हाम्रा अन्यौलता : हाम्रा दूर्भाग्य

-अकेला

Akela-Shretha-columnist-nepali-210121अर्थको अनर्थ लगाईएन भने, हामी नेपालीले थोरै समयमा धेरै नै उपलब्धि हासिल गरेका हौँ । अर्काको देख्नासाथ, सुन्नासाथ नक्कल गरिहाल्ने र झट्ट अर्को सँस्करण निकालिहाल्ने जुन पद्धतिको विकास हामीले गरेका छौँ, यस अर्थमा हामीले अर्काको नक्कल गर्न महारथप्राप्त भारतीयहरुलाई पनि पछारेका छौँ । यदि हामीमा आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक एवं भौगोलिक जस्ता अन्यौलताहरु विद्यमान नभैदिएका भए अन्ततोगत्वा हामी आज कहाँ पुगिसक्ने थियौँ ।

 ‘अन्यौलता’  लाई अँग्रेजीमा ‘कन्फ्युजन’ भनिएको छ । अँग्रेजी जाने पनि, नजाने पनि, अमूक विषयमा, अमूक अमूक मानिसहरुलाई ‘कन्फ्युजन’ हुनु स्वभाविक हो र अँग्रेजी बोल्ने- जान्नेहरुका लागि ‘कन्फ्युजन’ हुनु र अँग्रेजी बोल्न नजान्नेहरुलाई ‘अन्यौलता ‘ हुनु भनेको लगभग एउटै कुरा हो । भाषा, जुनसुकै भए पनि सबै प्राकृत नै भएकाले मानिस-मानिस बीचमा यस किसिमको एकरुपता देखिएको हुनसक्छ ।

 हेर्दा, सामान्य लाग्ने यो शब्दले हामी जस्ताका लागि निकै अर्थ र महत्व राख्दछ । किनभने, विगतदेखि अहिलेसम्म हामीले यसकै सामना गरिरहेका छौँ । हामीमा यति धेरै अन्यौलता विद्यमान छ कि त्यसको पुष्टी गर्न हामीले विगतलाई मात्र खोतलेर पुग्दैन । त्यो सँगै वर्तमान र भविष्यलाई पनि मध्यविन्दुमा राखेर हेर्नु जरुरी छ । हामीमा निहित अन्यौलता, एउटा यस्तो महारोग हो, जसका कारण हाम्रो यो हालत बनेको छ ।

 हामीमध्ये कत्तिलाई सोमना-बुलिज्म अर्थात निँद्रामा हिँड्ने बिमारीले सताएको हुनसक्छ । एउटा सामान्य मानिसमा यो बिमारी हुनु अस्वभाविक होईन । तर मुलुकको शासन-प्रशासनको गह्रौँ भारी लादेर राजनीति गर्ने बयलगाडाका गाडीवानहरु नै जव सोमना-बुलिज्मले ग्रसित हुन्छन्, तव त्यसको एउटै नतिजा निस्कन्छ । त्यो हो-देशकै दुर्भाग्य । विगतदेखि वर्तमानसम्म हामीकहाँ जे जति पनि निर्णय रर कार्यान्वयनहरु भए-गरिए, सम्भवतः ती सबै सोमना-बुलिज्मकै यस्ता परिणति थिए, जस्लाई चाहेरै पनि हामी सच्याउन सकिरहेका छैनौँ । र यो नियति भोग्दैछौँ ।

 नेपाल, तिघ्रामा तेल दलेर दौडेका लिगलिगेहरुद्वारा निर्मित राष्ट्रको नाम हो । तिघ्रामा तेल दलेर दौडेर राजा हुने परिपाटी बुद्धिमत्ता र वैज्ञानिक हुँदै होईन । यो तथ्यले नेपालको शासकीय बाग्डोर सम्हाल्न बुद्धिमान र विवेकी मान्छेको खाँचो रहेनछ भन्ने तथ्य पुष्टी गर्छ । किनकि, हामीमाथि शासन गर्न राजा-रजौटा लगायत यहाँ जति पनि नेताहरु आए-गए, तीमध्ये कसैले, कहिल्यै शासन सञ्चालनमा आफ्नो सुझबुझता देखाएनन्-देखाएका छैनन् । गर्भे युवराज र गर्भे महाराजाधिराज लगायत केन्द्रीय हाईकमाण्डहरुका जुत्ताका तलुवा चाट्ने जुनसुकै व्यक्ति विशेषले हामीमाथि शासन गर्ने भैसकेपछि शासन सञ्चालनमा दिमागको खासै दरकार पर्दोरहेनछ पाठक ।

शासन सञ्चालनदेखि प्रशासनिक कामकाजहरुमा हाम्रो तुलनामा भारतीयहरु धेरै अगाडि र सचेत छन् । उनीहरुको विकास, सभ्यता र सँस्कृतिकै पक्षलाई हेरियो भने यसको पुष्टी हुन्छ । उनीहरुका हरेक कामकुरामा बेलायती गन्ध र बेलायती शैलि अनुभूति गर्नसकिन्छ । अर्ढाईसय वर्षसम्म भारतीयहरुले बेलायतीको तलुवा चाट्नु नै त्यसको मूल कारण हो । र, बेलायतीले भारतलाई विकास, सभ्यता र प्रविधी जस्ता जतिसुकै कुराहरु दिएरै गएका भए पनि ती सबै भारतीय दासत्वकै भरपाई थियो ।

