फासीवादी अभ्यास

  • आनन्दराम पौडेल

writer-anandaram-paudelइलाका प्रहरी कार्यालय, सीमराका इन्स्पेक्टर पुरुषोत्तम खँड्काले असोज ६ गते राती २ वजे बसमा ढुङ्गा हानिरहेका ८ जना किशोरलाइ पक्डे। अरु ५  जनाचाहीं भागे । “एउटा ढुङ्गा हानेको २० रुपैयाँको हिसाबले पैसा दिन्छन्”   उनीहरुले भने । किशोरहरुलाइ ४० दिनदेखि स्कुल जान रोकेर रोडमा टायर बाल्न, बसमा ढुङ्गा हान्न लगाइएको छ । अधिकांश ९ देखि १२ बर्ष भित्रका किशोरहरु छन् । भदौ ७ गते टनकपुरमा आन्दोलनको लागि ल्याइएका जनताहरुसँग पछि भलाकुसारी बातचित गर्दा उनीहरु सबैले आफूलाइ जबर्जस्ति आन्दोलनमा जान बाध्य पारिएको गुनासो राखेका थिए । “हरेक घरबाट १ जना जानैपर्ने र नगएमा एकहजार रूपैयाँ असुले गरिने भन्ने उर्दी भएकोले एकहजार तिर्न नसक्नेहरु हामी आन्दोलनमा जान बाध्य भएका ह्वौं”  भनेर सुनाएका थिए ।

कुनैपनि आन्दोलन वा क्रान्ति साबिकभन्दा अझै सभ्य, अझै मानवीय, अझै न्यायपूर्ण, अझै विवेकशील, अझै उन्नत र बैज्ञानिक व्यवस्थाको लागि गरिएको हुन्छ । त्यस्तो सम्भव छ भनेर आफैं उदाहरण बनेर देखाउँनुपर्छ । साबिकको व्यवस्थाभन्दा उन्नत व्यवस्था सम्भव छ भनेर त्यस्को लागि सङ्घर्ष गर्नेहरुले आन्दोलनको प्रारम्भबाटै हरेक गतिविधि, कृयाकलाप, आचरण र व्यवहार सभ्य संसारको लागि सुहाउँदो मात्र हैन वर्तमान सभ्यताभन्दा उच्च र उन्नत सभ्यताको झलक प्रष्ट देखाउनुपर्छ । उनीहरु सुसंस्कृत र संस्कारित देखिनुपर्छ ।

नेपालमा २०४६ सालमा भएको आन्दोलन र २०६२-०६३ सालको आन्दोलनमा आन्दोलनकारीहरुले बर्बर हिंसाको प्रयोग गरेका थिएनन् । तर, अहिले तराईमा आन्दोलकारीहरुले आन्दोलनका नाममा अत्यन्तै क्रुर अत्याचार गरिरहेछन्, त्यस्ले मध्ययुगीन बर्बरतालाइ माथ गरेको छ । जघन्य अपराधीहरुले गर्न त के सोच्नसमेत् नसक्नेसम्मका भयङ्कर हिंसा,हत्या गरिरहेका छन् र यस्लाइ उनीहरु आन्दोलन भनिरहेछन् । आन्दोलनको नाममा आङै सिरीङ्ग पार्ने हत्या, हिंसा गरिरहेछन् र आतङ्क मच्चाइरहेछन् त्यस्ले गर्दा आन्दोलन आफैं लज्जित भएको छ ।

