घनश्याम भुसाल र शंकर पोख्रेललाई खुला पत्र
-सिद्धिरण भट्टराई
प्रिय कमरेडहरु घनश्याम भुसाल र शंकर पोखरेल
दुवैमा लाल सलाम !
तपाईहरु दुवै नेपालको बामआन्दोलनका लागि सिद्धान्तनिष्ट नेताका रुपमा परिचित हुनुहुन्छ । एमालेबृतका लागि त दुवैजना अपरिहार्य आवश्यकता जस्ता देखिनुहुन्छ । दुवैले जनताबाट अनुमोदित भएर प्रतिनिधी सभा र प्रदेस सभाको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । सिद्धान्त, इमान, नैतिकताको राजनीतिले हार्ने कि जित्ने भन्ने प्रश्नसँग हामीले तपाईहरुको चुनावी प्रतिष्प्रर्धालाई लिएका थियौं । यो मुल्यमा एउटा नाम लालबाबु पण्डितलाई थप्नेहो भने तपाईहरुको जित निष्ठा, सिद्धान्त र नैतिकताको समेत जित हो ।
तर कहिलेकाँही घनश्याम । शंकर एक नदीका दुई किनारा जस्ता देखिनु हुन्छ । तपाईहरुका विचारहरुले सिद्धान्तकै तर्क गरिरहेपनि कतै पुरातन आग्रहहरुले नै तपाईहरुलाई दुई किनारा बनाएको होकि सिद्धान्तकै लडाई हो ? सामान्य कार्यकर्ताले भेउ पाउँदैनन ।
माओवादी केन्द्र र एमाले विचको एकता प्रसंगले फेरी तपाई दुवै दुई किनारामा जस्तो देखिनु भएकोले दुवै प्रति केहि नलेखि धरै पाईएन । यसबाट अलि चिन्ता पनि लागेर यो पत्र लेख्दैछु सार्वजनिक रुपमा ।
मेरै घटना स्मरण गराएर म प्रसंग उठाउँछु । ०५९ देखि ०६५ सम्म म एमालेमा रहन पाईन । माओवादी जनयुद्धका क्रममा दुनै सदरमुकाम आक्रमण भएपछि जनसेना फौजिशक्तिको रुपमा उदायो । मैले त्यतिखेर देखि नै संसदबाहिरको क्रान्तिकारी बामपन्थी शक्ति र संसदभित्रको बामपन्थी शक्तिको तालमेल गरी आम जनतालाई शान्तिपुर्ण बिद्रोहतर्फ अग्रसर गराउँदै जनबिद्रोहको रुप दिएर जनवादी गणतन्त्र स्थापना गर्न सकिने कुरा उठाएर लेख सार्वजनिक गरेँ । संविधान सभाबाट संविधान निर्माणको बाटो भएर अगाडि बढदा जबजको साँचो कार्यन्वयन हुने विचार प्रकट गरि दर्जनौ लेख लेखेँ । यही कारण म तत्कालिन लुम्बिनी अञ्चल इन्चार्ज बिष्णु पौडेल हुँदा पार्टी सदस्यबाट निकालिएको एउटा कार्यकर्ता हुँ ।
०६१ मा जनकपुर महाधिवेशनमा यहि कारण ‘अग्रगमनका लागि संविधान सभा’ भन्ने शंकर पोखरेल कमरेडको लाईनसँग मेरा विचार मिलेकोले ‘संविधान सभा किन र कसरी ? ’ भन्ने रचना संग्रह सहितको मेरो पुस्तक लिएर म होमिएको थिँए । तर जसले मलाई रुपन्देहीमा पार्टीबाट निष्कासित गरे उनिहरुले नै महाधिवेसन स्थलमा पुस्तक विक्रीमा प्रतिवन्ध लगाए । त्यतिखेर मलाई नैतिक समर्थन गर्न आउने नेता कमरेड शंकर पोखरेल भएकोले उहाँको गहिरो छाप ममा छ । मलाई लाग्छ, एमालेले सातौ महाधिवेशनमै संविधान सभाको लाईन पास गरेको भए मुलुकले अझ छिटो अग्रगामी बाटो पक्रन्थ्यो । मुलुकले ठूलो क्षति व्यहोर्थेन । पार्टीलाई जबज लागु गरी जनवादी क्रान्ति पुरा गर्ने मुल ढोकामा उभ्याउने कार्यको मुख्य वैचारिक श्रेय कमरेड शंकरलाई जान्छ भन्नेमा म स्पष्ट छु ।
