नयाँ संबिधान र बाबुराम भटृराईको सशंकित भूमिका
- गोपीचन्द्र कार्की
७ दशको प्रयत्नपछि बल्ल जनताका प्रतिनिधिहरुद्धारा संबिधानसभाबाट ऐतिहासिक संबिधानको घोषणा ०७२ असोज ३ गते भयो । संबिधान घोषणा हुंदा सिंगै नेपालमा रहेका नेपालीले हर्षोल्लास र दिपावली मनाएर खुसी हुन भने सकेनन् । बिश्वका धेरै देशहरुले स्वागत गरे पनि मित्र ठानिएको छिमेकि भारतले भने स्वागत गर्न सकेन । उसले संबिधान घोषणा भएको सूचनासम्म पाएछ । देश ठूलो भए पनि उसको सानो चित्त रहेछ । संयुक्त राष्ट्रसंघजस्तो संस्थाले पनि छिमेकिले झैं जिब्रो चपाएरै बोलेको थियो । परन्तु एक हप्ता पछि कोशेढुंगा भनेर बोली फेर्यो ।
संबिधान घोषणा हुनु दुई दिन मात्र अघि भारतले आफना असन्तुष्टि खुलेरै मोदीका बिशेष दूत जय शंकर मार्फत राख्न पठायो । बिहारको चुनाव, मधेशबादी दलले गरेको आन्दोलन र शान्ति सुरक्षाको निहुँ बनाएर उसले नेपाललाई भन्यो ‘अहिले संबिधान घोषणा नगर । हाम्रो चुनाव पछि मात्र गर । कि तराइका मागलाई संबोधन गर ।’ उसको निहुँ खोजाइ तराइका मागलाई संबोधन गर भन्ने थियो ।
यसपाला भारतले भन्दैमा स्वतन्त्र सार्वभौम नेपालका नेताहरुले मान्नु पर्छ भन्ने ठानेनन् । सबै कुरामा मान्नु पनि हुँदैनथ्यो । तराइका जनप्रतिनिधिहरु संसद छाडेर हिंडेपछि पनि अन्तत नेपालको संबिधान अत्यधिक वहुमतको आधारमा घोषणा भएरै छाड्यो । साना र गरिब देशका नेताहरुले मेरो कुरो नमान्ने भन्दै अझ ७ वटा माग भारतिय राजदूतमार्फत पठाएको कुरा सार्वजनिक भयो । भारतको नियत के रहेछ अघोषित नाकाबन्दीले छर्लङग पार्यो । १६ बुंदे सहमति भारतको स्वीकृति सल्लाह बेगर भएकोमा उसको ठूलो चित्त दुखाइ रहेछ । यही सहमतिले नै नेपालमा संबिधान जारी हुनसकेको हो । ठुला राजनीतिक पार्टीलाई संबिधानकालागि लागि पर्न एक ढिक्का पारेको हो । यसैमा मधेशबादी दल र भारतीय शासकवर्गको ठूलो आपत्ति थियो ।
भारतलाई २००७ साल, ०१७ साल, ०४६ र १२ बुंदे सहमति हुंदा यी सबैमा हाम्रो सल्लाह र सुझाब चाहिने भन्ने इगोले काम गरे जस्तो लाग्यो । यी कुराहरु बेग्लै परिस्थितिमा भएका थिए । तर संबिधान बनाउने कुरा सार्वभौम जनताका प्रतिनिधि वा हाम्रा नेताहरुले सबै कुरामा उसको सहयोगनै लिन पर्छ भन्ने थिएन । भारतको बिभिन्न किसिमको हस्तक्षेप पछि पनि नेताहरु नगलेपछि उसले आन्दोलनकारीलाई सीमामा बसेर नाकावन्दी गर्न सहज वातावरण बनाइदियो । आन्दोलनकारीले पनि दशगजामा बसेर आन्दोलन र नाकाबन्दी गर्ने । भारतको भूमिबाट ढुंगामुडा हान्ने, प्रहरीले हटाउन खोज्दा भारत पस्ने, आन्दोलनकारीलाई सीमामै मेस चलाएर भात खुवाउने खाजा पानी खुवाउने जस्ता कार्य गरेर भारतीय शाषकबाट आन्दोलनकारीलाइ सहयोग पुग्ने कार्यनै भए । जसका कारण अघोषित नाकावन्दी सुरु भयो ।
