तराईमा भ्रम र भ्रान्ति

  • आनन्दराम पौडेल

writer-anandaram-paudelसर्वमान्य सिद्धान्त के होभने जस्ले जिम्मेवारीवोधसहित कर्तव्यपालन गरिरहेको हुन्छ त्यसैलाइ अधिकार प्राप्त हुँदैजान्छ । कर्तव्यपालन नगर्ने, तर अधिकार मात्र खोज्ने छट्टु, धूर्तहरु हुन्छन् । वर्तमान नेपालमा धूर्तहरुको बिगबिगी छ । उनीहरुलाइ अधिकारचाहीं भएभरको सबै चाहिन्छ, तर जिम्मेवारीबाट भने सधैं भागिरहेका हुन्छन् । कर्तव्यपालनबाट सधैं पछि हटिरहेका हुन्छन् । कर्तव्य र जिम्मेवारीबाट पन्छनका लागि उनीहरु अनेकौं कुतर्क गढ्छन् अनि भ्रम र भ्रान्तिले भरिदिन्छन् ।

दुई महिनाअघि सम्विधानको मस्यौदामाथि जनताको राय-सुझाव सङ्कलन गर्न सभासदहरु गाउँबस्तीसम्म पुगेका थिए । कर्णाली अञ्चलको एउटा जिल्लाको गाउँबस्तीमा बसेर फर्केका तराई मूलका सभासदले भने, “तराईका नेताहरुले हामीलाइ पहाडीयाविरुद्ध घृणा गर्न लगाए । पहाडीयाहरुले मात्र खाए, उनीहरुले मात्र पाए भनेर हाम्रो दिमागमा पहाडीयाविरुद्ध जहर भरिदिए । तर, यथार्थ नितान्त फरक रहेछ । पहाडका गाउँबस्तीमा त्यहाँका बाहुन, क्षेत्री, ठकुरीहरुको दयनीय अवस्था देखें । तिनीहरुको बिदीर्ण, हरिकङ्गाल अवस्था देखेर म विह्वल भएँ । मेरो हृदय छिया-छिया भयो ।”

उनले यो हृदयविदारक अवस्थाको बर्णन गरिरहँदा सँगै कर्णाली गएका तराई मूलका अरु सभासदले, “त्यो नभन” भनेर इशारा गरिरहेका थिए । त्यो इशारालाइ समेत् प्रतिवाद गर्दै उनले भने, “अब मलाइ नरोक्नुहोस् । तथ्यबाट निकालिएका सत्य साश्वत हुन्छ । मेरो दिमागभरी भ्रम र भ्रान्ति भरिदिएका रहेछन् । भ्रमको पर्दा च्यातियो । आफैंले देखेको सत्य दुनियाँको अगाडी राख्न अब मलाइ कसैले रोक्नसक्दैन ।”

ती सभासदको भ्रमको पर्दा च्यातिएजस्तै हामीले पनि वुझ्नुपर्ने तथ्य के होभने यी धूर्त नेताहरुले जनतालाइ सत्य, तथ्य, यथार्थबाट टाढा राख्नको लागि भ्रमको दुनियाँ तैयार गर्छन् । आफ्ना अपराध र गलत कर्मका दोष थुपार्नको लागि एउटा दुश्मन खडा गर्छन् । तराईकै नेताहरुको बिषयमा भन्नुपर्दा उहाँहरुले पहाडीयालाइ शत्रु भनेर ब्याख्या-विश्लेषण गर्नुभएको छ । तराईमा जेजति कमि छन् त्यो सबैको दोष यिनै पहाडीया हुन् भनेर तराईका जनताको दिमागभरी पहाडीयाविरुद्ध जहर भरिदिनुभएको छ । जबकि, यथार्थ के होभने २०६४ सालमा कार्यान्वयन गर्न खोजिएको भूमिसुधार योजनालाइ उहाँहरुले नै रोक्नुभयो । २०६३ सालमा मकैभटमास बाँडेसरी जथाभावी नागरिकता बाँड्न उहाँहरुले नै लगाउनुभयो । दाइजो, तीलकप्रथाविरुद्ध अभियान अघी बढाउन रोक्ने उहाँहरु नै हुनुहुन्थ्यो । राष्ट्रिय परिचयपत्र वितरण योजना नै तुहाइदिनुभयो । भारतको अत्यन्तै वृहत् र विशिष्ट परियोजना “नदीजडान परियोजना” अन्तर्गत नेपालको सीमामा सटाएर सडकको नाममा बनाएको बाँधले गर्दा लक्ष्मणपुर, महलीसागर, रसियावालखुर्दलोटन, लुना, बैरगनिया, कैलाशपरी, कोइलावास, कलकलवा, कुनौली, लालबकैया, खाँडो, बागमती, डोंडाफरेना, सिराहा, कमला बाँधले तराईकै जनताको उठिबास गरेको छ, यस बिषयमा उहाँहरुले एक शब्द बोल्नुभएको छैन ।

नवलपरासीको सुस्तामा भारतले जबर्जस्ति अतिक्रमण गर्दै बीश हजार हेक्टर नेपाली भूमि हडपीसकेको छ, त्यसबारेमा तराईका नेताहरुले कहिल्यै आवाज उठाएनन् । भारतले कालापानी र लिपुलेकलाइ जबर्जस्ति कब्जा गरेको छ र लिम्पियाधुरासम्मै हडप्न खोजेको छ । यस बिषयमा तराईका कुनै नेतालाइ असहज महसुस भएको छैन । सीमासुरक्षा बलले नेपालीलाइ दुर्ब्यबहार गरेको, सताएको, यातना दिएको बिषयमा उहाँहरुले कहिल्यै आपत्ति जनाउनुभएन । दश बर्षअघि बनिसक्नुपर्ने तराईको हुलाकी सडक भारतीय निर्माण ब्यवसायी (ठेकेदार) हरुकै कारणले मात्र आजसम्म अलपत्र परेको छ । भारतीय नेतासँग भेट्दा उहाँहरु यो बिषयलाइ कोट्याउनुहुन्न । जातीय कट्टरता र छुवाछुत पहाडमा भन्दा शयौंगुना चर्को तराईमा छ । बोक्सीप्रथा पनि त्यहाँ झन् बढी छ । तर, यस्ता रूढी र अन्धविश्वासबिरुद्ध सामाजिक अभियान चलाउन कहिल्यै चासो राख्नुभएन ।

आफ्नो जिम्मेवारीवोध नगर्ने, कर्तव्यपालन नगर्ने; तर आफ्ना अपराध र गलत कर्मबाट बच्न अर्कै एउटा शत्रु खडा गरेर सम्पूर्ण दोष त्यस्को टाउकामा हालिदिने यो काइदा, यो धुर्त्याईं सधैं टिक्दैन । जब तराईका जनता सत्य, तथ्य, यथार्थसँग साक्षात्कार हुन थाल्छन्, त्यही क्षणबाट यो भ्रम चीरिने छ र उनीहरुको छलकपट सकिने छ ।

तपाइँको प्रतिक्रिया