 त्यसो त, हामीले पनि १०४ वर्षसम्म प्रत्यक्ष गुलामीको स्वाद नचाखेको होईन । तर नेपालीले चाखेको गुलामीको स्वाद नेपाली थियो । विगतमा हामीले १०४ वर्षसम्म जस्को जुत्ताको तलुवा चाट्यौँ, ती हाम्रा आफ्नै थिए । तर, इतिहासले हामीलाई यो गर्व गर्ने अवसर दिए पनि हामीमा आज जति पनि अन्यौलताहरु व्याप्त छन्, ती अन्यौलताहरु हाम्रा निम्ति किमार्थ गर्व गर्न योग्य छैनन् । किनकि, नेपाल र नेपाली आज दिनानुदिन प्रत्यक्ष-अप्रत्यक्ष रुपमा भारतको गुलाम बन्दै गएको छ । त्यसका पछाडि यहाँका शासकहरु लगायत खूद हामीमा निहित यस्ता अन्यौलताहरु छन्, जस्लाई हामी आर्थिक र राजनीतिक अन्यौलता भन्न रुचाउँदछौँ ।

 बेलायतीको गुलामीबाट मुक्त भएपछि बेलायतीबाट भारतले धेरै कुरा पायो । भारतीयहरुले त्यो गुलामीबाट धेरै कुरा सिके । छाडेर जानेबेलामा बेलायतीले भारतको पोल्टामा सिक्किम, आछाम, गोहाटी, मेघालय, मणिपुर, गान्तोक लगायतका अति सुन्दर र समुन्नत भूभागहरु राखेर मात्र गएन, आफ्ना वरपरका साना छिमेकी राष्ट्रहरुसँग भारतले कस्तो सम्बन्ध राख्नुपर्छ र भविष्यमा भारतले ती गरिव, अशिक्षित र अविकसित फुच्चेहरुसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने गुरुमन्त्र समेत दिएर गएका छन् । जसको सिधा प्रभाव यहाँको अर्थ र राजनीतिमा देखापरेको छ । हामीले भोगिरहेको बिसंगति र विडम्वनायुक्त प्रकरणहरु सम्भवतः त्यसैको नतिजा हो ।

 कुनैदिन, ठूलो वृक्षको ओत लागेका नाताले भारत आज जुन स्थानमा खडा छ, त्यहाँ पुग्न नेपाललाई शदियौँ लाग्नेछ । अर्थात, अपेक्षाकृत रुपमा भारतभन्दा हामी हजारौँ मिल टाढा छौँ । सामाजिक, साँस्कृतिक, धार्मिक लगायतका अन्यौलताहरु बग्रेल्ती छँदाछँदै हामीमा सर्वाधिक अन्यौलता यहाँको अर्थ र राजनीतिमा छ, जसले हामीलाई पाईलै सार्न दिईरहेको छैन । यहाँको अर्थ र राजनीतिमा हाम्रा यति धेरै अन्यौलता छन् कि त्यसबाट विकास निर्माणका सम्पूर्ण मार्गहरु अवरुद्ध बनेका छन् ।

अव, सबै नेपालीले आफ्नो छात्तिमा हात राखेर, तामा-तुलसी छोएर धर्म भाक्ने दिन आईसक्यो । सबैले आफुभित्रका अन्यौलताहरुलाई हटाएर सटिक र सार्थक निर्णय गर्ने घडि आईसक्यो । कुन कुन कुरा र मुद्धाहरुमा हाम्रा अन्यौलता छन् । के कति कुराहरुमा हाम्रा नेता-कार्यकर्ताहरुको चित्त बुझिरहेको छैन । के गर्दा मुलुकको शासन-प्रशासनको बाग्डोर हाँक्नेहरुको चित्त बुझ्दछ । को, कति कदम पछि हट्दा वा बढ्दा मुलुकले किनारा भेट्टाउन सक्तछ । त्यसतर्फ सबैको ध्यान जानु नितान्त जरुरी भैसकेको छ ।

 अमूक अमूक विषयमा, अमूक अमूक व्यक्ति विशेषको अन्यौलता हुनसक्दछन् । परन्तु, आफ्ना सबै अन्यौलताहरुलाई तिलाञ्जली दिएर राष्ट्र निर्माणको महायज्ञमा कुनै किसिमको अन्यौलता रहनु हुँदैन । कदाचित, विगतदेखि वर्तमानसम्म हामीभित्र लाग्दै आएको अन्यौलताको माकुरे जालोलाई च्यातचुत पारेर सही समयमा, सही र ठोश निर्णय गर्न अझै पनि चुक्छौँ भने नेपाल आमाको कसम्, त्योभन्दा दुर्भाग्य हाम्रा निम्ति केही पनि हुनेछैन । हामी नेपालीले पछुताउने मौका पनि पाउने छैनौँ ।

तपाइँको प्रतिक्रिया