बाद बिनाको डा भट्टराईको नयाँ शक्ति

– लक्ष्मण थापा / नेदरल्याण्ड्स

unnamedडा बाबुराम भट्टराई जी ( नयाँ शक्तिमा बाद रहेन बाद नरहे संगै अब तिमी कामरेड रहेनौ ) जनयुद्द सुरु भए देखि तिम्रो मगजमा नयाँ शक्तिको बास नहुन्जेलसम्म के के भोग्नु पर्यो । त्यो चोटको गहिराईलाई तिमीले भन्दा बडी अरु कसले नाप्न सक्ला र ? हामि त केवल तिम्रा पीडालाई महशुस गर्ने मात्र न हो ! डा बाबुरामजी तिमी स्वीकार गर या नगर योग्यताको तराजुमा सधै तिम्रो एस एल सी बोर्ड फस्टको नतिजा भन्दा पी यच डीको नतिजाको प्रशंसा कहिल्यै सुन्न सकिन र पार्टीमा पनि नतिजा सधै त्यस्तै रह्यो ! तिमीले आफुलाइ जति विद्वान सम्झे पनि तिमि भन्दा विद्वान र चतुर अरु निस्के । यसको ज्ञानबोद्द मलाई भन्दा तिमीलाई राम्रै हुनु पर्छ ! त्यसैले राजनीतिमा सर्टिफिकेट मात्र पनि केहि होइन रहेछ !

जेहोस् डा बाबुराम जी जेन तेन तिमी प्रधानमन्त्री बन्न सक्यौ ! म पनि यसै देशको गरिब नागरिक । यति बेला म जनयुद्धका बेला बाँडेका सपनाको नालीबेली तिर फर्कन चाहन्न । तिमी आफै बुझी सक्यौ होला । म गरिबलाई तिम्रो आशा नलाग्ने कुरै भएन । बिहानीले दिन देखाउँछ भन्ने कतै सुनेको थिएँ । तिमीले पनि मुस्ताङ गाडी चढेर हुइकियौ ! यति बेलै हो पहिलो पटक मैले देशको प्रधानमन्त्रीलाई छुन पाएको । मैले मिठो अनुभूति गरेको । तर, भट्टराईजी धनीका सपना पो बिपना बन्न सक्लान गरिबका सपना त सपना नै रहेछन । आखिर यस्तै भयो आधा सय पजेरो प्राडोको बिचमा बिचरा त्यो मुस्ताङ के देखिन्थ्यो र । तिनका बिचमा गाउँ, डाडा, पाखा,पखेरामा किन दगुर्न सक्थ्यो त्यो । अन्तत मैले नदगुरेको मात्र होइन त्यो मुस्ताङ हिडेको पनि देख्न छाडे । मैले तिमीलाई महसुश गर्ने त कुरै भएन ।

डा बाबुराम भट्टराई राजनीतिका चतुर खेलाडी भनेर मैले धेरै पहिले देखि बजारमा नसुनेको कहाँ होर ? तर, आज म पनि त्यहि भिडमा उभिएर तिमीलाई अरुले जे देखे मैले पनि त्यस्तै पो देख्न थालें । हुन त मैले तिमीलाई चतुर देख्नु नदेख्नुको कुनै अर्थ नराख्ला । जाबो उति बेला मैले आठ कक्षा पढ्दा राजनीति शास्त्र थिएन । मैले तिमीलाई बिश्लेषण गर्ने र चतुर देख्ने भनेको कहिले नेवारीमा भाषण गरेको सुन्छु त कहिले थारु । कहिले मगर, कहिले शेर्पाको भेषमा हुन्छौ त कहिले बोटे । कतै गाई खान्छौ कतै मुसा । कतै सर्प यस्तै यस्तैमा त हो । मिठो भएर खायौ या नमिठो भएर यसमा मेरो कुनै चासो छैन न त गुनासो । भट्टराईजी यति बेला मेरो चासो केवल तिम्रो नयाँ खेलमा हो । सायद हिजोको दुखाई र भोगाइले होला आज निकै राम्रो खेल खेल्न सक्ने भएछौ । बजारको हल्ला जस्तै चतुर भएछौ ।

