घनश्याम भुसाल र शंकर पोख्रेललाई खुला पत्र

-सिद्धिरण भट्टराई

प्रिय कमरेडहरु घनश्याम भुसाल र शंकर पोखरेल

दुवैमा लाल सलाम !

तपाईहरु दुवै नेपालको बामआन्दोलनका लागि सिद्धान्तनिष्ट नेताका रुपमा परिचित हुनुहुन्छ । एमालेबृतका लागि त दुवैजना अपरिहार्य आवश्यकता जस्ता देखिनुहुन्छ । दुवैले जनताबाट अनुमोदित भएर प्रतिनिधी सभा र प्रदेस सभाको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । सिद्धान्त, इमान, नैतिकताको राजनीतिले हार्ने कि जित्ने भन्ने प्रश्नसँग हामीले तपाईहरुको चुनावी प्रतिष्प्रर्धालाई लिएका थियौं । यो मुल्यमा एउटा नाम लालबाबु पण्डितलाई थप्नेहो भने तपाईहरुको जित निष्ठा, सिद्धान्त र नैतिकताको समेत जित हो ।

तर कहिलेकाँही घनश्याम । शंकर एक नदीका दुई किनारा जस्ता देखिनु हुन्छ । तपाईहरुका विचारहरुले सिद्धान्तकै तर्क गरिरहेपनि कतै पुरातन आग्रहहरुले नै तपाईहरुलाई दुई किनारा बनाएको होकि सिद्धान्तकै लडाई हो ? सामान्य कार्यकर्ताले भेउ पाउँदैनन ।

माओवादी केन्द्र र एमाले विचको एकता प्रसंगले फेरी तपाई दुवै दुई किनारामा जस्तो देखिनु भएकोले दुवै प्रति केहि नलेखि धरै पाईएन । यसबाट अलि चिन्ता पनि लागेर यो पत्र लेख्दैछु सार्वजनिक रुपमा ।

मेरै घटना स्मरण गराएर म प्रसंग उठाउँछु । ०५९ देखि ०६५ सम्म म एमालेमा रहन पाईन । माओवादी जनयुद्धका क्रममा दुनै सदरमुकाम आक्रमण भएपछि जनसेना फौजिशक्तिको रुपमा उदायो । मैले त्यतिखेर देखि नै संसदबाहिरको क्रान्तिकारी बामपन्थी शक्ति र संसदभित्रको बामपन्थी शक्तिको तालमेल गरी आम जनतालाई शान्तिपुर्ण बिद्रोहतर्फ अग्रसर गराउँदै जनबिद्रोहको रुप दिएर जनवादी गणतन्त्र स्थापना गर्न सकिने कुरा उठाएर लेख सार्वजनिक गरेँ । संविधान सभाबाट संविधान निर्माणको बाटो भएर अगाडि बढदा जबजको साँचो कार्यन्वयन हुने विचार प्रकट गरि दर्जनौ लेख लेखेँ । यही कारण म तत्कालिन लुम्बिनी अञ्चल इन्चार्ज बिष्णु पौडेल हुँदा पार्टी सदस्यबाट निकालिएको एउटा कार्यकर्ता हुँ । 

०६१ मा जनकपुर महाधिवेशनमा यहि कारण अग्रगमनका लागि संविधान सभाभन्ने शंकर  पोखरेल कमरेडको लाईनसँग मेरा विचार मिलेकोले संविधान सभा किन र कसरी ? ’ भन्ने रचना संग्रह सहितको मेरो पुस्तक लिएर म होमिएको थिँए । तर जसले मलाई रुपन्देहीमा पार्टीबाट निष्कासित गरे उनिहरुले नै महाधिवेसन स्थलमा पुस्तक विक्रीमा प्रतिवन्ध लगाए । त्यतिखेर मलाई नैतिक समर्थन गर्न आउने नेता कमरेड शंकर पोखरेल भएकोले उहाँको गहिरो छाप ममा छ । मलाई लाग्छ, एमालेले सातौ महाधिवेशनमै संविधान सभाको लाईन पास गरेको भए मुलुकले अझ छिटो अग्रगामी बाटो पक्रन्थ्यो । मुलुकले ठूलो क्षति व्यहोर्थेन । पार्टीलाई जबज लागु गरी जनवादी क्रान्ति पुरा गर्ने मुल ढोकामा उभ्याउने कार्यको मुख्य वैचारिक श्रेय कमरेड शंकरलाई जान्छ भन्नेमा म स्पष्ट छु ।

