किन ‘घरको बाघ वनको स्याल’ जस्ता देखिए भट्टराई ?

एउटा आख्यान छ – घरको बाघ वनको स्याल । आफ्ना घरभित्र सानो कुरो लाई उचाल्ने, तिललाई पहाड बनाउने, बाघ जस्तो गर्जिने । तर बाहिर फेरभने जे पनि सहने, न्याउरो बन्ने, बोल्नै नसहने । आफ्ना कुरा भन्न पनि डराउने । डरले छेर्ने । प्रभावहिन । हुनुपर्ने वनमा बाघ र घरमा स्याल जस्तो हो तर उल्टो ।

यो उखान फेरीपनि माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई मिले जस्तो देखिन्छ । यसो भन्दा कतिपयलाई अतिवादी जस्तो लाग्ला तर वास्तविकता त्यस्तै देखिन्छ । सत्ता, सदन र सरकारमा पुगेका उनको प्रभाव पार्टीगतरुपमा त्यस्तै देखिएको छ ।

नेपालकै प्रसिद्ध लुइँटेल स्कूलबाट एसएलसीमा बोर्ड प्रथम भएका उनी । त्यसलाई शैक्षिक स्तरमा सधैँ कायम गर्न सक्षम भए भारतको जवाहर नेहरु विश्व विद्यालय पुगेर अध्ययन गर्दा सम्मपनि । संविधान सभाको निर्वाचनमापनि देशमा सबैले भन्दा बढि मत ल्याएर जिते गोरखाबाट । राजनीतिक रूपमापनि उनी बिद्यार्थीकालदेखि कतै न कतै संलग्न छन् । प्रवासमा होस् वा देशभित्र । जनयुद्दको आगो झोस्ने काम को मेसो मिलाउने मुख्य मोर्चा संयुक्त जनमोर्चा नेपालको उनीनै प्रमुख थिए । तत्कालीन कांग्रेस सरकारका प्रधानमन्त्री शेर बहादुर देउवालाई माग बुझाउन उनै गए । शहर र गाउँ गाउँमा उनैले नेत्रित्व लिए ।

पार्टीमापनि उनी कमजोर भूमिका मा उनी बसेकै छैनन् । पार्टी अध्यक्ष प्रचण्ड, अर्का शक्तिशाली नेता मोहन बैद्यकै आमनेसामनेमा छन् सधैँ । भनिन्छ, अन्तर्राष्ट्रिय जगतमा माओवादीलाई चिनाउने, फैलाउने, कूटनीतिक संबन्ध बलियो बनाउने काम उनैले गरेका हुन् । दशक लामो जनयुद्दलै थाँती राखेर प्रमुख दलहरुसित हातेमालो गर्दै राजतन्त्र मिल्काउने नीति उनैको थियो र पार्टीले त्यसैलाई सदर गरेको भनिन्छ । खुला राजनीतिमा माओवादीसित भएका वार्तामा पनि उनै हर्ताकर्ता देखिएका हुन् । माओवादी नेत्रित्वको सरकारमा अर्थ मन्त्री बनेर उनैले हाई हाई कमाएका थिए पार्टी र बाहिर सबैतिर । तर खोइ त बाबुराम भट्टराईको पार्टीमा प्रभाव ?

यत्रो भूमिका र अवसर पाउँदा पाउँदैपनि बाबुराम भट्टराई पार्टीमा कमजोर देखेका छन् ।देश भित्र बाहिर उनलाई रुचाउने समर्थक नभएका होइनन् । तर पार्टीभित्र किन उनलाई कार्यकर्ताले रुचाएनन् । प्रचण्डको त्यत्रो आलोचना हुँदा हुँदै किन उनले चुनौती दिन सकेनन् ? लौ प्रचण्डले त अनेक हत्कण्डा अपनाए रे पार्टीमा आफ्ना मान्छेलाई पार्टीका महत्वपूर्ण स्थानमा स्थापित गराउन । तर के वैद्यसित सके त उनी प्रतिस्पर्धामा निस्किन ? सरकारमै छँदापनि वैद्य समर्थितहरू सरकारमा कम थिए भनिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा खासै चर्चा नगरिने बैद्यसम्मलाइपनि उनले टक्कर दिएर लोकप्रिय बन्न नसक्नुको करण के छ ? के छन् भट्टराईमा कमजोरी ? कहाँ चुकेका छन् उनी ?

