बिदेशका नेपालीपनि जातियरुपमा हुँदैछन् बिभाजित
- बिष्णु पौडेल
प्रसंग १,
केहिदिन अघि बाटोमा हिँड्दै गर्दा एकजना परिचित मित्रसंग भेट भयो । सामान्य कुराकानी, सल्लाह मम खाने । नजिकै थिए दुई मम पसल । दुवै पसल नेपालीद्दारा संचालित । मेरो प्रस्ताब शेर्पा दाईकोमा मिठो मम पाक्छ त्यहि जाउँ । सधैँ त्यहिँ खाएकोले होला । मेरो रोजाई भेज मम । ती मित्र एक छिन बोलेनन् । मैले सोचें, मेरो प्रस्ताव माने होलान् । तर होइन । उनको भनाईमा विरोधाभाष । विभेद, द्दन्दको विजारोपन, जातियताको खाडल भरिएको थियो । भने, जनजातीकोमा पनि कोही जान्छन् । हाम्रै जातकोमा जाउँ । तीनका नेताले हामीलाई दिनहुँ सराप्छन् । उनिहरुले हामीलाई देख्न सक्दैनन् । सहयोग त परै जाओस । तपाईलाई त्यतिपनि थाहा छैन ? उनको प्रश्न थियो मलाई । यो एक प्रश्न संगै सयौ अनुत्तरित प्रश्नहरु सलवलाए मेरो मानसपलटमा । तरंगित भयो सहिष्णुता । एकता । विभाजित भयो राष्ट्रप्रेम, स्वाभिमान । सम्झिएँ इतिहास, घृणा उत्पन्न भयो बर्तमान प्रति । कस्तो संयोग । मेरो नोकिया मोवाइलमा घण्टी बज्यो । गुन्जियो रिडटोन । सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली । उनको नजरमा म हारें । रोजाईको मम पसल गइन । मलाई जनजाती बिरोधी बनाए भनेर सायद मख्ख परे । हाँस्दै हाँस्दै ममको डल्ला चपाए । चीकन मम । ममको खोल वाहिरी दाँतमा टाँसिएको थियो । मैले पनि भनिन् ।
प्रसंग २
डेनमार्कको कोपेनहेगन एयरपोर्ट । समयस करिव एकबर्ष अघि । भेटिए एक अपरिचित मित्र । मंगोलियन बर्णका । उमेर मिल्दो जुल्दो । वोली नेपाली । पहिला कपाल हेरिन्छ अनि आफ्नो मुलुकको होकि भनि अड्कल काटिन्छ । मेरो अनुमान मिलेछ । हामी दुवै जना नेपाली । भाषा, सस्कृति, संस्कार मिल्छ । गन्तव्य फरक फरक थियो । गफ गर्ने प्रसस्त समय थियो करिव १ घण्टा । विदेशिएका नेपालीहरुको गफ देशलाई गाली गर्नवाट शुरु हुन्छ । युरोप यस्तो उस्तो नेपाल यस्तो । देश खत्तम भो । बर्वाद भो । कसैलाई चासो भएन । फलानो पार्टी यस्तो । डिस्कानो नेता यस्तो । लामा थर बताउने ती मित्रले प्याच्च भने ‘देश बिगारेको बाहुनले हो । निर्णय तहमा वाहुन भए सम्म देशको विकास हुँदैन ।’ म पनि त बाहुन हुँ नि । मैले हास्दै भने । तपाई बाहुन भए पनि बाहुनद्दारा पीडित भएर बिदेश आए जस्तो छ । उनि पनि हाँसे । वाहिरी हासो मजाक । भित्र बिडम्बना । पढेलेखेको शिक्षीत युवाको सोच कति विभेदकारी । कति प्रतिशोध । प्रतिकृया केहि जनाइन । प्रतिकृयाले उत्पन्न गर्ने द्दन्द भन्दा एकछिन उनको कुरामा सहि थापेँ । म नर्वे जादै थिएँ उनि फ्रान्स । चौतारोमा एकछिन भेट भो अनि गन्तव्य तर्फ लाग्यौ । ह्यानकारी अलि गरुंगो भए जस्तो छ । बाहुनले ढुंगा पो हालिदिए की ? मैले भनें । उनि हाँसे । हामी छुट्यिौ ।
यी दुई फरक फरक प्रसंग एउटा प्रतिनिधी मात्र हुन । जो मसंग सम्बन्धित थियो । हिजो आज त फलानो जाती, ढिस्कानो जाती भन्ने धेरै सुनिन्छ । विदेशमा त अझ जनजातीले आयोजना गरेको कार्यक्रममा कथित उपल्लो जात ब्रामह्ण नजाने । ब्रामह्णले आयोजना गरेको कार्यक्रममा कथित तल्लो जात नजाने प्रचलन बढ्दै गएको छ । खुलेआम कसैले भन्न चाहँदैनन् । तर यस्तै देखिएको छ । नेपालीहरु समुदाय, भेगको आधारमा बिभाजीत हुने डरलाग्दो परिपाटीको विकास भएको छ । यसवारेमा पछि चर्चा गरौला । अव प्रश्न उठ्छ के हामी विभाजित हुँदै छौ ? के हामी वीचको सहिष्णुताको हराएको हो ? हामी आफैद्दारा संचालित छौ कि अरु द्दारानै संचालित भएका हौ ? कसैको भड्काउमा लागेर जातीयाको नाममा द्दन्द सृजना त गर्दै छैनौ ? नेपाली जनता वीचको एकता फुटाउन उदृत को हो ? हामीवीचको एकता भत्कनै लागेको हो त ?