यदी भारतले भने झैं संबिधान घोषणा गर्ने काम त्यतिबेला पर सारेको भए नेपालमा संविधान संबिधानसभाबाट आउने थिएन वा भारतको हस्तक्षेप पछिल्ला दिनमा अझ भयंकर हुने निश्चित थियो । नेपाली नेता संधै भारत परस्त भएर बाच्नु पर्थ्यो । सार्दा धेरै दवाव र मुद्दाका बिषयहरु थपिदैं देश आगोको भुंमरिमा फस्ने निश्चित थियो । संबिधानसभाबाट संबिधान नआवस भन्ने तत्वलाई मसला राम्रै हुने थियो । जे होस संबिधान आयो । एउटा ऐतिहासिक राजनीतिक कार्य सम्पन्न भयो । जसका लागि यो देशका धेरै मानिसले जीवन उत्सर्ग गरेका थिए । धेरै आरोह अवरोह, संकट पार गर्दै झन्डै ९ बर्षको प्रयत्नपछि संविधान आयो । जसका लागि राज्यको खर्वौ लगानी भएको थियो । अब एउटा राष्ट्रको संबिधानरुपी स्थायी घर बनेको छ । त्यसलाई सुन्दर पार्ने , रंगरोगन गर्ने काम बिस्तारै गर्दै जाँदा हुने भो । कस्तो व्यवस्था र परिपाटी बसाल्ने, कस्तो संविधान बनाउने भन्ने सोचमा लागेर राजनीतिमा होमिने सबैलाई अब आर्थिक क्रान्तिका माध्यमबाट नेपालीको जीवनस्तर उकास्न बाटो खुलेको छ । नेपालमा संबिधानसभाबाट संबिधान आउला र भन्नेहरुका लागि ०६२।०६३ को आन्दोलन जस्तै संसारलाई अचम्म पार्ने गरी प्रगतिशिल, यस समयको उन्नत संबिधान सबैका वुद्धि वर्गतले भ्याएसम्मका तत्कालिक कुरालाई समेटेर संबिधान आएको छ । केही कुरा तल माथि परेका होलान् अब जनताका प्रतिनिधिले संबैधानिक प्रक्रियाबाट जनताका इच्छा आकांक्षाहरु बिस्तारै समेट्दै लान सकिन्छ । झन्डै ७ दशकको माग पुरा भएको छ । शहीदको सम्मान भएको छ । यस अवसरमा खुसियाली मनाउने धेरैले दिपावली पनि गरे, मन नपराउने केहीले च्याते, पोले । तर संबिधान आफैमा सबै कुरा भने होइन । संबिधान माध्यम हो । संबिधान बाटो देखाउने उज्यालो हातमा भएको टर्चलाइट हो । अब यसलाई व्यवहारमा लागु गर्ने असल योग्य कर्मीहरुको आवस्यकता छ । तबमात्र संविधान आएर के पायौं । के पाइँदो रहेछ आगामी दिनमा देखिने छ ।
