कमजोर राज्य, मजबुत अपराधी

  • आनन्दराम पौडेल

anandaram-paudel-33434राजनीतिक ब्यवस्थापन गर्नुपर्ने र थिति बसाल्नुपर्ने बेलामा जव नेताहरु स्वार्थको खेलमा लाग्छन् तव देशमा अराजकताको स्थिति श्रृजना हुन्छ र यस्को फाइदा जहिलेपनि क्रुर एकाधिकारवादी तत्वले लिन्छन् । उनीहरु सधैं यस्तै स्थितिको कामना र प्रतिक्षा गरिरहेका हुन्छन् । सन १९३२ ताका जर्मनीमा एकातिर समकालीन बिश्वकै उत्कृष्ट वाइमर सम्बिधान निर्माण भैसकेको थियो । तर ब्यवहारमा भने बर्तमान नेपालको जस्तै राजनीतिक पार्टी र नेताहरु क्षुद्र स्वार्थको लागि मारामार गरिरहेका थिए । एकातिर भर्साइल सन्धीले राष्ट्र अपमानित भएको मनोविज्ञान र अर्कोतिर नेताहरुको चरित्र र ब्यवहारले गर्दा जनता आजीत र निरास भैसकेका थिए । समग्र स्थितिको आँकलन गरिरहेको हिटलरले मौका छोपेरै सत्ता हत्याएको थियो।

नेपालको इतिहासमा बहादुर शाह पछिका राजाहरु सामान्य मान्छे भन्न लायकसमेत् थिएनन् । त्यसैको फाइदा जङ्गबहादुर कुँवरले लिए । २०५९ असोज १८गते ज्ञानेन्द्रले सत्ताको लगाम त्यत्तिकै हस्तगत गरेका थिएनन्, राजनीतिक नेताहरुको ब्यवहार र जनताको बितृष्णा बुझेरै हस्तक्षेप गरेका थिए । स्यामुयल हटिङ्गटनले ‘दि थर्ड वेभ’ मा सन १९७४ देखि १९९०सम्म विश्वमा आएको लोकतन्त्रको लहर मात्रै चर्चा गरेका छैननकि रिभर्स गियरको पनि बिवरण दिएका छन् ।

लोकतन्त्र स्थापना भएको थोरै समयपनि नबित्दै सन १९८९ मा सुडान र सन १९८४ मा  नाइजेरिया तानाशाहको पञ्जामा पुगिसकेको र आफूलाइ लोकतान्त्रिक प्रणालीमा चलेको भनेर दावी गर्ने अर्जेण्टिना, उरुग्वे, पेरु,पोर्चुगल र पाकिस्तानमा राजनीतिक नेताका ब्यवहार र सरकारको कार्यशैलीप्रति जनआक्रोष तिब्र रुपमा बढ्दै गएको बास्तविकतालाइ पनि छर्लङ्ग पारेका छन् ।

ब्यवस्था परिवर्तनको संक्रमणकालिन अवस्थामा राष्ट्रले स्टेटम्यानशिपको खाँचो महसुस गर्दोरहेछ । जुन देशले स्टेटम्यानशीप नेतृत्व पायो त्यो देशमा राजनीतिक ब्यवस्थापन हुन सकेको छ, अन्यथा त्यत्तिकै जिम्लिएर र टाक्सिएर सिद्धिएको छ । २०४६ सालमा दक्षिण अफ्रिका र नेपालमा करिव-करिव सँगसँगै परिवर्तन भएको हो । नेल्शन मण्डेला जस्ता स्टेटम्यानशीप नेतृत्व पाएकोले दक्षिण अफ्रिकाले राजनीतिक ब्यवस्थापन गर्न सक्यो तर नेपालमा राजनेताको त कुरै छाडौं सामान्य राजनीतिककर्मीको चरित्रसमेत् देखाउन नसकेकाले राजनीति झन्-झन् भाँडिंदै, सड्दै र कुहिंदै गयो । जस्को सेमिक्लाइमेक्स ०५९ असोज १८ गते र क्लाइमेक्स ०६१ माघ १९ गते देखियो ।

