पराजित होइन, कांग्रेसले पाएको मत अझैपनि बढि
पछिल्लो प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने नतिजा निकाल्यो । वामपन्थीहरुको गठबन्दनलाई नेपाली जनताले रुचाए । यो गठबन्दनले सरकार चलाएको हेर्न चाहे । पटक पटक सरकार चलाउँदै आएको नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्नुपर्ने निर्देशन जनताले दिएका छन् । निर्वाचनको अन्तिम परिणाम आइसकेको त छैन । तर नेपाली कांग्रेसलाई सरकार बनाउने हैशियत जनताले नदिएको भने स्पष्ठ भैसकेको छ । वामपन्थीहरुको गठबन्दन हुँदा नेपाली कांग्रेसले पराजय भोगेको बुझाई धेरैको छ । वास्तबिकता त्यस्तो पटक्कै होइन । बरु अहिले जति मत नेपाली कांग्रेसले ल्याएको छ त्योपनि बढि हो ।
विसं २०४६ सालमा बहुदलिय प्रजातन्त्र आएपछिका सरकारमा सबैभन्दा बढि नेपाली कांग्रेसनै गएको छ । कहिले एकल नेत्रित्व त कहिले अन्य दलहरुको समर्थनमा । २०४७ सालबाट अहिलेसम्म भएका निर्वाचनमा नेपाली कांग्रेस संसदिय दलका रुपमा बलियो, अगाडि देखिएपनि ऊ वास्तविक मतका आधारमा बलियो थिएन । लोकप्रिय पार्टी, जनताले रुचाएको जस्तो देखिएपनि खासमा जनताद्वारा सर्वाधिक रुचाइएको पार्टीका रुपमा थिएन । नेपाली कांग्रेसको जित भ्रमपूर्ण थियो । अहिलेको निर्वचनले नेपाली कांग्रेसको जुन स्थान बनेको छ त्योपनि बढि हो ।
वि सं २०४६ सालपछि नेपालका वामपन्थी दलहरु चिराचिरा भए । केहि निर्वाचनमा ति झण्डै एक दर्जन भिन्न दलमा बिभाजित भएर निर्वाचन लडे । वामपन्थीहरुको मत एक दर्जन भन्दा बढि दलमा बिभाजित भयो । तर जनताले बामपन्थीहरुलाई मत दिएका थिए । वामपन्थी निति र आदर्शलाई मत दिएका थिए । वामपन्थीहरुको निति खासै अलग नदेखिएकालेपनि जनताको मत बिभिन्न वामपन्थी दलहरुमा बिभाजित भैराख्यो । जनताले वामपन्थी निति र आदर्शको सरकार चाहेपनि बिभाजित भैरहँदा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका अन्य दलहरुले मौका छोपेर सरकार बनाए । जनताले नचाहेका दललेनै तिमाथि सरकार चलाईरहे ।
वामपन्थी गठबन्दनलाई दिएको मत अहिलेको भन्दापनि अझ बढि छ । किनकि राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी लगायतका वामपन्थी दलहरु अहिलेपनि गठबन्दन नबनाई एक्ला एक्लै निर्वाचनमा गए । र तिनको मत बिभाजित भएको छ । यदि सबै वामपन्थी दलहरु एकजूट भएर निर्वाचन लडेको भए नेपाली कांग्रेसको मत अझै कम आउने थियो । वामपन्थीहरुको मत अझै बढ्ने थियो । वामपन्थीहरु छुट्टिएर निर्वाचन लड्दा नेपाली कांग्रेस लगायतका अन्य दलको मत बढेको छ । वामपन्थीहरु फुटेर लड्दा केहि सिट वामपन्थीहरुले गुमाएका छन् ।
त्यसैले नेपाली कांग्रेसले पाएको मत अझैपनि बढि छ । सम्पूर्ण वामपन्थीहरुको मत गणना गर्दा जति मत आउँछ त्यो मत घटाएर रहेको मतनै नेपाली कांग्रेस र अन्य दलले पाएको मत हुन्छ । आजसम्म वामपन्थीहरु बिभाजित भएर निर्वाचन लडेकालेनै नेपाली कांग्रेस पटक पटक पहिलो पार्टी बन्न सफल भएको हो । अर्थात् नेपाली कांग्रेसको आफ्नै लोकप्रियता वा मतले भन्दापनि अन्य दलहरु फुटेर निर्वाचन लडेकाले नेपाली कांग्रेसले पहिलो पार्टी बन्न पाएको हो । नेपाली कांग्रेस एकातिर र वामपन्थी दलहरु अर्कोतिर भएर जनताले दिएको मतमा जुन भिन्नता आउँछ त्यो मत र लोकप्रियतानै नेपाली कांग्रेसको मत र लोकप्रियता ठहरिन्छ । अब नेपाली कांग्रेस लोकप्रिय र पहिलो पार्टी बन्न उसले समग्रमा वामपन्थीहरुले ल्याएको मतलाई पराजित गर्न सक्ने हैशियतको पार्टी बनाउनु जरुरि छ । र त्यो नै वास्तविकरुपमा नेपाली कांग्रेसको मत हुने छ ।