त्यतिखेर कमरेड घनश्यामको लाईन के थियो ? मलाई याद छैन । तर आठौ महाधिवेशन अघि कमरेड घनश्यामको ‘संकटको पुर्नउत्पादन’ नामक पुस्तक बजारमा आयो । पछि ‘आजको मार्क्स्वाद‘ नामक पुस्तक पनि । उहाँले नेपाली समाजको वर्गिय चरित्र खोतलेर हामी कहाँ छौ ? र अब कता जाने भन्ने असाध्यै महत्वको पुस्तक प्रकाशन गर्नुभयो । यी कुराहरुले जबजको गिता गाइरहने तर व्यवहारमा लागु नगर्ने यथास्थितीवादी कथित क्रान्तिकारीतामा दह्रो झापड हान्न शुरुगर्यो । यही बहसले गर्दा नै नवौ महाधिवेशनसम्म नेपाली समाजलाई अर्धसामन्ती र अर्ध औपनिवेशिक भन्ने हामीहरु ‘प्रारम्भीक पुँजीवादी’ समाजमा रहेको निष्कर्षमा पुग्यौं । हाम्रो वाम राजनीतिमा आलोचनात्मक चेतना बिस्तार भयो । समाजशास्त्रको बिद्यार्थि भएकोले पनि यी विचारहरुमा म घनश्यामसँग सहमत भएँ ।
मलाई लाग्छ तपाईहरु दुवैमा सहकार्य र खुलस्त अन्तरक्रिया भएको भए हामी नेपालको पुँजीवादको चरित्र दलाल छ र हाम्रो संघर्षको मुख्य निशाना दलालपुँजीवाद हुनुपर्छ भन्ने सपाट निष्कर्षमा पुग्थ्यौं । त्यसले अझ यथार्थ धरातलमा उभिएर क्रान्तिको कार्यदिशा तय गर्थ्यौं । हामीले राज्य, पार्टी र सत्ताका अवयवहरुमा त्यसका बिरुद्ध राष्ट्रिय पुँजी निर्माणका लागि त्यही किसिमको संरचना खडा गर्ने हाम्रा स्पष्ट कार्यनिति बन्थे । यसोगर्दा हामी अझ राम्रोगरी जबजले भनेजस्तै मार्गचित्रमा देशलाई उभ्याईरहेका हुन्थ्यौ ।
मैले मात्र होइन नेकपा एमालेका हरेक कार्यकर्ता शंकर / घनश्यामलाई यहि किसिमको उच्च योगदान भएका नेताका रुपमा चिन्दछ । र ठान्दछ, एकको अभावमा एमाले अपुरो जस्तो हुन्छ ।
एमाले माओवादी एकता प्रकृया प्रसंग चलिरहँदा अब एकिकृत पार्टीको मार्गदर्शक सिद्धान्त के हुने भन्ने बहस शुरु भएको छ । बहसलाई एमाले उपमहासचिव घनश्याम भुसालको अनलाईन खबरको अन्तरवार्ताले तिव्रता दिएको छ । ‘माओवाद र जबजको च्याप्टर क्लोज’ भएको भन्ने भुसालको तर्कमाथि अनलाइन र छापाहरुमा चर्काचर्कि छ । कसै कसैले इतिहासँका घटनाबाट निहुँ खोतलेर घनश्याममाथि आक्रोस समेत पोख्दैछन ।
मार्क्सवाद, लेनिनवाद र माओवाद, जनताको बहुदलीय जनवाद जस्ता मार्गदर्शक लाईन बोकेका पार्टीहरु अब के बोकेर अघि बढछन ? स्वभाविक बहस आरम्भ भएको ठान्छु म । एकतालाई सिद्धान्तले डोर्याएन भने त्यो एकता नै हुन सक्दैन ।
जबजको सन्दर्भ सकियो कि छँदैछ ? यसले नेपाली राजनीतिलाई मार्गदर्शन गर्न सक्छ कि सक्दैन ? स्वभाविक होकि मार्गदर्शन गर्न सक्दैन भने यसको औचित्य सकियो । अझपनि यसले मार्गदर्शन गरिरहनु पर्छ भने औचित्य जारी छ भन्ने सम्झनु पर्छ ।