ब्यक्तिको जीवनयात्रामा होस् वा राष्ट्रको, प्रस्थानबिन्दु नै महत्वपूर्ण हुँदोरहेछ । सन १७७६मा स्वतन्त्र हुँदा अमेरिका पुरानो इतिहास भएको राष्ट्र थिएन । एकप्रकारले नवसृजित राष्ट्र अमेरिकाले राजनीतिक ब्यवस्थापन मात्रै गरेन, राष्ट्रलाइ प्रष्ट दिशाबोध दियो र राज्यब्यवस्थालाइ जनजीवनमै भिजायो । ८\१०जना केन्द्रीय नेता बसेर जर्ज वासिङ्ग्टनहरुले शुरुमा जुन शासकीय प्रणाली र ढाँचा स्थापित गरेका थिए त्यही नै अकण्टक चलिरहेछ । मुस्तफा कमाल अतार्तुक सत्तामा आउनुअघि टर्की कट्टर जातीवादी, साम्प्रदायिक,पुरातनपन्थी राष्ट्र थियो । उनले पुरातनपन्थी सोचलाइ आधुनिक दृष्टिमा बदल्न धेरै मिहेनत गरे। भारत र पाकिस्तान सँगसँगै स्वतन्त्र भएका राष्ट्र हुन् । भारतमा लोकतन्त्रले जरा हाल्दै र झन्-झन् मजवुत हुँदै गएको छभने पाकिस्तानमा सेना र कट्टरपन्थीको दाह्रापञ्जाभित्र लोकतन्त्र कठ्याङ्ग्रिएर बसेको छ । भारतमा यत्रा अप्ठेरा र बाधाअवरोधको वीचमा लोकतन्त्र हुर्कँदै जानुको मुख्य कारण शुरुकालका नेताहरुको योगदान नै थियो ।

नेपालमा क्रान्ति र आन्दोलनले नायकसँगै खलनायकको विकास गरेको छ । ०७सालको क्रान्तिले वीपी कोइरालालाइ नायकको रुपमा र मातृका कोइरालालाइ खलनायकको रुपमा विकास गरेको देखियो । ०४६को जनआन्दोलनले गणेशमान सिंहलाइ नायकको रुपमा स्थापित गर् योभने गिरिजाप्रसाद कोइराला खलनायकको रुपमा देखिए । गिरिजाप्रसाद कोइरालाले अपनाउनुभएको गुटबन्दी, पक्षपात,अन्तर्घात, भ्रष्टाचार र सर्वसत्ताबाद नै ०४६को उपलब्धी नास्ने कारकतत्व बन्यो । ०६२-०६३को आन्दोलन कुनै एउटा पार्टीविशेष वा सङ्गठनको संयोजन र अगुवाईमा नभएर स्वतस्फुर्त जनआन्दोलन भएकोले कुनै ब्यक्तिविशेषलाइ नायकमा स्थापित गरेन, तर सवै एकसेएक खलनायक भएर देखा परे । नयाँ ब्यवस्था, संस्कृति र मूल्यको स्थापना कहीं कहिल्यैपनि औपचारिक निर्णय गरेर,माइन्युटिङ गरेर र आदेश-निर्देश गरेर भएको छैन । अगुवाहरुले आफैं नमूना बनेर देखाएपछि अरुले अनुशरण गरेर भएको छ । न्याय,बिवेक र उन्नत संस्कृतिको नमूना बन्नुपर्ने र राष्ट्रिय चरित्र निर्माणमा संयोजन गर्नुपर्ने राजनीतिक पार्टीहरु विकृति र विसङ्गतिको मुहान भएका छन् । यस्ले जनमानसमा बितृष्णा जगाएको छ र यस्को फाइदा गलत तत्वले लिइरहेका छन् ।

अगुवा नेताहरु स्खलित भएकै कारणले राज्य कमजोर मात्र हैन, थला परेर कोमामा पुगेको अवस्थामा छ । राज्य बलियो नभएको र राज्यको उपस्थिति नदेखिएको स्थितिको लाभ लिएर अहिले देशभरी नै राजनीतिक आवरणमा अपराधीहरुको हालिमुहालि, बिगबिगी चलिरहेको छ । राष्ट्र आक्रान्त छ र जनता आतङ्कित छन् । राज्य सबल भएर खडा नहुने होभने राजनीतिक आवरणभित्रका यी अइराधीहरुले राष्ट्र धुलोपिठो पार्नेछन्, सन्देह छैन ।

तपाइँको प्रतिक्रिया