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, राजनीति, आर्थिक अवस्था राम्रोसित जाने भट्टराई भन्दा को होला उनको पार्टीमा बढि ? नेपालमै कति होलान् उनको जत्तिनै ज्ञान भएका ? बोल्न नसकेर हो भनौं भने पार्टीका तर्फबाट गरिने छलफलमा प्रचण्डले भन्दा उनले बुरो बुझाउन सक्छन् भनेर उनैलाई लगिन्छ । पार्टीका महत्वपूर्ण दस्तावेज उनैले तयार पार्छन् । गत निर्वाचनमा माओवादी पार्टीले जनतासमक्ष सार्वजनिक गरेको चुनावी घोषणापत्र उनैले तयार पारेका । माओवादीका तर्फबाट सार्वजनिक गरिएको संविधानको मस्यौदापनि उनैले लेखेका । मिडियामा माओवादीका तर्फबाट उनै बढि छाउँछन् । यत्रो जिम्मेवारी बहन गर्दा गर्दैपनि खै त भट्टराईको प्रभाव ?

एउटा तर्क के उठ्न सक्छ भने जनता लाटा छन् कुरै बुझ्दैनन् । अर्को तर्क माओवादीका कार्यकर्ता भेडा छन्, बौद्धिक मान्छे छैन । तिनको क्षमता नै छैन बाबुराम भट्टराईको कुरा र तर्क बुझ्ने । त्यसैले उनी पछाडि पर्छन् । तर यी दुबै तर्क सरासर गलत देखिन्छन् किनभने बाबुराम भट्टराईलाई पार्टीमा बौद्धिक वर्गले नै पनि पत्याएन । उनको पक्षमा पढे लेखेका, जाने बुझेका बौद्धिक, पत्रकारहरूसमेत खुलेर लागेको देखिएन । आफ्ना नीतिहरू जनता र कार्यकर्तामा स्थापित गराउन, नेतालाई लोकप्रिय गराउन महत्वपूर्ण हतियार मानिने त्यो वर्ग लाईपनि भट्टराइले खासै प्रभाव पार्न सकेका रहेनछन् । जनताले कुरा नबुझ्ने भए गत संविधान सभाको निर्वाचनमा कसरी देशमै सबैभन्दा बढि मत दिएर जिताए त जनताले भट्टराईलाई ? जनता लाटा, कुरा नबुझ्ने हुन्थे भने त भट्टराईका पक्षमा त्यो सर्वसाधारणको जनसागर उर्लने थिएन । तरपनि फेरी प्रश्न उठ्छ, माओवादीमा सबै भन्दा लोकप्रिय देखिने भट्टराई पार्टीमा किन कमजोर ? के छन् कमजोरी उनका ? किन भट्टराई घरका बाघ र वनका स्याल जस्तै देखेका छन् ?

बाबुराम भट्टराईसँग संबन्धित तलका ब्लगपनि हेर्नुस–

किशोरावस्थाका बाबुराम भट्टराई

माओवादी फुटाउन भट्टराईलाई प्रधानमन्त्रीको प्रस्ताव ?

भट्टराई माओवादीभित्रै अस्वीकार्य !

भट्टराई प्रधानमन्त्री बने सबै समस्या हल होलान ?

किन बन्छन् बाबुराम प्रचण्डको तारो ?

किन प्रस्ताव गरे बाबुराम भट्टराईले बादललाई ?

तपाइँको प्रतिक्रिया