आशा जनतामै

  • आनन्दराम पौडेल

journalist-ananda-ram-paudel-32345२५ बर्षअघि दक्षिण अफ्रिका गोराहरुको एकाङ्गी शासनबाट मुक्त भयो । नयाँ सम्विधान निर्माणमा जुटे । त्यसबेला जनताबाट एकलाखभन्दा बढी सुझाव प्राप्त भएको थियो । जस्ले सुझाव पठायो, त्यस्को घरमा पत्र जान्थ्यो । “तपाईंले पठाउनुभएको सुझावलाइ सम्विधानको यति नम्बर दफामा राखियो” भनेर जानकारी दिन्थे । कसैलाइ पठाएको पत्रमा “तपाईंको सुझावको मर्म र भावना यति नम्बर दफामा समेटिएको छ” भनेर लेखिएको हुन्थ्यो । तर, हाम्रो नेपालमा त जनतालाइ पटक्कै महत्व नदिने भयङ्कर रोग नेताहरुलाइ लागेको छ ।

दुनिञालाइ देखाउनको लागि सम्विधानको सुझाव मागियो । शुरुबाटै जब नेताका क्षुद्र स्वार्थविपरितका सुझावहरु मात्र आउनथाले त्यहींबाटै नेताहरु तिलमिलाए । सङ्घीयता आवश्यक छैन । भएपनि ३ प्रदेशभन्दा बढी हुनुहुँदैन । निर्वाचनमा थ्रेसहोल्ड राख्नुपर्छ जस्ता सुझावहरुको ओइरो देखेर उकुसमुकुस नै भए ।

नेपालका नेताहरुसँग लोकतान्त्रिक सोच नै छैन । न त राजनीतिक संस्कार छ । लोकतन्त्रले त उत्कृष्टताको खोजी गर्छ । समृद्ध राष्ट्र तथा सभ्य र सुसंस्कृत समाजको निर्माण गर्छ । सुशासन र न्यायको पक्षमा हुन्छ । जनताको स्वाशप्रस्वाश र मुटुको ढुकढुकीमा रहन्छ । नेपालका नेताहरु चरम सामन्ती छन् । जनतालाइ हेप्छन् । राष्ट्र, देश र जनता सधैं असान्दर्भिक हुन्छ ।

कागजमा लोकतन्त्र प्राप्त गर्नुभन्दा प्राप्त लोकतन्त्रलाइ व्यवस्थापन गर्ने, लोकतान्त्रिक संस्कृति निर्माण गर्ने तथा त्यस्लाइ जीवनपद्धतिमा उतार्ने कामचाहीं महान रहेछ । प्राप्तिको लागि गरिने सङ्घर्ष र वलिदानमा जति गौरवको अनुभूति हुन्छ प्राप्तिपछि पाइने धोकाले त्यस्को चौगुना पीडा दिंदोरहेछ ।

नेपालमा २००७ साल, २०४६ साल र २०६२-६३ सालमा जनताले लोकतन्त्रको लागि वलिदानी सङ्घर्ष गरेका हुन् । २०४६ चैत २४ गते पाटन र भक्तपुरबाट उर्लेको जनसागर र २०६२-६३मा १९ दिनको जनमहासागरले विश्वक्रान्तिकै इतिहासमा उच्चस्थान प्राप्त गरेका हुन् । तर, प्रत्येक क्रान्ति र आन्दोलनले जनतालाइ मझधारमै छोडेर हिंड्यो र नेता तथा ठालूहरुलाइ मात्र लाभ दियो ।

