नेता विरुद्ध अन्तिम अस्त्रः बेलैमा चेत खुलोस्

-सरोजदिलु विश्वकर्मा   

नेकपा एमालेको इतिहासमा धेरै कार्यकर्ताले गधा झैं वर्षौ वर्ष भारी बोकेका छन् । तर आज लाग्दैछः यो भारी बोक्दाबोक्दा कतै गधालाई नै पो बोकेर हिडिएछ की ? मैले यसो भनिरहँदा ‘ढोका खुल्ला छ, जा’ भन्लान् । कोहीवात छैन । गलत विधि र अक्षमहरुको निरन्तर गधा बनिरहनु अनिवार्य छैन, अव । र, पार्टी विचारलाई विखण्डन हुननदिने हो भने अव जोकोही  कार्यकर्ताले बोल्नैपर्ने हुन्छ र सिंगो कार्यकर्ता लाईनको पीडा ब्यक्त हुनैपर्दछ । अनि दक्षिणपन्थबाट पार्टीलाई मुक्त राख्दै आम र्सवहाराको मुक्तिका लागि हिडेको हाम्रो गौरवमय पार्टी  आज आफैं चरम दक्षिणपन्थमा भाँसिदै गएको स्वीकार्नै पर्दछ । जवकी विगतमा राष्ट्र निर्माणको अभिभारा बोकेको नेकपा एमाले बारम्वार दक्षिणपन्थी यथास्थितीवादीहरुको शिकार भईरहँदा इमान्दार कार्यकर्ताहरु पार्टीलाई सुकेकै रुख भएपनि आफ्नो पवित्र बासस्थान ठानी एकदिन पालुवा पलाउने आभिलासामा यहीँ रहीरहे । तर आज यो प्रगाढ आस्थाको वृक्ष ढल्ने अवस्थामा पुग्दा भने नेताहरु आफ्नै मन्दिरमा आगो लगाउन गइरहेका छन्, विपक्षीलाई गाली गरेर चिऊला पलाउने सपना देखिरहेका छन् त कोही पार्टीबाट अलग्गिएर क्रान्तिकारी देखिने दुःस्वप्ना पालीरहेका छन् ।

हो, विगतमा हाम्रा नेताहरु पुराना मण्डलेहरुसंग सहकार्य गर्न पुगे त कहिले प्रतिगमन आधा सच्चियो भनेर निरंकुशताको पाउँमा दशेनभेट गर्नपुगे । अन्ततः नेताहरुको वेठेगान रास्ताका कारण पार्टी संविधानसभाको निर्वाचनमा ३४ सिटमा खुम्चिन पुग्यो । वामशक्तिहरुवीचको सहकार्यलाई उपहास गर्दा हाम्रा आफ्ना लालकिल्लाहरु जताततै भत्कन पुगे । यद्यपि कार्यकर्ताहरुले यसलाई सहजरुपमा स्वीकार्दै आफ्नो आस्थाको धरोहरलाई हड्डी घोटेर बिउँझाउन जुटीनै रहे । तर नियोजितरुपमा जव प्रधानमन्त्री पदको च्याखे लगाइयो, त्यही दिनदेखि कार्यकर्ताको भावना विपरित सत्ताको दलालीमात्र गर्दैछन्, हाम्रा महान नेताहरु । र, विपक्षीलाई केवल गाली गरी आफू चै चोखो देखिने कुचेष्टा गरिरहेका छन् ।

यतिवेला सरकारको उपस्थितीको प्रत्याभूति हामी हाम्रा विरोधीलाई मात्र होईन, जनस्तरका कार्यकर्तालाईसमेत दिन सकिरहेका छैनौ । नेकपा एमालेको सरकारले यो देश र नागरिकलाई के दियो त ? यसको एउटा जवाफ पनि हामीसंग छैन । आफ्नै गाउं आफैं बनाऊ, र नौ ‘स’ जस्ता कार्यक्रमले स्वणिर्म भविश्य कोरेको एमाले सरकारले यतिवेला एउटा स को अभिभारा पनि पुरागर्न सकिरहेको छैन । वरु हामी केवल विरोधीलाई मात्र सराप्न खप्पीस् भयौं । अनि संविधान दिने निर्णायक घढीमासमेत वरु संविधान बन्न नदिने र शान्ति प्रकृया टुंग्याउन नचाहने प्रमुख तगारो बनेर सत्ता र भत्ता खाईरहेका छौं, हामी । हाम्रा नेता काम्रेडहरु यसैलाई दिग्विजय ठानेर आकाश खस्ला, धर्ती फाट्ला, डेकेन्द्र राजवंशीहरुले आत्मादाह गरेगरुन्, तर सत्ता भनेको ढुकढुकी हो भन्ठान्दै कुर्सीमा जुको झैं टासिएका छन् । अन्नतः आज संविधान बन्ननसक्ने स्थितीमा पुगीसकेको छ ।

