हिन्दू धर्मका हतियारधारीलाई सरकारी सुरक्षा, दलितमाथि लाठी प्रहार गर्ने यो राज्य कसको ?

attact-dalit-hindu-protest

(माथिल्लो तस्विर, हिन्दू राज्यको माग गर्दै नेपाली कांग्रेस नेता खुमबहादुर खड्काले गरेको हतियार जुलुस। तल्लो, दलितहरुले गरेको जुलुसमा प्रहरीको लाठीले घाइते दलित आन्दोलनकर्ता अस्पत्ताल भर्ना । पहिलो फोटो, अन्लाईन खबर र दोस्रो नरेन्द्र जंग पिटर)

भ्रस्टचारको गन्धले सारा जगतमा डङ डङ गन्हाउने भएपछि कांग्रेसका भ्रस्ट नेता खुमबहादुरले अर्को चोला फेरे । एकापट्टि कांग्रेसको चार तारे झण्डा । अर्कोतिर अतिबादी हिन्दू राजयको वकालतको झण्डा । चार तारे झण्डमुनि गोलबन्द हुँदा गन्हाएपछि नयाँ संविधानमा हिन्दू राज्य हुनुपर्छ भन्ने नयाँ भेषमा उनी उत्रिए । किनभने राजनितिक अनुहार, साख र गरिमाले उनको अनुहार पोतिएको थियो । कालो धब्बा लागेको उनको भ्रस्ट अनुहारले अब राजनितिक साख र सामर्थ्य राख्न सक्दैनथियो । त्यसैले चोला फेर्नु थियो । कुनै न कुनै रुपमा । ट्याक्क मौका जुर्‍यो, नयाँ संविधानको खोस्टोमा हिन्दू राज्यको लिखत गराउने । धर्मको नयाँ आवरणमा उत्रिएका उनले राजधानीमा बडेमाका खुँडा उचाले । भाला बोके । खुकुरी उध्याए । तरबार तेर्साएर बाटो अबरुद्द पार्दै जुलुस निकाले । खुम बहादुरको पत्रु सरकारले उनका खुँडा र भालाहरुलाई संरक्षण दियो। तर यता वर्षैं वर्षदेखि हेपिएका, पेलिएका, थिचिएका र यो राज्यमा अपमान मात्रै झेलेका दलितहरुमाथि लाठा बर्सायो । टाउकाहरु फुटाए । विषालु ग्याँस हानेर इन्तु न चिन्तु पारियो । यसले प्रश्न उठाएको छ, यो सरकार कसको हो ? यो सरकार कुन धर्म, वर्ग, जात र समूदायको हो ?

दलितहरुले राज्य मागेका थिएनन् । लोइमुता प्रधानमन्त्री नामका मूर्तीको कुर्ची हडप्न गएका थिएनन् । एमालेको दरबारमाथि अधिकार मागेका थिएनन् । र थिएनन्, कांग्रेसको पार्टी कार्यालय कब्जा गर्न गएकापनि । तिनले राज्यले दिएको सुबिधा, आफूले लडेर ल्याएको गणतन्त्रको न्युनतम अधिकारको टेको टेकेरै सडकमा शान्तिपूर्ण आन्दोलन गरेका थिए । तिनको आन्दोलन शान्त थियो । भद्र थियो । शालिन र मर्यादितपनि थियो । तिनले यो देश हाम्रोपनि हो, यो देशका हामी दलितपनि नागरिक हौं । हामीलाईपनि समान भएर बाँच्न देउ । एक अर्काले सम्मान गर्ने आधार बनाइदेउ । हामीलाईपनि सम्मानित भएर बाँच्ने, समान भएर हिँड्ने, मानव भएको अनुभूती गर्ने रहर छ । हामीलाइपनि यो देश भनेपछि सबैको साझा भनेर गौरव गर्ने धोको छ । सिंगो राष्ट्रलाई एकै धागोमा उनेर सिउने आकांक्षा छ । त्यो सुनिश्चितता राष्ट्रले गरिदेओस् ।

हामी दशकौं देखि ठगियौं । दशकौं देखि हेपियौं । हामीलाई मान्छेकै ब्यवहार गरिएन । सर्वजनिक धारा, इनार र , कुवामापानी खानपनि पाएनौं, मन्दिर गएर ढोग्नपनि दिँदैनन् । हिन्दू धर्मकै अहंकारबादी शामान्त र धिन्दू धर्मका अभियन्ता भन्नेलेनै हेपे । समाजमा हाम्रो शिर सधैं झुक्यो । यस्तो बेमेलता रहेसम्म, यस्तो अत्याचार बिद्द्मान भएसम्म, यस्तो अपमान र अपहेलना हामीले सहनु परेसम्म हामीले चाहेरपनि कसरि नेपाल सबैको साझा बन्छ ? कसरि हामी साझा नेपाली भन्न सकौंला ?

