५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला जिन्दावाद

-सञ्जीव सत्याल

sanjib-satyal-nepal-columnistकुरा हालसालैको अर्थात २०६५ को असारको आधाआधिको हो । खुदै मधेशवादी नेताहरु र पार्टी नियन्त्रण वाहिर गईसकेको मधेशवासी दाजूभाई मधेशवासी पहाडीया माथी हिंस्रक , स्थानिय प्रशासन र प्रहरी लाचार भई टुलुटुलु हेरीरहन पर्नेगरी दिनदहाडै खुल्लमखुल्ला हत्या, अनिश्चित जीवन, बलात्कार र दिन दहाडै फसल र सम्पत्ति लूट, घर वार बेच्न पनि परोक्ष निषेध लगायत हर खाले अत्याचारले ग्रसित भई वर्साई नै र्सर्नुपर्ने वाध्यतायुक्त अमानविय कार्यवाहीलाई सफलताको उपाय संझी सो को अनुशरणगरी सिंधुलिका तामासालिङ्ग अर्थात स्थानिय तामाङ्गहरुले माओवादीले जस्तै लडाकू जत्थाको व्रिगेडनै वनाई अत्याधुनिक हतियार सहित अन्य जातिका सिंधुलीवासी दाजूभाईलाई २२ दिन भित्र आफ्नो इलाका छोडी नगए हत्या गर्ने उर्दी जारी गर्ने हेतू पत्रकार सम्मेलन गर्न स्थानिय पत्रकार बोलाउदा पत्रकारहरु डरले सम्मेलनमा जानै मानेन् र उनीहरुको पत्रकार सम्मेलन स्थगित भयो । अहिले पनि उनीहरु माओवादीहरुलाई समेत चर्का स्वरमा माओवादी सभासद चन्द्रप्रकाश गजूरेलको चुनाव ताका र त्यस लगत्तै  जग्गा वितरण गर्ने उदघोषलाई आधार वनाई तामाङ्गबाहेक अन्य जातिलाई जग्गा वितरण गर्न पाईदैन भनी टाउकोमा रातो पट्टी बाँधेर हातहतियार सहित सवलाई तर्साउँदै मैदानमा उत्रेका छन् । त्यहाँ सि.पि.गजूरेल, निलू दर्लामि लगायतका माओवादी नेता नै कडा सरकारी सुरक्षा (हतियार सुसज्जित सेना, प्रहरी, माओवादी सुरक्षाकर्मी बीच ) रातोदिन हिडन र रहन वाध्य छन् । कुनै पनि दिन यिनीहरु मारिए भन्ने वा स्थानिय माओवादी नेता या कार्यकर्ता मारीए भन्ने समाचार आए दुख मान्न सकिन्छ तर अचम्म मान्न पर्दैन । त्यहि अवस्था काभ्रे र सिन्धुपाल्चोकमा शुरु भैसकेको छ ।

तर्राईको त्यत्रो एक मधेश एक प्रदेश को भीषण र हिंस्रक आन्दोलन विरुद्ध तर्राईका आदिवासि थारु समुदाय जवर्जस्ति विरोधमा उत्रिएका छन् । भगवानले नगरोस यिनका बीच झडप भए महिना दिनमै कूल जनयुद्धमा जति १४ हजार मारीन वेर लगाउदैनन् । तर्राई यसरी त त्यसै पनि संघियताको नाममा हिंसकनै भैसकेको छ । त्यसमाथी यो झञ्झालमा मुसलमान लगायत अन्य समुदाय उत्रिनत बाँकी नै छ । तर्राईका थारुहरु पनि संघियताको अभियानलाई प्रतिवाद गर्न  मधेशवादी आन्दोलनकै र्ढरामा उत्रिदै छ । अर्कोतर्फ तामासालिङ्ग उत्रिसक्यो । मधेशीका विरुद्ध भोली तर्राईमा वस्ने पहाडी मूलका जनता अव रक्षात्मक हिसावले प्रतिकारमा नउत्रे मुला काटिए जस्तै काटिएर तर्राई वाट सफया हुन बेर लगाउदैनन् ।  चुरे भावर, लिम्वूवाङ्ग, खुम्वुवाङ्ग, नेवा, मगरात, कोचे सवै जातजातीले अव यसै गर्न लागे भने देशमा ६ महिनामा लाखौ मान्छे मारिन सक्छन् । त्यसमाथी बेरोजगार युवाहरुलाई दुरुपयोग गर्दै पार्टीले आआफ्नो शैलीमा लडाकू दस्ता बनाउँदै छन्, अव मुलुक गणतन्त्र भई दिर्घ प्रतिक्षित संविधान सभाको चुनाव भएर पनि देश ऐतिहासिक मोडवाट सफल रुपमा अगाडी बढेको क्रममा पार्टीलाई किन यसरी हिजो नचाहिएको लडाकू दस्ता किन चाहियो ? 

