राजनीतिक अपरेशन

  • आनन्दराम पौडेल

writer-anandaram-paudelनेपालमा शब्दहरुले अर्थ गुमाउँदैगएको स्थिति छ। नेपालका राजनीतिक नेताहरुले राजनीतिक आवरणमा यति बिभत्स, जघन्य, भयङ्कर अपराध गरिरहेछन् कि “क्रिमिनोलोजी (अपराधशास्त्र)” डङ्ग्रङ्गै पछारिएर थला परेको छ। राजनीतिक आवरणमा क्रुर अपराधिक कर्म हुँदा-हुँदा स्थिति यस्तो भएको छकि कुन अपराध हो र कुन राजनीति हो छुट्याउनै नसकिने स्थिति बनेको छ। १८ गते बर्दिया, मैनापोखरमा थरुहटले राजनीतिक भन्दै बन्दुक बोकेर जुलुस निकाल्छन् र देवबहादुर पाण्डेलाइ गोलि हानेर हत्या गरिदिन्छन्। बाँकेको कोहलपुरमा थरुहटका कार्यकर्ता झोलाभरी ढुङ्गा लिएर जुलुस निकाल्छन् र गनापुर-२, प्रिपहवामा २३ बर्षका करणसिंह ठकुरीलाइ ढुङ्गा हानी-हानी मारिदिन्छन्।

थारुहटले टिकापुरमा मच्चाएको भयङ्कर, बिभत्स हत्याको ताण्डव त कहालिलाग्दो छ। जिउँदै जलाएर मारे, लखेटी-लखेटी मारे, भालाले घोची-घोची मारे र प्रहरीको राइफल खोसेर २ बर्षको बच्चालाइ समेत् टाउकैमा ताकेर गोलि हानी हत्या गरे। दिनदिनै यस्ता क्रुर पैचाशिक कर्महरु निर्धक्कसँग  खुल्लेआम भैरहेछन्। हाक्काहाक्की भैरहेछन्। दिनदिनै शृङ्खलाबद्ध भैरहेछन्। सबैभन्दा घीनलाग्दो के भैरहेछभने उनीहरु यसलाइ राजनीति भनिरहेछन्। अब यहाँनिर ज्वलन्त प्रश्न छ, मार्नु, काट्नु, जिउँदै जलाउनु, हत्या गर्नु नै राजनीति होभने अपराधचाहीं के हो ?

तिनीहरुले राजनीतिक आवरणमा यति भयङ्कर क्रुर अपराध गरिरहेका छन् कि राजनीति नै लज्जित भएको छ। नेपालमा आजैको मितिबाट राजनीतिबाट अपराधलाइ नछुट्याउने होभने साँच्चिकै राजनीति गर्नेको लागि स्पेस बाँकि रहने छैन। नेपालमा अघिल्लो पुस्तासम्मले राजनीतिलाइ अपराधबाट अलग्याएर एउटा दूरीमा राख्ने प्रयत्न गरेका थिए। त्यसैले राजनीति सम्मानित थियो। २०२८ सालमा तत्कालीन नेकपा मालेले एकपल्ट झापामा हिंसा गरेको थियो। हिंसा गर्नु गलत थियो भनेर तत्कालै आत्मालोचना गर् यो। २०४३ सालमा नेपाली कांग्रेसले सत्याग्रह आन्दोलन चलायो। सत्याग्रहसँगै जेल भर्ने अभियानपनि थियो।

आन्दोलन उत्कर्षमा पुग्नैलाग्दा रामराजा प्रसाद सिंहले सर्वसाधारण नागरिकहरु जम्मा हुने ठाउँहरुमा बम हान्न थाले। निर्दोष सर्वसाधारण नागरिकहरु अनाहकमा मारिन थाले। रामराजाले यो अनर्थ गरे भनेर नेपाली कांग्रेसले आफ्नो आन्दोलन नै प्याकअप गर् यो। २०४६ सालमा पञ्चायती ब्यवस्थाविरुद्ध भएको आन्दोलन र २०६२-०६३ सालमा राजतन्त्रविरुद्ध भएको १९ दिने आन्दोलनमा पनि हिंसाको प्रयोग भएन। नेकपा माओवादी विद्रोहका कृयाकलाप पनि  २०५८ सालको हिउँदसम्म हिंसात्मक थिएन।  छिमेकी मुलुक भारतमा सन १९२२ मा उत्तरप्रदेशको चौरीचौरामा आन्दोलनकारीको तर्फबाट सामान्य हिंसात्मक कार्य हुनपुगेको थियो। त्यो घटनालाइ गम्भीरतापुर्वक लिएर भारतीय राष्ट्रिय कंग्रेसले तत्कालै बैठक राख्यो र आन्दोलन स्थगित गर्ने निर्णय गर्यो। पश्चातापस्वरुप गान्धी पाँच दिन उपवास बसे। “जनतालाइ आन्दोलनमा आउ त भनियो, तर अहिंसाको सचेतना गराउन सकिएनछ” भन्ने निस्कर्ष उहाँहरुको थियो।

नेपालमा हिंसाको आगोलाइ ह्वार्ह्वार्ति बालेर दन्काउन तीनौटा तत्वले विशेष योगदान पुर् याएका छन्। सर्वप्रथम त २०५८ हिउँदपछि नेकपा माओवादी नै हो जस्ले सर्वत्र हिंसा मात्रै गर्यो र हिंसाबाहेक केही गरेन। जनजीवनमा हिंस्रक संस्कृति स्थापित गर्यो र हिंसामा अभ्यस्त गरायो। दोश्रो गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाजी हुन्। उनीहरुले २०६३ साल बैशाखदेखि १६ महिना हिंसा-हत्या, आतङ्क मच्चाउनेलाइ सम्मान गर्ने र हिंसा नगर्ने सज्जनहरुलाइ तिरस्कार गर्ने एकसूत्रीय अभियान चलाउनुभयो। गुण्डा, अपराधीहरुलाइ राजनीतिक आवरणले ढाकिदिनुहुन्थ्यो र उच्च सम्मान दिनुहुन्थ्यो।

तेश्रो हो, माओवादीले रोपाईं गरेको जातीय विद्वेषको बिषबृक्ष। जातीय विद्वेषको बिष घोलेर उहाँहरुले जात-सम्प्रदायमै एकले अर्कोलाइ घृणा गर्न लगाउनुभयो। एनेकपा माओवादीका केन्द्रीय नेता लेखराज भट्टजीले इमेज एफएममा सरोजसँग वार्ता गर्दै, “हाम्रै नेताहरु सुदूरपश्चिममा आउनुहुन्छ। जनता भेला गरेर, यहाँ असली मान्छे थारु मात्र हुन्। बाँकि पहाडीयाहरु जम्मै शोषक, ठालु, सामन्त हुन् भनेर घोकाउनुहुन्छ”  भनिरहेका थिए। उनले, “जातीय राजनीतिका प्रवर्तक मेरै नेता बाबुराम भट्टराई हुन्। उनले वर्गसङ्घर्षलाइ किनारा लगाए, र जातीय विद्वेषको राजनीतिमा हुले” समेत् भने।

जे होस्, रोग डाइग्नोसिस भैसकेको छ। सर्जनहरुले दह्रो आत्मविश्वासका साथ हात नकमाइ अपरेशन-उपचार गरिदिए पुग्छ।

तपाइँको प्रतिक्रिया