कसले भन्छ मधेसी-थारूहरुमाथि अन्याय र भेदभाव भएको छैन ?
- रामजनम शाह
वास्तवमा नै मधेसी-थारु हरुसंग राज्यले अन्याय-अत्याचार-भेदभाव गरेका छन । मधेसी-थारु हरुको संग कुनै अन्याय-अत्याचार भेदभाव भएका छैन भन्ने साथीहरुले मेरा यी दुई प्रश्न मात्र को उत्तर दिनुहोस् । १. निर्वाचन क्षेत्र पूर्ण रुपले जनसँख्याको आधारमा नहुनुको कारण के ? भूगोललाई पनि आधारमा राख्नुको कारण के ? भोट हाल्न खोला-नाला-पहाड़ आउने हैन, जनता नै आउने हो । निर्वाचन जनताकै लागी हुने हो । ५ हजार जनसंख्या हुने (पहाडमा) पनि एउटा क्षेत्र, र ५० हजार जनसँख्या हुने तराईका गाउँमा पनि एउटै क्षेत्र । ५ हजार जनताको देखरेख गर्ने पनि एक जना प्रतिनिधि र ५० हजारजनताको देखरेख गर्ने पनि एक जना नै प्रतिनिधि । अर्थात ५ जना सदस्य भएको परिवारलाई पंनि १ किलो चामल दिइन्छ भने ५० जना सदस्य भएको परिवारले पनि १ किलो चामलले नै चलाउनु पर्ने । के यो न्याय हो ? कस्तो न्याय हो ? किन यस्तो पक्षपात ? यसलाई अन्याय भनिदैन भने अन्याय को अर्थ के हो ?
२. १०-१२ ओटा पहाड़का जिल्लासंग २-३ ओटा तराईका जिल्ला जोडिएको छ , यसको उद्धेश्य के ? किन तराईवाशीलाई अल्पसंख्यक बनाउन खोजेको ? एकछिनलाई कल्पना गर्नुहोस्, १०-१२ ओटा तराईका जिल्लासंग २-३ ओटा पहाड़का जिल्ला जोडेर हामी पहाड़वाशीलाई अल्पसंख्यक बनाउन खोजेको भए हामी के गर्थ्यौं ? पक्कैपनि हामी आंदोलन नै गर्नेथ्यो । बहुसंख्यकको अगाडी अल्पसंख्यकको के कस्तो अस्तित्व हुन्छ सबैलाई स्पष्ट नै छ । अतः कसैलाई पनि अल्पसंख्यक बनाउने षडयन्त्र स्विकार्य हुँदैन । फेरी किन तराईवाशी मधेसी-थारूहरुलाई अल्पसंख्यक बनाउन खोजीएको ? ( * त्यस ५ जिल्लाका केहि शहर-गाउँहरुमा पहाड़ी समुदायको वर्चस्व बढ़ी छ भने त्यस गाउँ-सहरलाई अलग गर्न सकिन्छ र यसो गर्दा मधेसी-थारूहरुलाई पनि केही आपत्ति हुन्न होला । तर पूर्णतया जिल्लाको जनसँख्या हेर्ने हो मधेसी-थारू हरुनै बहुसंख्यक छ तसर्थ यी जिल्लाहरुमा प्रथम अधिकार मधेसी-थारुहरुकै छन ।) यो त मात्र दुईओटा विशेष प्रसंग मैले राखेको छु । यस्ता धेरै कुरा हरु छन जहाँ मधेसी-थारुहरुलाई भाषा, ब्यवहार, रंग, काम, पेशा इत्यादिहरुमा षड्यंत्रपूर्वक अन्याय-अत्याचार भेदभाव गरिएको छ ।
सबैलाई स्पष्ट थाहा छ कसरी तराईवासीहरुसंग सौतेला व्यहार गरिन्छ । फरक यति छ कि – कसैले यस्तो अन्याय-अत्याचार बिरुद्ध आवाज उठाउछ भने स्वार्थ-मोहको चस्मा लगाएका केही ब्यक्तिहरुके आफ्नो वर्ग/जात/समुदायको एकलौटि राजगर्ने स्वार्थको लागी यस्तो अन्याय -अत्याचारलाई मौन भएर समर्थन गर्छन् । एकचोटि सबैले माधेशी-थारूहरुको स्थानमा आफु सयंमलाई राखेर स्मरण गर्नुहोला । अन्याय-अत्याचार गर्नु, अन्याय-अत्याचार भएको अवस्था मौन भएर समर्थन गर्नु र अन्याय-अत्याचार सहनु सबै पाप हो । मधेशी-थारू पनि तपाई-हामी जस्तै नेपालआमाका संतान हून । यिनिहरुको समान हक़अधिकार सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो ।
याद रहोस्, अरुको हक़ मारेर आफ्नो दीर्घकालीन भलो कहिले पनि हुन सक्दैन । यसको उदाहरण हाम्रै देश नेपाल हो । यही केहि ब्यक्तिहरुको स्वार्थको कारण वर्षोदेखि नेपाल न त शान्त हून सकेको छ न त प्रगती नै हुन सक्यो । मधेसी- थारुहरुसंग अन्याय-अत्याचार गरेर हाम्रो देश कहिले पनि अगाडी बढ़न सक्दैन । एकताबद्ध भएर काम गर्नकलागी सबै नागरीकको समान समावेशी र समान हक़ अधिकार अतिआवश्यक छ । कसैलाई काख कसैलाई पाखा गरेर सबै एकताबद्ध हुने सपना देख्नु मूर्खता मात्र हो । जती जबरजस्ती गरेपनि असमानताले कहिलेपनि सबैलाई एकताबद्ध पार्न सक्दैन । एकताबद्ध भएन भने देश शांत र प्रगतिशील हुने कल्पना पनि गर्न सकिन्न । अतः मधेसी-थारू मात्र नभएर जनजाति, आदिवासी, महिला, गरीब सबै उत्पीड़ित पिछडीएकालाई समानता पूर्वक समेटिएर मात्र देश अगाडि बढ़न सक्छ । तसर्थ अहिलेलाई राष्ट्रले सीघ्र नै मधेसी-थारुहरुको जायज मांगलाई सम्बोधन गर्नु पर्दछ । यसमा नै हिमाल-पहाड़- तराई सम्पूर्ण नेपालको भलो छ । चित्त नबुझेका साथीहरुले अवश्यपनि विरोध गर्नु होला । तर विरोध गर्नु अगाडि मेरो प्रश्नको उत्तर दिने क्षमता पनि देखाउनु होला । धन्यवाद ! जय नेपाल ।