डा बाबुराम भट्टराई जी जब तिमीलाई देख्न र महशुस गर्न छोडेपछी मैले धेरैतिर हात सुमसुमाएँ । तर कतै पनि छुन सकिन । छुन नसके पछी महशुस हुने कुरै भएन । तिमी धेरै पढेको एउटा बिद्धवान केहि समय देखि बहुला जस्तै कुदेको देखे पछी मेरा आँखा पनि तिम्रै पछीपछी दौडिए । तिमि कहाँ उभिन्छौ भनेर । आज तिमी लामो जिन्दगीको अधुरो सपना साकार पार्दै टक्क उभियौ । खेलको अग्रभागमा छक्का लाग्ला नलाग्ला समयले बताउला । चौका भने पक्कै मार्यौ तिमीलाई बधाई छ !

डा बाबुराम भट्टराईजी तिम्रो खेलको प्रसंसा गर्दा गर्दै भाबुक्तामा डुबेर मैदान बाहिर जान थालेछु । त्यसैले सिधै अब खेलमा प्रवेश गरौ । सर्ब प्रथम त यति राम्रो खेल खेलेर खेलको नेतृत्व समालेको हुँदा खेल पूर्व भएका वामअप को चर्चा भएन भने न तिमीलाई न अरु कसैलाई न्यायोचित होला । त्यसैले भट्टराईजी वामअपमा भएका यी गल्ती हुन् या नयाँ खेलका लागि गरिएका तिम्रा चतुराई जो कोई जान्न चाहन्छ ।
(१) आफैले ल्याप्चे लगाएको संबिधानलाई आगो लगाउने सभामा गएर बोल्नु तिम्रो खेलको रणनिति थियो या दक्षिण तिरका प्रभुको आँखामा पानी माथिको ओभानो देखाउने खेल ?
(२) तिमीले ल्याप्चे लगाएको संबिधान कार्यन्वयन भैनसकेको अवस्थामा तिम्रा कारण १७ हजार मान्छे मरेको बिर्सेर, एउटा कालखण्ड सकिएको प्रचार गर्दै नयाँ शक्तिको खाँचोको बहस सिर्जना गर्नु पानी धमिल्याएर माछा मार्ने प्रयास हो भन्न सकिन्न र ? नयाँ संबिन्धान कार्यान्वन नहुँदासम्म तिमी मैदान बाट भाग्न कसरि सक्छौ ?
(३) देशमा दन्केको आगो निभाउने प्रयासमा सरकार पक्ष र आन्दोलनरथ पक्ष दिल्ली दौडाहामा रहेको बेला तिमी हिजो प्रधानमन्त्री भैसकेका व्यक्ति सुटुक्क दिल्ली किन र कुन हैसियतमा गएका थियौ भन्ने जानकारी नागरिकलाई दिनु पर्छ कि पर्दैन ? यदि जवाफ दिन पर्दैन भने दर्जन भन्दा बडी सुरक्षाकर्मिलाई अघि पछि लिएर हिड्ने अधिकारबाट बन्चित तिमी किन नहुने?

