जनइच्छा गरियसि

  • आनन्दराम पौडेल

writer-anandaram-paudelपञ्चायतकालकै एउटा घटना याद भयो । रुपचन्द्र बिष्ट राष्ट्रिय पञ्चायतका सदस्य थिए । राजाका प्रमुख सम्वाद सचिव चीरन शमशेरले भेट्न खोजेका छन् भन्ने खबर विभिन्न माध्यमबाट आइरह्यो । रुपचन्द्र बिष्ट भेट्न तैयार भए । भेटघाट गराउनेले चियासँगै मिठाइको जोगाड गरेका थिए । सबैलाइ छुट्टाछुट्टै प्लेटमा मिठाइ र ग्लासमा चिया सर्व गरियो । चीरन शमशेरले आफ्नो प्लेटबाट मिठाई निकालेर रुपचन्द्रको प्लेटमा हालिदिए । रुपचन्द्रले “मेरो भागमा तेरो खुश” भन्दै कडा प्रतिवाद गरे । राज्यसंरचनाको बिषयमा अहिले ट्याक्कै त्यही भैरहेछ । अघिल्लो सम्विधानसभादेखि नै सुदूरपश्चिमका जनता, “हाम्रो ९ जिल्लालाइ नटुक्र्याइदेउ” भनेर बिन्तिभाउ गरिरहेछन् । “यी ९ जिल्लालाइ टुक्र्याउन दिंदैनौं” भनेर लगातार ३२ दिनसम्म आन्दोलन नै भयो ।

यस बिषयमा जनमत वुझौं र जनमतकै आधारमा टुङ्गो लगाउँ भन्ने प्रस्ताव धेरै आयो । तर मोटामोटी सर्भेक्षण गर्दा जब ९० प्रतिशतभन्दा बढी नै जनता अखण्ड सुदूरपश्चिमको पक्षमा देखिए तब जनमतबाट टुङ्गो लगाउने कार्यबाट केही नेताहरु १८० कोणमा फर्किए । त्यस्तै, लुम्बिनी अञ्चलका जिल्लाहरुलाइ एउटै प्रदेशमा राखियोस् भन्ने मागपनि जनस्तरबाट आइरह्यो । यस बिषयमा लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने सभासदहरुसँग वुझ्दा बत्तिसैजना सभासदले जनताको माग अनुसारै हुनुपर्छ भनेर एकमतले सुझाव दिए ।

यहींनिर शीर्षस्थ भनिएका ठालू नेताहरुको सकस हामी वुझ्न सक्छौं । यी स्वयम्भू नेताहरु ठालू, सामन्ती मात्र हैन मत्ताहात्ति जस्तै सर्वसत्तावादी छन् । जनताको आवाज सुनेर र जनभावनालाइ कदर गरेर निर्णय लिने भन्ने त यिनीहरुले सपनामा पनि सोच्न सक्दैनन् । चीरनशमशेरले जस्तै यिनीहरुले पनि आफूखुशी निर्णय लादिदिन्छन् ।  जनताले सोच्ने नै हैन; सोच्ने, निर्णय लिने त हामीले हो भन्छन् । जनताले सोच्नथाले र त्यही अनुसार चल्नुपर्ने भयोभने त हाम्रो पोजिशन खस्केर सर्वसाधारणको हैसियतमा झर्नसक्छ भन्ने मनोबिज्ञान बोकेर बसेका छन् । जनता अघि सरेको र हामी पछि परेको स्थितिको कल्पना पनि गर्न सकिंदैन; सम्झँदापनि पीडा हुन्छ भनेर तर्सिहाल्छन् । यी स्वयम्भू, ठालू नेताहरु भन्दा त २५० बर्षअघिका पृथ्बीनारायण शाह धेरै जनमुखी पाइए । पृथ्बीनारायणले बिराज बखतीलाइ काजी नियुक्त गर्न ठीक्क परेका थिए । तर, जनताले भने कालु पाँडे काजी बनेको हेर्न चाहेका रहेछन् । जनभावनालाइ कदर गरेर पृथ्बीनारायणले कालु पाँडेलाइ नै काजी पद दिए । तर, यिनीहरु जनचाहनालाइ कुल्चेर आफ्नो निर्णय लाद्न उद्यत् छन् ।