फ्रान्समा १७८९ मा प्राप्त भएको लोकतन्त्रलाइ नेताहरुले आफ्नै स्वार्थ र मनोमानिमा प्रयोग गरे । क्रान्तिपछिको परिवर्तनलाइ क्रान्तिकालका नेता भनिएका रोब्सपियर र ज्याकोवाइनले एकलौटी गरे । रोब्सपियर भन्थे, “हामी क्रान्तिकारी ह्वौं । तसर्थ, हामीले जे सोच्छौं त्यही नीति हुन्छ र हामीले जता देखाउँछौं राष्ट्र त्यतै हिंड्छ । क्रान्तिकारीका लागि मानवीय र विवेकशील बनिरहनुपर्ने जरुरत छैन । क्रान्ति गरेर आएको नेता जतिसुकै क्रुर, कठोर र अमानवीय भएपनि त्यस्लाइ क्रान्तिकै विशेषता सम्झनुपर्छ ।” फ्रान्सका जनताले लोकतन्त्र चाहेका थिए र त्यसैको लागि क्रान्तिमा होमिएका थिए, तर नेताहरुले त्यो परिवर्तनलाइ आफ्नो कव्जामा राख्न खोजे ।

नेपालमा २०४६ साल चैत २६ गते पछिको र २०६३ बैशाख ११ पछिको स्थितिलाइ त्यसवेलाको फ्रान्सको स्थितिसँग तुलना गर्नेहोभने सारमा फरक भेटिंदैन । २०६२-६३को आन्दोलन नेपाली समाजलाइ जात-जातमा विभाजित गरेर भिडाउनको लागि भएको थिएन । राष्ट्रिय वहस गराउनुपर्ने राज्यसंरचनाको महत्वपूर्ण बिषय “सङ्घीयता”लाइ मूलद्वारबाट प्रवेश गर्न नदिई जस्केलाबाट छिराउनु भनेका थिएनन् । सम्बिधानसभामा समेत् छलफल नगराई पहिलो बैठकको शुरुमै एकघण्टाभित्र अनुमोदन गराउने हतार गर्नुपर्ने थिएन । त्यतिमात्र हैन २०६३पछि आफ्नो अनुकूल हुनेगरी गरिएका लोकतन्त्रको अपव्याख्या झन् डरलाग्दो छ । आफूले जे मनलाग्छ ग-यो र यही हो जनताको चाहना भन्यो । जस्ले प्रश्न उठाउँछ त्यस्लाइ ठाडै सङ्घीयताविरोधी भनिदियो र सङ्घीयताविरोधी भएकोले अग्रगमनविरोधीको कित्तामा हालिदियो, खलास भैगयो ।

१७८९ पछिको फ्रान्समा रोब्सपियरपनि आफूलाइ क्रान्तिनायक भन्थे । उत्तेजक भाषण गर्थे, रक्तपिपासु थिए, रक्तपातको लागि जनतालाइ उचाल्थे । विरोधीलाइ सखाप पार्नु नै राजनीतिक स्थीरताको आधारशीला हो भन्थे र रगतको खोलो बगाउनुलाइ आत्मगौरवको बिषय हो भन्थे । उनको निरन्तरको प्रचार र प्रशिक्षणले गर्दा जति बिध्वङ्स मच्चायो त्यति अग्रगमन हुन्छ भनेर जनताले सोच्न थालिसकेका थिए । तर, १० बर्षको अन्तरालमै धेरै भ्रमका पर्दा च्यातिन थाल्यो । सन १७९४ जुलाईको एकदिन रोब्सपियर एउटा सभामा भाषण गर्दैथिए । त्यहीं उनकै सहयोगीले एक्कासि रोब्सपियरविरुद्ध नारा लगाए । उनले नारा लगाउनासाथै सवै रोब्सपियरविरुद्ध खनिए र सिटीहलमा लगेर थुने । भोलिपल्ट अर्द्धमुर्च्छित अवस्थामा फेला परे । नेपालमा पनि स्वार्थको सैद्धान्तिकरण, अपव्याख्या र कुतर्क रोब्सपीयरको भन्दा कम छैन ।

अवको लोकतन्त्रमाथि खतरा कुनै राजा, सम्राट वा सेनाबाट हैन आन्दोलनबाटै आएका भनिएका नेताहरुबाट हुनेछ भनेर ‘दि थर्ड वेभ’का लेखक स्यामुयल पी. हटिङ्गटनले ठीक भनेका रहेछन् । तर, नेपालका जनता सचेत र जागरुक भैसकेकाले नेताले एकलौटी गर्न सम्भव नहोला, आशा गरौं ।

तपाइँको प्रतिक्रिया