बिदेशी प्रभुलाई खुला पत्र

           “बरु लडिन्छ चन्द्र र सूर्यलाई झुक्न दिईन्न”

 

आदरणिय सुद साहेब

नमस्कार,

 

साहेब म बहादुर कान्छा । तपाईंको/तपाईंहरुको विश्वाशप्राप्त चौकिदार । घर: दाङ कोइलाबास गाबिस वडा नं ४ तेतर बस्ती । साहेब, हजुरको गाथमा आरामै होला । मलाई भने अली सन्चो छैन । कोइलाबासबाट हिँडेर दाङ, सतबरिया आइपुगेको छु । हिजो दिन भरको थकान छ । राती दाङको सतबरिया- २ वनघुस्रीस्थित कर्री सामुदायिक वनक्षेत्रको चौरको खुल्ला आकाशमा रात काटियो । चिसो लागेको छ । अली अली रुघा खोकी पनि लागेको छ ।

 

सुद साहेब, तपाईंका सिमा रक्षक त सिमा भक्षक पो भएर निस्के । दिन रात हामीलाई काटुला, मारुला झैं गर्छन् । हैन, हजुरले तिन्लाई सिमा रक्षकमा राखेको कि सिमा भक्षकमा सर ? हिजो तपाईंलाई टिभीमा मा देखेको थिएँ, सुजाता मैसापसँग । हामीले सिमामा केही गरेको छैन नेपाली मिडियाले पो जे पायो त्यै लेखे भनेर कुर्लदै गरेको पनि देखे । तपाईं त सार्है चोट्टा पो हुनुहुँदोरहेछ त साहेब । कती झुट बोल्न जानेको तपाईंले ? म आफु तपाईंका सैनिकको कुटाइ खप्न नसकेर हिँडेको । अनी म मेरो देशका पत्र पत्रीका, अखबारलाई विश्वाश नगरेर तपाईंको सेफद झुटमा विश्वास गर्छु जस्तो तपाईंलाई लाग्छ ? तपाईंलाई के प्रमाण चाहियो साहेब ? मसँग छ प्रमाण । हेर्ने हो भने आउनुहोस कोइलाबास, यतै भेटौँला । तपाईंको त नि सुद साहेब अनुहार मात्र कालो होइन मन पनि कालो रहेछ ।

 

सुद साहेब, हामी गरीब छौं निर्धा छौं । तपाईंका गोली गठ्ठाधारी सैनिकसँग लड्न सक्दैनौ भनेर तपाईंले हामीलाई हेपेको होलानी हैन ? तपाईंहरु त सार्‍है जाली, मापाको पो हुनुहुँदोरहेछ नि । गरीब, निर्धा भनेपछि जे गरेपनि हुन्छ, थिचोमिचो गरे पनि हुन्छ, हाम्रा चेली बेटीको इज्जत लुटे पनि हुन्छ, बेपत्ता बनाए पनि हुन्छ भन्ने पो तपाईं को निती रहेछ त । तपाईंहरुको निती नियम संक्रिति नै हेपाहा, मिचाहा हो ? चेलीबेटिको इज्जत गर्न, अरुलाई पनि राम्रो व्यबहार गर्न नजान्ने संस्कारमा पो हुर्कनुभएको रहेछ नि यहाँहरु ?

 

सुद साहेब, हुनत तपाईंको देशमा लाखौं नेपाली ज्याला, मजदुरी गर्छन् चौकिदार र दरबान छन । मपनि त भर्खर फर्केको तपाईंको देशबाट तपाईंहरुको बचन कती भोगियो, देखियो । तर पनि यती तल गिरेर बोल्नु, व्यबहार गर्नुहोला एउटा छिमिकीसँग भन्ने त सोचेको थिईन मैले । गरीबलाई त हेप्ने, खेदने,मार्ने गर्नु हुँदैन त साहेब । म जस्तो बुढो चौकिदारले तपाईं जस्तालाई सिकाउनु पर्ने यती कुरा पनि ।

 

हेर्नुहोस साहेब , हामी गरीब छौं, तर स्वाभिमानी छौं न भुतो र भबिष्यतीतपाइहरुजस्तो अंग्रेजको गुलाम भएर नबाँचेको र नबाँच्ने हुनाले अरुलाई हेप्न, उठिबास गर्न र माइक अगाडि झुट बोल्न हामी लाई आउँदैन । तर आउँदैन भन्दैमा आत्मा र आमालाई बेचेर तपाईंको गुलामी गर्न पनि आउँदैन । तपाईंहरुले पो यस्तो सस्कार अंग्रेजको गुलाम गरेर सिक्नु भो होला । हामीले सिकेनौ साहेब । तपाईंलाई यो मेरो धम्की होइन । साहेब सुझाब हो । चेतावनी सम्म हो ।