दुई पार्टी विचको एकताको आधारबिन्दु माओवादीको हेटौडा महाधिवेशन र एमालेको नवौ महाधिवेशन मात्र होइन । यसको आधारबिन्दु ०६० सालमा माओवादीले एकाइशौ शताव्दिको जनवाद र ०४९ सालबाट एमालेले जनताको बहुदलीय जनवादको सैद्धान्तिक अन्तरवस्तु मिल्न जानु मुख्य कुरा हो । नेपाली जनवादी क्रान्तिमा दुवैको सैद्धान्तिक सारहरुको मिश्रण रहेको छ । त्यो संविधानमा समेत अधिकांशतः अभिव्यक्त भैसकेको छ । मलाई लाग्छ संविधानमा अभिव्यक्त कुराहरुलाई साँचो अर्थमा जनताको जीवनमा रुपान्तरण गर्न सम्पुर्ण रुपान्तरणको चरणभरी यी दुवै लाइनहरुले मार्गदर्शन गर्छन र गर्न जरुरी छ । हामी मान्यताहरुलाई संविधानमा संस्थागत गर्ने चरणबाट रुपान्तरणको लामो चरणमा प्रवेश गरेका छौ भनेर हामीले बुझ्ने हो भने यी दुवै लाईनको सन्दर्भ अझै केही दशक रहीरहनेछ । यसलाई हटाएर, स्थगित गरेर अर्को लाईन जरुरी हैन की आवश्यकता हो भने बरु अरु सृखलाहरु थपिन सक्छन ।
जबज र एशजका साझा मान्यता भनेको पार्टी र सत्ताको निरन्तर जनवादीकरण र आवधिक निर्वाचन मार्फत जनअनुमोदनको मोडल हो । यसको दार्शनिक अन्तरवस्तु भनेको द्धन्दवादलाई राजनीतिमा प्रतिष्पर्धाको रुपमा स्थान दिनु हो । जातिय आत्मनिर्णयको अधिकार र जातिय स्वशासन हटाउने हो भने एकाइशौ शताब्दीको जनवाद तात्विक रुपमा जनताको बहुदलीय जनवाद नै हुन्छ । अरु प्राय सबै कुरा मिल्छ । एशज भन्दा जबज शासन प्रणालीका धेरै कुरामा स्पष्ट अभिव्यक्त गर्दछ । शक्ति पृथकिकरणको शासन प्रणालीमा जबज स्पष्ट छ, एशज मौन, समानुपातिक र समावेशितामा एशज स्पष्ट छ, जबज मौन । अहिलेको सम्बिधानमा हामी मिश्रित प्रणाली अपनाएका छौं । सबिधानको अभ्यास र पार्टी भित्रको बैचारिक बहसलाई निरन्तरता दिँदै जाँदा यी कुराहरु मिल्दै जानेछन । यसका लागि पनि दुवै कार्यक्रमको सन्दर्भ बरकरार राखेरै जानुपर्छ ।
जबज कार्यक्रम मात्र थियो यसलाई सिद्धान्त बनाईयो । कार्यक्रमबाट मार्गदर्शक सिद्धान्त बनाएको र मुलुक जबजको बाटोमा अघि बढेको निष्कर्ष निस्किसकेको सन्दर्भभा जनवादी क्रान्ति पुरा भएकोले यसको सैद्धान्तिक बहसको च्याप्टर क्लोज भएको होला । तर सन्दर्भ झन मुखरित भएको छ । यी कुरामा घनश्यामका दुवै पुस्तकहरुले वकालत गर्छन र शंकर पोखरेलका बारम्बारका अन्तवार्ताहरु साक्षि छन । माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने सन्दर्भमा जबजको दर्शन वा द्धन्दवादका क्षेत्रमा र राजनीति अर्थशास्त्रको क्षेत्रमा योगदान रहेको पार्टीका दस्तावेजहरुकमा स्वीकार गरिएको छ ।
प्रचण्ड र जबज
