कांग्रेसका छत्तिसे जस्ता एमाले छत्तिसे

20150629madan-bhandari-memorial-day-leaders-nepal-khanal-remain-absent-600x0नेपाली कांग्रेसमा कुनै बेला छत्तिसे भनेर चिनिन्थे । यिनको काम सांसद खरिदबिक्रि गराउने, पदका लागि । सुरासुन्दरी मिलाएर पनि कुर्सी दिने र लिने थियो । जुनसुकै हतकण्डा अपनाएर तिनले सरकार गिराउँथे । आफ्नै सरकार । पार्टी फुटाउँथे । सरकार बदल्ने तानातानमा जुवा, तास खेलाएर होटेलमा सुन्दरीको ब्यवस्था मिलाइदिएर थुन्थे । जसरि हुन्छ पार्टी, सरकार र देशलाई अस्थिर बनाउने काम थियो तिनको । हो ठ्याक्कै त्यहि पारा एमालेमा देखिँदै छ अहिले । एमालेमा नेपाली कांग्रेसका जस्तै देश भँडुवा छत्तिसेहरु देखिएका छन् जसलाई तत्कालै यो सरकार बदलेर, देशलाई अस्थिर बनाएर फेरि सरकारमा जानु परेको छ ।

एमालेका हस्ती नेता झलनाथ खनाल र माधव कुमार नेपालले एमालेको छत्तिसे जस्तो टोलीको नेत्रित्व गरेका छन् । समर्थकहरुलाई उचालेका छन् । बरु अलग पार्टीको नेत्रित्व गरेका नेताहरुलाई यो सरकार बदल्न उति हतारो देखिएको छैन । तर माधव नेपाल र झलनाथ खनाल उचालिएका छन् । उनीहरुलाई अब सरकार बदलेर आफू कुर्सीमा नपुगि भएको छैन । आफ्नै पार्टीले नेत्रित्व गरेको सरकारदेखेरै उनीहरु अत्तालिएका छन् । त्यो अत्तालिनुको कारणपनि सरकारले गलत काम गरेर होइन । सरकारले देश भत्काएर, बिगारेर, आफ्नो पार्टी बदनाम भएकाले होइन । एमाले सरकारका प्रधानमन्त्री केपी ओलीले केहि दूरगामी प्रभाव पर्ने निर्णय लिएकाले, राष्ट्रिय हितका विषयमा नेपालीको शिर केहि उठाउने कोसिस गरेकाले हो । एमाले पार्टीको लोकप्रियता अलि उठाएकालेपनि हो । किनभने यिनलाई राष्ट्रिय हित हेर्नु छैन । रहेनछ । यिनलाई नेपालीको शिर उठ्नुछैन । देशलाई दूरगामी सकारात्मक प्रभावको यिनलाई मतलव छैन । बरु छिमेकीको स्वार्थ पो ठूलो छ । जसरि हुन्छ कुर्सीमा लपेटिनु छ । राष्ट्रिय झण्डाको दुरुपयोग र बदनाम गरेरै भएपनि पदमा पुग्नु छ ।

एमालेका यि छत्तिसेको नेत्रित्व कर्तालाई राम्रो सित थाह छ, ओली सरकार जति टिक्यो उति यिनको राजनितिक अवशानको ढोका नजिकिन्छ । पार्टीमा प्रभाव र छबी खुइलिँदै जान्छ । छत्तिसे नेत्रित्वकर्ताका कार्यकर्ता ओलीतिर तानिन्छन् । ओलीको राजनितिक पोल्टो भारि हुन्छ । देशमा स्थिरता रहन्छ अलिकति भएपनि । देश जति  अस्थिर भयो उति धमिलो पानीमा बल्छी हान्ने मौकाबाज माझीहरुको भाग्य खुल्ने हो । त्यसैले यिनलाई जतिसक्दो चाँडो यो सरकार गिराउनुपरेको छ ।

यि छत्तिसे नेत्रित्वकर्तालाई योपनि जानकारि छ, बिगतमा यिनले कसै न कसैको आशिर्वादमा प्रधानमन्त्री बनेका हुन् । एक छत्तिसे नेता नेपाली कांग्रेसको आशिर्वादमा । अर्का छत्तिसे नेता खनाल माओवादीको समर्थनमा । यि दुबैले आशिर्वादमै बनेका हुन् । यि दुबै परिक्षणपनि भएका थिए । यि दुबैको पालामा माखो मार्न सकेनन् । यिनले नाम लेखाए प्रधानमन्त्री बनेको भन्दै । भित्तामा फोटो झुण्ड्याए । केहि समय देश बिदेशको सयर गरे । केहि आफन्तलाई पदमा घुसाए होलान् । राष्ट्रको सेवा र सुबिधा भोग गरे । बास, देशकालगि देखिने र भोगिने, नेपालीले महसुस र प्रशंशा गर्ने काम केहि नगरि बालुवाटारबाट बिदा लिए । अन्तत केपी ओलीको हालतपनि त्यस्तै हुन्छ भनेर यि ढुक्क थिए, तर भैदिएन । ओलीले अलिकति झोखिम उठाएर केहि दूरगामी प्रबहवका काममा हात हाल्न रुचाए । ओलीको जोखिम यि छत्तिसेका नेत्रित्वकर्तालाई डाहा लाग्यो, विष बन्यो ।

