हाकाहाकी भारतको दलाली

अधिकांश नेपालीको मन मनमा भारत भनेपछि घ्रिणा छ । भारतीय भनेपछि तिनको मन त्यसै अमिलो हुन्छ । रगत तात्छ । यस्तो हुनुको कारण नेपाली अज्ञानी भएर होइन । भारतीयकै व्यवहारले गर्दा हो । भारतीय प्रति नेपालीको मनमा वित्रिष्णा भारतलेनै उत्पन्न गराएको हो । किनभने भारतले सधैँ नेपालीलाई दुख दिँदै रुवाउँदै आएको छ । सिमा मिचेको मिच्यै छ । नेपालीलाई लखेट्ने, पिट्ने, बलात्कार गर्ने देखि अन्तर्राष्ट्रिय सन्धि संझौतालाई कुल्चेर अनेक खाले दुख दिँदै आएको छ । हाम्रा दलहरूलाई फुटाउने, दबाउने काम गर्दै आएको छ । हाम्रो  देशमा कस्तो सरकार बनाउने, कसको नेत्रित्वमा बनाउने उसले बलियो, ठूलो र शक्तिशाली भएकोले दबाब दिने गरेको छ ।

भर्खरैपनि भारतीय विशेष दूत श्यामशरण नेपाल आए । उनले विभिन्न दल र नेतालाई भेटेर सरकार यस्तो बनाउनु पर्छ । यसको मातहतमा हुनुपर्छ लगायतका निर्देशन दिने काम गरे । यो भारतीय हस्तक्षेप होइन ? तर नेपाली काँग्रेसका कार्यवाहक सभापति शुसिल कोइरालाले सिधै भारतको दलाली गरेर भने-भारतले हाम्रो आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको छैन ।

व्यवस्थापिका संसद् अन्तर्गतको अन्तरराष्ट्रिय तथा मानवअधिकार समितिले श्यामशरणको भ्रमणलाई कूटनीतिक मर्यादाविपरित भएको ठहर गरेको छ । समितिले हाकाहाकी सार्वजनिक गरेको हो तथ्य । यदि श्यामशरणको भ्रमण हस्तक्षेपकारी थिएन भने किन संसदको अन्तर्राष्ट्रिय तथा मानव अधिकार समितिले त्यसो भन्यो ? त्यो समितिलाई नाघेर भारतीय दूतलाई बचाउनुको शुसिल कोइरालाको स्वार्थ के ? त्योपनि अहिले नेपालमा प्रधानमन्त्रीको लागि लगातार निर्वाचन भैरहेका बेला ? के यो हाकाहाकी भारतको दलाली होइन ? भारतको चाकरी होइन ? भारतीय नेताको चाकरी गरेर प्रधानमन्त्री पड्काउन पाइन्छ भन्ने लालच ।

शुसिल कोइराला नेपाली कांग्रेसका कार्यवाहक सभापति । अन्य सभासदले बोल्नु र उनले बोल्नुमा धेरै अन्तर छ । उनले सिंगो पार्टीको प्रतिनिधित्व गर्छन् । उनले अहिले श्यामशरणको बचाउ गर्दा सिंगो नेपाली कांगेसको संस्थागत भूमिकाको प्रतिनिधित्व हुन्छ ।

नेपाली राजनीतिमा कोइराला परिवारमाथि भारतीय स्वार्थ र प्रभावमा पर्ने गरेको आरोप लाग्ने गरेको छ जुन धेरै हदसम्म सत्य हो नै । बीपीले जे गरे गिरिजाप्रसाद कोइरालापनि भारतीय प्रभावबाट प्रिथक रहन सकेनन् । परराष्ट्रमन्त्री सुजाता कोइराला त झन् भारतीय प्रवक्ता भन्दा कम छैनन् भारतको हितमा बोल्न । अहिले सुशिल कोइरालाको भनाई त्यही भारतीय स्वार्थमा बोल्ने कोइराला परिवारको नियमितता हो । भारतीय आड, भारतीय स्वार्थ, प्रभाव र आशीर्वादमा नेपाली राजनीतिमा चम्किन सकिन्छ भन्ने मानसिकता ।

नत्र आफ्नै देशको संसदीय समितिले भारतीय दूतको भ्रमणलाई कूटनीतिक मर्यादा बिपरित भनेर भारतीय हस्तक्षेपको संकेत गर्दा गर्दै कोइरालाले त्यसलाई बचाउनु भनेको हाम्रो संसदीय समितिलाई हेप्नु हो, अविश्वास गर्नु हो । त्यसो गर्ने अधिकार उनलाई छैन । यसरि आफ्नो संसदीय समितिलाई होच्याएर भारतको पक्षमा हाकाहाकी वकालत गर्दा हाम्रो हित गर्दैन । त्यसले दलहरूलाई झन कमजोर बनाउँछ । भारतीयहरूलाई हाम्रो देशमाथि हस्तक्षेप गर्न अझ हौस्याउँछ ।

तपाइँको प्रतिक्रिया