आफ्ना अडानमा चुक्दै छ माओवादी
संबिधान सभाको चुनाबपछि माओवादी सबैभन्दा ठुलो दल बन्यो । त्यस लगत्तै उनीहरुले दोहोर्याए- पार्टीमा रहेका उच्च नेत्रित्वहरु सरकारमा रहने छैनन् । तर त्यसलगत्तै आफ्नो अडानलाई फेरेर बाबुराम भट्टराई, रामबहादुर थापा, देव गुरुङ र क्रिष्णबहादुर महरा लगायतका नेता गए मन्त्री बन्न । प्रधानमन्त्री आफैंले लिए प्रचण्डले ।
त्यसपछि माओवादीले घोषणा गरे भारत बिरुद्द आन्दोलन । देशको राष्ट्रियता र राष्ट्रिय अखण्डता खतरामा परेकोले भारत बिरुद्द राष्ट्रिय मुक्ति आन्दोलन गर्नुपर्ने घोषणा गरे । देशका नागरिकलाई भारत बिरुद्द उत्रन आव्हान नै गरे प्रचण्डले । सिमा क्षेत्रमा गए र भारततिर फर्किएर भारतीय शासकका नाममा तथानाम गालीपनि गरे। तर त्यसले खासै उपलब्धि नपाइकनै त्यागे । तुरुन्तै सरकार परिवर्तनको नारा उठाए । त्यसपछिपनि माओवादीले घोषणा गरेका विविध कार्यक्रमहरुमा माओवादी अडिग देखिएका छैनन् ।
भर्खरै माओवादीहरुले पार्टी भित्र जनबिद्रोह भन्दै आम हडताल गरे । कार्यकर्ताहरुलाई अब जनताको जित नभै नफर्किने, रित्तो हात नफर्किने, भन्दै आश्वस्त पारे। अबको लडाई अन्तिम भएकोले यो अन्तिम पटक लडौं भन्दै जनताका घर घरमा गएर घरै पिच्छे कम्तिमा एक जना आन्दोलनमा लाग्न बिन्ति गरे । तर आम हडतालले कुनै उपल्ब्धि हासिल गरेन । राज्यसत्ता परिवर्तन गर्ने जनबिद्रोह सफल पार्ने लक्ष्य त कहाँ हो कहाँ उनीहरुले कठपुतली भनेको सरकार सम्म परिवर्तन गर्न सकेनन् । हुँदा हुँदा त प्रचण्डले हिजो राजधानीमा त्यो राज्यसत्ता कब्जा गर्ने भन्दै जन बिद्रोहका रुपमा शुरु गरेको आम हडताललाई नै गलत भनिदिए ।
आफुहरुले भन्दै आएको बिदेशी प्रभुकै अगाडि बरु झुकेर आम हडताल फिर्ता लिएको देखियो । किनभने यूरोपेली, अमेरिकी र भारतीय कुटनितिज्ञहरुले भेटेर आम हडताल फिर्ता लिन दबाब दिएको २४ घण्टापनि नबित्दै उनीहरुले फिर्ता लिए । आम कार्यकर्तालाई आन्दोलनमै छौं भन्ने देखाउन आन्दोलन नटुंगिएको बरु आन्दोलनको स्वरुप मात्रै बदलिएको बताउँदै आएका छन् । तर आन्दोलनको पारा देख्दा बुझिन्छ, यो कार्यकर्ता अल्झाउनकालागि मात्रै हो ।