यो अवधिमा ८ जना पत्रकारहरु मारिए्, ब्यापारीहरुको दिनदहाडै हत्या गरिएको छ । गृहमन्त्री भन्छन्- यस्ता जावो झिनामसिना २।४ जना मान्छे मर्दा किन राजीनामा दिने ? बाँसपानीमा दलित चेलीहरु सैनिकद्धारा नृशंस हत्या गरिन्छन् तर तिनलाई चोरी-शिकारीको आरोप लगाउँछन्, मन्त्रीहरु । आफ्ना मन्त्रीले कर्मचारी कुट्छन्, प्रधानमन्त्री त्यस्ता अराजकहरुलाई काखमा राखेर म्वाई खान्छन् । जननिर्वाचित, गृहराज्यमन्त्रीले ‘काम देऊ’ भनेर माग्दा उनीहरुलाई गलहत्याएर निकालिन्छ । र्सार्वजनिक लेखासमितिले एम्आरपी आफ्नै देशमा छाप्न निर्देश गर्छ ।

मन्त्रीपरिषद्ले अघिल्लो दिन यसलाई अनुमोदन गर्छ । तर भोलीपल्ट महाकाली सन्धीभन्दा कठोर राष्ट्रघाती निर्णय गर्दै भारतीय कम्पनीलाई दिन्छ अनि प्रभुको इशारामा चल्ने कठपुतली सरकार भएको स्वयं प्रमाणित गरिदिन्छ । देशको अर्थतन्त्र टाट पल्टिदैं गएको छ, गाउं टोलमा वृद्धभत्ता त बाँढ्न सकेको छैन । अर्कोतिर हिजोका पञ्चे-मण्डले र जनआन्दोलनका दमनकारीहरु सल्वलाईरहेका छन्, गणतन्त्रलाई हत्या गर्न विभिन्न तनावाना बुनिरहेका छन्, सातदोबाटोबाट कटुवालहरु बिऊँझिएर गणतन्त्रविरुद्ध ऐलान गर्दैछन् । तिनैका पक्षधरहरुलाई जोडजाड् गरेर एमालेले २२ सेहरुको नेतृत्व गरिरहेको छ । त्यस्ता यथास्थितीवादी र प्रतिगमनका भाईभारदारहरुलाई करोडौंको गाडी, बंगला, र अन्य सुखसुविधा प्रदान गरेर वहुमतको दलाली गरिरहेको छ । हाम्रो नेतृत्वको सरकारले दिएको उपहार यस्तैयस्तै हुन् । यस विषयमा एमाले भित्रका सच्चा मित्रहरुले धेरैठाउंमा, धेरै पत्रपत्रिकामा गुनासो पोखिसकेका छन्, पार्टर्ीी सत्तावालाहरुले सुनेकासुन्यै छन् । अनि उनीहरु भन्दैछन्- पार्टीभित्र बसेर माओवादी गीत गाउनेहरुलाई कारवाही गर्नुपर्दछ ।

हुनत जनैधारी टुप्पीवालहरुको सयौ झुठ्हरु पनि पवित्र वाणी नै हुँदोरहेछ । ओली काम्रेड्हरु यस्ता पवित्र मन्त्रका धनी, दुदर्शी सोच र राज्यको आमूल परिवर्तनको कुनै अग्रगामी खाका छैन, उनको दिमागमा । विपक्षीलाई विभिन्न टुक्काले वाण हान्न र कार्यकर्ताहरुलाई यस्ता उखानद्धारा उक्साउन मात्र माहिर छन् । यति नगरे ओलीको बोली बिक्दैन । उनले केही कार्यक्रममा संस्कृतिमा मन्त्रोचारण गर्दै रावणको अहंकारको कथा सुनाए- सीता फिर्ता गर्ने सवैको अनुनय-विनयलाई नमानी अहंकार पाल्दा रावणको विनाश भयो रे । यो कथा माओवादीलाई होईन, ठ्याक्कै यतिवेला सत्ताधारी कम्रेड्हरुको अहंकारसंग मिल्देजुल्दो छ । जवकि, देशमा यस्तो अराजकता, भष्ट्राचार, लुट, हत्या, हिंसा मच्चिरहँदासमेत एक कानले सुनेर अर्को कानले उडाउनेले फेरिपनि विपक्षीलाई दोष दिएर उम्कन खोज्नु भनेको रावणको अहंकारजस्तै हो । तर्सथ यो ब्याख्यानलाई कागले आफ्नो नाम आफैं काडेको भन्नुपर्ने हुन्छ । तर मन्त्रधारी नेताले जतिसुकै सुनपानीले र्छर्केर हामीलाई विपक्षीको विरोध गर्न सिकाए पनि त्यो सत्य घामजस्तै र्छलंङ्ग छ ।