हिजोको दिनलाई संझौं । हिजो जे जस्तो भए पनि हामी सवै जात जाती एकै ठाँउमा शान्तीसंग बाँचेका थियौं । तर आज संघियता र त्यसमाथी पनि जातियता थपिने भए पछि हरेक जातीले आफ्नो क्षेत्रमा अरु जाती वस्नै नदिने भएपछि कुनैपनि नेपाली अव झन झन असुरक्षीत हुने छन्, अनायासै मारिने छन् । आजैको अवस्था हेर्ने हो भने यही संघियता र जातियताको कारण देशको अस्तित्व नै खतरामा परेको छ भने सारा जनता झनझन असुरक्षित हुँदैछन् । आर्थिक रुपले पनि कमजोर बन्दैछन् । यदि स्थिती सम्हालिएन भने यो अर्कै हिजोको जनयुद्ध भन्दा दशगुणा घातक हुने छ र दशकौसम्म देशै तहस नहस नहोउन्जेल रोकिनेवाला छैन । यहाँ संघियताको कुरा गर्दा जातियतामा नभै भौगोलिकताको आधारमा कायम गर्दा सायद त्यो र्सवस्विकृत हुने थियो कि ? त्यसको लागि ५ विकाश क्षेत्र, १४ आञ्चल र ७५ जिल्लाको अवधारणा व्यवहारिक, बैज्ञानिक र उपयुक्तनै छ । छैन भने कारण देखाउनु पर्‍यो वा यसलाई नै थोर वहुत परिर्माजन गर्दा भैहाल्छ । पुराना व्यवस्थाका राम्रा पक्ष पूर्णरुपमा त्याग्नै पर्छ भन्नेत छैन नी । त्यस्तै वर्तमान संविधानमा नचाहिदो कुरा हटाएर अन्य आवश्यक कुरा थपेर संविधान निर्माण गरे ६ महिनामै संविधान तैयार हुन सक्छ । उद्यपि अहिलेसम्म बनेका संविधान अध्ययन गर्ने र नयाँ संविधान ड्राफट कमिटि वनाई पहिल्यै संविधानको खाका कोर्ने व्यवस्था त भएकै छ क्यारे । त्यसमाथी भारत, फ्रान्स लगायतका संघियता अपनाएका मुलुकका संविधान हेर्न र विशेषज्ञ मगाई छिटो भन्दा छिटो संविधनको खाका कोर्न सकिन्छ ।

पहिलापनि संविधान नबनेका हैनन् तर तिनलाई राजनीतिक व्यक्तिले नै इमान्दारीताकासाथ सवैका लागि लागू नगरेकाले असफल भएका हुन । भोलीपनि जतिसुकै राम्रो संविधान बनेपनि त्यसलाई लागूगर्ने इमान्दारीता नभए वा राज्य हिजो जस्तै स्वइच्छाचारी भए त्यो पनि असफल हुने छ र फेरी जनता आन्दोलनमा जान वाध्य हुनेछन् । तर संघियता सहित भौगोलिकताको आधारमा नवनाई संविधान अहिले माओवादीले परिकल्पना अनुसार जातियताको आधारमा वनाउने लिडेढिपी गरे र सरकारमा माओवादीनै रहे अर्को चुनाव सम्ममा देशै रगतको कुण्डमा परिणत भएर देशको अस्तित्वनै अहिलेनै खतरामा परिसक्यो भनी जनता भन्दै छन् भने भोली माओवादीको अस्तित्व मेटीने मात्र हैन देशैको अस्तित्व खतरामा पर्न सक्छ । जति भनेपनि तर्राई भारतको रिमोटवाट मुक्त छैन । तर त्यसको प्रभाव अन्य क्षेत्रमा परी अहिलेनै स्थानिय युवा आफ्नो क्षेत्र सुनिश्चित गर्ने र ति क्षेत्रका अन्य जातिलाई तर्साई मारी लखेटी वा आतंकित गरी बासै र्सार्न वाध्य बनाउन थाले भने नेपाल आमा, नेपाली इतिहास र नेपाली जनताले माओवादी लगायत जातियतामा संघियता अपनाउन खोज्ने कुनै पार्टीलाई माफ गर्ने छैनन् । त्यस्तै सुझाव दिनु त आवश्यक नहोला तर पनि देशको आजको कहालीलाग्दो अवस्थाले बोल्नै पर्ने वाध्यताले मधेशी जनअधिकार फोरम जो आज कांग्रेस जस्तो मुल पार्टीसँग काँध मिलाउन सक्ने भै सकेको पार्टी स्वायत्त मधेशको किचलो निकाल्नु सट्टा क्षेत्रिय पार्टीबाट राष्ट्रिय पार्टी बन्नतिर नलागे यिनका वितण्डाले तङ्ग आएर अर्को चुनाव सम्ममा तर्राईवासी जनताले धुलो चर्टाईदिन्छ ।