पहिलो संबिधानसभाको निर्वाचनमा जनताले माओवादीहरुलाई संबिधान बनाउन ठुलै बिश्वासकासाथ भारी मत दिए । तर संबिधान बन्न सकेन । उल्टै बाबुरामको नेतृत्वमा रहेको सरकारले संबिधानसभानै बिघटन गरिदियो । दोस्रो संबिधानसभाबाट जनताले पहिलो पार्टीलाई तेस्रोमा झारिदियो । नेपाली कांग्रेस र एमालेलाई मिलेर संबिधान बनाउ भन्दै पहिलो र दोस्रो पार्टीको रुपमा संबिधान बनाउन पुग्ने गरी मताधिकार दिए । उत्साहित प्रचण्ड मत परिणामबाट निरास देखिएका थिए । तर पछिल्लो कालमा संबिधान ल्याउनैपर्ने बाध्यता थियो । नसक्दा प्राप्त उपलव्धी पनि डुव्ने खतरा पनि त्यतिकै थियो । नेपाली कांग्रेस एमालेले जनादेश अनुसार लागेकै थिए भने पछिल्लो समयमा एमाओबादी पनि दृढ निर्णयमा पुगेका थिए । प्रचण्डले यसकालमा संबिधान नचाहने तत्वहरुलाई राम्ररी बुझे । केही संझौता गरेरै भए पनि आफना केही एजेन्डा सहितको संबिधान जारी गर्ने र बांकी एजेन्डामा लड्दै जाने सोचका साथ उनी दृढ भएर लागे । परिपक्व काम गरे भनेर संझिन योग्य मानिए । एमालेसंग सहकार्य गरेर संबिधान जारी गर्न उनले खेलेको भूमिका निश्चयनै स्वागत योग्य छ । खस्कदै गएको उनको उचाइ फेरी वढेको देख्न थालेका छन् ।
तर डा। बाबुराम भटृराई जसले संबिधानका यावत कुरामा सरिक भएर अन्तिममा सबिधानमा आफैले हस्ताक्षर गरेको मसि सुक्न नपाउँदै पार्टी छोडेर किन मधेशतिर लहसन पुगे । ३ गते संबिधान जारी भयो । त्यही पार्टीको १० गते देखि शुरु हुने केन्द्रिय कमिटीको बैठकमा आफना पक्षको माग जोडदार उठाउलान् भन्ने मानिसले अड्कल काटेका थिए । तर ९ गते शनिबार संबिधान आएको एक साता नबित्दै यस्तो कदम चाले । हुनत संबिधान आउने पक्कापक्कि भैसकेपछि वा आफ्नै समितिबाट अन्तिम सिफारिस गरेपछि उनी अली टाढीन थालेको कुरा सबैले बुझैकै हो । संबिधान घोषणा गर्ने प्रक्रिया केही दिन रोकौ भनेरै खिचलो निकालेका पनि हुन् । जब कि यो कुरा मोदीका बिशेष दूत आएर नेपालमा संबिधान रोक्न दबाब दिइरहेकै बेला उनले यस्तो बखेडा नगरेका हैनन् । संबिधान आउने उपलक्षमा पार्टीहरुले दिपावली मनाउन आग्रह गरिरहंदा पनि सामाजिक संजालमा उनले लेखे ‘दिपावली गरी हाल्नु पर्ने काम छैन ।’ इतिहासले यो दिनलाई कसरी संझला भनेर लेख्न भ्याए ।
संबिधानसभाबाट संबिधान बनाउने सोचका साथ निरन्तर लडिरहेका र प्रचण्डसंग पार्टीमा ३० बर्ष बिताएका यीनमा संबिधान आएपछि भने यस्तो सोच कसरी आयो यस्मा पक्कै केही रहस्य लुकेको छ । कुनै बेला खुल्ने अनुमान मानिसले गरेका छन् । संबिधानसभाबाट संबिधान पारित भैसकेपछि पनि अनुसांगिक मिलाउने अन्तिम कार्यको संयोजक भएर नेतृत्व गर्दै अन्तिम घडीसम्म पहल गर्दै आएको संबिधानबाट यति चाँडै किन बिरक्तिएका होलान् । नेपालमा संबिधानसभाबाट संबिधान आएको देख्न नसक्ने भारतको हेराइ र उनको हेराइ एउटै