त्यतिखेर कमरेड घनश्यामको लाईन के थियो ? मलाई याद छैन । तर आठौ महाधिवेशन अघि कमरेड घनश्यामको संकटको पुर्नउत्पादननामक पुस्तक बजारमा आयो । पछि आजको मार्क्स्वादनामक पुस्तक पनि । उहाँले नेपाली समाजको वर्गिय चरित्र खोतलेर हामी कहाँ छौ ? र अब कता जाने भन्ने असाध्यै महत्वको पुस्तक प्रकाशन गर्नुभयो । यी कुराहरुले जबजको गिता गाइरहने तर व्यवहारमा लागु नगर्ने यथास्थितीवादी कथित क्रान्तिकारीतामा दह्रो झापड हान्न शुरुगर्यो । यही बहसले गर्दा नै नवौ महाधिवेशनसम्म नेपाली समाजलाई अर्धसामन्ती र अर्ध औपनिवेशिक भन्ने हामीहरु प्रारम्भीक पुँजीवादीसमाजमा रहेको निष्कर्षमा पुग्यौं । हाम्रो वाम राजनीतिमा आलोचनात्मक चेतना बिस्तार भयो । समाजशास्त्रको बिद्यार्थि भएकोले पनि यी विचारहरुमा म घनश्यामसँग सहमत भएँ ।

मलाई लाग्छ तपाईहरु दुवैमा सहकार्य र खुलस्त अन्तरक्रिया भएको भए हामी नेपालको पुँजीवादको चरित्र दलाल छ र हाम्रो संघर्षको मुख्य निशाना दलालपुँजीवाद हुनुपर्छ भन्ने सपाट निष्कर्षमा पुग्थ्यौं । त्यसले अझ यथार्थ धरातलमा उभिएर क्रान्तिको कार्यदिशा तय गर्थ्यौं । हामीले राज्य, पार्टी र सत्ताका अवयवहरुमा त्यसका बिरुद्ध राष्ट्रिय पुँजी निर्माणका लागि त्यही किसिमको संरचना खडा गर्ने हाम्रा स्पष्ट कार्यनिति बन्थे । यसोगर्दा हामी अझ राम्रोगरी जबजले भनेजस्तै मार्गचित्रमा देशलाई उभ्याईरहेका हुन्थ्यौ । 

मैले मात्र होइन नेकपा एमालेका हरेक कार्यकर्ता शंकर / घनश्यामलाई यहि किसिमको उच्च योगदान भएका नेताका रुपमा चिन्दछ । र ठान्दछ, एकको अभावमा एमाले अपुरो जस्तो हुन्छ ।

एमाले माओवादी एकता प्रकृया प्रसंग चलिरहँदा अब एकिकृत पार्टीको मार्गदर्शक सिद्धान्त के हुने भन्ने बहस शुरु भएको छ । बहसलाई एमाले उपमहासचिव घनश्याम भुसालको अनलाईन खबरको अन्तरवार्ताले तिव्रता दिएको छ । माओवाद र जबजको च्याप्टर क्लोजभएको भन्ने भुसालको तर्कमाथि अनलाइन र छापाहरुमा चर्काचर्कि छ । कसै कसैले इतिहासँका घटनाबाट निहुँ खोतलेर घनश्याममाथि आक्रोस समेत पोख्दैछन ।

मार्क्सवाद, लेनिनवाद र माओवाद, जनताको बहुदलीय जनवाद जस्ता मार्गदर्शक लाईन बोकेका पार्टीहरु अब के बोकेर अघि बढछन ? स्वभाविक बहस आरम्भ भएको ठान्छु म । एकतालाई सिद्धान्तले डोर्याएन भने त्यो एकता नै हुन सक्दैन ।

जबजको सन्दर्भ सकियो कि छँदैछ ? यसले नेपाली राजनीतिलाई मार्गदर्शन गर्न सक्छ कि सक्दैन ? स्वभाविक होकि मार्गदर्शन गर्न सक्दैन भने यसको औचित्य सकियो । अझपनि यसले मार्गदर्शन गरिरहनु पर्छ भने औचित्य जारी छ भन्ने सम्झनु पर्छ ।

