राजदूत महोदय यो भन्दा अझै कति बिग्रिनु बाँकी छ र नेपाल भारत संवन्ध ?
अपराध र अत्याचार गरेपछि मान्छे तर्सिन्छ । आत्तिन्छ । अत्तालिन्छ । जति बलियो होस् एउटा बाघले सय दुई सयको म्रिगको झुण्ड देख्ता उपनि तर्सिन्छ । अहिले भारतीय राजदूतलाई त्यस्तै भएको छ । एउटा अन्तर्वार्ता मार्फत उपप्रधानमन्त्री चित्र बहादुर केसीले भारतले नेपालमाथि नाकाबन्दि गरेको हाकाहाकी सार्वजनिक गरिदिएपछि भारतीय राजदूतलाई आफ्ना अपराध, अन्याय र अत्याचारले पोलेको छ । त्यहि अत्याचारले डामेको घाउको दुखाई उनले बाहिर खोक्न थालेका छन् । नेपालमाथि लगाएको नाकाबन्दिलाई नाकाबन्दि भनेमा भारत र नेपालको संवन्ध बिग्रिन्छ भन्दै खोकेका हुन्, भारतीय राजदूत रन्जित रेले । अझै भारत र नेपालको संवन्ध बिग्रिएको रहेनछ ?
भूकम्पले थलियो नेपाल । हजारौं मरे । खरबौंको क्षती भयो । वास नपाएर सडक र बारीका कान्लामा पुगे पिडितहरु । आकाशबाट खसेको वर्षमा बिचल्ली भएर रुझिरहे । कतिको उद्दार हुनै नसकेर ज्यान गयो । यस्तो बिपत्तीका बेला सक्षम छिमेकिले गर्ने के हो ? सहयोग होइन ? तर भारत यस्तो छिमेकी रहेछ कतिखेर आफ्नो छिमेकी कमजोर बन्ला र न्याकौंला । कतिखेर असक्त र कमजोर बन्ला र सिध्याउँला । कतिखेर बिपतमा पर्ला र झन च्यापौंला । कतिखेर घाइते बनेर बिलाप गर्ला र झन नुनचुक दलौंला । छिमेकीको कमजोरी, आपत र बिपत, क्षती र बिपत्तीका बेला झन सास्ति दिएर फाईदा लिउँला भन्ने नेपालको छिमेकी रहेछ भारत ।
उपप्रधानमन्त्री केसीले ‘यो भारतीय नाकाबन्दि हो र यसलाई नाकाबन्दि भन्न नसक्ने दलहरु दलाल हुन्’ भनिदिए । यहाँ के झुठो, के अर्घेल्याइँ छ र राजदूत महोदय ? के यो सहि होइन ? भारतले नाकाबन्दि गरेकै हो । यसको भेद नेपालका नेता र नेपालीले खोल्नुपर्छ र ? तपाईकै देशका मेडियाले खोलिसकेकै छन् । तपाइकै भारतीय जनता पार्टीमै यसले नेताहरुबिच बिबाद उब्जाईसकेको तपाईकै देशका मेडियाले सार्वजनिक गरिदिएकै छन् । विश्व समूदायले देखिसकेको छ, एउटा भूपरिवेष्ठित देशमाथि भारतले कसरि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्छ भनेर । यो नाकाबन्दि हो भन्ने कुरो कसमा भ्रम छ र ? तपाईहरुकै अत्याचारी, अबिबेकी, हैकमबादी, दमनकारी मन र मस्तिकमा मात्रै पर्दाले ढाकिएकाले बाँकी होला । नत्र विश्वमा जसले नेपाल र भारतमा चासो राख्छ उसलाई स्पष्ठ भैसकेको छ । अन्याय र अत्याचारबारे यस्सो ख्यल, चासो राख्नेलेपनि बुझिसकेको छ । अनि सारा विश्वले नाकाबन्दि भनेर बुझिसकेको यथार्थलाइ नाकाबन्दि भन्दा भारत र नेपालको संवन्ध किन बिग्रिने ? राजदूत सर, तपाईहरुको अत्याचार सहिरहनुपर्ने ? तपाई दमनकारी, अपराधीहरुले टाउकोमा घनले हान्दापनि हामीले ऐया सम्म भन्न नपाउने ?
