनि जोलिभेटले सुनाए ।

मार्क्सवाद लेनिनवाद एउटा सिद्धान्त भएकोले कम्युनिस्ट शासनको चर्को नारा उराल्नु त जनतालाई आशा देखाउन, आन्दोलित बनाउन र उनीहरूले शक्ति जित्न एउटा तरिकाको रूपमा मात्रै प्रयोग गरेकोपनि जोलिभेटले उल्लेख गरे । चिन, सोभियत रूस लगायतका देशमा शक्ति लीन एक तरिकाका रूपमा निकै सफल तर राज्य चलाउनका लागि भने नाटकीय रूपमा असफल भएको उदाहरण समेत दिए उनले ।

माओवादीलेपनि जनयुद्दका बेला आशा दिन त्यसलाई प्रयोग गरे । आफूले त्यो सबै प्रचण्डलाई व्याख्या गर्दा प्रतिवाद नगरेको बरु सहमतिमा टाउको हल्लाएको बताए ” प्रचण्डलाई मैले सिधै भनिदिएँ कि तपाईहरुले मार्क्सवाद र लेनिनवादको नारा उचाल्नु भएको छ शक्ति लीनको लागि । सरकार बनाएपछि त्यसले काम गर्ने छैन, । त्यो असफल हुन्छ ।  उनले होइन भन्न सकेनन् । बरु टाउको हल्लाईरहे ।”

नेपाल बस्दा माओवादी नेताहरूलाई कहिले भक्तपुर त कहिले विशालनगरस्थित आफ्नै निवासमा बोलाएर खानपिन गर्ने राजदूत जोलिभेले माओवादीको पक्षमा पटक-पटक रिपोर्ट पेरिस पठाउन थालेपछि उनलाई उताबाट यसो नगर्न चेतावनी आएको थियो । त्यसपछि उनले आफ्नै परराष्ट्र मन्त्रालयलाई १ वर्षसम्म कुनै पनि राजनीतिक प्रतिवेदन नपठाई चुपचाप नेपालको कार्यकाल सकेर अवकाशप्राप्त गरेका थिए ।

(हिजो वर्ष १६, अंक ३६, मंसिर १५, २०६६ का दिन जन आस्था साप्ताहिकको मुख्य समाचारका रुपमा मेरै नाममा प्रकाशित भएको हो ।) ।

तपाइँको प्रतिक्रिया