दुई पार्टी विचको एकताको आधारबिन्दु माओवादीको हेटौडा महाधिवेशन र एमालेको नवौ महाधिवेशन मात्र होइन । यसको आधारबिन्दु ०६० सालमा माओवादीले एकाइशौ शताव्दिको जनवाद र ०४९ सालबाट एमालेले जनताको बहुदलीय जनवादको सैद्धान्तिक अन्तरवस्तु मिल्न जानु मुख्य कुरा हो । नेपाली जनवादी क्रान्तिमा दुवैको सैद्धान्तिक सारहरुको मिश्रण रहेको छ । त्यो संविधानमा समेत अधिकांशतः अभिव्यक्त भैसकेको छ । मलाई लाग्छ संविधानमा अभिव्यक्त कुराहरुलाई साँचो अर्थमा जनताको जीवनमा रुपान्तरण गर्न सम्पुर्ण रुपान्तरणको चरणभरी यी दुवै लाइनहरुले मार्गदर्शन गर्छन र गर्न जरुरी छ । हामी मान्यताहरुलाई संविधानमा संस्थागत गर्ने चरणबाट रुपान्तरणको लामो चरणमा प्रवेश गरेका छौ भनेर हामीले बुझ्ने हो भने यी दुवै लाईनको सन्दर्भ अझै केही दशक रहीरहनेछ । यसलाई हटाएर, स्थगित गरेर अर्को लाईन जरुरी हैन की आवश्यकता हो भने बरु अरु सृखलाहरु थपिन सक्छन । 

जबज र एशजका साझा मान्यता भनेको पार्टी र सत्ताको निरन्तर जनवादीकरण र आवधिक निर्वाचन मार्फत जनअनुमोदनको मोडल हो । यसको दार्शनिक अन्तरवस्तु भनेको द्धन्दवादलाई राजनीतिमा प्रतिष्पर्धाको रुपमा स्थान दिनु हो । जातिय आत्मनिर्णयको अधिकार र जातिय स्वशासन हटाउने हो भने एकाइशौ शताब्दीको जनवाद तात्विक रुपमा जनताको बहुदलीय जनवाद नै हुन्छ । अरु प्राय सबै कुरा मिल्छ । एशज भन्दा जबज शासन प्रणालीका धेरै कुरामा स्पष्ट अभिव्यक्त गर्दछ । शक्ति पृथकिकरणको शासन प्रणालीमा जबज स्पष्ट छ, एशज मौन, समानुपातिक र समावेशितामा एशज स्पष्ट छ, जबज मौन । अहिलेको सम्बिधानमा हामी मिश्रित प्रणाली अपनाएका छौं । सबिधानको अभ्यास र पार्टी भित्रको बैचारिक बहसलाई निरन्तरता दिँदै जाँदा यी कुराहरु मिल्दै जानेछन । यसका लागि पनि दुवै कार्यक्रमको सन्दर्भ बरकरार राखेरै जानुपर्छ ।

जबज कार्यक्रम मात्र थियो यसलाई सिद्धान्त बनाईयो । कार्यक्रमबाट मार्गदर्शक सिद्धान्त बनाएको र मुलुक जबजको बाटोमा अघि बढेको निष्कर्ष निस्किसकेको सन्दर्भभा जनवादी क्रान्ति पुरा भएकोले यसको सैद्धान्तिक बहसको च्याप्टर क्लोज भएको होला । तर सन्दर्भ झन मुखरित भएको छ । यी कुरामा घनश्यामका दुवै पुस्तकहरुले वकालत गर्छन र शंकर पोखरेलका बारम्बारका अन्तवार्ताहरु साक्षि छन । माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने सन्दर्भमा जबजको दर्शन वा द्धन्दवादका क्षेत्रमा र राजनीति अर्थशास्त्रको क्षेत्रमा योगदान रहेको पार्टीका दस्तावेजहरुकमा स्वीकार गरिएको छ ।

