सिंहदरबारमा आँखा, तराइमा खुट्टा’ !

 डा सुबर्ण बाबु सापकोटा

singha_durbar

हिमालय भाइका हजुरबुवा र बुवा भन्नु हुन्थ्यो रे तराइको ठूलो सत्रु भारत हो, तराइको मायाँ हुन्थ्यो भने किन एसएसबीले मधेसीलाई नै दु:ख दिन्थ्यो, किन सडक बाँध बनाएर तराइ डुबाउँथ्यो ? किन तराइकै भूमि र बाली हडप्थ्यो ? किन हुलाकी सडक पूरा गर्दैनथ्यो ? किन भारतीय सेनामा मधेसीलाई भर्ना गर्दैनथ्यो ? सायद हजुर बुवा र बुवा ठीक हुनुहुँदो रहेछ । नत्र आदिवासी तराइका जनताको अधिकार भन्दा धेरै अङ्गीकृत नागरिकता र मुख्य जल सम्पदा पर्नै पर्ने गरी हुने सीमाङकनमा भारतको त्यत्रो चासो किन हुन्थ्यो होला र ? अहिले तराइका सर्वसाधारण जनतालाई पारिएको सबैभन्दा ठूलो भ्रम के हो भने भारत उनीहरूको अधिकारको निम्ति उभिएको छ ।

यथार्थमा नेपालमा सुरक्षा चासो बाहेक भारतलाई आवश्यक प्राकृतिक श्रोत पहाडमा धेरै छ र भारत पहाडिया सासक वर्गलाई फकाएर हुन्छ कि धम्काएर हुन्छ, तिनमा एकाधिकार जमाउन चाहन्छ । यो परिवेशमा तराइ, तराइका जनता र तिन का विलकूल जायज राजनीतिक आन्दोलन पनि भारतका लागि नेपाली शासकहरूसित बार्गेन गर्न प्रयोग गर्ने तुरुप मात्रै हो, ‘भाँड मे जाए जनताका अधिकार †’

हाम्रो तराइसित सीमा जोडिएका भारतको उत्तर प्रदेश र विहारमा अवसर उपलब्धताको वास्तविक अनुहार कस्तो डरलाग्दो छ भने–३६८ जना पियनको पदका लागि २३ लाख आवेदन पर्छन्, जसमा २५५ जना पीएचडी गरेका हुन्छन् । कामलाई सानो भन्न खोजिएको होइन तर दुई राज्यमा भएको लगभग ३० करोड जनसंख्यामा अवसर पाउनु निक्कै कठिन छ । यस्तो अवस्थामा १ प्रतिसतमात्रै पनि वारिपारि भयो भने नेपालको तराइका वास्तविक आदिवासीहरूको अवस्था के होला ? हिमालय राज जस्ता भाइहरू निश्चय नै आफ्नै भूमिमा राज्यले दिने अवसरबाट बञ्चित हुन्छन् । यस्तो परिवेशमा खुला सीमाना ब्यवस्थित गरौं भन्ने कुरा अहिलेसम्म सुन्न नपाईनु पनि तराइको लागि दुर्भाग्य हो । फेरि तराइका आम जनताले बुझ्नै पर्छ– भारत आफै पनि एउटा धार्मिक अतिवादीहरूको सामन्ती ब्यवस्था भएको राज्य हो, भारतमा अधिकार माग्न नाङ्गिनु पर्ने अवस्था छ, मुस्लिम भएकै भरमा मारिनु परेको छ, महिला भएकै भरमा बलात्ृत हुनु परेको छ ।

तसर्थ तराइको अधिकार प्राप्तिको आन्दोलन तराइकै मौलिकताबाट मात्रै सफल हुनेछ, न कि भारतको साथबाट । के कुरामा प्रष्ट हुनु जरुरी छ भने, तराइले आफ्नो अधिकार प्राप्तिको लडाईंमा जति–जति भारतलाई आमन्त्रण गर्छ चाहेर या नचाहेर त्यति–त्यति दलदलमा फस्दै जान्छ, गोटी बन्दै जान्छ । जति–जति भारतसित नजोडी आन्दोलन अगाडि लान्छ उती चाँडो सफल हुन्छ । तर, यस्तो काम यी जमिन्दार नेताहरूबाट सम्भव छ त ? जसले तराइका जनताको नाममा आफ्ना छोरा, ज्वाँई, छोरी, बुहारी, श्रीमती, साला बाहेक अरु देख्दैन । राजेन्द्र महतोहरूले भाजपाको मेजमानीमा, जनताको अधिकार प्राप्तिको आन्दोलनलाई वर्गीय हुनबाट रोकेर कम्युनल बनाउदैछन्, नत्र राजनाथले नेपालमा एक करोड भारतीय छन् भन्दा त्यसको बिरोधमा एक्लो बृहस्पति मातृका यादव मात्रै हुनु पर्दैन थियो ।

