कामरेड बिदेशमापनि ढाँटछलकै राजनीति ?
-हेम ढुंगेल / बेल्जियम
प्रवासमा देशको मायाले हल्नु न चल्नु बनायो भन्दै संघ र संस्था खोल्नेहरुको भिड उही साउने मौसममा च्याउ उम्रेसरी नै छ बेल्जियममा पनि । भलै देशको लागि भलो गरुन् या आफ्नै जय भुँडीमा चारो भरुन् । संघ संस्थाको कुर्सीमा विराजमान हुँदै ढ्याके ब्याज लगाएर गजक्क पर्दै फोटो खिच्नलाई अहो ! कम्ती तँछाड -मछाड त हुँदैन । तर दुखका साथ भन्नु पर्छ, कुनै एक नेपाली प्रवासी भूमिमा कालगतिले तलमाथि परिगयो भने नेपालका आफन्तहरूकहाँ कसरी छिटो पुर्याउने भन्नेमा ध्यान जाँदैन । उनीहरूको ध्यान बरु वेबसाइटहरूमा फलानो पार्टीका मिलनसार, सहयोगी र के- के फुल बुट्टा भरेर समवेदना छापिन्छ । नेपालमा परिवारजन र आफन्तहरू शोकमा डुबेर बिना सासको शरीर मात्रै भए पनि पाउने आशामा दिन र रात आँसुको आहालमा गुजारेका हुन्छन् भने प्रवासमा त्यही निष्प्राण शरीरमाथि राजनीति गरेको र दूतावासले समेत सहयोग नगरेको तिक्त समाचार पढ्नु पर्ने बाध्यता छ ।
वैचारिक रूपमा जसले जुनसुकै राजनीतिक पार्टी सँग आस्था राखे पनि आखिर हाम्रो परिचय भनेको नेपाली मात्रै हो भन्ने कुरा लगभग यहाँका राजनैतिक या गैर-राजनीतिक संघ संस्था तथा व्यक्तिहरूले भुलेका छन् । एक अर्का प्रति आरोप र प्रत्यारोप व्यक्ती भन्दा माथि नाघेर खुलामञ्च र माइकमा नै सुनिन थालेका छन् । त्यसैको विडम्बना निष्प्राण शरीरमाथि पनि यो फलानो पार्टीको समर्थक हो । यसलाई सहयोग गर्नु हुँदैन भन्दै कानमा तेल हाल्ने प्रब्रित्ती हलक्कै बढेको छ । प्रवासमा बसेर संघ संस्था खोल्नै हुँदैन । राजनीति गर्नु हुँदैन । सिर्जनशिल हातहरूलाई सलबलाउनु दिनु हुँदैन र एकताबद्ध हुनु हुँदैन भन्ने होइन । तर सँघ संस्था र संगठन के उद्देश्यले खोलिनु पर्छ ? र ती संस्थाहरूले कसरी जिम्मेवारी र भूमिका निर्वाह गर्नु पर्छ भन्ने महत्वपूर्ण कुरा हो ।
उदाहरण धेरै छन् । तर प्रसंग ११ जुलाई आईतवार बेल्जियमको बेर्खेम शहरमा नेकपा एमाले भात्री संगठन एनडीएफ बेल्जियमको तेस्रो अधिवेशन चल्दै गर्दाको दिन खोजिएको हो । समयको साथ र सूचना पाए सम्म नेपाल र नेपालीहरूले आयोजना गरेको जुनसुकै कार्यक्रम भए पनि सहभागी नहुने कुरै हुँदैन । एमालेका महासचिव ईश्वर पोखरेलद्वारा उद्घाटन हुने ब्रिहद अधिवेशन भनेर संचार माध्यमलाई सक्दो उपयोग गरे पनि हलमा उपस्थिति भने नाजुक थियो । आधा जसो सिटहरू खाली थिए । कार्यक्रमको सुरुवात प्रमुख अतिथि बाटै हुने कुरा औपचारिकता नै हो त्यतातिर नजाऔं ।