थारु समुदाय र क्षेत्री वीच भिडन्त, जनजातीको अधिकारको लागि नेपाल बन्द, व्रामह्णवाद मुर्दावाद, अधिकारको लागि आन्दोलन, जातियताको आधारमा प्रदेश छुट्राउनु पर्छ,यस्तै यस्तै समाचारका शिर्षकले भरिन्छन् अखवारका पानाहरु । दिनहुँ आइरहने यस्ता समचारकले मन पोल्ने गरेको छ । त्रास उत्पन्न भएको छ । नेपाली जनताहरुवीचको आपसी मेलमिलापनै खलवल पुराउने तत्वहरुको हावी भैरहेको छ । हाम्रो समाजलाई गन्तव्यहिन, अर्थहिन वाटोतर्फ धकेल्ने काम भइरहेको छ ।
पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तिस वर्णको फुलवारीको संज्ञा दिएका थिए । त्यहि फुलवारी भित्र नेपाली जनतालाई फुटाउने भन्दापनि जुटाउने मालीको खाँचो छ । गोडमेल गर्ने माली होइन तर विडम्बना अहिले समुदायमा साम्प्रदायिता दंगा फैलाउनेहरु दिन प्रतिदिन बढ्दै गएको महसुस गर्न सकिन्छ ।
एउटा वाहुनको छोरो पढेर उच्च पदमा पुग्दा जनजातीको टाउको दुखाई हुनहुदैन । अनि एउटा जनजातीको छोरा निर्णयतहमा पुग्दा वाहुन क्षेत्रिको टाउको दुखाई हुनुहुँदैन । सार्वभौमसत्ता देशमा अधिकार सबैले पाउनुपर्छ । अधिकारको हनन भएमा आवाज चारैतिरवाट सबैको पक्षमा उठ्नु पर्छ । धर्मको नाममा जातपातको नाममा कोहि कतैवाट हेपीने, दुव्र्यहारको शिकार हुनुहुँदैन । पीडितको पक्षमा आवाज उठ्नुपर्छ । पीडकको विरोध हुनुपर्छ । हो त्यहि हो नेपालीको पहिचान । तर बिडम्बना, आज मेरो देशमा त्यो भएको भए सिराहाका दिपकले इनारवाट पानी झिक्न पाउँदैनन् । उसले छोएको पानी चल्दैन । माइली दमनीले वाटो काटे अलछिन लाग्छ । विश्वकर्मालाई देखे साइत पर्दैन । पोखरीमा नुवाए अछुतो भइन्छ । संगै बसेर खाना त के छोए पछि सुनपानीले छर्कनु पर्छ । ठिक विपरित बिष्टलाई देखे साइत पर्छ रे उनिहरुको । अर्को पाटो भष्ट्रचार गर्ने, देश विगार्ने सबै व्राम्ह्ण क्षेत्री । हाम्रो वास्तविकता यहि हो सोच यहि हो । त्यहि सोच अब द्दन्दमा परिणत हुने खतरा बढेको छ । पछिल्ला केहि बर्ष देखि समाज त्यस तर्फ जानेर वा नजानेर धकलिरहेको छ ।
मेचीमा जन्मिएको र महाकालीमा जन्मिएको मानिसले सबैभन्दा पहिला नेपाली हुँ भनेर गर्व गर्न सक्नु पर्छ । त्यसपछि आवस्यक परे वल्ल गरौला जातजातीका कुरा । भिन्न भिन्न भुगोलका नेपालीहरुको सोच पहिला नेपाली हुँ भन्ने हुनुपर्छ । त्यसपछि गरौला प्रदेशका कुरा । यसमा सबैभन्दा बढी प्रभाव सामाजीक संस्कारले पार्छ । मानिस मुलत सांस्कृतिक प्राणी हो । संकृति, धर्म, संस्कार समाजले मानिसलाई सहि वा गलत वाटोमा डोर्याउँछ । सहि वाटोमा डोर्याउनको लागि, सकरात्मक सोच बिकासको लागि संस्कार ठिकहुनु पर्छ । समाज मार्गनिर्देश बन्न सक्नु पर्छ । खैत हाम्रो समाज, खोइत हाम्रो संस्कार । सात आठ बर्षका वालकलाई बन्दमा ढुंगा मुढा हान्न लगाएर कस्तो संस्कारको विकास गर्दै छौ हामी । कुन समाजको परिकल्पना गर्दै छौ हामी ।
