भारतीय पैसा ल्याएर पो फालेको राजतन्त्र ?
हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रवादी सबै नेतालाई चुनौती दिए- जन आन्दोलन दबाउन भारतबाट पैसा ल्याइएको थियो भनेर । उनले आरोपपनि चानचुने ठाउँमा गएर लगाए र ? संविधान सभा भवनकै दैलामा गएर । जहाँ सबै नेताको भिड लाग्छ त्यहीँ गएर उनले चुनौती दिए । राजा फाल्ने गत जनआन्दोलनमा भारतबाट ८० करोड भारतीय रुपियाँ ल्याएका थिए दलहरूले भनेर उनले हाकै बताए । अरू कुरा नमिले पनि उनको भनाईमा त पैसा खाने कुरामा भने मिल्ने रहेछन् दलहरू ।
थापाका अनुसार त्यो रकम जन आन्दोलन गर्न भनेर भारतले दिएको थियो । भारतले सात वटै राजनीतिक पार्टी र त्यो बेलाको विद्रोही माओवादीलाई समेत सँगै राखेको दिएको थियो । अनि राजनीतिक पार्टीहरूले राजा फाल्न त्यही पैसा खर्च गरेर जन आन्दोलन चर्काए । उनले नेपाली काँग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजा प्रसाद कोइराला मार्फत माओवादीलाईसमेत बोलाएर ८० करोड भारु दिएको थियो । त्यो पैसा जनआन्दोलन गर्ने, राजा फाल्ने र नेपाललाई बिस्तारै सिक्किमीकरण गर्नका लागि भारतले लगानी गरेको थियो । भारतबाट पैसा लिएर जन आन्दोलन गरेकाले खासगरी गत जन आन्दोलनदेखि नेपालमा भारतीय हस्तक्षेप बढेको बताए थापाले ।
त्यो बेला थापा ग्रिहमन्त्री थिए । ग्रिह मन्त्रीका नाताले देशमा के के भइरहेको छ धेरै जानकारी त हुन्छ नै । भारतले नेपाललाई अशान्त पार्न अनेक तरिकाले कोसिस गर्छ पनि । तराईमा अनेक नाममा निस्कने आतंककारी समूहहरूपनि भारतको कुनै न कुनै सहयोग वा मौन समर्थन बिना टिक्न संभव देखिन्न । तर गत जन आन्दोलनमा त जनताको व्यापक समर्थन थियो । जनता प्रत्यक्ष सहभागी थिए । ज्यान दिन सडकमा उत्रेका हुन् । जनताले गरेको त्यो आन्दोलनमा पनि ल्याएछन् त नेताले पैसा ?
सधैँ भारत जाने, भारतीय नेताको सल्लाह थाप्ने, भारतीय नेताको बलमा बखेडा झिक्ने र कुर्लिने, छोरा छोरी भारतीय सहयोगमा उतै पढाउने हाम्रा नेताको भर त छैन । हाम्रा राजनीतिक पार्टीको आयस्रोत के हो ? कहाँबाट ल्याएर त्यत्रा त्यत्रा भवन ठडिए ? नेता र कार्यकर्ता पालिने स्रोत के हो ? कतै यस्तै स्रोत त होइन हाम्रा दल र नेताहरूको ? किन सार्वजनिक गर्दैनन् त पार्टीको आयस्रोत हाम्रा नेताले ? तर थापाले त सात पार्टी र माओवादीलाई समेत बोलाएर ८० करोड दिएको आरोप लगाएका छन् । यो चाहिँ गम्भीर हो । उनले यस्ता अझ धेरै गोप्यता खोल्छु भनेर चुनौतीपनि दिए । गत जन आन्दोलनमा के के भएको थियो भनेर ।
थापा कुनै भूमिगत संगठनका नेता होइनन् । सामान्य नागरिकपनि । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता छ । वैधानिक पार्टी हो यो । उनी त्यसका अध्यक्ष । त्यसैले उनले लगाएका आरोप गम्भीर मानिन्छन् । उनले सिद्ध गर्नुपर्छ अरू नेता र वैधानिक पार्टीमाथि लगाएका आरोप । तर अहिलेसम्म आरोपित दलहरू मौन छन् । चुप्प लागे भने त सहि रहेछ भनेरै पत्याउनुपर्ने हुन्छ । गलत रहेछ भने प्रजातान्त्रिक पार्टी र जनताका नेतामाथि किन आरोप लगाए थापामाथि कारबाही हुनु पर्छ ।




