मौका पर्दा आशीर्वाद लिने नपर्दा भारतलाई दोष ?
हाम्रा नेताका चालामाला देख्दा अचम्म लाग्छ । आफू आफू मारपिट गर्छन् । तानातान गर्छन् । पदका लागि जहाँ जे पनि गर्छन् । अनि आफू सोचे जस्तो भएन भने भारतलाई दोष लगाउँछन् । ब्रिहद शान्ति सम्झौतादेखि त्यो १८ बुँदे सहमति सम्म भारतमै भयो । त्यसमा नेपाली कांग्रेसदेखि, एमाले, माओवादी सबैले भारतीय नेताका सहयोगमा भारतमै बसेर सहमति गरे । आफू आफू मिल्न नसकेर भारतीय नेताले ‘लौ तिमीहरू मिल’ भनेपछि खुरुक्क सम्झौता गरे । अनि मौका नपर्दा चाहिँ त्यो भारतवादी, त्यो भारतीय निर्देशनमा चल्छ । म राष्ट्रवादी त्यो भारतीय विस्तारवादी । यस्तै यस्तै आरोप लगाउने गरेका छन् । मूलतः सत्तासँग जोडिएको छ अहिले माओवादीमा विवाद । कुर्सीकालागि हो । तर माओवादीमा प्रचण्ड पक्षकाले भने भारतीय विशेष दूत श्याम शरणसित भट्टराईले छुट्टै भेटघाट गरेको विषयलाई भारतसित सांठगाँठ गरेको, भारतले माओवादीभित्र विवाद चर्काउन खोजेको, चलखेल गरेको भनेर उठाएका छन् ।
एमालेका नेता आँखा जँचाउने निहुँ पारेर भारतीय नेता भेट्छन् । कोही पेट जँचाउने नाममा त कोही छोराछोरीको फिस तिर्ने नाममा दौडिन्छन् । कांग्रेसका नेता कोही नेपालगन्ज जाने भन्दै लुसुक्क भारत लाग्छन् त कोही स्वास्थ्य परीक्षणका नाममा भारतीय नेताका ढोका ढोका चहार्छन् । अरू दलका नेताको हालत पनि उही हो, स्वास्थ्य परीक्षण, पारिवारिक भेटघाट । भारतीय नेता नभेट्ने कोही छैन । मानवअधिकारवादी देखि राजासम्मले बिहेको निम्तो मान्ने निहुँ पारेर भारतीय नेताको सल्लाह र निर्देशन लिन्छन् । मधेशी दलको त पार्टी बैठकनै भारतमा हुन्छ भारतीय नेतालाई बीचमा राखेर ।
नेपाली जनता कहाँ त हाम्रा नेता भोट माग्न मात्रै पुग्ने हुन् । बाँकी लिने र दिने काम सबै उतै भारततिरबाट हुन्छ । अर्को दलका नेतालाई संझाउने, थर्काउने, उचाल्ने, थेचार्ने, सरकार बदल्ने, सेनापतिलाई पछार्ने सारा काम दक्षिणतिरै बाट हुन्छ । भारतीयहरुले आशीर्वाद नदिएसम्म सरकारमा पुगिन्न भन्ने मानसिकता सबै जसो नेतामा छ । आफ्नो अनुकूल हुँदा भारतको गुणगान गाउँछन् । प्रतिकूल हुनासाथ भारतीय दलाल, सलाल भन्यो, नेपालमाथि हस्तक्षेप भन्यो अनि आफु चोखो बन्ने कोसिस गर्यो ।
माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले भारतीय विशेष दूत श्यामशरणलाई भेटे । भेट्न त प्रचण्डलेपनि भेटे । तर बाबुरामको भेटलाई भने अहिले माओवादीमा भारतले चलखेल गर्न खोजेको, माओवादीलाई फुटाउन खोजेको, अध्यक्ष र भट्टराईबिच फाटो ल्याउन खोजेको, भटराईलाई भारतले सत्तामा पुर्याउन खोजेको लगायतका आरोप लगाइएको छ ।
यदि प्रचण्ड र भट्टराई बलिया भए, एक अर्कामा मिले के भारतको कुनै तागत लाग्छ चलखेल गर्ने ? आफ्ना मतभेद वैरीकहाँ नपुर्याउने हो भने तिनले कसरी थाह पाउँछन् एक अर्काबिचको मतभेद ? आफूहरू नमिल्ने, आफ्ना असन्तुस्टि भारतीयलाई लगेर कहने गरेपछि विदेशीले चलखेल गर्दैन त ? आफ्नै पार्टीका नेतालाई पछार्न भारतलाई गुहार्ने । मन्त्री पद चाहिए भारतीय नेतालाई बोलाउने । औषधी देखि पानी लिन लोटा बोकेर भारततिरै लुकि लुकि जाने, उतैको आशीर्वाद थापेर फर्किने गरिरहने हो भने भारतले सधैँ आफ्नो स्वार्थका लागि नचाइराख्छ ।
आफ्नो देशका समस्या, पार्टीका मतभेद, सरकार कस्तो बनाउने, कसरी बनाउने भन्ने विषय हाम्रै देशको नितान्त निजी मामिला हो । आफ्नो राष्ट्रिय समस्या, पार्टीगत समस्या हल गर्न साझा सहमति गर्ने । छलफलमा बस्ने । आफ्नै देशका नेताहरू मिलेर सहमति गर्ने हो भने भारतको केही लाग्छ ? हाम्रा नेता एक जुट भएर आफ्नो समस्या हल गर्ने हो भारतले के गर्न सक्छ ? आफु मिल्न नसक्ने अनि भारतलाई मात्रै के को दोष ? कहिलेसम्म भारतलाई दोष दिएर उम्किराख्ने ?
बरु हाम्रा नेता राष्ट्रिय मुद्दामा एक जुट हुने हो भने भारतसँग डटेर राष्ट्रिय हितका सबै मुद्दामा सहमत गराउन सकिन्छ । भारत बाध्य हुन्छ सहमति गर्न । आफु मिल्न नसक्ने, मौका पर्दा भारतकै आड लिने अनि स्वार्थ नमिल्दा भारतलाई गाली गर्नुको कुनै तुक छैन । घटी र बढि होला नै, नत्र भारतसित साँठगाँठ नगर्ने कुनै दल, कोही नेता छैन ।




