जनजाती र साझा फूलबारी
-सोम नारायण थारु (थनेत)/बेल्जियम
नेपाललाइ चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने गरिन्छ । यहाँको बहुजातीय, बहुधार्मीक,बहुसाँस्कृतिक अवस्थालाइ हेर्दा यो पक्कै पनि साँचो कुरा हो । तर एउटा फूलवारी तब मात्र सुन्दर देखिन्छ जब त्यस फूलबारी भित्रका सबै फूलहरुले आवश्यक मलजल पाउँछन । फुल्ने मौका पाउँछन । नेपाली फूलबारीका विभिन्न फूलहरु मध्ये एउटा फूललाइ मात्र सबै आवश्यक पदार्थ उपलब्ध गराइएको छ । अन्यलाइ बेवास्ता गरिएको छ । त्यसकारण यहाँका सबै फूलले फुल्ने मौका पाएका छैनन र यसले फुलबारी सुन्दर देखिएको छैन । अर्थात नेपाल भित्र परापूर्वकाल देखि बसोबास गदै आएका विभिन्न आदिवासी जनजातीहरुलाइ विभिन्न कालखण्डमा विभिन्न शासकहरुले शोषण, दमन गर्दै आए । उनीहरुका खुन पसिना चुस्तै आए । अझै चुस्ने योजनामा नै छन । उनीहरुलाई हरेक क्षेत्रमा पछाडी पार्ने काम सामन्तवादी शासकहरुबाट गरिदैं आइयो ।
पृथ्वीनारायण शाहले एकिकरण गर्नुपूर्व नेपाली भुमीमा आदीवासी र जनजातीहका आफनै राज्य र गणराज्यहरु थिए । उनीहरुका आफनै किसीमका मौलिक उत्पादन प्रणाली ,शासन प्रणाली र ऐन कानुन थिए जुन अत्यन्तै प्रजातान्त्रिक र साम्यवादी चरित्रका थिए । पृथ्वी नारायण शाहको एकिकरण पश्चात बनेको नेपालमा यहाँका अनेक जात, जातीका, आदीवासीका, जनजातीका भाषा, सँस्कृति, परम्परा माथी उच्च अहमकारवादी ब्राहमणवादी, हिन्दु अतिवादी, एकाधिकारवादी, सामन्तवादी राज्य व्यवस्था लागु गरे । त्यस पश्चात क्रमिक रुपमा आदिवासी, जनजातीका भाषा र धर्म, संस्कृति, परम्परा, चालचलन आदि हरेक क्षेत्रमा हस्तक्षेप गर्ने र मास्ने काम हुँदै आएको छ ।
ब्राहमणवादले अन्य जातजातीमाथि एक भाषा, एक धर्म र एक संस्कृति लाद्नाकोलागी अनेक किसीमका नियम कानुन र संस्कृतिको विकास गर्र्यो । ठुलो जात र सानो जातको वर्गीकरण भयो । कामको आधारमा जातको वर्गीकरण गर्ने काम भयो । जनजातीहरुको भाषा, संस्कृति र परम्परालाइ संरक्षण र विकास गर्नुको सट्टा तिनीहरु माथि हिन्दु धर्म र खस भाषा (नेपाली) भाषा लाद्ने काम भयो । नेपालका उच्च वर्गीय हिन्दुहरुले आफनो धर्म, संस्कृति बलपूर्वक जनजातीहरु माथि थोपर्दै आएका छन । संस्कृत भाषा हिन्दु आर्यहरुको प्राचीन भाषा भएकै नाताले सबै नेपालीलाइ पठन पाठनमा अनिवार्य गरिएको छ । यो कुरा अनिवार्य होइन, ऐच्छिक हुनु पर्छ भन्ने जनजातीहरुको धारणा हो ।
पंचायतकालमा त संस्कृत पाठशालाहरुलाइ विशेष सुविधा दिएर त्यहाँ बाहुन छात्रहरुलाइ छात्रवृति र अरु अनेक सुविधा दिएर ब्राहमणवादी शिक्षा दिने गरिन्थ्यो । अनि प्रशासनिक कामको लागी कर्मचारी जस्तै शाखा अधिकृत, सिडीओ, सचिव, सहसचिव आदी नियुक्ती गर्दा उनीहरु मध्येबाटै हुन्थ्यो । अनि उनीहरुबाट संचालन हुने प्रशासनिक क्रियाकलाप पनि ब्राहमणवादी र सामन्तवादीहरुकै हितका पक्षमा हुन्थ्यो । जनजातीहरुलाइ यसरी पनि पछाडी पार्ने काम भएको छ ।
