भट्टराई माओवादीभित्रै अस्वीकार्य !
माओवादीका अध्यक्ष प्रचण्डले पार्टीमा राजनीतिक प्रस्ताव हिजो मौखिक रूपमा पेश गरे । अब लिखित रूपमा आज या भोलि गर्ने छन् । उनको प्रस्तावको पहिलो बुँदामा नै भावी सरकारको नेत्रित्व भन्ने उल्लेख छ । यसबाट पनि बुझिन्छ- माओवादी अझैपनि सरकारको नेत्रित्व लिन तयार छ, ढुक्क छ । सरकार परिवर्तनको संभावना भएपनि प्रधानमन्त्री को हुने भन्ने अर्को विवाद देखा परेको छ ।
माओवादीले कुनैपनि हालतमा भावी सरकारको नेत्रित्व पार्टी अध्यक्षले नै गर्ने र उनको विकल्प नभएको बताएको छ । तर सरकार सञ्चालन गरिरहेका प्रमुख दल नेपाली काँग्रेस र एमालेले प्रचण्डको नेत्रित्व स्विकार नगर्ने अड्डी कसेका छन् । उनीहरूले माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराई स्विकार हुन सक्ने भनेका छन् । तर माओवादीले भने डा बाबुराम भट्टराईको नेत्रित्व स्विकार नगर्ने संकेत दिएको छ । पार्टीका केही शक्तिशाली नेताले त्यसको खुलेरै विरोध गरेका छन् । किन ?
पार्टी चलाउन्जेल बाबुरामकै नीति मान्य हुने । त्यही नीति पारित हुने । पार्टीका महत्वपूर्ण दस्तावेज लेख्दा भट्टराईलाई अघि सार्ने । पार्टी उनैको नीतिगत बाटोमा हिँड्ने । तर सरकारको नेत्रित्व गर्न भने भट्टराईले नहुने । झट्ट सुन्दा अनौठो लाग्छ ।
त्यसको प्रमुख कारण निकै लामो समय देखि बाबुराम भट्टराईमाथि भारतीय छनौटको भन्ने आरोप लाग्ने गर्नु प्रमुख कारण मान्छन् माओवादीहरु । शान्तिवार्तामा आएपछि पनि भट्टराई पक्षले प्रचण्डलाई युद्द कालमा पूर्व राजा ज्ञानेन्द्रसित गठबन्धन गर्न खोजेको आरोप लगाए । उता भट्टराई पक्षलाई भने प्रचण्ड पक्षले भारतीय स्वार्थमा काम गरेको आरोप लगाए । दुई पक्ष बीचको यो आरोपले एक पटक पार्टी नै झन्डै फुटको सँघारमा पुगेको थियो ।
कतिपय माओवादी कार्यकर्ताहरू के पनि भन्छन् भने भारतीय राजनीतिक ब्रित्तमा भट्टराई पहिले देखिनै निकट थिए । यतिसम्म की भारतमा पक्राउ परेका माओवादी नेता तथा कार्यकर्ताहरू लाईपनि पक्राउ पर्नासाथै सोधिन्थ्यो, तिमीहरू बाबुराम भट्टराई समर्थक कि प्रचण्ड ? भट्टराई समर्थक भनिएकालाई नरम व्यवहार र प्रचण्ड समर्थकमाथि बढि कडाइ र यातना । दिने गर्थे ।
बाबुराम भट्टराईको भारतलाई हेर्ने नीति के देखिन्छ भने उ सित पौँठेजोरी खेलेर मात्रै सकिन्न । सैन्य, आर्थिक र अरू द्रिष्ट्रिकोणलेपनि नेपाल भन्दा सयौं गुणा शक्तिशाली भारतसित सुरुङ युद्द लड्छु भनेर होइन की कूटनीतिक रूपमा कुशलता र चलाखी अपनाएर उ बाट फाइदा लिइनुपर्छ । समानताका आधारमा मित्रवत् ढंगले उ सँगका समस्या हल गर्ने कोसिस गर्नुपर्छ । सबै छिमेकी मुलुकसित समानताको व्यवहार गर्नुपर्छ । उनको यो भनाई जायज हो । तर माओवादी ब्रित्तभित्र उनको यो भनाइलाई भारतीय शासक वर्गसित निकट हुन खोजेको भन्ने आरोप लाग्ने गरेको छ ।
पार्टीको नीतिगत प्रस्ताव उनको पाश हुने वा भट्टराईकै राजनीतिक लाइनमा पार्टी हिँड्ने, फेरी भट्टराई नै प्रधानमन्त्री भए भारतीय शासकहरू नेपालमा हाबी हुन्छन् भन्ने आशंका गर्नेपनि निकै छन् । भट्टराईलाई प्रधानमन्त्री बनाउने भारतीय रणनीति अनुसार नै नेपाली काँग्रेस र एमालेले भट्टराईको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेका हुन् भन्ने माओवादी भित्र अर्को खाले बुझाई छ । केहीले भने पार्टी नीति विरुद्ध भट्टराईलाई उभ्याएर माओवादीमा चर्को विवाद ल्याउने, पार्टी फुटाउने, बाबुराम पक्षलाई बलियो बनाएर प्रचण्ड पक्षलाई कमजोर बनाउँदै लगि माओवादीमा भारतीय पक्षलाई हाबी गराउने आदि अड्कल, आशंका र आरोप लगाउने गरेको पनि पाइन्छ ।
यीनै आरोप, आशंका र अड्कलका कारणपनि बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन नहुने आवाज तीव्र छ । पार्टी नीति विरुद्ध काँग्रेस र एमाले सित झुकेर उनलाई प्रधानमन्त्री बनाउनु पार्टी बिस्तारवाद (भारतलाई भन्न खोजिएको) का अगाडि झुक्नु हो भन्ने मत अहिले माओवादीमा देखिएको छ । अर्को कारण के हो भने, माओवादीका उपाध्यक्षहरू मध्ये कार्यकर्तामा सांगठनिक हिसाबले बाबुराम भट्टराईको पहुँच कम छ । आम जनमानसमा उनको लोकप्रियता बढि भएपनि । त्यसमा पनि मोहन वैद्यको पकड बलियो छ र उनी हार्ड लाइनर भनेर चिनिन्छन् । उनको धार भनेको अहिलेपनि जनबिद्रोहको लाइन समातेर हिँड्नुपर्छ भन्ने हो ।
संसदीय धारमा पार्टीलाई ल्याउने, भारत निकट भनेर आरोप लगाउँदै ल्याइएका व्यक्तिलाई प्रधानमन्त्री बनाए के हुन्छ ? हार्ड लाईनरहरुको पार्टी नीति कमजोर हुँदै जान्छ । प्रधानमन्त्री बनाएपछि भट्टराईमा झन् शक्ति बढ्छ । यस्तो अवस्थामा बाँकी उपाध्यक्षहरूले उनलाई कसरी प्रधानमन्त्री बन्न देलान् ? पार्टी अध्यक्ष प्रचण्डसँगको आन्तरिक टकराव त अर्कोतिर झन् यसै छ । पार्टी र कार्यकर्तामा आफ्नो प्रभाव रहुन्जेल आफ्नै नीति र आफूलाई कमजोर बनाएर प्रतिद्वन्दिलाई जानी जानी कसले बलियो हुन दिन्छ ?




