छमछमी नाचेकै भरमा गणराज्य, टिकाउनु चाहिँ पर्दैन ?

dancing-prachanda-in-kathmandu-0321देश संक्रमणकालिन अवस्थामा भएका बेला दलहरुको सहमती प्रमुख पक्ष हो । अहिलेको मुख्य काम भनेकोपनि दलहरुले संवाद, छलफल र सहमती गरेर नयाँ संबिधान लेख्ने । तर “काम कुरो एकातिर कुमो बोकी ठीमीतिर” भने झैं संसदको सबैभन्दा ठूलो दल एकिक्रित माओवादीले भने अहिले त्यसलाई प्राथमिकता नदिएर नाच्ने र गाउने, रमाईलो गर्ने गरेर धमाधम गणराज्य घोषणा गरिरहेको छ । देशलाई पूनर्संरचना गर्ने र संघियतामा लैजाने यस्तो महत्वपूर्ण कामको तयारी बिना नाचेकै भरमा घोषणा गरिएका गणराज्य के टिक्लान ?

माओवादी नेताहरुले गणराज्य घोषणा गर्दा छमछमी नाचेका छन् । गाएका छन् । अबिर र मालाले रंगिएका छन् । लाग्छ उनीहरुले निकै ठुलो उमंग मनाईरहेका छन् । र जनतालाई भनेका छन्, लौ अब सबै जात जातिको बाहुल्यता अनुसारको राज्य बनाएर अब सयौं वर्ष देखिको उत्पिडन अन्त्य भयो ।

तर यो गणराज्य भएपछि जनताले पाउने के हो ? एक्लो पार्टीले घोषणा गरेको गणराज्यको औचित्य के ? अन्य दललाई साथमा लिन नसक्नुको करण के हो ? यो गणराज्य घोषणामा प्रमुख सहयात्री दललाई साथमा हिँडाउन प्रयत्न नगरिनुको कारण के हो ? प्रमुख दल सहमत नभए अन्य जातिय संगठन, बौद्दिक वर्ग, आम जनता समक्ष बहस चलाएर पूर्ण तयारि नगरिनुको कारण के हो ? किन हतार हतारमा गणराज्य घोषणा गरिँदै छ ? स्पष्ठ पार्न सकेका छैनन् । गणराज्यमा सामाजिक, आर्थिक र राजनितिक के कस्ता प्रवधान रहन्छन् ? गणराज्य घोषणासित त्यस्तो के छडी छ जादूको जसले यो घोषणा गर्नासाथ सयौं वर्ष देखिको उत्पिडन अन्त्य गर्छ ?

जग जाहेर छ, पञ्चायती ब्यवस्था फालेर बहुदलिय प्रजातन्त्र स्थापना गर्दा हाम्रा नेता र दल स्पष्ठ थिएनन् राष्ट्रलाई कस्तो बनाउने ? जनतालाई के दिने भन्ने। राजतन्त्र फाल्दापनि हाम्रा राजनितिक दल र नेतासित राष्ट्रिय एजेन्डा थिएनन् देशलाई यस्तै बनाउने भन्ने । अनि तिनले जनतालाई आआफ्ना स्वार्थ अनुकुलका आश्वासन बाँडे । राजतन्त्र फालेर गणतन्त्र ल्याउँदापनि तिनले स्पष्ठ राष्ट्रिय एजेण्डा दिन सकेनन् । अहिले गणतन्त्र आएको यति समय भयो तरपनि हाम्रा दल स्पष्ठ छैनन् । देशलाई पूनर्संरचना गर्ने, संघियतामा जाने भन्ने छ । तर अहिलेसम्म कुनैपनि दलले कस्तो संघियता, राज्यलाई पूनर्संरचना कसरि गर्ने ? कोहि स्पष्ठ छैन । त्यहि भएरपनि हुन सक्छ, माओवादीले आफ्ना एजेण्डामा अन्य दललाई सहमत गराउन सकेको छैन। आफ्ना एजेण्डामा अन्य दललाई सहमत गराउन उसले संयोजनकारी भूमिका नखेलेर एक्लै गणराज्य घोषणा गर्दै हिँडेको छ ।