माओवादीलाई आम हडताल फिर्ता लिन दबाब दिने कूटनितिज्ञहरु मध्ये अधिकांश प्रधानमन्त्री माधव नेपालले राजिनामा दिनुपर्ने अडानमा छन् । आम नागरिक त्यहि पक्षमा देखिएका छन् । जनमत अब राष्ट्रिय सरकार बन्नु पर्छ भन्ने पक्षमा देखिएको छ । माओवादीले आम हडताल गर्दा त्यो फिर्ता लिए प्रधानमन्त्रीले राजिनामा दिने प्रधानमन्त्रीकै दलले स्पष्ठ पारेको थियो । नेपाली कांग्रेसले आम हडताल फिर्ता लिए प्रधानमन्त्रीलाई राजिनामा गराउन सकिने बताउँदै थियो । तर अहिले ति प्रतिबद्यता एमाले र कांग्रेसले पुरा गर्नुको साटो नयाँ नयाँ शर्तहरु अघि सारिरहेका छन् । अनि माओवादी त्यसमा ‘तुम शरणम’ गर्दै एकपछि अर्को झुक्दै गएको छ ।
सरकारमा सम्मिलित खासगरि एमाले र नेपाली कांग्रेसले शर्त राखेका थिए- माओवादीले वाइसियलका बारेक हटाउन माग राखेका थिए । त्यो बेलादेखि माओवादीहरुले वाइसियलको ब्यारेक नभएको, जबर्जस्ति गरेर कतै नबसेको, त्यो हातहतियारले सुसज्जित नभएर पार्टीका सामान्य कार्यकर्ता भएको दाबी गर्दै आए । हिजो भने त्यहि अडानलाई त्यागेर प्रचण्डले वाइसियलको ब्यारेक चार पाँच दिन भित्रैमा हटाउन सकिने स्पष्ठिकरण दिए ।
सत्तारुढ दलले शिबिरमा रहेका जनसेनालाई तत्कालै एक वा दुइ शिबिरमा राख्नुपर्ने बताउँदा अस्विकार गरेका माओवादीले अहिले जेठ महिना भित्रै दुई वटा शिविरमा राख्न सकिने भनेर स्विकारेको छ । यस अघि नेपाली कांग्रेस र एमालेले छापामारहरुको टुंगो दुई महिना भित्रैमा लगाउने शर्त राख्दा अस्विकार गरेको माओवादीले अहिले जेठ महिना भित्रैमा सुरक्षा अंगमा समायोजन हुने वा पार्टीमा लाग्ने भनेर निर्क्यौल गर्ने तयार रहेको बताएको छ ।
यस अघि आगामी सरकार कुनैपनि हालतमा माओवादीकै नेत्रित्वमा हुनुपर्ने दाबी गर्दै आएको थियो । अनि प्रधानमन्त्रीमा कुनैपनि हालतमा पार्टी अध्यक्षनै हुनुपर्ने अडान राख्दै आएको थियो । तर अहिले प्रधानमन्त्रीमा प्रचण्ड त के अर्को कुनै पार्टीकै अन्य ब्यक्तिका बारेमा पनि छलफल र सहमती गर्न सकिने भन्न थालेको छ ।
यसरि माओवादी पार्टी दिन प्रतिदिन आफ्ना अडानहरुमा झुक्दै र त्याग्दै आएको छ । संबिधान सभाको निर्वाचन पछि एकाध घटनामा बाहेक उ अन्य दलका अगाडि आफ्ना अडानहरु त्याग्दै आइरहेको छ । आम कार्यकर्ताहरु माझ एक खालको उच्च क्रान्तिकारी कार्यक्रम घोषणा गर्ने । तर त्यसको उपलब्धि हासिल नहुँदै त्याग्ने गर्दा कार्यकर्ताहरुमा निराशापनि छाएको छ । पार्टी संशोधनवादी धारमा जान लागेको तर्क बितर्कपनि बाक्लिँदै गएको छ । उता सरकार सञ्चालक दलहरुमा चाहिँ माओवादीलाई झुकाउन सकिन्छ भन्ने मानसिकता र आँट बढ्दै गएको देखिन्छ । जसले गर्दा माओवादीलाई उनीहरुले आफ्ना शर्तमा एक पछि अर्को झुकाउँदै लगेका छन् ।