तात्ताता र चमत्कारिक नाराले जनतालाइ एकछिन तताउन र अल्मल्याउन सकिन्छ । ती चमत्कारिक नाराले यथार्थ धरातलमा टेक्न नसकेपछि मनै भाँच्चिने गरी मोहभङ्ग भएका घटना अनगिन्ति छन् । साठीको दशकमा चार्ल्स डे गालको शासनकालमा फ्रान्समा माइकल देब्रेको नेतृत्वमा निकै चर्को बामपन्थी युवा विद्रोहको लहर उठ्यो । तिनीहरुको नारा आकर्षक र भाषण चर्को हुन्थ्यो । त्यो तात्तातो उच्छ्वासको राप र ताप क्यूवा, जर्मनी, चीन, वेलायत, इटली, भारत र नेपालसम्म आइपुग्यो । पाकिस्तान समेत् अछुतो रहेन । त्यसैको असर प्रभावले इटालीमा रेड ब्रिगेड जन्मियो । रेड ब्रिगेड उल्कासरी जन्मियो र मरुभूमिमा पानीसरी बिलायो।  माइकल देब्रे सिन्ड्रोमले माओपत्नीलाइ पनि असर ग-यो । आयरल्याण्डका युवाहरु आन्दोलित भए । अक्सफोर्ड बिश्वविद्यालय बिद्यार्थी युनियनका तत्कालीन अध्यक्ष तारीक अली यति प्रभावित भएकि उनले त्यही आन्दोलनलाइ अघि बढाउन आफ्नो सम्पूर्ण उर्जा, शक्ति र सामर्थ्य खन्याए । श्रीलङ्कामा रोहन विजयवीरले धेरै युवाहरुलाइ यही आन्दोलनमा होमे । माइकल देब्रेको आकर्षण भदौको बाढी भएर उर्ल्यो, महाप्रलय नै ल्याउने होकि भनेझैं गरी फैलियो र अन्तमा वस्तीभरी दुर्गन्ध थुपारेर लोप भयो । माइकेल देब्रेलाइ राष्ट्रपतिको सल्लाहकार पदमा आशीन देखेर कतिले आफ्नै आँखाको दृष्टिभ्रम होकि भन्ठाने। आन्दोलनकालमा जोसँग मिठोमसिनो खान पैसा हुँदैनथ्यो,  आन्दोलन विसाएर तिनै व्यक्ति फाइभस्टार होटलमा दिनदिनै कक्टेल डिनर लिईरहेका भेटिनेभए । अक्सफोर्ड बिद्यार्थी युनियनका अध्यक्ष तारीक अली टेलिभीजन प्रोड्युसरको उत्पादक बनेर गुमनाम जिन्दगी विताइरहेका भेटिए ।

सन १९६७ मा भारतको नक्सलबारीमा जन्मिएको कम्युनिष्ट आन्दोलन पनि शुरुमा विद्युत चट्याङ जत्तिकै शक्तिसाली भएर देखापरेको थियो । शुरुमै सगरमाथाको शीखर चुम्ने उँचाईमा पुगेको र व्यापकतामा फैलिंदै गएको नक्शलाइट आन्दोलन वादलको गड्याङगुडुङमै सकियो । ग्रिष्मले सुकाएको धर्तीलाइ एक अञ्जुली पानी बर्षाउन सकेन । गड्याङगुडुङ गर्दै आएको बादल पानी नपर्दै लाखापाखा लागे। अहिले त विद्युतझट्काका अवशेषहरु मात्रै फेला पर्छ ।

आकासै थर्काउनेगरी खरो र नुनचर्को जातीय नारा वोकेर आएका दक्षिणपन्थी अभियानहरु पनि कुनै धर्तीमा जरा नहाल्दै सुकेभने वाँकिपनि झाङ्गिन सकेनन् । शुरुमा भारतले रोपाईं गरेको श्रीलङ्काको तमील विद्रोह टीठलाग्दो कथा बनेर रह्यो । खालिस्तानको सपना छरेर डँढेलोसरी फैलिएको पञ्जावी विद्रोह भिंडरावालेको चिहानमा सदगत भयो । साम्प्रदायिक चिथ्राले लपेटिएको बाल ठाकरेको शिव सेना जातीय विद्वेषको धुवाँ भरिएकोले आफ्नै रागले चाउरिएको मरिच बनेको छ । साम्प्रदायिक घृणाको धारीलो हतियार तिखारेर निस्केका गोरेबहादुर खपाङ्गीले जातीय विद्वेषको पोको २०६२ दशैंमा ज्ञानेन्द्रको हातबाट टीका थापेर वुझाइदिएका थिए । वर्गीय दृष्टिकोणलाइ च्याप्प पक्डेर वर्ग सङ्घर्षलाइ अघि बढाउञ्जेल रूपलाल विश्वकर्माको सर्वाहारा श्रमिक सङ्गठन विस्तार भैरहेको थियो । वर्गसङ्घर्ष छाडेर जातपातमा लाग्नुपर्छ भन्ने मन्त्र कस्ले सुनाइदियो कुन्नि ! उनी त एक्कैचोटी कृष्ण भट्टचन भएर निस्के । साम्प्रदायिक दक्षिणपन्थी बाटोतिर मोडिएपछि रुपलाललाइ जनताले विर्से र सङ्गठनपनि झ-यामझुरुम भयो ।

