कांग्रेस महाधिवेशन: बाँसको ढुंग्रोमा कुकुरको पुच्छर

कांग्रेसको महाधिवेशन शुक्रबार देखि काठमाडौंमा शुरु भएको छ । संख्याका हिसाबले यो १२ भैसक्यो । १२ पटक महाधिवेशन गर्ने पार्टी चानचुने नहुनु पर्ने हो । परिपक्क र सुझबुझपूर्ण, देशलाई अझ हाँक्न सक्ने अनुभवी र खारिएको हुनुपर्ने हो । तर पार्टी जति खारिँदै छ कांग्रेस भने उति ओरालो लाग्दो छ । १२ औं महाधिवेशनमा आइपुग्दापनि कांग्रेसभित्र प्रजातान्त्रिक संस्कार, पद्दती र स्पष्ठ मार्ग दर्शन छैन । उमेरले सबै भन्दा पाको भएपनि कांग्रेसको हालत टिठ लाग्दो छ । भन्छन् नी ‘कुकुरको पुच्छर १२ वर्ष बाँसको ढुंग्रामा राखेपनि बांगाको बांगै’ भने जस्तो ।

देशको सबै भन्दा पुरानो प्रजातान्त्रिक पार्टी । यसले गर्ने निर्णय, यहाँ ब्यक्त हुने भावना र चिन्तनले नेपालको राजनितिक दिशामा प्रभाव पार्नु पर्छ । देशको भविष्य अनिर्णयको बन्दि भएको यो संबेदनशिल अवस्थामा नेपाली कांग्रेसको महाधिबेशन भैरहेको छ । नेपालको राजनितिक भविष्य के हुने ? राष्ट्रलाई कसरि हाँक्ने ? कता लैजाने ? कस्तो परिपाटी बसाल्ने ? पार्टीले कस्तो निर्णय लिनुपर्छ अब देश हाँक्न ? खाँचो के हो ? पार्टी कस्तो हुनुपर्छ ? अहँ कांग्रेसमा यो बहस भएको छैन । छ त नेत्रित्वका लागि लडाई । भिम बहादुर तामाङ, शुसिल कोइराला र शेर बहादुर देउवाको गुटबन्दि । पार्टीमा बिचार, बहस, प्राजातान्त्रिक मुल्य र मान्यता, नीति र नियमको बाहुल्यता र गन्ति छैन । पद, पैसा र लोभको प्रभाव छ । त्यसैले नरहरी आचार्यलेनै हाकाहाकी भनिसकेका छन्- महाधिवेशनमा पैसाको प्रभाव छ । नेपाली कंग्रेसको नीति कस्तो हुनु पर्छ भन्ने चिन्तन नै देखिएको छैन । नीतिमा जोड दिनु पर्नेमा उमेरदवारमा बढि हानथाप चलेको छ ।

कांग्रेसमा चिन्तनशिल नेता नभएका होइनन् । छन् । नरहरी आचार्य, गगन थापा, भिम बहादुर तामाङ, विश्व प्रकाश श्रेष्ठ, मनमोहन भट्टराई जस्ता नेता छन् । तर यिनको तर्कले कहिल्यै स्थान पाउँदैन । यिनले जब नीतिको तर्क अघि सार्छन् तब कांग्रेसमा टाउको दुखाइ हुन्छ र तत्काल पाखा लगाइन्छ । कांग्रेसलाई सच्चा प्रजातान्त्रिक पार्टी बनाउने यिनका भावना हाँसी मजाक विषय बनेर हावामा उडाइन्छन् ।

अहिलेनै नेपाली कांग्रेसका सभापतीका तिन उमेरदवार मध्ये भिम बहादुर तामाङका बिचारहरु बढि प्राजातान्त्रिक र सुझबुझपूर्ण, बढि नीतिगत जस्ता लाग्छन् । उनका तर्क बढि प्रजातान्त्रिक संस्कारपूर्ण हुन्छन् । नीतिगत कुरामा बढि जोड दिन्छन् उनी । तर अहिलेका तिन उमेरदवार मध्ये सायद कांग्रेसमा सबै भन्दा उनै कमजोर छन् । किनभने आदर्शका कुरा कांग्रेसमा सुनिँदैन ।

त्यसैले कांग्रेसमा नेता मात्रै होइन कार्यकर्तापनि सुझबुझपूर्ण, आदर्शवान, बैचारिक रुपमा परिपक्का छैनन् । कार्यकर्तापनि बिचार, मुल्य मान्यता र प्राजातान्त्रिक नीतिका पछि भन्दा दाम, दण्ड र पदकै पछाडि कुदेका छन् ।  नेता मात्रै भएर पुग्दैन, प्रजातान्त्रिक मूल्य र मान्यता, बिचार र चिन्तन अनि आदर्शले जित्न कार्यकर्तामा पनि उत्तिकै सुझबुझ चाहिन्छ । त्यो अहिलेको महाधिवेशन हेर्दा कांग्रेसमा पनि देखिँदैन । चाहे कांग्रेस नेताले पुरानो पार्टी भनेर जतिसुकै हुड्डी हाँकुन् ।

कसलाई भोट हाल्दा, कसका लागि भोट माग्दा, कुन गुटको पछाडि कुद्दा भोलि फाइदा हुन्छ ? पद र पैसा पड्काउन सकिन्छ । जागिर लगाउन, प्रोजेक्ट स्रोजेक्ट मिलाउन सकिन्छ त्यसैका पछाडि दौडिएका छन् । त्यसैले यो महाधिवेशनबाटपनि नेपाली कांग्रेसले एउटा गतिलो थिति बसाल्ला भनेर विश्वास गर्ने आधार छैन । कांग्रेसको अहिलेको महाधिवेशन खासै पहिले भन्दा भिन्न छैन । संकटपूर्ण अवस्थामा रहेको देशको अवस्थालाई पार लगाउने खालको कुनै गतिलो योजना र नीति बनाउलान् भन्ने छाँट र संकेत छैन । यो महाधिवेशनबाट देश र जनताले आशा गर्न सक्ने त्यस्तो ठुलो केहि छैन । कुकुरको पुच्छर जति वर्ष ढुंग्रामा राख्नुस् बांगाको बांगै ।

तपाइँको प्रतिक्रिया