क्याम्पस पढ्दा तराइ मूलका विद्यार्थीमाथि हुने विभेद देख्दा, जाडो विदामा घर जाँदा इटहरीदेखि पश्चिम लागेपछि महेन्द्र राजमार्गको छेउमा पातलो बर्को ओढी भुसा बालेर आगो ताप्दै बसेका बस्तीहरू एक पछि अर्को देख्दा, पक्कै समय आउछ यी बस्तीहरू जुरुक्कै उठ्छन् अधिकार प्राप्तिका लागि भन्ने आभास हुन्थ्यो ।

अहिले ठ्याक्कै त्यही भएको छ । तर डर के लाग्दै छ भने राजेन्द्र महतोहरूले सीमा पारि बसेर भाजपाको मेजमानीमा, जनताको अधिकार प्राप्तिको आन्दोलनलाई वर्गीय हुनबाट रोकेर कम्युनल बनाउदैछन् अनि अत्यन्तै विश्वाश गरिएका तराइका बुद्धिजीवीहरू पनि यो विषय उठाउन कुन्नि किन हिच्किचाउदै छन् । नत्र राजनाथले नेपालमा एक करोड भारतीय छन् भन्दा त्यसको विरोधमा एक्लो बृहस्पति मातृका यादव मात्रै हुनु पर्दैन थियो ।

यी मातृका तिनै हुन जसले भ्रष्टाचारी कर्मचारीलाई चर्पीमा थुने (मानव अधिकारका हिसाबले केही बहस हुन सक्छ), ती कर्मचारी पहाडिया मूलका थिए तर, कसैले पनि धोतीले पहाडियालाई थुन्यो भनेन । प्राय: सबैले ‘भ्रष्टाचारीलाई थुनेर ठीक गरे’ भने । आज एक्लै भएपनि हामी भारतीय होइन भन्ने साहस गरे । अर्थात् सही सोंचलाई सबैले सम्मान नै गर्छन् । अन्य कुरा बिर्सेर रेसियल कुरा मात्रै बोकेर हिंड्दा एउटा बिन्दूमा तराईमा इन्टर–रेसियल डिस्क्रिमिनेसनलाई इन्ट्रा–रेसियल डिस्क्रिमिनेसनल्ले प्रतिस्थापन गर्छ नै, त्यति बेला अहिले अधिकार नपाए ‘बङ्गलादेश’ बनाउँछौं भन्ने तराइको नेतृत्वले पत्तो नपाई तराइको राजनीति ‘दक्षिण सुडान’ तिर पुगिसकेको हुन्छ । अनि बेग्लै प्रदेशले मात्रै होइन बेग्लै देश नै बने पनि पटक्कै माने राख्दैन । अर्थात, ‘लोग सुनेङ्गे तो क्या कहेङ्गे, चुतिया आशिकी के चक्कर मे मर गया और लौन्डिया भि नही मिली ।’

तसर्थ तराइको बुद्धिजीवी बृत्तले क्षणिक लाभ हानीका आधारमा आफ्नो दायित्व र अहंम भूमिका नबिर्सियोस् । यी जमिन्दार नेताहरू जुनसुकै बेला पनि समाज विभाजन गरेर गायब हुन सक्छन् तर, समाज जोड्ने तपाईंहरूले नै हो । नेपाल राज्यलाई तराइ आन्दोलनले बेला–बेला झक्झयाउनै पर्छ नत्र राज्यले तराइलाई बिर्सिन्छ । तर, त्यो भन्दा पहिले तराइलाई तपाईंहरूको सही मार्गदर्शन चाहिएको छ न कि जनतालाई सडकमा ल्याएर अझै पनि ‘सिंहदरबारमा आँखा र तराइमा खुट्टा’ राख्ने अवसरवादी जमिन्दार नेताहरूको । अन्त्यमा, हाम्रो राष्ट्रियताको सही व्याख्या होस्, हिमालय भाइले भने जस्तो अधिकार प्राप्ति अनि आधुनिक नेपालको सांस्कृतिक एकीकरणको आन्दोलन देश भित्रैबाट सफल होस्, भारत जिल्ल परोस् ।

(यो लेख विक्ली नेपालबाट लिएको हो)

तपाइँको प्रतिक्रिया