१५ बर्ष पहिले रुवाण्डा र बुरुन्डीका राष्ट्रपति एउटै विमान दूर्घटनामा मारीएपछि रुवाण्डामा मात्र हुटु र टुटसीबीच यस्तै जातिय लर्डाई हुदा महिना दिनमा १२ लाख मान्छे मारीए । आज नेपालमा मधेशवादी र थारुहरुबीच वा बाहून क्षेत्रीबीच अरु जातिको संघियताको नाममा भिडन्त भए भोली नेपालमा पनि बुरुण्डीमा जस्तै हुन सक्छ । यहाँ संघियताको विरोध गरीएको हैन, “बूढी मरी भन्ने नभई काल पस्छ भन्ने चिन्ता” को कुरा हो । नेपालमा जातियतामा संघियताको विस्तृत रुप विनाशकारी मात्र हुन सक्छ । “मार्क्सवाद नबुझ्नेले भन्ने कुरा हो यो” भनेर जति भने पनि यो मार्क्सवादको चिन्तन हैन गैर मार्क्सवाद राष्ट्रमा पनि यो कायम छ । हुन सक्छ यहि संघियता नै माओवादीको लागि उसको समाप्तिको कारण बन्न सक्छ । वास्तवमा मार्क्सवाद राजनीतिमा प्रत्यक्ष लागू नै हुदैन । यो आर्थिक प्रणाली हो राजनीतिक हैन । जातिय संघियता भोली माओवादीले आफैल आफैलाइ सिद्धाउन प्रतिपादन गरेको विनाशको पुरीया हो जस्तो लाग्छ ।

सत्ता वाहिर वसेर जनतालाई आकर्षक सपना र नारा दिई र संस्थापन पक्षको खोँट देखाई प्रतिपक्षीको राजनीति गर्न सजिलो हुन्छ । तर त्यही प्रतिपक्ष सत्तामा पुगेर त्यहि काम गर्न परे अनुभव र बिस्तृत सोच नभए उ झन नराम्रोसंग पतन हुन बेर लगाउदैन । त्यसैले त माओवादी सरकारमा गए हामी प्रतिपक्षमा बस्छौ भनेर कांग्रेस लगायत अन्य पार्टी भन्दैछन् । यदि जातिय आधारमा संघियतालाई माओवादीले निरन्तरता दिने हो भने राजाहरुले जसरी भए पनि २४० बर्ष चलाएको नेपाल, माओवादीहरुले २४० दिन वा हप्ता पनि चलाउन सक्दैनन् । अन्य पार्टीको साथ नपाएको अवस्थामा र जातियताको आधारमा संविधान निर्माण गर्र्छौ भनी माओवादीहरु भन्छन भने त्यो उनीहरुको लागि एउटा मान्छेले दश हजार किलो बोक्न खोजे जस्तो मात्र हुने छ र माओवादी त्यही बोझले थिच्चिएर सकिन वेर लगाउदैन । यद्यपि जातियताको नाममा मधेशवादी दलहरु भारी जनमत सहित अस्तित्वमा आइसकेका छन् । तर पनि माओवादीहरुले राजनीतिक हिसावले हिजो जनयुद्धकालमा जनता पछाडी लगाउन आकर्षक नारा दिने क्रममा हामीले जातिय संघियताको कुरा उठाएका हौं आज यसले भयाभय रुप लिने देखिएकोले भौगोलिकताको आधारमा अहिलेकै ५ विकाश क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला (परिमार्जन सहित) संघियतामा जाने प्रस्ताव राख्छौ र मधेशवादी र अन्य जातिवादी सबै पक्षले पनि आआफ्नो अडान छोडुन भनेर र्सार्वजनिक रुपमा प्रस्ताव राखे सवै नेपाली जनता आज देखिन लागेको जातिय संर्घषको लर्डाईवाट मुक्त भई खुशी हुन्थे । र अन्य कांग्रेस, एमाले लगायत पार्टीपनि खुशी हुन्थे । जनतालेपनि माओवादीलाई पछि पनि रुचाउथे । अरुले यो प्रस्ताव माने मानुन या नमानुन् यस पङ्गतिकारकोलागि जातिय संघियता नभै ५ विकाश क्षेत्र, १४ अञ्चल र ७५ जिल्लावाला भौगोलिक संघियता जिन्दावाद छ । यो देशमा जातिय संघियताको नाममा विखण्डन र देश टुक्राउने दुराशयपूर्ण विभाजन भन्दा भौगोलिक संघियता ठिक हुन्छ । कुनै पनि नेपाली देशको कुनै पनि भागमा आवत जावत गर्न, वसोवास गर्न, बन्द व्यापार गर्न र कुनै पनि जात जातीसंग बैबाहिक संबन्धराखी शान्तीपूर्ण जीवन गुजार्न पाउनुपर्छ । यो जातिय संघियताले दिदैन, भौगोलिक संघियताले दिन सक्छ ।

तपाइँको प्रतिक्रिया