दोग्ला राजनीतिले आक्रान्त देश
- आनन्दराम पौडेल
दुर्भाग्यबस वर्तमान पुस्ता दोग्ला राजनीतिबाट आक्रान्त छ । यस्ले नैतिक धरातल धस्सिंदोरहेछ । मूल्यप्रणालि निख्रिंदोरहेछ। आस्था च्याप्पै सुक्दोरहेछ । सबैभन्दा भयावहचाहीं विश्वासको भयङ्कर सङ्कट पैदा हुँदोरहेछ ।
सम्पूर्ण विश्वलाइ थाहा भएको साश्वत सत्य के होभने वर्गसङ्घर्षको जगमा उभिएर कम्युनिष्ट पार्टी निर्माण हुन्छन्। तर, नेपालमा जस्ले वर्गसङ्घर्षलाइ किनारा लगाएर जति बढी जात-सम्प्रदायको राजनीति गर् यो, त्यति नै क्रान्तिकारी कम्युनिष्ट हुने व्याख्या-विश्लेषण गरियो। २० महिनाअघि प्रधानमन्त्रीको सपथग्रहण गर्दा सुशील कोइरालाजीले विशेष प्राथमिकतामा राखेर एउटा प्रतिज्ञा गरेका थिए – भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता । तर, भूकम्पपीडितहरुको लागि राहतसामगृमा भएको व्यापक भ्रष्टाचारलाइ टुलु-टुलु हेरेर बस्नुभयो।
अहिले सम्विधानको मस्यौदा लेखिरहँदा भ्रष्टाचारीलाइ कस्ने हैनकि भ्रष्टाचारीलाइ होलोखुकुलो हुनेगरी मस्यौदा तैयार गर्नुभयो। अहिले अदुअ आयोगको दुइटा कार्यक्षेत्रमध्ये अनुचित कार्यको एउटा कार्यक्षेत्रबाट अदुअ आयोगलाइ बेदखल गर्नेगरी मस्यौदा तैयार गर्नुभयो। त्यतिमात्र हैन, ठूलाबडाले गरेका भ्रष्टाचारमा उन्मुक्ति दिनका लागि विशेष कानुन बनाउन सकिने प्रावधान राख्नसमेत् लगाउनुभयो ।
निर्वाचनअघि सबै पार्टीले आफ्ना कार्ययोजना मतदातासमक्ष लैजान्छन्, जस्लाइ पार्टीको घोषणापत्र भन्छन्। दोश्रो सम्विधानसभाको निर्वाचनअघि एनेकपा माओवादीले घोषणापत्र नभनेर “प्रतिवद्धतापत्र” भनेको थियो। यस्को व्याख्या उनीहरुले, “हामी अरुले जस्तो घोषणा मात्र गर्ने हैन, साँच्चै गर्ने र गरेरै देखाउने भएकोले प्रतिवद्धतापत्र भनेका ह्वौं” भन्थे। उनीहरुले प्रतिवद्धतापत्रमा, “६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने मात्र हैन कुनै हालतमा गराउने छौं” भनेका थिए। तर, घीनलाग्दो बिडम्बना के भयोभने निर्वाचनको नतिजा आएको हप्तादिन नबित्दै उहाँहरुले नै, “कुनै हालतमा निर्वाचन गर्न दिंदैनौं” भनेर कुर्लन थाले। २०६४ सालको निर्वाचनमा, “राज्यलाइ जनताको घर-दैलोमै पुर् याउने” भने। तर, स्थानीय निकायले अहिले प्रयोग गरिराखेको अधिकारसमेत् कटौति गरेर सम्विधानको मस्यौदा गरे ।
