समयमा संविधान नवने नेता जिम्मेवार कि स्वागत गर्ने तपाई ?
-महेश थापा / बेल्जियम
लौ वधाइ छ तपाइको नेता आउँदै हुनुहुन्छ । अन्तरकृया कार्यक्रम पनि राख्नु भएकै होला । अनि डिनरपछि फोटो सेसनको कार्यकम पनि होला । उहाँले फलाना जी भनि सम्वोधन गर्नु हुँदा गर्वले छाती पनि अवश्य ठूला होलान् । अनि भविष्यको आश्वासन पनि प्राप्त गर्नु होला । खिचेका फोटोले साथी भाइ माझ अवश्यपनि रवाफ बढाउने मौका पाउलान् । तपाइको सपना सकार होउन मेरो शुभकामना छ ।
तर एक पटक सोच्नुस किन आउन लागेका हुन तपाइका नेता ? तपाइलाई थाहा छ ? यि त आज सरोकार राख्ने विषय भए । सोच्नुहोस् अबको ६ महिना पछि सबैको हातमा हतियार अनि आआफूबीच मार्न र मर्न तयार त्यो नेपाल । के तपाइ कल्पनासम्म पनि गर्न सक्नु हुन्छ ? हो यो यथार्थ हो देश कता जाँदै छ ? के तपाइ अनुमान गर्न सक्नु हुन्छ ? हुन त तपाइ आफ्नो भविष्य प्रवासमा सफल बनाइसक्नुभयो त्यसैले पनि किन देशको विषयमा नदुखेको टाउको दुखाउने ? के दिन्छ ? के दियो ? त्यो देशले हैन र ? तर के तपाइको बुवा आमा दाजुभाइ दिदी बहिनी साथीसँगी आफन्त छैनन् र त्यहाँ ?
अव समयमा संविधान नवनेमा तपाइको नेता जिम्मेवार कि उहाँलाई हार्दिकताका साथ स्वागत गर्ने तपाई ? उहाँलाई त देश जहाँसुकै जाओस् मतलब छैन । नत्र उहाँको नैतिकताले दिन्छ यस्तेा अवस्था पनि प्रवासको भ्रमणमा रमाउन । प्रवासमा के दिन आउन लाग्नु भएको र के लिएर जाँदै हुनु हुन्छ ? तर तपाइलाई त प्रवासमा वसेर पनि नेपालको उत्तिकै माया छ हैन र ? नत्र किन घरी घरी नेपालको समाचार पल्टाउनु हुन्छ । फोनको घण्टी घुमाउनु हुन्छ अनि नेपालमा भएका आफन्तजनको बारेमा चासो दिनु हुन्छ । खै मेरो प्रश्नको जवाफ ?
के तपाई यहाँ काम गर्दा गर्दा मुर्दा बनिसक्नु भएको छ ? के तपाइका आँखाले देख्न छोइयो ? वा कानले सुन्न ? के तपाइलाई डर लाग्छ ? नत्र किन मौन त ? हामी नेपालीको पहिचान यही हो सही विषयमा सही समयमा बोल्न नजान्ने ? नत्र के हाम्रो पनि जिम्मेवारी हैन र ? समयमा संविधान बनाउन दबाब दिने । जाग्नुस्, उठ्नुस् अहिले हो वेला । नत्र मरे पछि औषधी गरेर के फाइदा ?
उहाँ तपाईको मात्र नेता हैन मेरो पनि हो हामी सबैको हो । तपाई किन डराउनु भएको जायज कुरा बोल्न ? हाम्रो पनि जिम्मेवार हैन र ? उहाँलाई प्रवास भ्रमणको सट्टा नेपालमा अन्य दलसँग सहकार्य गर्नुहोस् र समयमा संविधान बनाई संक्रमणकाल छोटयाउनुस भन्ने ।
लेखक अधिवक्ता तथा नेपाली नागरिक समाज बेल्जियमका अगुवा हुन् ।




