साँच्चै जनविद्रोह कि कार्यकर्ता अल्झाउने मेसो ?

nepal-communist-party-maoist-leader-prachand.jpgजनबिद्रोह गर्ने कुरो माओवादीको नयाँ होइन । माओवादीले धेरै पटक गरिसकेको छ । जब उसका मागमा अन्य दल असहमत हुन्छन तब माओवादीले जन विद्रोहको नारालाई झनै चर्काउँछ । उद्दपी उसको पार्टी विधानमै स्पष्ठ उल्लेख छ नै जनविद्रोहको माध्यले राज्यसत्ता कब्जा गर्ने भन्ने । आम कार्यकर्ता पनि पार्टीले जनविद्रोह गर्छ । एकदिन त जनवादी राज्यसत्ता कब्जा गरिन्छ । अहिले परिस्थिति अनूकुल भैसकेको छैन । पार्टीले त्यसलाई अनुकूल पार्दैछ भन्ने विश्वास गर्छन ।

 त्यसो त पार्टी भित्र तत्कालै जनबिद्रोह गर्ने कि नगर्ने भन्ने विषयमा तिब्र मतभेद पनि छ । अहिले माओवादीले नागरिक सर्बोच्चता र राष्ट्रपतीको कदम नसच्याए फेरी जनबिद्रोह गर्ने धम्की दिएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले त आफ्नो पार्टीका माग सम्बोधन नभए अब जनबिद्रोह गर्ने र त्यसको जानकारी संयुक्त राष्ट्र संघलाई समेत दिईसकेको सार्वजनिक गरेका छन् । उनले संयुक्त राष्ट्र संघले त्यसलाई मान्यता दिने समेत बताए । तर यो सबै के साँच्चै जनविद्रोह गर्नेका लागि होला ?

 माओवादी जनसेना शिविरमा छन् । ठुलो लडाई लडेर आएका ति जनसेनालाई अल्झाएर राख्न माओवादीलाई हम्मे छ  । किनभने पार्टीले जनविद्रोह मार्फत जनवादी राज्यसत्ता कब्जा गर्छ अनि एकदिन गरिबका दिन आउछन भनेरै तिनले युद्द लडेका थिए । माओवादीको सरकार आयो भने गाँस, बास र कपासको व्यवस्था हुन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीको निर्क्यौल हुन्छ भनेर आश्वासन माओवादीले दिएको थियो ।

 तर भयो के ? माओवादी शान्तिपूर्ण संसदीय पद्दतीमा आयो । निर्वाचन भयो । माओवादी ठुलो पार्टीपनि बन्यो । सरकार बनायो । तर जनताको हितमा खासै केहि हुन सकेन । यद्दपी माओवादीलाई सरकारमा असफल बनाउन अनेक तरिकाले बाधा र व्यवधान खडा नगरेका होइनन् अन्य दलले । शान्तिपूर्ण संसदीय पद्दतीमा प्रवेशसंगै पार्टी खुला जस्तै भयो । पार्टीमा विभिन्न घुसपैठ भए । हिजोका मण्डलेदेखि राजतन्त्रका हिमायातीसम्म छिरे । जासुसदेखी मण्डलेसम्मको छहारी बन्यो । झिना मसिना पार्टीका अनेक चाख र चिन्ता अनि स्वार्थ भएकाहरुलाई फूल माला र अबिर लगाएर भित्र्याईयो । बिस्तारै पार्टीमा आर्थिक लोभ, भौतिक सुख र सुबिधा अनि पारिवारिक स्वार्थ प्रमुख बन्न थाले । पार्टीका जुझारु कार्यकर्ता र हिजो साँच्चै भूमिगत कलामा लडे भिडेर पार्टीलाई योगदान गर्नेहरुको उचित मूल्यांकन हुन छाड्यो । छाडेको गुनासो पार्टी भित्रबाटै तिब्र रुपमा उठ्यो । बिस्तारै कार्यकर्ताहरु निराशा हुन थाले । कतिपय झुझारु कार्यकर्ता पलायन हुन थाले । छट्टु र स्वार्थीहरु नेताका पछाडी लागेर आफ्नो स्वार्थ सिद्द गर्न थाले । हिजोसम्म जनबिद्रोह गरेर राज्यसत्ता कब्जा गर्ने उद्घोष गरेका नेताले अहिले परिस्थिति अनुकूल छैन भन्न थाले । पार्टीमा प्रचण्डलाई टक्कर दिने र हिजो जनविद्रोहको माध्यमबाट राज्यसत्ता कब्जा गर्नुपर्छ भन्ने बैद्द समूह अहिले अल्पमतमा मात्रै होइन निकै पछाडी परेको बताईन्छ ।

 अहिले पार्टीमा जनविद्रोह गर्नुपर्छ भनेर दरोसित समाउनेहरू निकै कम छन् । खासगरी नेत्रबिक्रम चन्द ‘बिप्लब’, मोहन बैद्द ‘किरण’, सिपी गजुरेल लगायतका केहि । बाबुराम भट्टराई, प्रचण्ड, बादल लगायत पछिलो चरणमा पार्टी एकता गरेर आएका नेताहरु अधिकांश जनविद्रोहको पक्षमा छैनन् । पछिल्लो समयमा जनबिद्रोह गर्नुपर्छ भन्ने नेताहरुको संख्या झन पातालिँदो छ । खसोखासमा जनविद्रोहको धम्की अहिले उनीहरुले कार्यकर्तालाई थेग्न र विपक्षीहरुलाई मोलतोल गर्ने तथा धम्काउनकालागी मात्रै प्रयोग गरिरहेका छन् ।

 शिविरमा बसेका जनसेनाले प्रश्न गरिरहेका छन्, अबको पार्टीको दिशा के हो ? पार्टीले के गरिरहेको छ ? राजनैतिक समाधान के हो ? उता कार्यकर्ताहरु प्रश्न गरिरहेका छन्, के अहिलेकै अवस्थामा रहेर जनवादी राज्यसत्ता ल्याउन संभव छ ? पहिलेनै सरकारमा गएर खासै उपलब्धि हासिल गर्न नसकेको अनुभव हुँदाहुँदै पार्टी फेरी सरकारमा जान मरिहत्ते गर्नुको औचित्य के ? त्यसैले अहिले माओवादीले आफ्ना कार्यकर्ता नभड्किउन, जनसेना भित्र थप निराशा नआओस भनेर पनि तिनलाई अल्झाउन जनविद्रोहको धम्कि दिइरहेको छ । पार्टीले जनविद्रोह गर्छ भनेर कार्यकर्ताहरुलाई जुधारु र सक्रिय राख्नकालागि मात्रै हो अहिलेको जनविद्रोहको नारा । कार्यकर्तालाई आशावादी बनाएर पार्टीमा अड्याई राख्ने नीति । नत्र अहिलेनै नत जनविद्रोह गर्ने परिस्थितिमा जनता छन् । नत देशको परिस्थितिनै जनविद्रोहका लागि तयार छ । न माओवादी नेतानै जनबिद्रोह गर्ने मनस्थितिमा छन् ।

तपाइँको प्रतिक्रिया