कुनै पनि राज्यको आफनो धर्म हुँदैन र धर्म व्यक्तिको नितान्त व्याक्तिगत कुरा हो । तर नेपालका उच्च अहंकारवादी सामन्तहरुले नेपाललाइ विश्वको एक मात्र हिन्दु राष्ट घोषणा गर्न पनि चुकेनन । गाईको मासु खान बन्देज लगाइयो । यसले गाईको मासु खान चाहने वर्ग माथि दमन भयो भन्न सकिन्छ । धर्म आफैमा नराम्रो कुरा होइन । प्रत्येक धर्मका सैद्धान्तीक पक्ष राम्रा नै हुन्छन । तर त्यसका अहं रुप भनेको सामन्तवाद र अतिवाद नै हो ।
यहाँनिर हामीले बुझनै पर्ने कुरा के हो भने ब्राहमणवाद हिन्दु धर्मको उच्च अहंकारवादी रुप हो । यसले आदीवासी, जनजातीलाइ मात्रै शोषण, दमन, अन्याय अत्याचार गरेको छैन । त्यसले त स्वयं ब्राहमण (बाहुन) र उच्च जात भनाउँदाहरूलाइ पनि शोषण, दमन, अन्याय अत्याचार गरेको छ । उदाहरणको लागी ब्राहमणवादले बाहुन, क्षेत्री भनाउँदा उच्च जातीले हलो जोत्नु हुँदैन भनेको छ । अथवा सानो काम, फोहरी काम गर्न वर्जित गरेको छ । तर के आज ब्राहमण तथा उच्च जाती भनाउँदाहरूले हलो जोत्नु परेको छैन त ? के उनीहरुले रिक्सा चलाएर, ठेलागाडी चलाएर, भारी बोकेर जिवन धान्न परेको छैन ? के उनीहरु कामको खोजीमा विदेशका गल्ली गल्ली चाहर्नु परेको छैन र ?
सामन्तवाद र ब्राहमणवादका नाइकेहरुले र्सवसाधारणलाइ हिन्दुवादी शिक्षा दिने गर्छन । उनीहरु भन्छन, गाई देवी हो । त्यसलाइ पूजा गर्नुपर्छ । हामीले संस्कृत पढनुपर्छ । अंग्रेजी गाई खाने विद्या हो । तर आफुलाइ ठुला बडा भनाउँदाहरूले अथवा सामन्तवादी तथा ब्राहमणवादीहरुले त्यो उच्च अहंमकारवादी हिन्दु शिक्षा आफ्ना सन्तानलाइ दिन्छन त ? तिनीहरुले आफ्ना सन्तान, छोराछोरीलाइ संस्कृत होइन, गाई खाने भाषा अंग्रेजी पढ्न सात समुन्द्र पारी पठाउँछन ।
यहाँनिर के देखिन्छ भने जनजातीलाइ शोषण, दमन गर्ने पनि सामन्तवाद र ब्राहमणवाद हो । ब्राहमण र अन्य गैर जनजातीलाइ शोषण दमन गर्ने पनि त्यही सामन्तवाद र ब्राहमणवाद हो । त्यस कारण यी दुबैका दुश्मन एउटै हो । त्यो दुश्मन जातीय दुश्मन होइन । त्यो त वर्गीय दुश्मन हो । त्यस कारण अन्याय, अत्याचारमा परेका सबै जाती, वर्ग, क्षेत्र एक जुट भएर वर्गीय रुपमा अगाडी बढनु आवश्यक छ । वर्गीय रुपमा शोषित, पिडीत, उपेक्षित समुहको लागी । आवाज उठाउने दर्शन मार्क्सवाद र माओवाद हो । नेपालमा त्यसको प्रतिनिधित्व एकिकृत नेकपा- (माओवादी) ले गरिरहेको हुँदा हामी सबै शोषित, पिडीत, उपेक्षित जाती, जनजाती, आदिवासीहरु एकिकृत नेकपा (माओवादी) संग कांधमा कांध मिलाएर आफ्नो हक र अधिकारको लागी, आफ्नो मुक्तिको लागी संर्घष गर्नु अहिलेको आवश्यकता छ ।
(लेखक जनजाती सरोकार मन्च, बेल्जीयमका महासचिव हुन् । यसैसँग संबन्धित लेखकको अघिल्लो लेख यहाँ क्लिक गरेर हेर्नुहोस) ।