डा.बाबुराम भट्टराईजीकै अध्यक्षतामा राजनीतिक सम्वाद तथा सहमति समितिले पहिले ६ प्रदेश बनायो। पछि फेरि बाबुरामजीकै अध्यक्षतामा ७ प्रदेश बन्यो। समितिको अध्यक्षको हैसियतले सम्विधानसभामा बाबुरामजी आफैंले पेश गर्नुभयो। यता आफैंले खाका तैयार गरेर पेश गर्नुहुन्थ्यो, अर्कोतिर पश्चिमका थारुहरुलाइ उचालेर यस्कोविरुद्ध आन्दोलन गर्न लगाउनुहुन्थ्यो। उहाँकै पार्टीका केन्द्रीय नेता लेखराज भट्टजीले त, “यसपालि थारुहरुलाइ उचालेकै बाबुरामजीले हो” भन्नुभयो ।
हाम्रा नेताहरु आफूलाइ सार्वभौम नेपाली जनताका प्रतिनिधि ह्वौं भन्नुहुन्छ। तर, दिल्लीमा बोलाएर, “सङ्घीयताको सिमाङ्कन गर” भनेर डिक्टेट गर्नासाथ दायाँबायाँ नहेरी आज्ञाकारी बालक झैं होमटास्क पूरा गर्नुहुन्छ।
दोग्ला राजनीति नेपालमा अतिशय चर्को मात्र हो, नत्र अन्यत्रपनि छ। भारतकै कुरा गरौं। २ हप्ताअघि भारत र पाकिस्तानवीच उच्चस्तरीय वार्ता हुने मिति तय भएको थियो। पाकिस्तानका प्रतिनिधिले बिखण्डनकारी कास्मिरी हुर्रियतका नेताहरुसँग भेट्ने कार्यक्रम राखेको जानकारी पाउनासाथै तय भएको उच्चस्तरीय वार्ता नै रद्द गरिदिए। बिखण्डनकारी नेताहरु नेपालमा पनि छन् । “मैले भनेअनुसार भएनभने अहिल्यै देश टुक्र्याइदिन्छु” भन्ने महन्थ ठाकुर, अमरेशकुमार सिंहहरुले नै लैनचौरमा राजदूतदेखि दिल्लीमा प्रधानमन्त्री, गृहमन्त्रीहरुसँग सबैभन्दा बढी भेट पाइराखेका हुन्छन्। यहाँ जात-जातको राज्य माँगिरहेछन् ।
तर, उता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजी, “सम्विधानमा तिनीहरुको माग पूरा गरेर मात्र सम्विधान जारी गर” भनेर डिक्टेट गरिरहनुभएको छ। तर, आफ्नै गृहप्रदेश गुजरातमा “अत्यन्तै पछाडी परेका पटेलहरुलेचाहीं किन आरक्षण नपाउने ?” भनेर २२ बर्षीय हार्दिक पटेलले राखेको एउटा प्रश्नको जवाफ दिन नसकेर तर्केर बसिरहेका छन्। त्यही भारतको मणिपुरमा २०० बर्षदेखि बसिरहेका नेपालीलाइ दोश्रो दर्जाको हैन, चौथो दर्जाको नागरिक सरह पनि ब्यवहार गरिंदैन। नरेन्द्र मोदीजीकै सल्लाहमा भर्खर १ हप्ताअघि मणिपुर विधानसभाले “इनरलाइन पर्मिट” विधेयक पारित गर् यो। यो लागु हुनासाथ मणिपुरबाट नेपालीहरु लखेटिने निश्चित छ। तेलाङ्गनाभन्दा धेरै वर्ष पहिलेदेखि ‘गोर्खाल्याण्ड’ को आन्दोलन हो। तर, तिशौं बर्षदेखि आन्दोलनरत गोर्खाल्याण्डको आवाजलाइ उहाँहरुले कहिल्यै सम्वोधन गर्नुभएन। सम्वोधन त पर रेस्पोन्स नै गर्नुभएन। यहाँ के-के न गर् यो भनेझैं गरी, भारतका गृहमन्त्री राजनाथ सिंहजी “नेपालको तराईमा भएका एक करोड सबै हाम्रा मान्छे हुन्। तिनीहरुको माग पूरा गराइदिन्छौं” भनेर कुर्लिरहनुहुन्छ ।
जताततै दोग्ला राजनीति चलिरहेछ। फरक यत्ति हो, नेपालमा अचाक्लि बढी दोग्ला राजनीति छ ।




