राष्ट्रिय सरकारकालागि भट्टराई-खनाल मोर्चाबन्दी

अहिले बहुमतीय सरकार आम नेपालीको भावना बिपरित हो । तरपनि एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड त्यही सरकारका लागि मरिमेटेर लागेका छन् । उता नेपाली कांग्रेसले सहमतीय सहमतीय भनेपनि ज्यान फालेर लागेको छ आफ्नै नेत्रित्वको बहुमतीय सरकारका लागि । ती दुई बाटा नेपाललाई रक्त कुण्डमा अँचेट्ने ध्येय हुन् । तर उनीहरूलाई त्यही नभै नभएझैं देखिन्छ । तिन वटै पार्टीका शक्तिशाली नेताहरू बहुमतीय सरकारका पक्षमा पलेटी कसेर लागेपनि माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराई र एमालेका अध्यक्ष झलनाथ खनालले भने राष्ट्रिय संयुक्त सरकारको लागि मोर्चाबन्दी गरेका छन् ।

तिन वटै पार्टीका शक्तिशाली नेताहरू बहुमतीय सरकारको पक्षमा जुधिरहेका बेला खनाल र भट्टराईले भने आआफ्नो पक्षबाट संयुक्त राष्ट्रिय सरकार बनाउनुपर्छ भन्दै मोर्चाबन्दी कसेका हुन् । यो मोर्चाबन्दी सांगठनिक रूपमा नभएपनि आआफ्नो पक्षबाट थालनी गरेर एकै ठाउँ उभ्याएका हुन् । आफ्नै पार्टी अध्यक्ष प्रचण्ड आफ्नो मन्त्रित्वमा बहुमतीय सरकारको लागि समर्थन जुटाउन मरिमेटेर लागेका बेला भट्टराई भने संयुक्त राष्ट्रिय सहमतिको संयुक्त सरकार हुनुपर्छ भन्दै त्यसलाई तीव्र पारेका छन् । यसले सतहमा हेर्दा खासै फरक पारे जस्तो नदेखिएपनि प्रचण्डलाई चुनौती थपेको छ । उता भट्टराईको उद्घोषले भने एमाले अध्यक्ष खनाललाई उर्जा दिएको छ ।

आआफ्नो तर्फबाट मोर्चाबन्दी गरेका उनीहरूले राष्ट्रिय संयुक्त सरकारका लागि धारणपनि समान व्यक्त गरेर दुबैले बहुमतीय सरकारका लागि चौतर्फी दबाब र आशा छरेका छन् । बहुमतीय सरकारले शान्ति संझौता टुंगोमा पुग्दैन नत संविधान नै बन्छ । शान्ति र संविधान निर्माणका लागि राष्ट्रिय बहुमतीय सरकार नभै हुन्न । कम्तीमा प्रमुख दलहरूले राष्ट्रिय सहमति कायम गरेर संयुक्त सरकार बनाउनुपर्छ भन्ने स्पष्ट अडान ती दुई नेताहरूले राखेका छन् । उनीहरूको दाबी छ- बन्ने भए यस अघिका सरकारले पनि बनाउन सक्थे । अघिल्ला दुई बहुमतीय सरकारको असफलता देखि देखि फेरी किन राष्ट्रलाई खाडलमा हाल्ने  बहुमतीय सरकारकै कसरत गर्ने ?

उनीहरूले जे अडान व्यक्त गरेका छन् वास्तवमा जायज छन् । अहिले देशको खाँचो भनेको संविधान निर्माण हो तोकिएको समयमा । अनि शान्तिवार्तालाई मनासिब तरिकाले टुंगोमा पुर्‍याउनु हो । सबै पार्टी कार्यकर्ता, इमानदार नेता र आम जनताको चाहना पनि त्यही हो । देशलाई अग्रगमनको बाटोमा, प्रगतिको बाटोमा लैजान आधारपनि । आम कार्यकर्ताहरूले पार्टी र देशलाई जोगाउने अवसर पनि यही हो उपयुक्त दबाब दिएर ।

एमाले पार्टीमा खनाल पक्ष पेलानमा परेको छ माधव नेपाल र ओली पक्षको । उता बाबुराम भट्टराई पार्टीमा बहुमत पक्षमा नभएपनि प्रभावशाली भूमिकामा छन् । पार्टीका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बाबुरामकै तर्कमा देखिएका छन् । यसलाई दुबै पार्टीका कार्यकर्ताले साथ र दबाब दिने हो भने नेपाली कांग्रेस र प्रचण्ड पक्षलाईपनि समझदारीमा ल्याउन सक्छ । तराई टुक्र्याउने निहित स्वार्थको चारो छरेर बसेका मधेशवादी दलका कुत्सित ध्येयलाईपनि असफल पार्ने छ । राष्ट्रिय सहमतीकालागि प्रयास गर्नेलाई बलियो बनाउने छ ।

अहिलेको अवस्थामा न त माओवादीलाई बाहिर राखेर संबिधान बन्छ । शान्ति संझौता टुंगोमा पुग्छ । नत नेपाली कांग्रेसलाई नै पाखा लगाएर त्यो संभव नै छ । राजतन्त्रलाई हातेमालो गरेर गणतन्त्र सम्मको एक साथ यात्रा गरेका यी प्रमुख तिन दल फेरीपनि एकै सूत्रमा नउनिए शान्ति संझौताले मूर्त पाउँदैन र गणतान्त्रिक संविधान बन्ने संभावनापनि छैन । त्यसैले अहिले खनाल र भट्टराईको मोर्चाबन्दि नै अहिले देशका लागि सबै भन्दा उपयुक्त मार्ग हो ।

तपाइँको प्रतिक्रिया