जनताको एकमात्रै पहुँच सडक, त्योपनि खोस्ने ?

sadak

आफूले ईत्रुको हुँदादेखि सुन्दै, भोग्दै आएको नेपाल बन्द, उपत्यका बन्द, जिल्ला बन्द, सकूल र क्याम्पस बन्द । त्यो बन्दको रुप उहि छ । पारा त्यस्तै छ । उद्देश्यपनि उहि छ, देशलाई अझै आर्थिक रुपमा भार दिने । जनताको पहुँचमा रहेको सडकपनि अबरुद्द गराउने । आज नेकपा माओवादी (बिल्पव समूह) ले त्यस्तै बन्द गरेको छ । बन्दले जसलाई फरक पार्न खोजिएको हो, उसलाई पटक्कै परेको छैन । किनकि पहुँचवालाहरु कि त डाँडातिर सिरिरी चिसो हावा खाँदै ऐशले बसेका छन् । कि सुरक्षाकासाथ हिँडेका छन् । सिंहदरबार, वालुवाटार र पेरिस डाँडातिरका पहुँचवालालाई यो बन्दले छोएको छैन । छुन्नपनि । किनकि तिपनि यसै गरेर सत्तामा पुगेका हुन् । सरकारबाट बाहिरिनासाथ यसै गर्छन् । फरक पर्ने दुखि जनतालाई हो । भारि बोकेर गुजारा गर्नेलाई हो । सडक पेटीमा नाङ्लो पसल थापेर साँझ बिहान गुजार्नेकालागि हो । मजदूरी गरेर छाक टार्नेकालागि हो ।

स्कूल क्याम्पस पढ्दा देशको सपूत हुन, देश बदल्न, ठूलबाट सिक्न, ठूलाका बचन पालक, ईमान्दार, क्रान्तिकारी , महान कार्यकर्ता, देश बदल्ने एउटा कर्मठ नागरिक बन्न धेरै युवा युवती, बिध्यार्थीहरु ढुंगा र ईट्टा बोकेर सडक बन्द गर्न हिँड्छन् । वर्षौं देखि हिँडिरहेकै छन् । तर त्यो नेपाल बन्दले निश्चित समयमा केहि प्रभाव पारेपनि न देश बदलियो, न समाज । त्यहि बन्दको फाइदापनि नेता, पार्टी र तिनका भरौटेले लिए । जनतालाई केहि न केहि ।

नेताहरुमा देश बदल्ने सोच, ज्ञान, तत्परता, आँट, जोखिम लिने हिम्मत र देश बनाउने रहरनै छैन । देखिँदैन । भएपनि जनताले महसुस गर्ने गरि अनुभव गर्न पाएका छैनन् । बरु देख्दादेख्दै ढुंगा बोकेर सडक बन्द गर्ने हातहरु कोहि अझैपनि अरबको खाडीतिर छन् । कोहि गामतिर हल्लिँदै छन् । नेता चाहिँ कखरा चिन्दै गर्दाका कलिलाहरु हजुर बा बन्ने बेलासम्मपनि तिनै छन् । सत्ता र सरकारमा पुग्ने तिनको गनगन उहि हो, लोभ र सत्ताको रसमा झिटिझ्याम्ट, तानातान उस्तै छ । घर, भवन, ब्यापारमा कब्जा जमाए । तिनको पटकपटकको पदले त्यहि दियो । तर जनताका दुख दिन अझ थपिएका छन् ।

