आआफ्नै डम्फु बजाउने भए किन गर्ने वार्ताको नाटक ?

हाम्रा नेताहरुको पारा देख्दा अचम्म लाग्छ । राष्ट्रपतीले बर्खास्त गरिएका सेना प्रमुखलाई पूनर्वहाली गरेपछी माओवादीले त्यो सच्याउनुपर्छ कि त संसदमा छलफल गर्न पाउनुपर्छ भन्ने माग राख्दै आएको हो । अरु दल र सरकार त्यसमा पटक्कै सहमत भएनन । अनि माओवादीले संसद अवरुद्द गर्दै आयो । त्यसपछि संसद खुलाउन र राष्ट्रपतीको कदम सच्याउन भनेर दुवै तर्फबाट निकै प्रयास भए । सयौं पटक नेपाली कांग्रेस, एमाले र माओवादी अनि अन्य दलका बिचमा वार्ताहरु भए । दुवै पक्ष आआफ्नो अडान छोड्न तयार भएनन । नेपाली कांग्रेसले राष्ट्रपतीलाई छुनेगरि कुनैपनि हालतमा केहि निर्णय नगर्ने स्पष्ठै अडान राख्दै आएको छ । माओवादी कि त त्यो सच्याईनुपर्ने नत्र कम्तिमा संसदमा छलफल गर्न पाउनुपर्ने न्युनतम माग राखेर आएको छ । त्यहि वासी र त्यासी अडानमा दुवै पक्ष रहने हो भने किन बस्ने वार्ताको टेबलमा ?

 कमसेकम अहिलेसम्म त संसद अवरुद्द मात्रै थियो । अस्ति आइतबार सम्मकालागि माओवादीले आफ्ना माग पुरा गर्नुपर्ने समय सिमा तोकेको थियो । त्यो समयसम्म कानमा तेल कसैले हालेन । समय सिमा सकियो । राजधानी राँके जुलुसको घेरामा पर्न लाग्यो । स्थानीय निकाय घेराउ हुन लागे । सडकमा यातायात अवरुद्द हुन थाले । यति हुँदापनि नेताले अझै चेत्ने रहेनछन । अहिले यतिका समयपछि सहमती गर्न भनेर शान्ति संझौता तोडेर गृहयुद्द मच्चाउनमै हौसिएका एमालेका नेता केपी ओली कहाँ हिजो तिन वटै पार्टीका नेताको  बैठक बसेछ । त्यो बैठकमापनि माओवादीका उही अडान । एमाले र कांग्रेसका उही राष्ट्रपतीको घोषणालाई छुनैहुन्न भन्ने रटान । फेरी आलाकाँचा नेता परेछन । जिल्ला स्तरका रहेछन के निर्णय गर्न सक्थे भन्ने पनि हो र ? माओवादीका पुरै हस्ती नै हस्ती । पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्षहरु डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र मोहन बैद्द । अनि उता एमालेका त झन ईश्वर पोख्रेल, केपी ओली र प्रधानमन्त्री स्वयं । अनि कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र रामशरण महत ।

 महिनौं भयो माओवादीले आफ्नो माग राखेर संसद अवरुद्द गर्दै आएको त्यहि माग पुरा नगरिनाले वा नहुनाले वजेट समेत पास हुन नसकेर आर्थिक संकट निम्तिंदैछ  देशमा । दुवै पक्षका माग र अडान स्पष्ठ छन् । एकाध पटक वार्ता भएपछि मूलत: कसका न्युनतम माग के हुन् बुझिन्छ नै । लचिलो हुन सक्ने कति हो, कहाँ सम्म हो भन्ने पनि स्पष्ठ हुन्छ ।  अनि एउटा वार्तामा बसेर सहमती निस्कन नसकेपछि अर्को वार्तामा बस्नु पहिले गृहकार्य गरिन्छ । त्यो पार्टी तहमा कि त गइन्छ जनताका बिचमा । तर हाम्रा नेताहरु यति लम्पट रहेछन कि हरेक पटक उही वासी मुद्दा र उही वासी अडानमै छलफल गर्छन । कुनैपनि पक्षले नयाँ उपाय सुल्झाउँदैन । कुनैपनि पार्टी अलिकतिपनि टसकोमस हुँदैन । अलिकतिपनि अरुसित लचिलो हुँदैन । आफ्नो अलिकतिपनि गुमाउन, छोड्न चाहंदैन । जतिखेरपनि आआफ्नै  उही थोत्रा डम्फू बजार्ने हो भने किन बस्नु पर्र्यो सहमतीका लागि भनेर बैठक ? पुराना माग र तर्कमा पटक पटक वार्ता गर्दापनि सहमती नभएपछी हाम्रा नेतामा अब गृहकार्य गर्नुपर्छ भन्ने अलिकतिपनि सोच रहेनछ कि के हो ? पुराना अडान, पुरानै निर्णय र तिनै वासी सोच कायम राख्ने, त्यसैमा अड्डी कस्ने हो भने सहमती हुन सक्दैन भन्ने सम्म पनि नबुझ्ने हाम्रा नेता ?  कि भित्री मनशाय सहमती गर्न नभएर जनताका अगाडी नाटक देखाउनकालागी मात्रै हो ?

तपाइँको प्रतिक्रिया