यतिवेला समृद्ध नेपालको खाका रच्ने समावेशी संविधान निर्माणको अन्तिम विन्दूमा हामी छौं । हाम्रो सरकार हिजो पनि भन्दैथियो- सहमति हुन्छ, यही सरकारले संविधान बनाउँछ । भोली विहान संविधान जारी गर्ने समय आईसक्यो, २४ दलहरु २४ सै दिशामा मुन्टो फर्काएर भत्ता हत्याईरहेका छन्, फेरिपनि यो सरकार भन्दैछ- यही सरकारले सहमति गर्दछ र यसैले संविधान बनाउँछ ।

वाईयात !!! जवकि, माओवादी सत्ता नपाए कुनैपनि हालतमा संविधान बन्न नदिने च्याखे थापीरहेको छ । सत्ता पाए एकहप्तामा संविधान ल्याउने भ्रम बाँढ्न ऊ पछि परेको छैन । एक हप्तामा संविधान बन्ने भए संविधानसभाको यो २।२ वर्षो नाटक किन ? यस्को जवाफ उसले दिनसक्दैन । हो, संविधान सत्प्रतिशत लेखिइसके पनि माओवादीको मतविना एउटा धारा पारित हुँदैन । पारित नभएपछि कसरी सयौं धाराको संविधान आउँछ ? यसको हेक्का सवैलाई छ, सरकार, माधव काम्रेड, ओली काम्रेड, उग्र काम्रेडहरु, सवैलाई छ । हुँदाहुदै पनि सत्ता जसरी पनि लिने र सत्ता जसरी पनि नछोड्ने वीचमा सहमति हुन सकिरहेको छैन । तथ्य यही हो ।

हिजो रुकमांगलाई काँध चढेर नियोजितरुपमा हाम्रै पार्टी सरकारको र्समर्थन फिर्ता लिएकै हो, संविधानको अधिकार क्षेत्र वाहिर आएर राष्ट्रपतिले कटुवालको विन्तीपत्र ग्रहण गर्दा हाम्रा नेताले पनि शीतल निवासमा विन्ती बिर्साई त्यसलाई अनुमोदन गरेकै हो । माधव नेपाल संविधानसभा समितिको अध्यक्षको गहन जिम्मेवारीबाट भागी प्रधानमन्त्री खान पुगेकै हो । अनि एउटा थरीले वामदेवलाई कारवाही गर्ने अकर्मण्यता दोहोर्याउँदै छ । कारवाही वामदेवलाई होईन, वामदेवहरुलाई जवर्जस्त यो स्थितीमा पुर्याउने ती जनैधारी तत्वहरु तथा प्रधानमन्त्री खान धोती फुकालेर दौडने पदोलोलुप माधव नेपाललाई पहिले हुनुपर्ने हो ।

अतः हाम्रा आदरणीय नेता काम्रेड् हो ! विपक्षीलाई एक औलाले चोर लगाउनुभन्दा पहिले वाँकी औलाहरुले कता संकेत गरेका छन् ? हेर । र, विरोधीलाई टुक्के उखानले उडाउँदा मात्र देशको आमूल परिवर्तन हुन्छ, अग्रगामी संविधान आउँछ भन्ने पाठ् हामी कार्यकर्तालाई पढाएर विरोधीसंग लड्नभिड्न उत्प्रेरित नगर । हामीलाई ‘मार्क्सवादी बन’ भनिरहँदा आफूचैं चन्दने आवरण नदेखाउँदै कसैलाई डिलमा पुर्याई हुत्याउने दुस्कार्य नगर । वरु, सच्चा कम्युनिष्टको लागि क्षणिक सत्ता सर्वोपरि होइन, संगठन र परिवर्तन सर्वोपरि हो । त्यसैले कार्यकर्ताको अनुहारमा हेर । कार्यकर्तालाई गधा बनाउने काम नगर, कार्यकर्ताको नजरमा कतै आफूहरु नै नालायक पो सावित भइसकेका पो छौ कि ?

तपाइँको प्रतिक्रिया