 

३ करोड छौं हामी सुद साहेब । परि आउँदा हामीले पनि कोदालो पगालेर खुकुरी बनाउन जानेका छौं । हामी किसान हौं श्रमिक हौं । चौकिदार हौं युद्ध मोर्चाका सिपाइ होइनौं । तर देशले मागे नि सुद साहेब ज्वालामुखी ओकल्न, सुनामी ल्याउन तयार छौं । बरु मर्न तयार छौं साहेब । तर तपाईंको गुलामीगर्ने कदापी तयार छैनौं । तपाईंको घरमा चौकिदार गर्ने बहादुरलाई छोटो, निर्धो नसम्झिबक्सेला । कोहिबेला तपाईंको अत्याचारबाट आजित भएका चौकिदारको हातको लाठो उठ्यो भने नि साहेब, तपाईं मात्र होइन, तपाईंका बाउ, बराजुको टाउको फुटाउन समेत सामर्थ्य राख्छ भन्ने त तपाईंलाई पनि ज्ञातै होला ।

 

भक्षक बनेका तपाईंका सिमा रक्षकहरुलाई पनि सुनाइदिनुहोला । बाघको बच्चा जहिल्यै पनि डम्मरु नै हुन्छ बछेडो हुन सक्दैन । हामी ३ करोड त्यै बाघका डम्मरु हौं, जस्का पिता पुर्खाले युद्धभुमिमा लड्दा लद्डै बरु ज्यान दिए । तपाईंको देशमा जस्तो अंग्रेजको उपनिबेशलाई टिक्न खान दिएनन । शायद तपाईंहरुले पो अर्काको शासन सहेर, अंग्रेजको जुठो पुरो खाएर बाँचेकोले होला, त्यै बिस्तारबादी, छिमेकी हेप्ने सस्कार जान्नु भएको छ । हामीले त न अरुलाई हेप्न जानेका छौं न त हाम्रो चन्द्र सुर्य लाई कहिल्यै झुक्न दियौं । न कहिल्यै दिनेछौ ।

 

यो देश त हाम्रो हो नि, हामी नेपाली को साहेब । तपाईंका बाउ बराजुको बिर्ता त होइन नि । तपाईंकै बिर्तामा गएर मनलाग्दी गर्नुहोस् है साहेब । हाम्रो देशमा होइन । तपाईंलाई फोकल्याण, बर्माको लडाईं त थाहै होला । हामीले लडेको लडाईं हो त्यो साहेब । गोर्खालीले नि सुद साहेब, उखानै छगर्भमै सिक्छ रे खुकुरी चलाउन। के तपाईंहरुलाई देखाउनै पर्ने हो ?

 

अर्को कुरा नि सुद साहेब, हामी भुटाने होइनौ नि, नेपाली हौ नेपाली वीर बलभद्रका सन्तान । तपाईंहरुलाई जित्ने अंग्रेज त हारेर भागेका थिए एक ताका । तपाईंहरु चै कुन खेत को मुलीहो र ? पत्र अली कडा भए जस्तो छ । एउटा साधारण, गरीब, चौकिदार नेपालीले लेखेको पत्र तपाईंका बफादार गिरिजा, माकुने वा प्रचन्डले लेखेजस्तो नरम, भाषा मिलाएर, स्वस्ति गाएजस्तो कसरी होस् त ? मिलाएर पढ्नु होला । बुझ्नु होला। अहिलेलाई यती मात्रै । समय परिस्थितीले तपाइ र तपाईंहरुको सतबुद्दी आएछ भने ठिकै छ । नत्र अर्को पटक नालापानी, कालापानि वा कोइलाबासको लडाईंमा भेटौँला

 

तपाईंको

वीर बहादुर नेपाली

हाल : दाङ, सतबरिया

 

(नेपाल डायरी वर्डप्रेस ब्लग डटकम  डट वर्डप्रेस डट कम मा प्रकाशित यो लेख समय सान्दर्भिक र उपयुक्त लागेकाले यहाँ प्रकाशित गरिएको हो-नेपालप्लस)

तपाइँको प्रतिक्रिया