तिनै बासी नेताका लुतुरे भाषण, उहि करकर, उस्तै लुते मरन्च्यासे योजना । सबैले गर्ने उहि बन्द, उहि हडताल । नेता झन सुरक्षामा साईरन बजाउँदै हिँड्ने । गाउँको कोदो बेचेर सुन्तलीले पाँच गुणा बढि पैसो तिरेर बन्दका दिन अस्पत्ताल जानुपर्ने । जति नेता जन्मिएपनि, नयाँ पार्टी बनेपनि सिक्ने उहि बुढा, खोल्याङ्गे, लुर्तुरे, पदकलागि गनगन गर्नेहरुबाटै रैछ । उहि नेपाल बन्द गरेरै सत्तामा पुगेकैले सिकाउने रैछन् नेपाल बन्द गराउन । नेपाल बन्द गराउने, जिल्ला हडताल गर्ने, स्कूल क्याम्प्समा ताला लगाउनेहरुनै यतिखेर सरकारमा छन् । तिनको नैतिकतापनि छैन, यस्तो नेपाल बन्दको बिरोध गर्ने । किनकी यो देशको सडकका धेरै रेलिङ तिनले भाँचेका छन् । धेरै आर्थिक भार थोपरेका छन् देशलाई । तिनको हातमा नेपाल बन्द गराउँदा लागेको ईट्टाको धुलो अझै बाँकी छ । हडताल गराउँदा, रेलिङ भाँच्दा बोकेको ढुंगाको डाम अझै हत्केलामा मेटिएको छैन । तिनको दिमाखमा अझैपनि सरकरबाट हटेपछि नेपाल बन्द गराउने रहर जमेरै बसिरहेको छ । अनि तिनले कसरि नेपाल बन्दको बिरोध गर्न सक्छन् ? कसरि नेपाल बन्द गराउनेका माग सुन्छन् ?

सिंहदरबारमा बस्नेले जनताको आवाज सुन्दैन । बालुवाटार बस्नेहरुलाई जनताका दुख कष्ट सुन्ने फूर्सद छैन । जिल्लाका प्रशासनिक निकायहरुमा साना खाले राजा बस्छन् सिंह दरबारबाट ठूला राजाले पठाएको आदेश पालना गर्न । पेरिस डाँडा, सानेपा दरबार र बल्खु दरबारमा जनताका दुख र पिडा कम गर्ने बहस होइन सत्ता गिराउने र आफू पुग्ने बहसले मारामारि चल्छ । जनताको पहुँच भएकै सडक हो । त्यहि सडकमा नाम्लो धसाएर, नाङ्लो थापेर, मकै पोलेर जिविका चलाउँछ, यो देशको गरिब जनता । रिक्सा हाँकेर छाक टार्छ । तर जनताको जहाँ पहुँच, जिविका छ, जिवन छ त्योपनि बन्द गरेर नेताहरुले जनताको पहुँच खोस्दै छन् । जनताका नाममा गरिने यस्तो नेपाल बन्दले जनतालाई सास्ति दिएको छ । जनताको सेवा गर्छु भन्ने पार्टी अझ बदनाम हुँदै छ ।

बन्द कर्ताको हिम्मतपनि छैन सिंहदरबारमै असर पार्ने । बन्दले जसलाई पाठ सिकाउन खोजिएको हो उसैलाई पाठ सिकाउने । त्यसैले तिपनि सडक बन्द गर्छन् । सडक बन्द गराएर जनमत देखाउन खोज्छन् । साँच्चै जनताको समर्थन जुटाउन त जनताले केहि पाएको, आशा गरेको हुनुपर्ने हो । आफ्नै गाँस काटेर, भोको बसेर कसरि जनताले समर्थन गर्छ ? किन नेताहरु नयाँ सोच, नयाँ बिचार सहित नयाँ अभियान, कार्यक्रम लिएर आउन सक्दैनन् ? किन उहि पुराना, बासी बन्दका योजना लिएर, जनता आजित भैसकेकै नेताबाट सिकेर जनतालाई दुख दिन्छन् ? नेपाल बन्द, सडक हडताल बाहेक अन्य बिकल्प किन ल्याउन सक्दैनन् जहाँ जनतालाई दुख हुन्न बरु सहयोग दिन उठुन् जनता ?

देश बनाउने हिम्मत, जनतालाई जरक्क उठाउन सक्ने नेता, यसले चाहिँ केहि गर्छ है भनेर नयाँ विचार लिएर आउने नेता कहिले देख्न पाउने नेपालीले ?

(नेपाल बन्दको तस्विर- तिर्थ कोइरालाको फेसबूकबाट)

तपाइँको प्रतिक्रिया