 प्रचण्ड र जबज

एकताका जबजलाई संसोधनबादको डंगुर भन्ने प्रचण्डले एशजको लाईन लिएपछि ०६३ जेष्ठ ५ को तिनाउँ एफ एम अन्तवार्तामा “मदन भण्डारीको स्प्रीट मलाई मन पर्थ्यो जवजलाई संसदवादमा फसाउने मदन भण्डारीको स्प्रीट थिएनभनेका थिए । अन्तरवार्तामा उनले भनेका छन मदन भण्डरीसँगै एक रात बसेर क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने विमर्श गर्ने योजना थियो। सायद असमयमै मदनको हत्या नभएको भए त्यो भेट भएको भए मुलुकले उग्रवामपन्थ कष्ट नभोगी क्रान्ति सम्पन्न हुन्थ्योकी ! आफ्नै नाममा उद्घाटित प्रचण्डपथ लाई स्थगित गरेर एकता केन्द्रका नारायणकाजी श्रेष्ठहरुलाई पार्टीमा भित्राउँदै एउटै कम्युनिष्ट केन्द्र बनाउने कार्यगर्दै आएका नेता समेत हुन । नेतृत्वमा हुनुपर्ने डाइनामिक्स उनिमा छ । 

एकिकृत पार्टीको मार्गदर्शक सिद्धान्तको प्रस्ताव  :

हामीले हाम्रो विधानको प्रस्तावनामा मार्गदर्शक सिद्धान्तको रुपमा माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई लिएको सन्दर्भमा अव कसरी जाने ? भन्ने कुरालाई आगामी एकता महाधिवेशन सम्म बहसको रुपमा लैजान सकिन्छ । मलाई के लाग्छ भने अहिलेको संविधानलाई नेपाली जनवादी क्रान्तिको महत्वपुर्ण उपलब्धीको रुपमा स्वीकारी सकिएको र अझै परिष्कृत गर्ने काम समेत बाँकी रहेको, जबज र एकाइशौ शताब्दीको जनवादका मान्यताहरु समेत संविधानमा प्रतिविम्बिीत भएको सन्दर्भमा एकाइशौ शताव्दीको जनताको बहुदलीय जनवादको रुपमा पुर्नपरिभाषित गरी एउटै सैद्धान्तिक दिशा तय गर्नुपर्दछ । माक्र्सवाद, लेनिनवादका अतिरिक्त एशजबज (एकाइशौ शताव्दीको जनताको बहुदलीय जनवाद) हाम्रो मौलिक सैद्धान्तिक दिशा हुनेछ । यसले अहिले बामगठबन्धन र एकताका लागि निर्वाचनमार्फत भएको जनअनुमोदनले समेत सम्मान पाउनेछ । यसतर्फ दुवै कमरेडहरु मार्फत छलफल अघि बढोस भन्ने कामना गर्दछु ।

कमरेडहरु,

माओवादी केन्द्र र एमाले अव दुई पार्टीको रुपमा रहन सैद्धान्तिक रुपमा सम्भव छैन भनेर २०६३ लेखिएको र ०६४ मा एशिया पब्लीकेशनबाट प्रकाशित जबज र प्रचण्डपथभन्ने पुस्तकमा त्यसका सैद्धान्तिक आधार सहित उल्लेख गरेको छु । नेपाली कम्युनिष्ट आन्दोलनको एक शिखर पुरुष क. मोहन विक्रमले उक्त कितावमै आलोचनात्मक रुपमै भएपनि कितावले सही समझदारी निर्माणमा ठूलो सहयोग पुग्नेबताउनुभएको थियो । त्यतिखेर सायद यो कुरा देख्नु असम्भव नै थियो होला । देखियो, आज त्यो प्रमाणित भईरहेको छ । यस मानेमा म व्यक्तिगत रुपमा खुशी छु । दुई पार्टीको एकता शत्रुको शत्रु मित्र भएजस्तै मात्र हुने छैन । त्यसलाई सैद्धान्तिक र भावनात्मक रुपमै एकताको जगमा उठाउन संगतिपुर्ण वैचारिक नेतृत्व लिनुहोस भन्ने कामना राख्दछु ।

मिति २०७४।९।१८, देवदह

(लेखक भट्टराई नेकपा एमाले जिल्ला कमिटी सचिवालय रुपन्देहीका सदस्य हुन्) ।

तपाइँको प्रतिक्रिया