पाँच हजार जनासेनासित एक लाख नेपाली सेना किन थर्कमान ?
हाम्रो शान्तिवार्ताको एउटा स्पष्ठ समझदारीनै थियो-जनसेनालाई नेपाली सेनामा समायोजन गर्ने । त्यहि अनुसार जनसेना पनि सुरक्षा निकायमा समायोजन भइने भयो भनेर ढुक्क बने । माओवादीलेपनि अब आफ्ना सेनाको भरपर्दो ठेगान लाग्ने भयो भनेर निर्धक्क बन्यो होला । त्यतिबेलाका प्रमुख संसदिय दल र जनयुद्दरत माओवादीबिच भएका समझदारी अनुसार नै राजाको शासन ढल्यो, गणतन्त्र आयो । अनि तिनै समझदारीमा टेकेरनै अहिलेको सरकार बनेको हो । तर केहि पार्टी र नेता के भन्दै छन् ? जुन समझदारी र सम्झौता अनुसार सरकारमा गएको हो त्यहि मान्दिन रे ? ति जाबो पाँच हजार जनसेनालाई एक लाख नेपाली सेनामा मिसाउँदा हुन्छ के ? पाँच हजार जनसेनाले एक लाख नेपाली सेनालाई गर्न सक्छ के नै ?
त्यो पनि बटालियनमा एकै ठाउँमा राख्नुपर्छ भन्ने छ र ? बिभिन्न बट्टालिएनमा बाँडिदिए झन फास न फुस । केहिले के भन्छन् भने जनसेना राजनितिक चेत र स्वार्थबाट आएको । त्यसले राजनितिक स्वार्थ हेर्छ । ए बा ! के नेपाली सेनाले नेपालको राजनितिनै बुझ्दैन ? आफ्नो देश, आफ्नो समाज, आफ्ना जनताको हित के गर्दा हुन्छ र के गर्दा हुँदैन भन्ने नेपाली सेनाले बुझ्दैन ? नेपाली सेना त्यति कमजोर छ कि उ आफ्नो देशको, संस्थाको हित र अहित, समाजको हित र अहित नै छुट्याउन नसकेर केहि जनसेनाको लहै लहैमा लाग्छ ?
नेपाली सेनामा पढे लेखेका, जाने बुझेका, राजनिति केलाउन सक्ने सक्षम ब्यक्तिनै छैनन् ? अचम्म भएन यो त ? नेपाली सेनालाई किन यति कमजोर ठानेको ? प्राजातान्त्रिक मुलुकहरुमा काम गरेका, पढेका, तालिम लिएर देखे बुझेर आएका नेपाली सेनाका अधिक्रितहरुलाई आफ्नो देशको राजनिति थाह नहोला र पाँच हजार जनसेनाले जे भन्यो त्यसैका पछाडि दौडिने ? त्यत्रो लाखलाई नाथे पाँच हजार जनसेनाले कसरि निल्न सक्ला ?
बरु पिर त माओवादीलाई हुनु पर्ने होइन ? पोखरीमा लगेर एक अंखोरा पानी हालिदिँदा त्यसको अस्तित्व त्यहिँ बिलिन हुन्छ भनेर । नेपालमा सधैं उल्टो हुने किन होला ? जसले पिर लिनुपर्ने हो उ ढुक्कै छ । समुद्रमा एक अंखोरा पानी खन्याउन तयार । अनि समुद्र चाहिँ त्यो एक अंखोरा पानी देखि थर्कमान हुने ?
हाम्रो शान्ति संझौताको एक महत्वपूर्ण पाटो र शर्त नै हो, जनसेनालाई सुरक्षा निकायमा समायोजन गर्ने । सम्झौता गर्ने बेला आँखामा पट्टी बाँधे झैं सहि धस्काउने, अनि पछि मान्दिन भन्न पाइन्छ ? बरु दुबै पक्षले आआफ्ना लिँडेढिपी छोडेर सेनामा जान योग्यता पुगेका जतिलाई लाने, नपुगेकालाई अरुनै सुरक्षा निकायमा लानपनि त सकिन्छ ? एउटा पक्षले दाहिने आँखा नभएपनि सेनामै लानु पर्छ भन्ने । अर्कोले एक जनापनि जस्तो सुकै होस् लगिँदैन भन्ने । अनि कसरि हाम्रो शान्ति सम्झौता टुंगोमा पुग्छ ?




