कात्तिक अन्तिममै जनगणतन्त्रको टुंगो लगाईने
कात्तिक २५ बाट माओवादीको राष्ट्रिय भेला
कति जनगणतन्त्रका बारेमा मात्रै कुरा लेखेको भन्नु होला । तर के गर्ने ? अहिले नेपालमा यहि नै मुख्य बहसको विषय भईरहेको छ । चासो, चाख र चिन्ता पनि प्रमुख रुपमा यसैको देखिन्छ । सतहमा यो त्यति नेदेखिएला तर भित्र भित्रै यो झ्यांगिएको छ । मलाई पनि यसमा निकै चासो लागिरहेको छ । साँच्चिकै गणतन्त्रका लागि बलिदान भएको, दिएको यति छोटै समयमा कसरि त्यो पूर्ण हुन सकेन ? किन यो देश र जनताको हितमा हुन नसक्ने अवस्था भयो यति छिट्टै ? मलाई एकदम चासो लागेको थियो यस विषयमा । मैले हिजो माओवादीका एक जना केन्द्रिय सदस्यलाई फोनपनि गरें । उनी ट्वाक्कै गरें भेटिए । तर अहिलेनै सार्वजनिक हुन भने उनी चाहेनन । उनीसँग भएको सानो टेलिफोन वार्ताका कुरा छोटकरीमा राखौं त ?
माओवादीभित्र जनगणतन्त्र स्थापनातिर जाने बारेमा अब बिबाद रहेनछ । सबैले अब माओवादी जनगणतन्त्रतिर जानुपर्छ भनेका रहेछन । भनौं न एकमत जस्तै रहेछ केन्द्रदेखि क्षेत्र र जिल्लासम्मनै । तर कोहि तत्कालै त्यो प्रक्रियामा जानुपर्छ भन्ने रहेछन । त्यो भन्नेहरु मुलत माओवादीका “हार्डलाईनर” भनेर चिनिने मोहन बैद्द, नेत्रबिक्र्म चन्द, देव गुरुङ, क्रिष्णबहादुर महरा लगायतका रहेछन । तर पार्टी अहिलेसम्म आफ्नो धारमा सफल भएकाले तत्कालै जनगणतन्त्र घोषणा गर्नुहुन्न भन्नेहरु मध्यमार्गी धारका नेताहरु रहेछन । जनगणतन्त्रका पक्षमा भएपनि त्यो धारमा प्रधानमन्त्री प्रचण्ड लगायत बाबुराम भट्टराई पक्षका मानिसहरु रहेछन । रक्षा मन्त्री रामबहादुर थापा “बादल” भने अहिले कुनैपनि धारमा स्पष्ठरुपमा देखा परेका रहेनछन ।
उदार पक्ष र मध्यमार्गीहरुको भनाई चाहिँ अहिलेनै जनगणतन्त्रको पहल गर्दा तिब्र बिबाद बढ्ने, सरकार सञ्चालनको सहयात्रामा बाधा पर्ने र संबिधान निर्माणमा बाधा उत्पन्न हुने लगायतका बेफाईदाहरु हुनसक्ने भन्ने रहेछ । उनीहरुले कम्तिमा आफ्ना सेना राष्ट्रिय सेनामा संयोजन नगरि त्यो जोखिम लिन नहुने तर्क गरेका रहेछन । तत्कालै जनगणतन्त्र घोषणा गर्नुपर्छ भन्नेहरु चाहिँ अब बिस्तारै जमिन जोत्नेको बनाउने, सेना संयोजन तत्कालै गर्ने, शिक्षा, स्वास्थ्यलाई सरकारीकरणगर्ने र राज्यले बिस्तारै सडक, यातायात लगायतका काममा लगानी बढाएर जन गणतन्त्र तर्फ अगाडि बढ्नु पर्ने तर्क गरिरहेका रहेछन । यो विवादलाई कसरि समाधान गर्ने त ?
त्यसकोलागि यहि कात्तिक २५ गतेबाट माओवादीहरुको राष्ट्रिय भेला हुँदै छ काठमाडौंमा । यहाँ केन्द्र, क्षेत्र र जिल्लातहसम्मका नेताहरुको जमघट हुने बताईएको छ । त्यहि भेलाले जनगणतन्त्र तर्फ कहिले, किन, कसरि प्रवेश गर्ने भन्ने निर्णय गर्ने छ । साथीहरु आजलाई यति नै गरौं कि ? म फेरि यसका विषयमा अलि गहिरिएर बुझ्छु र अर्को ब्लगमा केहि दिनमा माओवादीका अबका केहि रणनीतिका बारेमा पनि केहि न केहि सामाग्रि लिएर आउनेछु।