एकछिन चाणक्य नितिलाई मनन गरौ । चाणक्यले भनेका छन् ‘समाजले त्यो चिज जसले सर्प र दुर्जनलाई अनुशासित गर्न सक्छ । यदि त्यो समाज नै गलत भयो भने, समाजद्दारा सिकाइने पाठ नै नकरात्मक भयो भने परिणाम पनि नकरात्मक नै आउँछ ।
ढाडमा जनै , निधारमा चन्दन, दिनहु गुम्बा, मस्जित, मन्दिरमा गएर भगवानको पुजा गर्दैमा कोही सादकी बन्दैन । धर्मको रक्षक हुँदैन । यहाँ कुनै धर्मको विरोध गर्न खोजीएको होइन । धर्मले संस्कार सिकाउँछ । संकृति सिकाउँछ । धर्ममा देखिएका नकरात्मक पक्षमा नभई सकरात्मक पक्षलाई उजागर गरि समाज परिवर्तनमा कस्तो भुमिका खेल्यौं त्यस कुराले महत्व राख्छ । व्यक्तिको चरित्रवारे बहस गर्न सकिएला । तर उसको रगतवारेमा बहस गर्न सकिदैन । रगतको जातपात हुँदैन । त्यो त सोचाईमा भर पर्छ । नेपालमा देखिएको सुनिएका र पढीएका धर्म र जातीयताको द्दन्दले थेप्चो नाक र चुच्चो नाक हुने जातीय शत्रु हुन् भन्ने संकेत गर्छ । यसले भबिश्यमा डरलाग्दो विवेदकारी द्दन्दको विजारोपन गरेको अनुमान गर्न सकिन्छ ।
कोहि मर्दा मलामी जाने, खुसी हुँदा संगै हास्ने, दुख साटासाट गर्ने, त्यहि हो नेपालीपन । जातजातीको द्दन्दमा भावी पीडिलाई धकल्नेहो भने कहाँ जाने नेपालीपन खोज्न ? कुन भुगोलमा जाने आत्मियता खोज्न ? के हो जात जातीको मापदण्ड, किन खोजीदै छ जातको आधारमा राष्ट्रियता बिखण्डन पार्न ? सोच्ने बेला आएको छ ।
हो हाम्रो देश जातीय विभेद र छुवाछुत मुक्त छ । मुक्त घोषणा भएको नौ वर्ष वितिसक्यो । छुवाछुत निर्मुल हुन सकेन नै अधिकारको नाममा कतै जातीय लडाई त हुने होइन भन्ने त्रास उत्पन्न भएको छ । जातीयताले राजनितीक, सामाजिक, आर्थिकरुपमानै जरा गाडेको छ । त्यसलाई मलजल गरि आन्दोलनमा केन्द्रित केहि समुदायका अग्रजहरु युद्दको उद्धोष गर्ने जमर्को गर्दछन् । जातीय नारा दिएर राज्यको माग भइरहेको छ । षडयन्त्रका तुनावुना वुनिरहेका छन् । सामाजीक सद्रभाव खलबलाउने प्रपन्च रचिँदै छ । त्यसको शिकार भएका छन् सर्बसाधारण जनताहरु । जातियको खोल ओडेर अधिकारको नारा मन्चन गर्नहरुको भिडहरु शहर, बजार, गाउँतिर झाग्गीदै छ ।
जातीयताको आधारमा उत्पन्न हिनताबोधलाई व्यक्ति बिशेष, समुदायप्रति लक्षित गर्नु मुखर्ता हो । सिकन्दरको दादागिरी र विभाजित नियमलाई अंगिकार नगरौं । जातीयताको नाममा भेदभाब सबैलाई समान दृष्टिले हेरौं । अनि छाती ढक्क फुलाएर नेपाली हौ भनि गर्ब गरौं ।
(पत्रकार पौडेल पोर्चुगलमा बस्छन्)