हामीलाईपनि समान बन्ने रहर छ। हामीलाई सामाजिक न्याय देउ । बास दलितले गरेको अपराध हो भने यत्ति हो । तिनले गरेको अर्को जघन्य अपराध, सिंह दरबारमा तिनैकालागि बन्न लागेको भनेर सुनाएको संविधानमा आफ्ना कुरा सुनाइदिनु थियो । तिनको गल्ती भनेको तिनका घरघर पुगेर तिनका समस्या बुझ्नुपर्ने सरकारलाई सिंहदरबार अगाडि पुगेर तिनैका कानमा फुकिदिनु थियो । जनताका घर पुग्दा सरकार, बामदेव ज्यु, सुशिलादालाई कष्ट होला भनेर त्यो कष्टपनि हटाइदिने प्रयास गर्नु थियो ।

यत्ति अधिकार मागेर सडकमा शालिन तरिकाले जुलुस निकाल्दा वामदेव जस्ता भ्रस्टका सुरक्षाकर्मीले तिनको हुर्मत लिए । सुशिल कोइरालाको सरकारले टाउको फुटायो । महिलाहरुका गर्धनमा हानेर रगतको धारा बगाइदियो । सडक र पेटीमा हिँडेकालाईपनि खोजि खोजि दागा धारियो । लघारियो । के यस्तो अत्याचारी सरकार आम नेपालीको बन्न सक्छ ? हिन्दू धर्मका नाममा हतियारधारीलाई संरक्षण गर्ने तर शान्तिपूर्ण जुलुसपनि गर्न नपाउने दलितहरुकोलागि यो सरकार रहन सक्छ ?

खुम बहादुरले हिन्दू राज्यका नाममा गरेको जुलुस र आन्दोलन हिन्दू धर्मको भलाईका लागि होईन । एकातिर समाजमा हिन्दूका नाममा बली दिने, अछुतहरुलाई धारोपानीमा बन्चित गराउने । राज्य त्यसको संरक्षक बन्ने । वा मुकदर्शक भएर बसिदिने । त्यस्ता अमानबिय कर्महरुका बिरुद्द खुम बहादुर र तिनका पिछलग्गुहरुले एक शब्दसम्म नबोल्ने । तर समाजमा अपहेलित, दमित, अछुत र दलितहरुले समानताको लागि राज्यसित हक र अधिकार माग्दा लाठी खानुपर्ने यस्तो सरकार आम नेपालीको हुन सक्दैन । कुनै एक धर्मको संरक्षक बन्ने यस्तो राज्य आम नेपालीको आफ्नो हुन सक्दैन । दलितहरुले बोल्नसम्म नपाउने, बोलेकै भरमा टाउका फुटाल्ने कांग्रेस र एमालेको यो अत्याचारी, कुनै एक धर्मको पोषक सरकार सबैको सरकार बन्न सक्दैन ।

कोइराला र बमादेवको लाठीले हिन्दू धर्मकै पक्षधर दलितहरुको टाउको फुटाएको छ । आफ्नै धर्म, आफ्नै राज्यले कुनै जातको संरक्षण गर्ने, अर्को जातमाथि अपमानित गर्न बल पुर्याउने यस्तो सरकार कसले मान्छ ? एउटै देशका नागरिकमाथि यस्तो बिभेद गर्ने सरकार किन मान्ने ?

नेपालको अन्तरिम संविधानलेपनि सार्वजनिक रुपमा हातहतियार लिएर उत्रन पाइन्न । त्यसलाई सामाजिक अपराध अन्तर्गत राखेको छ । खुम बहादुरको हतियारधारी जुलुस राज्यको कानुन बिरुद्द हो । सजाएँ खुम बहादुरका जुलुसधारीले पाउनुपर्ने थियो । आफ्ना हक अधिकारका लागि शान्तिपूर्णरुपमा सभा सम्मेलन र जुलुस गर्न, सरकारसित माग राखेर आन्दोलन गर्न पाउने अधिकार अन्तरिम संविधानलेपनि दिएको छ । तर संविधानका सबै प्राबधानलाई चपरीमुनी पुरेर कांग्रेस र एमालेको सरकारले नागरिक अधिकार कुण्ठित गरेको छ । कुनै धर्मकालागि सारा छुट दिएर धार्मिक असहिष्णुता मच्चाउन प्रेरित गरेको छ । धार्मिक रुपले सहिष्णु आम नेपालीकालागि यो पाच्य हुन सक्दैन । यस्तो कुनै एक धार्मिक पक्षधर सरकार हिन्दू राज्यका पक्षधर बाहेक, आम नेपालीको हुनै सक्दैन । आफ्ना नागरिकमै बिभेदपूर्ण ब्यवहार गर्ने सरकार दलितहरुको हुन सक्दैन । सरकारले यहि करतुत जारी राखेमा बाध्यतालेपनि दलित र तिनका पक्षधरहरुसित यो सरकारका बिरुद्द सबैखाले आन्दोलन गर्ने बाहेक अर्को बिकल्प नरहन सक्छ ।

तपाइँको प्रतिक्रिया