चरम क्रुरतापूर्ण व्यवहार हेर्दा यो आन्दोलन नभएर फासिवादको अभ्यास देखिन्छ । यो फासिवादको नेपाली संस्करण हो । आफैंलाइ मात्र ठीक ठान्ने,आफैंले भनेको हुनुपर्ने, असहमतिलाइ निषेध मात्र हैन दमनै गर्ने र जवर्जस्ति गर्ने सोच,चरित्र,ब्यवहार र कर्म नै फासिवादको मूलभूत प्रवृत्ति हो । यो प्रवृत्ति हिटलर र मुसोलिनीको तानाशाही ब्यवहारमा मात्र सीमित छैन, झन-झन जरा हाल्दै र फैलिंदै गएको छ, केवल यस्को अनुहार र शैली मात्र फेरिएको छ । हिटलर र मुसोलिनीको फासिवाद त बरु घोषित थियो । जो घोषणा गरेर सामुन्ने आउँछ र घोषणा अनुसारकै कर्म गर्छभने त्योसँगको ब्यवहार कठिन होला तर जटिलचाहीं हुँदैन । उस्ले के गर्दै छ भन्ने पत्तो भएपछि आफूले के गर्नुपर्ला भनेर सोच्न सहज हुन्छ । क्रूरता,निर्दयता र कठोरतामा आनन्द लिने (स्याडिष्ट) प्रवृत्ति अरुलाइ पूर्ण नियन्त्रणमा राख्ने अनुराग हो भनेर एरिक फोमले चिन्ता गरेपनि र एउटा मान्छेको चाहना अनुसार नै अरु सवैले चल्नुपर्छ भन्ने सोच जत्तिको भयावह अरु केही हुँदैन भनेर दार्शनिक इमानुएल काण्टले कराएपनि आफूलाइ विकसित भनेर दावी गर्ने आजको मान्छे झन-झन आत्मकेन्द्रित र क्रुर हुँदै गएको छ भन्ने यो ज्वलन्त प्रमाण हो ।

मानवसभ्यताको प्राचीन कालखण्डमा राज्यव्यवस्था, सरकार थिएन । जब शक्तिसालीले निर्बललाइ थिचोमिचो गर्न थाले । जबर्जस्ति गर्न थाले र दबाउन थाले तब जबर्जस्तिबाट उन्मुक्ति पाउनको लागि समाजले सुरक्षा र न्यायको लागि उपायको खोजी गर्नथाल्यो । त्यही उपायको खोजी गर्दैजाँदा राज्यव्यवस्थाको परिकल्पना भएको हो । सुरक्षा र न्यायको लागि स्थापना गरिएकोले शान्तिसुरक्षा र न्याय नै कुनैपनि सरकारको उच्च प्राथमिक र महत्वपूर्ण जिम्मेवारी हुनजान्छ । अन्य जिम्मेवारीहरु तत्पश्चात् मात्र आउने हुन् । शान्तिसुरक्षा, अमनचैन कायम राख्नुपर्ने भएकोले सरकारसँग सेना, प्रहरी हुनैपर्छ भन्ने आममान्यता बनेको हो ।

लाखौं बर्षदेखिको मानवीय इतिहासमा एउटा स्वतन्त्र मान्छे आजको यो काल खण्डमा जति एक्लो, निरीह र बवुरो कहिल्यै थिएन। आज नेपालमा जो जति बचेका छन्, तिनीहरु मारिन, अपहरित हुन र धम्क्याउन आवश्यक नठानिएकाले मात्र बचेका हुन् । ३०\४०बर्ष अघिसम्म समाज थियो, समाजको सशक्त उपस्थिति थियो र सकृय तथाप्रभावकारी भूमिका थियो । आज शहरमा समाज छैन । गाऊँघरमा समाज कतै भेटिएपनि अत्यन्तै निम्छरो र प्रभावहीन छ । एउटा सामान्य नेपालीको लागि एकातिर समाज छैन, अर्कोतिर नैतिकबल र आत्मबल नभएको सरकार छ । सरकार कतै छभने पनि भ्रष्टाचार गर्न र अपराधीलाइ संरक्षण गर्नका लागि मात्रै छ। हिजोका मूल्यहरु निख्रिएका छन्, नयाँमूल्यले प्रवेश पाएको छैन र आस्थामा धमिरा लाग्दै गएको छ । यो कोलाहलमा एउटा एक्लो नेपाली टेक्ने, समाउने र आड लिने ठाउँ नपाएर छट्पटिरहेको छ ।

आन्दोलनमा समेत् अपराधी, डन र गुण्डाहरु हाबी हुनथालेकोले अब नेपाली जनता स्वतस्फूर्त तवरले आफैं सङ्गठित हुन जरुरी भैसकेको छ ।

तपाइँको प्रतिक्रिया