सरकार बदलेर देशमा अस्थिरता मच्चाउन तम्सेका माधव नेपाल र झलनाथ खनालले कतिसम्म झुठ बोलेका छन् भने माओवादीसित सरकार बदल्ने सहमती भैसकेको सार्वजनिक गरे । एमालेकै नेत्रित्वको अहिलेको सरकारमा माओवादी छ । माओवादीले केपी ओलीसित सरकारसित नौ बुँदे सहमती गरेका छन् । तर तिनले सरकार बदल्नेबारे कुरो भएकै छैन भन्दै छन् । तर झलनाथ खनाल र माधव नेपाल भने झुठो बोलेर सरकार बदल्न कस्सिएका छन् । यिनको सत्ता र कुर्सीको लोभ, केपी ओलीको लोकप्रियतालाई खसाल्ने आश्वाशन बिदेशी अक्सिजको स्रोत हो । जसलेपनि बुझ्छ ।

केपी ओली भावनामा बगेर अलि बढि बोलेकै छन् । सकिने भन्दा नसकिने काम र उनको आश्वाशनको सूची लामो भो की भन्ने यथार्थ हो । तर यिनले ईतिहासमा कुनैपनि प्रधानमन्त्री, नेताले लिन नसकेको जोखिम लिएकै छन् । चार पाँच वटा पार्टी मिलेर बनेको सरकारको नेत्रित्वकर्ताले धेरै गर्न सक्ने ठाउँपनि हुन्न । तैपनि ओलीले सिंहदरबार घेरेर सरकारलाई थकाउने मधेशीहरुको आन्दोलनलाई कुनै दमन नगरि आफैं थाकेर बाटो लाग्ने बनाए । काठमाडौंदेखि तराईको निचगढ जोड्ने फास्ट्र्याक आफ्नै देशले बनाउने निर्णय गरेर बिदेशी दबाब र तिनका दलालहरुलाई एकै पटक असफल पारे । नेपालीमा केहि आशाको त्यान्द्रो भएपनि बसाए । हाम्रो पारबहन एकतर्फी थियो, भारतसित पूर्ण निर्भर । चिनसितपनि पारबहन संझौता गरेर उनले भारतीय हस्तक्षेपको प्रतिवाद मात्रै गरेनन् कि छिमेकीलाई चिढ्याउने र अर्कोलाई रिजाउने संस्कारलाई हस्तक्षेप गरिदिए । उनले परनिर्भरता हटाउन बैकल्पिक उपाय लिने जोखिम उठाए जुन आजसम्मका कुनैपनि नेताले उठाउन सकेको थिएन ।

केपी ओलेले गरेका अन्य केहि सानातिन निर्णयहरुपनि छन् । जुन प्रधानमन्त्रीको एक्लो प्रयासले हुन्न । तिनलाई पुरा गर्न हाम्रा पार्टी र नेताले राष्ट्रिय हित हेर्न सक्नुपर्छ । मुख्य भूमिका उनैको पार्टी एमालेले निर्वाह गर्नुपर्छ । तर देशलाईनै बिभाजन गर्न, पार्टी फुटाउन, नेपालीको शिर होचो पार्न एमालेका छत्तिसेहरु कस्सिएका छन् । तर केपी ओलीले यिनको कुर्सी मोहलाई च्यात्न सक्लान् की नसक्लान् ? कुर्सीको मोह, सत्ताको रस र देशलाई थप अस्थिरता उत्पन्न गराउने, कुनै एक छिमेकीसित निर्भर बनाएर देशलाइ बाँधिराख्ने यो खेल एमालेका अन्य नेता र खासगरि कार्यकर्ताले बुझ्लान् की नबुझ्लान् ? यस्ता नेतालाई तह लगाएर अस्थिर गराउने सत्ताको खेललाई रोक्न दबाब दिन सक्लान् की नसक्लान् ? यो जिम्मेवारी एमालेका सोचनिय, चिन्तित, गम्भिर र इमान्दार कार्यकर्ताको हो ।

तपाइँको प्रतिक्रिया