भए जस्तो धेरैले ठाने । अहिले त उनी संबिधान पछि अब पार्टीको औचित्य समाप्त भयो । अब नयाँ चिराबाट अगाडी बढ्नुपर्छ भनेर देशमा आइरहेको संकटपूर्ण घडिमा झन् अन्यौलता थप्न पो लागि परेको देखियो । यति बेला उनी नयाँ शक्तिका लागि रात बिहान नभनी लागिरहेका छन् । त्यो नयाँ शक्तिले कस्तो खिचडी पकाउने हो हेर्न भने बांकिनै छ । उनको पछिल्लो समयमा पार्टीको प्रमुख पदमा पुग्ने तिब्र आंकाक्षामा ठेस पुगेर पो यसो गरेका हुन् कि वा आफु प्रधानमन्त्री भएको बेलामा संबिधान जारी गर्न सकिएन यसको श्रेय लिन सकिएन भनेर पो उनमा निरासा आएको हो । अब पुरानो घरमा नवस्ने,पुरानो घरको काम छैन भन्दै एक्कासि पार्टी छोडेको देख्दा उनमा कतै राजनैतिक बिचलन पो आएको हो कि । किन, कस्का लागि यस्तो काम गरे, उनकै पार्टीका हरिबोल गजुरेलले भने ‘भटृराई कसैका गंभिर योजनामा फसे ।’
उनकै सहयोद्धाका रुपमा रहेका टोप बहादुर रायमाझी समेतले गलत समयमा पार्टीबाट बाहिर निस्के, भटृराइले ठिक काम गरेनन् हिजिो भनेकै हुन । प्रधानमन्त्री जस्तो उच्च ओहोदामा पुगिसकेको मानिसले देशमा यत्रो संकट आइपरेको बखतमा, संबिधान सभाका ९० प्रतिशत प्रतिनिधिको सहमतिबाट बनेको संबिधानलाई जोगाउन, उन्नत पार्न सबै एकजुट भएर लाग्नुपर्ने बेलामा किन उनी बाहिरिएका होलान् ? के नयां पार्टी खोल्दैमा यिनीबाट देशको समस्या समाधान होला त ? सिंगै नेपालको नेता भएर बसेका उनी अहिले मधेसको सहानुभूति लिएर भारतको चाहना पुरा गर्न खोजेका त हैनन् ? उनी समर्थक तराइका रामचन्द्र झा लगायत केही त उतै होमिइसकेका छन् ।
निश्चयनै मधेसी र थारुहरुको जायज माग संबोधन हुनुपर्छ नै । पार्टीभित्र रहँदा पनि बिद्रोहको बाटो हैन शान्ति र संबिधानलाई प्रमुख कार्य ठानेर लाग्नु पर्छ भन्थे । अर्थमन्त्री रहँदा पनि एउटा राजनीतिक उचाइमा उनको कार्यले पुर्याएको थियो । प्रधानमन्त्री हुँदा पनि उनीप्रति धेरै मानिस आशाबादी थिए । बिप्पा संझौता गरेर भारतको चाहना पुरा गर्न खोजेर बिरोध पाए पनि काठमाडौं सहरको मुहार फेर्ने बिकासको एउटा मोडेल ल्याएका थिए । नयाँ शक्तिको खांचो छ भनेर दुई बषअघि नेपाल साप्ताहिकमा लेख लेखेर बहस चलाएका यिनले नयां पार्टी खोलेर छलाङ मार्न सक्लान् ? अहिलेसम्मको नेपालीको राजनीतिक सचेतनताले त्यस्तो देखाउंदैन । एउटा अर्को नयाँ पार्टी खुल्ला । आफनै पार्टीका आफना केही समर्थकको झुन्ड लिएर अध्यक्ष भएर बस्लान् । कसैको इशारा परिपूर्ति गर्लान् । त्यो भन्दा माथि केही हुनेवाला छैन ।