डा बाबुराम भट्टराईजी देशको संकटका बेला तिमीले खेलेको यी खेलका मुल्यांकनहरु भबिश्यले छिनोफानो गर्दै जाने छ, हिजका दिनमा जस्तै । अब भने नयाँ शक्ति राष्ट्रिय परिषदको घोषणा संगै मैदानमा उतारेका खेलाडीहरु तर्फ लागौ ।

डा बाबुराम भट्टराईजी जगलाइ थाहा थियो, एमाओबादीमा आधा मानिस बाबुरामका छन् भनेर । तर पहिलो दिन भने मैदानमा बिना बाद्का विद्वान, डाक्टर,कलाकार देखि भीभीआइपीहरु सम्मलाई सुकिला जर्सीमा जब उतार्यौ, जो कोइलाई तिम्रो खेल बुझ्न गाह्रोभएन । तिमी खसीको टाउका देखाएर बाख्रीको मासु बेच्दै छौ । तर तिमीले पूर्व खेलको रणनीति अनुसार केहि ढिला उतार्नु र्ने राता जर्सीका खेलाडीलाई भने भोलि पल्टै उतार्न बाध्य बन्यौ । जब बजारमा तिम्रो कप्तानीमा औंला उठ्न थाल्यो । यदि यसो होइन भने बक्समा तैनाथ रातो जर्सीका खेलाडी सुकिला जर्सीका खेलाडी संगै मैदानमा उतार्ने आँट गर्न सक्नु र्थ्यो होइन र ? तर, दुनियाँको आँखाले देखेको बैद्य बाको पिडालाई तिमीले नदेख्ने कुरै भएन । त्यसो गर्नु तिम्रा लागि घातक बन्न सक्थ्यो । किनकि हिजो पल्लो घरमा उभिन नसकेको ठाउँमा तिमी आज यहाँ उभिनु थियो । उभियौ पनि । त्यसैले आज तिमीले खेलेको खेल तिम्रो जिन्दगीकै राम्रो खेल छ । हिजो प्रधानमन्त्री भएका बेला राजीनामाको चिट्ठी खल्तीमा छ भन्दै खल्तीमा हात लगेर कहिल्यै देखाउन नसके जस्तै सोच्नेहरुलाई छाँगाबाट खसाल्दियौ । पल्लो घरबाट बाजा बजाएर होइन अर्दांगिनीलाई सम्म त्यहि छाडेर यात्री बनि निस्क्यौ र नयाँ शक्तिको घोषणा पत्रमा कुनै बाद् छैन भन्ने विद्वानलाई पनि पत्तै चलेन वादको पनि बादशाहा निस्क्यौ भनेर ।

डा बाबुराम भट्टराईजी यति बेला मेरो इर्ष्या तिमी उभिएको ठाउँको होइन । नयाँ शक्तिको अभियन्ताहरुलाई औंला ठडाउने मेरो कुनै धरातल छैन । नत तिम्रो योग्यतामा शंका गर्ने मेरो योग्यता हो । केवल मेरो चासो के भने नयाँ शक्तिले खेल्ने खेलको मात्र हो र मेरो शंका आफैले भन्दै आएको धरातललाई नटेकेर आफु शक्तिमा बसेर घोषणा भएको नयाँ शक्तिमा हो । मेरो डर यदि भोलि खेल मैदान राता जर्सीले भरिए भने बिस्तारै सुकिला जर्सीमा आउने खेलाडी कम हुदै जाने छन् र भएकाहरु पनि रगतले लतपतिएकाहरुको रगतको छिर्काबाट बच्न भाग्ने कोशिस नगर्लान भन्न सकिदैन । त्यसैले सबैले आशा गरेर हेरिएको नयाँ शक्तिलाई फेरी तिम्रो सानो लालचले हात्ती आयो हात्ती आयो फुस्सा नहोस् ।

अन्तमा माफ गर्नुहोला डा साप । ८ कक्षा पासले पी एच डी र बिद्वानहरुलाई यी सबै कुरा लेख्न र बोल्न हुने थियो या थिएन । तर यहाँको चलन यस्तै छ, ८ पासले सोध्छन, १० पास मन्त्रि, प्रधानमन्त्रीले जवाफ दिन्छन । डिग्री पासले खाडीमा पसिना पुछ्दै सुन्छन हाम्रो नयाँ नेपालमा ।

तपाइँको प्रतिक्रिया