अब कतिदिन टिक्ला त यो सरकार ?
कसैलाईपनि थाह छैन । तर सरकार धेरै दिन टिक्दैन भन्ने चाहिँ सबैलाई थाह थियो । यो सरकारले केहि गर्न सक्दैन भन्ने हेक्कापनि नभएको होइन । सबैभन्दा ठुलो दल माओवादीलाई बाहिर राखेर सरकार चल्न सक्दैन भन्ने हेक्का नभएको भए आफ्नै सरकार गिराएर मध्यावधी निर्वाचन गराउने कांग्रेसले प्राण जाला एमालेको नेत्रित्व स्विकार गर्ने नै थिएन । आखिर सरकारमा जाने कांग्रेसको ईच्छानै नहुँदो हो त अहिले एमालेलाइ नेत्रित्व गर्न दिएर मन्त्री पदकालागि यति बिघ्न कांग्रेसका नेता मरिजाने थिएनन् । दुई कौडीको बुद्दी नहुने सुजातालाई मरिमेटेर गिरिजाले परराष्ट्र मन्त्री जस्तो जिम्मेवार पद सुम्पने थिएनन् । नत कांग्रेसका अन्य नेता कसलाई कुन मन्त्रालय दिने र कसको पक्षको पठाउने भनेर रातदिन कोठे बैठकमा बस्ने थिए ।
त्यसैले, यो सरकारमा जानु बदनाम हुनु हो । काँधमा अपजसको धोक्रो बोक्नु बाहेक केहि उपलब्धि हुन्न । हरुवाहरुको सरकारलाई जनताले यसैपनि मन पराउँदैनन् । जनमत बिरुद्दको सरकार टिक्ने आधारपनि केहि हुँदैन । बिदेशीको आड भरोसामा मात्रै टिक्छु भन्नु एउटा चकलेट मुखमा पग्लिउन्जेलको लोभ र सन्तुष्टि मात्रै हो भन्ने जानकारि कम्तिमा नेपाली कांग्रेसलाई थियो र नै उसले त्यो असफलताको धोक्रो एमालेको काँधमा बोकाएको हो ।
सरकार टिकोस पनि कसरि ? टिकोसपनि कति ? सरकारमा अधिकांश जनताले अस्विक्रित गरेका मानिसहरु छन् । तिनिहरुमा जनता प्रति उत्तरदायीत्व हुने कुरै रहेन । पार्टी हाँक्ने ईश्वर पोखरेल, केपी ओली, प्रदीप नेपाल, वामदेव गौतम, क्रिष्ण सिटौला, सुजाता कोइराला, अर्जुन नरसिं केसी मार्काका देश बनाउने कुनै द्रिष्टिकोण नभएका र पटक पटक सत्ताको स्वाद आफुले मात्रै चाख्न सफल भएकाहरुको बाहुल्यता छ । यिनिहरुसँग सरकार र पार्टी नयाँ ढंगले चलाउने सोच के हुनु ? त्यस्तो सोच हुँदो हो त बहुदलिय कालबाटै पटक पटक सत्ता चाखेका यिनले केहि न केहि चमत्कार देखाइसकेका हुने थिए नै।
प्रधानमन्त्री स्वयं गत डेढ दशकमा पटक पटक पछारिएका ब्यक्ति हुन् । उनको कालमा एमाले फुट्यो । महाकाली बेचियो । ज्ञानेन्द्रको सरकारलाई बैधता दिने कोसिस भयो । एमाले पार्टी खिइएर घिउ सिमी जस्तो पातलो भयो । प्रधानमन्त्रीलाई नै जनताले सभासद हुने हैसियत भएको नदेखेर मिल्काए ।
सरकार गठन पूर्वनै फोरम दुई चिरा भयो । फोरमको बहुमत पक्षले सरकारलाई दिएको समर्थन फिर्ता लिइनै सक्यो । कांग्रेसमा असन्तुष्टि यति चुलिएको छ कि हरेक साँझ कोठे बैठक चलेका छन् । सभापती बिरुद्द कसरि प्रस्तुत हुने । कसका मान्छे कति धेरै घुसाउने । कुन पक्षको बहुमत पार्ने । मन्त्री बन्न कहाँ कहाँ धाउनुपर्ने हो । दौडधुप त्यसैको छ । कोहि पार्टीबाट राजिनामा दिने