भट्टराईको दस्तावेज बढि चर्चामा
गोरखाको पालुङटारमा अहिले चलिरहेको माओवादी बैठकमा पार्टीका तिन नेता; अध्यक्ष प्रचण्ड र अन्य दुई उपाध्यक्ष डा बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ले फरक फरक दस्तावेज प्रस्तुत गरेका छन् । पार्टीमा लगानीका हिसाबले मोहन वैद्य किरण र शक्तिका हिसाबले प्रचण्डको दस्तावेज बढि आकर्षक बन्नु पर्ने हो । किनभने वैद्य पार्टी अध्यक्ष प्रचण्डकापनि राजनीतिक गुरु हुन् भने प्रचण्ड पार्टीकै अध्यक्ष ।
तर दस्तावेज सबैभन्दा बढि चर्चामा रहेको छ भट्टराईको । उनको दस्तावेजको आकर्षण पार्टी बाहिरका जनमानस, राष्ट्रिय अन्तर्राष्ट्रिय मिडिया र जगतमा त छ नै, यस पटक पार्टी कार्यकर्ताभित्रपनि महत्वका साथ हेरिएको छ । त्यसो हुनुको कारण के त ? के छ भट्टराईको दस्तावेजमा ?
भट्टराईले वैचारिक राजनीतिक रूपमा स्पष्टता र संगठनात्मक रूपमा रूपान्तरण गर्नुपर्ने कुरामा जोड दिएका छन् । त्यसको अर्थ के हो भने उनले पार्टीमा भ्रष्टाचार मौलाएको कुरालाई जोडले उठाएका रहेछन् । डा भट्टराईले पार्टी परजीवी समूहमा रूपान्तरित हुँदै गएको, नेता-कार्यकर्ताको कमाउने शैली बढेको, उपल्लो तहका नेताकै संरक्षणमा व्यापार, घरजग्गा कारोबार, ठेक्कापट्टा, तस्करी, चन्दा र कमिसनमा संलग्नता देखिएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने कुरा उठाएका छन् । तर हिजो सशस्त्र आन्दोलनमा सारा सम्पत्ति र परिवारका सदस्य गुमाएका, बेपत्ता र घाइते भएकाहरुको लागि पार्टीले ध्यान नदिएको, पार्टीमा पुराना कार्यकर्ताहरूको सहि मूल्यांकन नभएको, सहिद परिवारलाई बेवास्ता गरिएको तथ्यलाई उठाएका छन् उनले । त्यस पक्षलाई आफ्नो दस्तावेजमा बैद्यलेपनि उठाएका छन् ।
भट्टराईले प्रधानमन्त्री निर्वाचनमा अरु पार्टीका सभासद किन्न लाखौँ करोडौँ पार्टीले खर्च गर्ने । तर दैनिक गुजारा चलाउन नसकेर पूर्णकालिन कार्यकर्ताको भने बिजोक भएको उल्लेख गरेका छन् । यसले धेरै कार्यकर्ताको मन तानेको बताइन्छ ।
अहिले देश भरका जनता गणतान्त्रिक संविधान बनाउनुपर्छ भन्ने पक्षमा रहेकाले उनको दस्तावेजले त्यसलाई समातेको छ । किनभने उनले संविधानसभाबाट जनताको संघीय गणतन्त्रको सारतत्व समेटिएको संविधान निर्माण गर्नुपर्छ भनेका छन् । राष्ट्रिय स्वाधीनता प्रथम कुरा हो । तर हाम्रो प्रधान शत्रु को त ? भारतीय बिस्तारवाद हो कि ? घरेलु प्रतिक्रियावाद हो कि ? त्यसमा पार्टीले किटान गर्नुपर्छ, स्पष्ट हुनुपर्छ भन्ने उल्लेख गरेकाले कार्यकर्ताहरू बढि स्पष्ट रहेको बताइन्छ उनको दस्तावेजबारे ।
भट्टराईको दस्तावेजको सबै भन्दा ठूलो आकर्षण के हो भने उनले राष्ट्रियता र जन जीविकाको सवालमध्ये तत्काल जन जीविकालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् । जनजिविकाको अवस्था अहिले ज्यादै कठिन रहेकाले कोरा आदर्श भन्दा आफ्नो जनजिविकाको सवालमा जनताको चासो बढि रहेको र माओवादीप्रति जनताले आशा बढि गरेकाले त्यसलाई संबोधन गर्ने गरि पार्टी जानुपर्छ भन्ने पक्षमा छन् भट्टराई ।
अहिलेको शान्ति संझौतालाई भंग गर्नुहुन्न, जन जीविकाका सवाललाई सम्बोधन गर्न विचार राजनीतिमा स्पष्ट हुनुपर्छ ढुलमुले पाराले हुँदैन, संगठनलाई चुस्त बनाउनुपर्छ भन्ने उनको दस्तावेजमा उल्लेख छ । त्यसको कारणले पनि उनको दस्तावेज बढि चर्चामा रहेको बताइन्छ ।
उनको दस्तावेजको अर्को स्पष्टता के हो भने हाल जन विद्रोहमा जानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल रहेकाले अहिले जनताको व्यापक समर्थन र जनबलमा अग्रगामी गणतान्त्रिक संविधान बनाउनुपर्छ भन्ने तर्क । यदि अग्रगामी संविधान बनाउन दिइएन भने जनता यसै जनबिद्रोहमा उत्रन्छन् । त्यो जनभावनाको नेत्रित्व माओवादीले गर्नुपर्छ भन्ने उनले तर्क गरेका छन् । तर अन्त्यमा पार्टीका सबै बिचारलाई समेटेर जानुपर्छ, पार्टी एक ढिक्का हुनैपर्छ भन्ने पक्षलाइपनि उनले जोड दिएका छन् ।