एकताका जबजलाई संसोधनबादको डंगुर भन्ने प्रचण्डले एशजको लाईन लिएपछि ०६३ जेष्ठ ५ को तिनाउँ एफ एम अन्तवार्तामा “मदन भण्डारीको स्प्रीट मलाई मन पर्थ्यो ‘जवजलाई संसदवादमा फसाउने मदन भण्डारीको स्प्रीट थिएन’ भनेका थिए । अन्तरवार्तामा उनले भनेका छन ‘मदन भण्डरीसँगै एक रात बसेर क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने विमर्श गर्ने योजना थियो’ । सायद असमयमै मदनको हत्या नभएको भए त्यो भेट भएको भए मुलुकले उग्रवामपन्थ कष्ट नभोगी क्रान्ति सम्पन्न हुन्थ्योकी ! आफ्नै नाममा उद्घाटित प्रचण्डपथ लाई स्थगित गरेर ‘एकता केन्द्रका नारायणकाजी श्रेष्ठहरुलाई पार्टीमा भित्राउँदै एउटै कम्युनिष्ट केन्द्र बनाउने कार्यगर्दै आएका नेता समेत हुन । नेतृत्वमा हुनुपर्ने डाइनामिक्स उनिमा छ ।
एकिकृत पार्टीको मार्गदर्शक सिद्धान्तको प्रस्ताव :
हामीले हाम्रो विधानको प्रस्तावनामा मार्गदर्शक सिद्धान्तको रुपमा माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई लिएको सन्दर्भमा अव कसरी जाने ? भन्ने कुरालाई आगामी एकता महाधिवेशन सम्म बहसको रुपमा लैजान सकिन्छ । मलाई के लाग्छ भने अहिलेको संविधानलाई नेपाली जनवादी क्रान्तिको महत्वपुर्ण उपलब्धीको रुपमा स्वीकारी सकिएको र अझै परिष्कृत गर्ने काम समेत बाँकी रहेको, जबज र एकाइशौ शताब्दीको जनवादका मान्यताहरु समेत संविधानमा प्रतिविम्बिीत भएको सन्दर्भमा ‘एकाइशौ शताव्दीको जनताको बहुदलीय जनवाद’को रुपमा पुर्नपरिभाषित गरी एउटै सैद्धान्तिक दिशा तय गर्नुपर्दछ । माक्र्सवाद, लेनिनवादका अतिरिक्त एशजबज (एकाइशौ शताव्दीको जनताको बहुदलीय जनवाद) हाम्रो मौलिक सैद्धान्तिक दिशा हुनेछ । यसले अहिले बामगठबन्धन र एकताका लागि निर्वाचनमार्फत भएको जनअनुमोदनले समेत सम्मान पाउनेछ । यसतर्फ दुवै कमरेडहरु मार्फत छलफल अघि बढोस भन्ने कामना गर्दछु ।
कमरेडहरु,
माओवादी केन्द्र र एमाले अव दुई पार्टीको रुपमा रहन सैद्धान्तिक रुपमा सम्भव छैन भनेर २०६३ लेखिएको र ०६४ मा एशिया पब्लीकेशनबाट प्रकाशित ‘जबज र प्रचण्डपथ’ भन्ने पुस्तकमा त्यसका सैद्धान्तिक आधार सहित उल्लेख गरेको छु । नेपाली कम्युनिष्ट आन्दोलनको एक शिखर पुरुष क. मोहन विक्रमले उक्त कितावमै आलोचनात्मक रुपमै भएपनि ‘कितावले सही समझदारी निर्माणमा ठूलो सहयोग पुग्ने’ बताउनुभएको थियो । त्यतिखेर सायद यो कुरा देख्नु असम्भव नै थियो होला । देखियो, आज त्यो प्रमाणित भईरहेको छ । यस मानेमा म व्यक्तिगत रुपमा खुशी छु । दुई पार्टीको एकता शत्रुको शत्रु मित्र भएजस्तै मात्र हुने छैन । त्यसलाई सैद्धान्तिक र भावनात्मक रुपमै एकताको जगमा उठाउन संगतिपुर्ण वैचारिक नेतृत्व लिनुहोस भन्ने कामना राख्दछु ।
मिति २०७४।९।१८, देवदह
(लेखक भट्टराई नेकपा एमाले जिल्ला कमिटी सचिवालय रुपन्देहीका सदस्य हुन्) ।