महामहिम सर, दुई देशको संवन्ध राम्रो बनाउने जिम्मा एउटाको मात्रै हो ? छिमेकीको गोठमा आगो लाग्दा निभाउन सहयोग गर्नुपर्नेमा उसको घरमापनि आगो झोसिदिने छिमेकीसित केको संवन्ध राम्रो हुन्छ र ? के बाँकी राख्नु भो तपाईहरुले राम्रो संवन्ध बन्न ? नेपालीका मनमा आगो झोसिदिनु भएको छ । नेपालमाथि नाकाबन्दि गरेर इन्धन रोकिदिएकाले यातायातको अभाव हुँदा १६ लाख वालवालिका शिक्षाबाट बन्चित गरिदिनु भएको छ । भोलीको नेपाल र भारतको संवन्ध बनाउने, बिगार्ने, भत्काउने यिनै हुन् । देश सम्हाल्ने यिनै हुन् । नेपाल र भारतको ब्यापार होस् कि सांस्क्रितिक संवन्ध होस् कस्तो बनाउने भन्ने यिनैले हो । यिनको मानस्पटलमा भारतीय शासक भनेका अत्याचारी, हेपाहा, दमनकारी, वैरी, हुकुमी शासक हुन् भन्ने बिउ तपाईहरुलेनै रोपिदिनु भएको छ । तपाईको अत्याचार भोगेका यि वालवालिका हुर्केर भोली देश चलाउने बेला झन कस्तो संवन्ध होला ? के यिनले तपाई अत्याचारी शासकहरुसित राम्रो संवन्ध बनाउलान् ?
यिनका बाउ आमा मल र बिउ नपाएर बाँझो खेत राख्न बाध्य भएका छन् । आफ्ना आमा बाउ, गाउँले बिरामीको बिजोग देखेका छन्, तपाईहरुकै सुनियोजित तयारीले । अस्पत्तालमा आकस्मिक सेवा बन्द गर्नुपर्ने अवस्था बनाइदिनुभएको छ । शैक्षिक संस्था बन्द गराएर शिक्षाबाटै बन्चित गराइदिनु भएको छ । भ्रस्टाचारी नेता र प्रशासक किनेर हाम्रा भ्रिकुटी कागज कारखाना, जुद्द जुटमिल, बुटवल धागो कारखान, हेटौंडा औध्योगिक क्षेत्र, बाँसबारी छालाजुता लगायतका ठूला उध्योग धराशायी बनाइदिनु भो । त्यो त हाम्रै कमजोरी रह्यो रे लौ । त्यतिलेपनि नपुगेर बँचेखुचेका सानातिना उध्योगपनि अहिले नाकाबन्दि गरेर सत्यानास पारिदिनु भएको छ । यस्तो सास्ति दिँदापनि नेपालले कुन नाताले तपाईहरुलाई असल छिमेकी देख्ला, मान्ला ? नेपालीका हरेक मनमा डढेलो सल्काएर आगो ताप्ने तपाई भारतीय शासकहरुसित कसरि राम्रो संवन्ध बन्ने ? नेपालीहरुमाथि अत्याचार गर्न केनै बाँकी राख्नु भएको छ र भारतीय शासकलाई नेपालीले आदर, सम्मान र विश्वास गर्ने ? यस्तो अत्याचार गर्दापनि संवन्ध अझै राम्रो छ नेपाल र भारतबिच भन्ने भ्रम पाल्नुहुन्छ ? किन नाटक गर्ने मन जलिसकेपछि असल संवन्धको ? तर सरले अझै बिग्रिन सक्छ भारत नेपाल संवन्ध भन्नु भो । यो भन्दा अझै बिग्रने भनेको के हो ? हामी नेपालीलाई खुल्दुली लागेको छ ।
उपप्रधानमन्त्रीको भनाईले नेपाल भारत संवन्ध बिग्रिन्छ भन्नुको आशय के हो ? अझै बिग्रिने भनेको कुन हदसम्म हो ? अझै कति सास्ति दिने बिचार छ ? राजदूत सर, नेपालीले तपाईको अत्याचार र सास्ति भोग्नु भोगे । ब यो भन्दा बढि भोग्नुपर्ने खासै केहि छैन । तर अझै संवन्ध बिग्रिन्छ भन्नुभएकाले त्यो अझै बिग्रिँदा कस्तो खालको सास्ति लाद्नुहुन्छ जानकारि पाए यि नेपाली अझै आभारी हुने थिए ! तपाई भारतीय शासकहरु अत्याचारका पारखी हुनुहुन्छ । एशियाभरि अत्याचार र दमन गर्ने यहाँहरुले अझै नेपालमाथि लाद्न सक्ने अत्याचारबारे खुलाईदिए नेपालीहरु त्यसकालागिपनि तयार हुने थिए की !