maoist-leader-hisila-yami-dancing-in-kathmandu-02132उनीहरुको गणराज्य घोषणा गराईको पारा देख्दा लाग्छ, उनीहरु देशलाई पूनर्संरचना गर्ने ठूलो राजनितिक निर्णय गरिरहेका छैनन्। बरु कुनै सांस्क्रितिक कार्यक्रम मनाईरहेका छन् । उत्सव मनाईरहेका छन्। जहाँ जहाँ गणराज्य घोषणा गर्दै हिँडेका छन् माओवादी त्यहाँ उनीहरुले यस्तै उत्सवको रुपमा नाच गान र रमाईलो गरेर घोषणा गरेको देखिन्छ । देशको सिंगो भूगोललाई गणराज्यमा बिभाजन के यस्तै नाचगानकै भरमा गर्न संभव छ ? त्यति सजिलो छ ?

माओवादीहरुले जन युद्दकालमा पनि धेरै ठाउँमा स्थानिय सरकार, स्वायत्त सरकार, नयाँ राज्यसत्ता भन्दै घोषणा गरेका थिए । तर देखियो ति सरकार, त्यो सत्ता टिकेन । टिकेको भए अहिले त्यसैले निरन्तरता पाउँदो हो । उनीहरुले त्यतिबेला जनतालाई आफ्नै राज्यसत्ता आएपछि के के न हुन्छ भन्ने आश्वास बाँड्न नयाँ राज्यसत्ता, स्वायत्त सरकार लगायतका नारा दिए। बिभाजन गरेको देखाए। अहिले फेरी गणराज्य घोषणा गरिनु त्यसैको पुनरावित्ति त होइन ?

माओवादीले संसदवादी दलहरु सरकारकै कुर्सीमा टाँस्सिन चाहेको र नयाँ संबिधान बनाएर देशलाई संघियतामा लैजान अनिच्छुक रहेकाले आफुहरुले गणराज्य घोषणा गर्नु परेको बताएको छ । तर खोइ माओवादी आफैंलेपनि नयाँ संबिधानकालागि पर्याप्त बहस गर्न सकेको छैन । आफैंले नेत्रित्व लिएर अगाडि बढ्न सकेको छैन । प्रमुख दल अनिच्छुक भए देशका अन्य वर्ग, समुदाय, संगठन र तहमा उसले नेत्रित्व गरेर र सक्रियता देखाएर जान सकेको छैन । आफ्नै पार्टीमा संघियता र नयाँ संबिधान लेखनलाई प्रमुख कार्यभारका रुपमा राखेको छैन । अनि अरु दललाई आरोप लगाउँदैमा कहाँ हुन्छ ?

संसदको सबै भन्दा ठुलो दल भएर नयाँ संबिधानकालागि पहिलो जिमेवारी उसैले निभाउनु पर्ने हो । तर उ आफैं त्यो जिम्मेवारीबाट तर्किरहेको छ । त्योपनि उसको पार्टीमा संघियताबारे एकमत देखिएको छैन । माओवादी पार्टी भित्रै गणराज्य र संघियताबारे विवादहरु देखिएका छन् । यस्तो अवस्थामा उसैले घोषणा गरेका गणराज्यका स्वरुपबारे कत्तिको स्थायित्व होला ? अनि माओवादी एक्लैले घोषणा गर्दैमा त्यस्ता गणराज्यले के मान्यता पाउँछन् ? लहडका भरमा नाच्दै र गाउँदै गणराज्य घोषणा गर्दैमा त्यस्तो गणराज्य टिक्ला ? (दुबै तस्बिर अनलाईन खबरबाट साभार गरिएका हुन)

तपाइँको प्रतिक्रिया