देश पुरै डरलाग्दो सैनिकिकरणतिर

नेपाली जनताले माओवादीलाई दशक भन्दा लामो हतियाबन्द युद्दबाट शान्तिपूर्ण प्राजातान्त्रिक मूल धारमा ल्याए । बन्दूक बिसाउन लगाए । राजा ज्ञानेन्द्र बन्दूककै बलमा शासन गर्न चाहन्थे । तर त्यसलाई नांगो छाती र रित्तो हातले चुनौति दिए । आखिरमा राजतन्त्रको हतियार झुक्न कर लाग्यो । जनताले सधैंका लागि झुकाए । माओवादी जनयुद्दले उठाएका जायज मागलाईसमेत हतियारकै भरमा तह लगाउन खोज्ने संसदिय दललाईपनि झुकाएर संझौता गर्न लगाए । तर सम्रग्रमा जनताले सबै खाले हतियारलाई अस्विकार गरेर सैनिकिकरणको बिरोध गरे । तर के गर्नु ? जनताका तिनै आकांक्षाहरुलाई लत्याएर अहिले हाम्रा राजनितिक पार्टीहरुले सम्पूर्ण देशलाईनै सैनिकिकरण गर्दै लगेका छन् । देश डरलाग्दोसित दिनदिनै सैनिकिकरणतर्फ उन्मुख भैरहेको छ ।

नेकपा (माओवादी) को त पहिलेदेखिनै सुरक्षा दस्ता थियो वाईसियल । त्यो माओवादी सरकारमा छँदापनि बिघटन भएन । बरु कुनै न कुनै रुपमा सक्रिय भईरह्यो । हतियार सहित देशका बिभिन्न भागमा बिभिन्न रुपमा देखा परिरहे । त्यसैको सिको गर्दै नेकपा एमालेले पनि सुरक्षा दस्ता निर्माण गर्‍यो ।  नेपाली कांग्रसलेपनि त्यस्तै दस्ता दोलखा जिल्लाबाट गठन गरेर देखायो । यद्दपी नेपाली कांग्रेसको भने सक्रियरुपमा देखा परेन ।

त्यसपछि त्यस्ता सुरक्षा दस्ताहरु सद्भावना पार्टी, चुरे भावर एकता समाज लगायत तराईका  अन्य  दलहरुले पनि गठन गरे। पटक पटक गरेर सरकारमा पुगेका र प्रमुख दलाह्रुनै जिम्मेवार बन्न नसकेपछि देशैभरिका भुरे टाकुरे सबैजसो दलले सुरक्षा दस्ता निर्माण गर्न लागे । ताम्सालिङ, मगरात, खम्बुवान भनिने अनेक नामका जातिय राज्य माग्ने समूहका आआफ्नै सुरक्षा दस्ता गठन भैसकेका छन् । पछिल्लो समयमा खस क्षेत्री एकता समाजलेपनि सुरक्षा संयन्त्र धमाधम गठन गरिरहेको छ । संघिय लोकतान्त्रिक राष्ट्रिय परिषद नामक जातिय संगठनलेपनि यस अघि चर्चित डन दिपक मनाङेको संलग्नतामा अर्ध सैन्य दस्ता (संघिय भोलेन्टियर्स फोर्स) निर्माण गरिसकेको छ ।

जेठ १४ मा संबिधान नबन्ने भन्दै त्यसपछिको परिस्थितिलाई सामना गर्ने नाममा खस क्षेत्री एकता समाजले पूर्व सुरक्षाकर्मी समेतलाई समेटेर धमाधम सुरक्षा समूह गठन गरिरहेको छ । माओवादीले आफ्नो वाईसियल छँदा छँदै र क्याम्पमा जनसेना हुँदाहुँदा अझ स्पेशल टास्क फोर्स गठन गर्दै छ । तिनलाई धमाधम सुरक्षा तालिम दिन थालिरहेका छन् । खासगरि पूर्वी  पहाड र तराईका जिल्लामा बिभिन्न संगठनहरुले युवाहरुलाई कुनै न कुनै सुरक्षा निकायमा आवद्द गराएर सैनिक तालिम दिईरहेका छन् ।

भन्नलाई त नेकपा (एमाले), माओवादी र अन्य जातिय समूदायलेपनि राष्ट्रियातको रक्षा र समाजमा शान्ति कायम गर्न सुरक्षा दस्ता गठन गरेको बताउँदै आएका छन् । तर प्रश्न उठ्छ-राष्ट्रियताको रक्षाकालागि नेपाली सेनाको भूमिका के हो ? समाजमा शान्ति कायम गर्न, जनतालाई सुरक्षा दिन सरकारी सुरक्षा निकायको भूमिका र उपादेयता के ? सरकारी सुरक्षा निकायले सुरक्षा दिन सकेन भने त्यसलाई बलियो बनाउनु, चुस्त बनाउनु उपयुक्त हो कि हरेक संगठन र जातिय समूदायले सुरक्षा दस्ता बनाएर आफु खुशि प्रयोग गर्नु ? किन हाम्रा दल र जातिय संगठन सरकारी सुरक्षा दस्तालाईलाई समाजको सुरक्षा, नागरिक सुरक्षा र राष्ट्रिय सुरक्षाकालागि चुस्त राख्ने जमर्को गर्दैनन् ?

हरेक दलले यसैगरि सुरक्षा दस्ता गठन गर्दै जाने हो भने भोलीको परिणाम के होला ? यि सबै दलका सुरक्षा दस्ता कसका बिरुद्द प्रयोग हुने हुन् ? के का लागि प्रयोग हुने हुन् ? एक जातिले अर्को जातिमाथि हमला गर्न ? तामाङहरुले बाहुनलाई सिध्याउन ? अनि बाहुनहरु बहुमत भएका ठाउँमा अन्य अल्पमत जातीलाई लखेट्न ? के यस्तो  सैनिकिकरणले देशलाई सिधै ग्रिहयुद्दतिर लैजाँदैन ? हाम्रा नेताहरुले, दलहरुले गर्न खोजेको के हो ? जनताको गाँस काटेर बन्दूक भित्र्याउने अनि मट्यांग्रा भन्दा सस्तोमा जनताको हात हातमा बन्दूक थमाएर देशलाई दशौं लामो ग्रिह युद्दमा फसाउने ?

तपाइँको प्रतिक्रिया