धम्कि दिँदैछन् । कांग्रेस पार्टीबाट परराष्ट्र मन्त्री बनेकि सुजातालाई आफ्नै पार्टीका कार्यकर्ताको कालो झण्डा ब्यहोर्दै फुर्सद छैन । कांग्रेसको एक पक्ष सरकारलाई पुरै असफल बनाउने, बदनाम गर्ने तालमेलमा लागेको छ । कांग्रेसलेनै सरकारको नेत्रित्व गर्नुपर्थ्यो भन्ने आवाज अर्को कुनाबाट चर्किँदै छ । देउवा, रामचन्द्र पौडेल, गिरिजा कोइराला आदि सबका कोटका गोजीमा आआफ्नै पक्षका सूची छन् मन्त्री बनाउने ।
हामीले यति मन्त्रालय पाउनुपर्छ । हामीलाई यति वटा मन्त्रालय दिने सहमती थियो भन्ने दाबी कांग्रेसले गरिरहको छ । उता एमालेले सरकारको नेत्रित्व गर्ने दलले यो यो मन्त्रालय त पाउनै पर्छ भनेर कांग्रेसले मागेकै मन्त्रालयमा दाबी गरिरहेको छ । अर्कोतिर फोरममा भंगालो पारेर गच्छदार मैले त झन् यो सरकारलाई समर्थन गर्न पार्टीलाई नै चुनौति दिएँ भनेर मोलमोलाई गरिरहेका छन् । साना पार्टीहरुपनि हामीले समर्थन नदिएको भए सरकारनै नबन्ने भन्दै भाग खोजिरहेका छन् । एमालेमा ग्रिह र रक्षा मन्त्रालयका लागि लडाभातीनै चलेको छ । माधव नेपाल र खनाल पक्षको ककसलाई मन्त्री बनाउने भनेर दुई हप्तादेखि बैठक चल्दापनि अहिलेसम्म सहमती हुन सकेको छैन । बरु अविश्वास झन् गहिरिँदो छ ।
सरकारमा बसुन्जेल अनेक बखेडा झिक्दै संसद चल्न नदिएको, अनेक नाममा सडक बन्द गराएर हलचल गर्न नदिएको, साना तिना कुरामापनि अनेक माग तेर्स्याएर असफल बनाएको अनि बिदेशी ईशारामा सरकारबाट खँगारेको रिसको झोक हातमा बसेर माओवादी बसेको छ । जनताको तर्फबाट सरकार सञ्चालनकालागि पहिलो जनादेश पाएर पनि सडकमा पुर्याइएको बदला कहाँ कसरि र कहिले लिन पाइएला भनेर मुड्की उध्याउँदै माओवादी तम्तयार छ । सरकार सञ्चालनमा रहेका दल बिगतमा पटक पटक गन्हाइसकेका र जन परिक्षामा मिल्किएकाहरुको सरकारमा बाहुल्यता भएकाले पनि उसलाई झन सजिलो भएको छ । उ मौका पाउनासाथ सरकारलाई घुँडा टेकाउन चाहन्छ ।
उता गच्छदारलाई कारवाही गरेर बहुमत लिएर बसेको उपेन्द्र अयदव पक्षले त फोरम फुटाएको आरोप कांग्रेस र एमालेमाथि हाकै लगाएको छ । त्यसैको बदला लिन उसले सरकार बिरुद्द आन्दोलननै घोषणा गरिसकेको छ । जनताको बहुमत, सषक्त संगठन, जुझारु कार्यकर्ता, संसदमा सबैभन्दा ठुलो उपस्थिति र स्पष्ठ द्रिष्टिकोण लिएर प्रतिपक्षमा बसेको माओवादीमाथि बिजय गर्नु सजिलो छैन । सरकार बन्नु अगाडिनै पद र ब्यक्तिगत प्रतिष्ठाका लागि दौडादौड चलेकालेपनि सरकारमा जान खुट्टा उचाल्नेहरुको प्राथमिकता जनता रहेछन कि कुर्सी भन्ने स्पष्ठ भैसकेको देखिन्छ । यि सबै घटना क्रमलाई हेर्दा सरकार स्थायी हुन त पक्कै सक्दैन नै, बरु यो सरकार आफ्नै तानातान र मारमुंग्रीका कारण सय दिनपनि चल्छ कि चल्दैन शंकै मान्नु पर्ने देखिन्छ ।




