सरकार परिवर्तन: माओवादी र भारतीय टक्कर
हाम्रो देशको राजनीतिको ताला चाबी भारतीयकै हातमा भएजस्तो हो । सरकार बनाउने र भत्काउने त झन भारतकै हातमा जस्तो देखिन्छ । तर भारत हाम्रो सरकार परिवर्तनको पक्षमा छैन । त्यसको कारण के भने एकातिर प्रधानमन्त्री नै लाचार जस्तो देखिएका छन् । अर्कोतिर प्रधानमन्त्री माधव नेपाललाई टेरपुच्छरै नलगाई मज्जाले आफ्नो स्वार्थमा उपयोग गर्न पाउने रक्षा मन्त्री जस्ता पात्र अर्को कुनैपनि सरकार बने सजिलो छैन । संसदमा बहुमत कम्युनिष्टहरु हुँदाहुँदैपनि तिनलाई फुटाएर आफ्नो अनूकुल अनुसार चलाउन पाउने भारतकालागि अहिले माधव नेपाल प्रधानमन्त्रीत्वको एमाले नेत्रित्व सरकार भन्दा बिश्वासिलो अर्को देखिएको छैन । त्यसैले भारतीय पक्ष अहिले त झन यो सरकार परिवर्तनको पक्षमा देखिएकै छैन । भारतीय मन्त्री क्रिष्णालेपनि नेपाल आएर अहिलेकै सरकारको पक्षमा भारत रहेको स्पष्ठ पारेर गएका हुन् । तरपनि सरकार परिवर्तनका खेलहरु अहिले सतहमा आएका छन् । यो हेर्दा कुन पार्टीले सरकार चलाउने भन्दापनि सरकार परिवर्तन गर्ने वा नगर्नेमा माओवादी र भारतको पो टक्कर देखिन्छ ।
माओवादीले सेनापती काण्डको तालाचाबी नेपालका दलहरुसित नभएर माओवादीलाई सिध्याउने, शान्तिवार्ता भत्काउने र नयाँ संबिधान बनाउन नदिने भारतीय खेलाका रुपमा हाकै सार्वजनिक गर्यो । प्रधान सेनापती काण्डले गर्दानै माओवादी सरकार बाट बाहिएरिए। त्यसपछिपनि माओवादीसित कुनैपनि हालतमा नमिल, सरकारमा जान नदेउ भनेर भारतले हाम्रा केहि दलहरुलाई अर्थ्याएका कुरा सतहमै आए । मुलत: माओवादीले बिदेशी प्रभुका अगाडि झुक्दैनौं भन्दै सरकारबाट बाहिरिएपछि सेनापती काण्डबाटै भारत र माओवादीको टक्कर खरो रुपमा देखिएको हो ।
संसदको सबैभन्दा ठुलो दललाई संसदबाट बाहिर राख्ने र सरकारमा जानै नदिने भारतीय खेल बुझेपछि माओवादी भारतका बिरुद्द चर्को रुपमा उत्रिए। हुँदा हुँदा माओवादीहरुले राष्ट्रिय अखण्डतामा भारतले आँच पुर्याएको र राष्ट्रियताको रक्षाकालागि भारतसित लड्न परेपनि तयार रहनुपर्ने भन्दै चौथो चरणको आन्दोलननै भारत बिरुद्द केन्द्रितगरेपछि भारतपनि माओवादीसित थप नचिढिने कुरै भएन । भारत र माओवादी एक अर्काकामा झन चिढिँदै गए । सरकारमा माओवादीलाई जान नदिने र राष्ट्रपती काण्ड भारतको खेलमा भएको हो भनेर सिधै भनेपछि यो सरकार परिवर्तन गरेर देखाउनु र राष्ट्रपती काण्ड गलत थियो भनेर सिद्द गराउनु माओवादीका लागि जिवन मरणको प्रश्न बन्यो । यसमा बिजय हुन सके भारतलाई पछार्न सकिन्छ भन्ने छ माओवादीमा । उता भारतलाईपनि कुनिपनि हालतमा सरकार परिवर्तन गर्न दिनुनै छैन । एक त, त्यसो गरे माओवादीसित झुकेको सरह हुने । अर्को, अरु दलसित झैं माओवादीसित लिन नसकिने । जसले जे भनेपनि बिद्या भण्डारी जस्ता रक्षा मन्त्रीलाई झैं सजिलैसित पक्कैपनि माओवादीका रामबहादुर थापा ‘बादल’ लाई खेलाउन सकिन्न नै ।
सरकार परिवर्तनको खेल त्यत्तिमै सिमित छैन । भारतीय पक्षसित कांग्रेस सभापती गिरिजाप्रसाद कोइरालापनि चिढिएका छन् । किनभने भारतीय संस्थापन पक्षले आफुलाई धोका दियो भनेर उनले पटक पटक उल्लेख मात्रै गरेका छैनन् कि भारतलाईपनि “देखाइदिन्छु” भनेर उनले पटक पटक सार्वजनिक गरेकै हुन् । अहिले नेपाली कांग्रेसका नेताहरु खुम बहादुर खड्का, उपसभापती रामचन्द्र पौडेलसम्मलाई कोइराला बिरुद्द उतार्ने काम भारतलेनै गरेको हो भन्नेमा कोइरालालाई धरमर छैन । र भारतले कांग्रेसमा फुट ल्याएर स्वार्थ सिद्द गर्ने मेसो जारी राखिरहेको छ भन्नेमापनि कोइराला स्पष्ठ छन् । त्यसैले, कोइरालापनि मौका मिल्दा भारतलाई देखाईदिने पक्षमा छन् भन्ने माओवादीलाई राम्ररी थाह छ । माओवादीहरुले कोइरालाको यो भावनापनि नगदी गर्न नचाहने कुरै भएन ।
सरकार एमालेको भएपनि र पार्टीमा अहिले कोइराला बिरोधी खेमा समेटिँदै गएपनि साँच्चै कोइरालाले चाहने हो भने अहिलेपनि सरकार परिवर्तन असंभव छैन भन्ने माओवादीहरुले नबुझ्ने कुरै भएन । सरकारमा गएर जादूको छडीका रुपमा केहि छैन । खिचडी सरकार चलाएर जनताका अगाडि पहिले गरका बाचा पूरा गर्न सकिन्न भन्नेमा पनि माओवादी स्पष्ठै छन् । तरपनी अहिले राष्ट्रियताको आन्दोलन प्रचारमा प्रमुख र सरकार परिवर्तनको नारा नीतिमा प्रमुख देखिनुको कारण नै भारतसितको टक्कर हो । सरकार परिवर्तन गर्न सके माओवादीको जित र सरकार परिवर्तन हुन नदिए भारतीय जित ।