बोल्ने क्रममा विभिन्न संघ संस्थाका ब्याजधारीहरु पनि कम्मर कसी कसी बोल्ने नै भए । बोल्ने एउटा पालो थियो- नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमका अध्यक्ष सुरेन्द्र भुसालको । आफ्नो कुरा राख्दै गर्दा प्रचण्ड शैलीमा “नेपाली जन प्रगतिशील मञ्च कुनै पनि पार्टीको भात्री संस्था होइन” भनेर खसोखास झूट बोले । हुनलाई जनप्रगतिशिल मञ्च सन् २००१ मा सबै वामपन्थी विचार प्रति आस्था राख्ने व्यक्तिहरूको साझा संस्थाको रूपमा खोलिएको थियो । तर समयले नेटो काट्दै जाँदा सोही मञ्च २००३ पछि पूर्ण रूपले माओवादीकै भात्री संस्थाको रूपमा स्थापित गराए । भूमिगत अवस्था देखी हालसम्म माओवादी कार्यकर्ताहरू भेटघाट तथा सम्पूर्ण कार्यक्रमको चाँजोपाँजो नेपाली जन प्रगतिशील मञ्चले नै गर्दै आएको छ । बेल्जियममा बस्ने सम्पूर्ण नेपालीहरूलाई थाहा छ कि नेपाली जन प्रगतिशील मञ्च बेल्जियमको माओवादी पार्टी हो । कुरा स्पष्ट हुँदा हुँदै पनि एमाले महासचिवे सामुन्ने झूट बोल्नै पर्ने कुन बाध्यता थियो ? कि पार्टी नेताले जस्तै आज एउटा कुरो बोल्यो भोलि त्यही कुरालाई लिएर माफी मागेर आफ्नै वजन घटाउने सुत्र घोकेका हुन कार्यकर्ताले पनि ?
यही कुरालाई लिएर एनडीएफ बेल्जियमकी इशा गुरुङले मञ्चबाटै ‘जन प्रगतिशील मञ्च माओवादीकै भात्री संगठन हो । किन लाज पचाउँदै होइन भनेको ‘ भन्दै प्रतिवाद गरिन् । माओवादी झूटो बोल्न माहिर पार्टी भन्दै नमीठो शब्द प्रहार गरिन् । इशा त सामान्य कार्यकर्ता थिइन । जे देखिन् बिना औपचारिकताका साथ आफ्नो कुरा राखिन् । तर पार्टी महासचिव जस्तो जिम्मेवार व्यक्ती पनि समस्या समाधानको पाटो खोज्नु भन्दा आरोप लगाउनमा व्यस्त रहँदै भने – बन्दुकको छाँयामा सहमतिको राजनीति हुन सक्दैन । यथास्थितिको गन्ध आउन्जेल सहमतिको राजनीति अघि बढ्दैन । दर्जन सहमति भए । तर ८० प्रतिशत पालना नगर्ने पार्टी एमाओबादी नै हो । माओवादी पार्टी सहयात्रिलाई भुल्ने पार्टी हो । यिनिहरुसँग राष्ट्रिय सहमतिको राजनीति हुनै सक्दैन ।
पत्रपत्रिकामा कतै पढेको थिएँ, ईश्वर पोखरेल एमाले भित्र सबै पार्टीलाई विश्वासमा लीन सक्ने, चित्त बुझाउन सक्ने क्षमतावान युवा नेता हुन् । तर उनी बोल्दै जाँदा मेरो मनमा राम्रा नेता भनेर घर बनाएका पोखरेल खाली अन्ध विश्वासीका ईश्वर मात्रै रहे । जहाँ ढुङ्गालाई कोही ईश्वर भनी पूजा गर्छन् । तर कसैको लागि केवल ढुङ्गा मात्रै हुन्छ ।
(लेखकको अनुरोधमा नाम फेरिएको हो- नेपालप्लस) ।





