निरर्थक आन्दोलन
-मानबहादुर थापा
मुलुकले दलहरुका बीचमा उच्च स्तरको सहमति र सहकार्य खोजिरहेकै बेला एकीकृत माओवादीले आफ्नो दोस्रो चरणको आन्दोलन शुरु गरेको छ । यो आन्दोलनमार्फत माओवादीले फेरि एकपटक देखाएको छ -उ सहमति र सहकार्यको पक्षमा होइन मुठभेडको मनस्थितिमा छ । अराजकताको सहारा लिएर धाकधम्की र शक्तिको आडमा उ सत्ता प्राप्ति गर्न चाहन्छ । माओवादीको यस आन्दोलनलाई कुनै कोणबाट हेर्दा पनि सही मान्न सकिदैन – यो निरर्थक आन्दोलन हो ।
निर्धारित समयावधीमा नयाँ संविधान निर्माण गर्नु अहिले दलहरुको काँधमा आएको मुख्य जिम्मेवारी हो । सहमति र सहकार्यका साथ अघि बढेमा मात्र दलहरुले उक्त जिम्मेवारी पूरा गर्न सक्नेछन् । सहमति र सहकार्यका लागि दलहरुका बीचमा मुख्य आधार अन्तरिम संविधान र जनआन्दोलन ०६२/६३ का बेला भएको आपसी समझ्दारी बन्नु पर्दछ । त्यही नै एक मात्र सही र वैधानिक मार्ग हुन सक्छ । तर माओवादीले ती दुवै आधारहरुलाई लत्याएको छ । माओवादीले संविधान निर्माणको मुख्य काममा बाधा पुर् याउने मात्र होइन संविधान नै बन्न नदिने खेल खेलिरहेको आभाष उसको आन्दोलनले दिएको छ ।
माओवादीको यो आन्दोलन मुख्य रुपले सत्ता प्राप्तिको लागि नै लक्षित छ । पहिले आफ्नै रहरले सरकारबाट बाहिरिएको माओवादीमा पुनःसत्ताको तीब्र भोक जागेको देखिएको छ । सरकारको नेतृत्व लिनका लागि माओवादीका अगाडि वैधानिक बाटो खुल्ला थियो । उ सहितको सहमतिमा निर्मित अन्तरिम संविधानले निर्दिष्ट गरे अनुरुप संसदमा बहुमत सिद्ध गरेर उसले आफ्नो नेतृत्वमा सरकार बनाउन सक्थ्यो । उसले उठाएका अन्य मागहरु पनि त्यही अन्तरिम संविधानमा उल्लेखित प्रावधान अनुरुप समाधान हुन सक्थे । त्यही माध्यम र प्रकि्रयानै अहिलेको सन्दर्भमा एकमात्र सही र उचित बाटो हुन्थ्यो तर माओवादीले सो बाटो रोजेन । आन्दोलनको जुन मार्ग माओवादीले छनौट गर् र्यो यसले उसको चिन्तन प्रणाली र व्यवहारमा सामाजिक फासिवादी र अराजक प्रवृत्तिनै अ झै पनि हावी रहेको प्रष्ट पारेको छ । लोकतान्त्रिक मूल्य मान्यता र पद्धति प्रतिका उसका बारम्बारका प्रतिबद्धताहरु ती केवल हात्तीको देखाउने दाँत थिए भन्ने पुनः प्रष्ट पारेको छ ।
माओवादीले लगातार रुपमा संसद पनि अवरुद्ध पार्दै आइरहेका छन् । माओवादीकै कारण आर्थिक वर्ष ०६६/६७ को वार्षिक बजेट पनि पारित हुन सकेकेा छैन । जसले गर्दा देशमा ठूलो वित्तिय संकटको स्थिति सिर्जना हुँदै गैरहेको छ । आन्दोलन मार्फत माओवादीले देशमा चारै तर्फ अस्तव्यस्तता सिर्जना गरिरहेका छन् र देशलाई असफल राष्ट्र बनाउने दिशातर्फ धकेलिरहेका छन् ।
आन्दोलनको पूर्व सन्ध्यामा देशका अन्य दलहरुले सहमतिमा आउन गरेको आग्रहलाई पनि माओवादीले लत्याएको छ । आन्दोलनको चौतर्फी रुपबाट आलोचना भइरहँदा पनि माओवादीले यसबाट शिक्षा लिने प्रयत्न गरेको देखिंदैन । बरु आन्दोलनको पूर्व सन्ध्यामा वाइसिएल क्याम्पहरुमा घरेलु हतियार भण्डारण गर्ने र वाइसिएललाई हतियार चलाउन तालिम दिने काम गरेर आन्दोलनलाई हिंसात्मक मोड दिने प्रयत्न माओवादीले गरेको छ ।
माओवादी आन्दोलनको जुन मार्गमा अहिले अग्रसर भैरहेको छ यसले भोलि उसलाई नै गम्भीर क्षति पुर् याउने निश्चित छ । माओवादी आन्दोलनकै कारण देशमा संविधान बन्न सकेन राष्ट्रियता संकटमा पर्दै गयो अशान्ति र अराजकताको राज मच्चियो भने निश्चित रुपमा जनता चुप लागेर बस्ने छैनन् । त्यतिबेला जनपंक्तिबाट अभिव्यक्त हुने आक्रोशको सामना गर्ने तागत माओवादी सँग रहने छैन ।
अब माओवादीले गम्भीर भएर सोच्नु जरुरी छ । नेपाली जनताले संविधानसभामा सबैभन्दा ठूलो दल बनाएर उसलाई पठाएका छन् – नयाँ संविधान निर्माण गर्नको निम्ति । तर माओवादी आन्दोलनतर्फ अग्रसर भएर गैरजिम्मेवार बनिरहेको छ । भोलि त्यही माओवादीकै कारण संविधान बन्न नसक्ने स्थिति सिर्जना भएमा तिनै जनताले फेरि उसलाई इतिहासको कुनामा खैचाइदिन पनि सक्छन् भन्ने तथ्यलाई माओवादीले बेलैमा बुझ्नु जरुरी छ । जनादेशले दिएको आफ्नो स्थानलाई माओवादीले अपमान गदै र सडक र सदनमा ताण्डव नृत्य प्रस्तुत गर्ने जुन ध्रृष्टता गरिरहेको छ यसलाई उसले तुरुन्त बन्द गर्नुपर्छ । आन्दोलनलाई स्थगित गरी वार्ता मार्फत उ जिम्मेवारीबोधका साथ सहमति र सहकार्यको बाटोमा फर्कनुपर्छ । आफूले उठाएका सबै मागहरुको समाधान संसद र संविधान मार्फत नै खोज्नुपर्दछ । यसरी आएको खण्डमा मात्र उसको आफ्नै भविष्य पनि सुरक्षित हुन सक्नेछ ।