जुन नेता र शासकले जनताको आवाज सुनेर, जनभावनालाइ कदर गरेर र राष्ट्रको आकांक्षालाइ वुझेर त्यहीअनुसार एक कदम अगाडी बढ्छन्, तिनीहरु युगान्तकारी बन्छन् । जस्ले क्षितीजपारीबाट उदाउनलागेको घाम देख्न सक्दैन, तिनीहरु त्यहीं किनारा लाग्छन् । इजिप्टलगायत खाडी मुलुकका शासकहरुलाइ नपुग्दो केही थिएन । कुबेरको खजानाले ढुकुटी भरिएको थियो । उनीहरुको शव्द भूईंमा झर्न पाउँदैनथ्यो, तामेल भैसक्थ्यो । श्री र ऐस्वर्यले भरिपूर्ण भएरपनि समयसँगै आइरहेको परिवर्तनलाइ महसुस गर्न नसकेवापत लाइबेरियाका कर्नल कद्दाफीले समेत दन्डित हुनुप-यो । सिरियाका राष्ट्रपति एर्सादलाइ एकातिर रुस र अर्कोतिर चीनले सहारा दिएरजसोतसो उभ्याइदिएका छन्, नत्र तिनलाइ पनि जनताले पल्लो किनारामा पुग्नेगरी हुत्याइसकेका हुन् । फ्रान्सका तत्कालीन राष्ट्रपति जनरल देगाल निकै शक्तिसाली शासकमा गनिन्थे । जनताको ढुकढुकी छाम्न नसकेको,गुम्सिएका भावनालाइ निकास दिन नसकेको र समयको पदचाप वुझ्न नसकेवापत सर्लक्क किनारा लाग्नुप-यो । जनताबाट तिरस्कृत तुलसी गिरी जस्ता थोत्रा मान्छे र वासी विचार वोकेर राजकाज चलाउन खोज्दा ज्ञानेन्द्र शुरुबाटै असफल भए ।

जनताबाट टाढिंदै गएपछि कुनैपनि शासक र नेताको चमक हराउन र रङ्ग खुइलिन धेरै समय लाग्दैन । अपूर्व वहुमतले सत्तासिन गराइएका राजीव गान्धीप्रति उत्तरार्धमा वितृष्णा यतिसम्म बढेको थियोकि पछिल्लो निर्वाचन कालमा कांग्रेसी उम्मेदवारहरु नै राजीवलाइ चुनावीसभामा वोलाउन हैनकि नवोलाउन चाहन्थे । बाङ्ग्लादेशको पहिलो आमनिर्वाचन कालमा शेख मुजीवको प्रभाव क्षणिक भएपनि व्यापक थियो । त्यही प्रभावले भोट सोहो-यो । तर, दीर्घकालीन सोच, भिजन र कार्यक्रमसहित नभएकोले निर्वाचनलहर पानीको फोकाभन्दा बढी भएन ।

टिकाउ राजनीति गर्ने होभने जनताको चाहना, भावना र राष्ट्रको आवश्यकता  निरन्तर वुझिरहनुपर्छ । आफ्ना क्षुद्र स्वार्थलाइ थाँति राखेर, पृथ्बीनारायण शाहले झैं, जनताकै इच्छालाइ सर्वोपरी मान्नुपर्छ । “मम इच्छा समोनास्ति जनइच्छा गरियसि” यसैलाइ मूलमन्त्र बनाउनुपर्छ ।

तपाइँको प्रतिक्रिया