दुबै सेना उच्च सतर्कमा, संकेत के ?
देशमा लोकतन्त्र (लोकतन्त्र भन्न मिल्छ यस्तो तन्त्रलाई ?) आएपछि अहिले सबै भन्दा गम्भिर अवस्थामा उभिएको छ देश । माओवादी नेत्रित्वको सरकारले सेना प्रमुख रुक्मांगत कटुवाललाई वर्खास्त गर्ने योजना बनाएपछि देश झन डरलाग्दो संकट तर्फ उन्मुख भएको छ । आफुलाई बर्खास्त गरिएमा त्यसलाई अवज्ञा गर्न प्रधान सेनापती रुक्मांगत कटुवालले सबै उच्च सैनिक अधिकारीहरुलाई निर्देशन दिएका थिए । उनले आफ्नो मातहतका उच्च अधिक्रितहरुलाई उच्च सतर्कमा रहन ठाडै आदेश दिएका हुन् । त्यसको अर्थ सरकारले कटुवाललाई वर्खास्त गरेको अवस्थामा त्यसलाई पुरै अस्विकार गर्ने पक्षमा थिए ब्यारेकमा सैनिकहरु । सरकारले त्यसमा के निर्णय गर्ला भन्दै माथिल्ला तहका अधिक्रितको निर्देशन पर्खेर बसेका थिए ।
रक्षा मन्त्रालयनै आफ्नो हातमा रहेपछि माओवादीले त्यसको पत्तो नपाउने कुरै भएन । कटुवालको यो निर्देशन पत्तो पाउनासाथ माओवादीले त्यसलाई नेपाली सेना माओवादी बिरुद्द परिचालित हुन सक्ने संकेतका रुपमा लियो । अनि शुरु भयो माओवादी जन सेनाका कमाण्डरहरुकोपनि सैनिक शिविरहरुमा दौडधुप । उनीहरुले नेपाली सेना माओवादी सरकार बिरुद्द जाईलाग्ने अर्थमा हेरे । सेना प्रमुख कटुवाललाई बर्खास्त गर्दा त्यसलाई अवज्ञा गर्ने सैनिक योजनालाई सैनिक शासनको शुरुवातको रुपमा हेर्ने पनि छन् । माओवादीलेपनि संभवत त्यहि रुपमा हेरे । जे होस त्यो एउटा डरलाग्दो परिस्थिति भने हो नै ।
पहिले देखिनै टक्कर दिँदै आएको नेपाली सेनासित माओवादी जन सेना पो किन हट्थ्यो ? झन आफैंमाथि जाईलाग्ने नेपाली सेनाको संकेत बुझेर अहिले जनसेनापनि सबै शिविरमा उच्च सतर्कतामा बसेका छन् । उनीहरुका कतिपय शिविरका कमाण्डरहरु समेत हेरफेर गरिएको रहेछ । उनीहरु अब नेपाली सेना कुनैपनि बेला आफ्नो पार्टी र लोकतन्त्रका बिरुद्द परिचालित हुन सक्ने भन्दै फेरि अर्को युद्द लड्नुपर्ने मानसिकताकासाथ तयारीमा बसेका छन् । उनीहरु अन्तिम क्रान्तिकालागि भनेर तयारिमा रहेको आजै प्रकाशित नयाँ पत्रिका दैनिकले जनाएको छ ।
ब्रिहद शान्ति संझौता पश्चात संयुक्त राष्ट्र संघको निगरानीमा आफ्ना हतियारहरु बाक्सामा थन्क्याएर अस्थायि शिविरमा बसेको जन सेनालाई उत्तेजित पार्न उच्च सतर्कताको धम्कि दिएर त्रसित पार्न खोज्नु नेपाली सेनाको सैन्य उन्मादी हो । ब्रिहद शान्ति संझौता भत्काउन बल पुर्याउनु हो । शिविरमा बसेका जनसेनालाई शिविरबाहिर निकाल्न उक्स्याउने प्रपञ्च हो । नागरिक सर्बोच्चतामाथिको कुठाराघात हो । लोकतान्त्रिक मूल्य, र मान्यता माथिको आक्रमण हो । अनि गणतन्त्र को गाँटी निमोठेर फेरि तानाशाही ब्यवस्था फर्काउने कुचेष्टा हो । नत्र देशको चौतर्फी सिमा मिचिँदा रमिते बनेर बस्ने नेपाली सेनाको रित्तो हात र हतियार बिहिन अवस्थामा बसेक जनसेनालाई संकेत गरेर उच्च सतर्कता भन्दै सैन्य उन्मादी देखाउनुको तुक के ? सरकारको एक अंगका रुपमा रहेको नेपाली सेनाले उच्च सतर्कता भन्दै सैन्य उन्मादी देखाएपछि जनसेनालेपनि उच्च सतर्कता अपनाएको देखिएको छ । आफ्ना हतित्यार बुझाएर निशस्त्र अवस्थामा रहेका जनसेनामाथि हतियारले सुसज्जित सेनाले आक्रमण हुनसक्ने संकेत गरेपछि जनसेनाले आफ्नो सुरक्षार्थपनि सतर्कता अपनाउनु जरुरि हुन्छ नै ।
यि घटनाले के संकेत गरेका छन् भने देशमा वास्तबिक लोकतन्त्र र नागरिक सम्प्रभुता स्थापित अझै भएको छैन । नेपाली सेना अझैपनि लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्न तत्पर छैन । उ नागरिक सत्ता भन्दा कुनै एक ब्यक्ति बिशेषका लागि मरिहत्ते गर्छ । जेहोस, नेपालको शान्ति संझौता एक पटक फेरि भंग हुन सक्छ कि भन्ने चिन्ता भने अहिलेको अवस्थाले स्पष्ठै संकेत गरेको छ । झन् लोकतान्त्रिक गणतान्त्रिक संबिधान बेलैमा बन्ने त परि जाओस संबिधान नै नबन्ने अवस्थातिर देश अगाडि बढ्दै छ । र कतिपय विश्लेषकहरुले त देश तथा बिदेशका खसगरि भारत र अमेरिकाको आडमा गणतान्त्रिक संबिधान बन्नै नदिने षडयन्त्र भैरहेको संकेत गरेका छन् ।




