पोलिटिकल कल्चरको अपेक्षा

  • आनन्दराम पौडेल 

writer-anandaram-paudelएमाले पार्टीपनि छ भन्ने सामान्य हेक्कासमेत् नराखेर, उस्को अस्तित्वलाइ नै नकारेर र एकलौटी तवरले बजेट तर्जुमा गरेको भनेर नेकपा एमाले कांग्रेससँग रिसाएको छ । अत्यन्त सम्वेदनशील बिषयमा चोट पुग्नेगरी गरिएका व्यवहार हेर्दा एमालेको यो प्रतिकृया जायज देखिन्छ । मध्यपहाडी लोकमार्गलाइ पुष्पलाल मार्ग भन्नथालेको धेरै बर्ष भैसकेको थियो । हरेक आर्थिक बर्षका बजेट-कार्यक्रममा ‘पुष्पलाल’ शब्द नै उल्लेख हुन्थ्यो र जनजिब्रोमा समेत् बसिसकेको थियो । खास कुनै कारणले डा. रामशरण महतलाइ पुष्पलालप्रति द्वेष हुनसक्छ । आफूले द्वेष गरिराखेको व्यक्तिको नाम देख्नासाथ उहाँलाइ झोक चल्नु स्वाभाविकै हो । झोक पोख्ने ठाउँ अन्यत्र नपाएपनि त्यहाँ मौका पाउनासाथ त्यो नाम तुरुन्त केरिदिनुभयो । पुष्पलालको नाम काटिदिनु, मदन भण्डारी र हरि खँड्कामा के नै अन्तर छ र ? भन्ने भान पार्नु यो सबै सङ्कीर्ण राजनीतिको अभिव्यक्ति मात्र हो ।

यस्मा रामशरण महतजीको मात्र दोष छैन । नेपालको समग्र राजनीतिक अभियान नै रियाक्टिभ छ र पार्टीनेताहरु निषेधको राजनीति गर्न अभ्यस्त छन् । राजनीतिक अभियानकै बिषयमा केन्द्रित हुने होभने २००७ सालको क्रान्ति राणाशासनबिरुद्ध थियो । २०४६ सालको आन्दोलन पञ्चायतीव्यवस्थाबिरुद्ध र २०६२-०६३ को जनआन्दोलन राजतन्त्रबिरुद्ध थियो । यी सबै रिएक्टिभ आन्दोलन थिए । प्रोएक्टिभ आन्दोलन हुँदाहुन् त क्रान्ति वा आन्दोलन कसैको बिरुद्ध नभएर लोकतान्त्रिक राष्ट्र निर्माणको लागि हुन्थ्यो । राणा वा पञ्चायत वा राजा त लोकतान्त्रिक अभियानको लागि बाधक भएकोले मात्र फाल्नुपरेको भनिन्थ्यो । अभियान नै रियाक्टिभ भएकोले राणा शासन ढल्नासाथ, पञ्चायत हट्नासाथ र राजतन्त्र पन्छिनासाथ अभियानले अन्तिम बिसौनीमा पुगेर लक्षप्राप्त गरेको ठाने । प्रोएक्टिभ हुन्थ्योभने त्यहाँबाट अभियानले झन् गति पक्डनुपर्थ्यो ।

प्रोएक्टिभ अभियान सृजनात्मक हुन्छ। कल्पनाशील हुन्छ । गतिशील हुन्छ। सृजनात्मक नवीन प्रयोगको उपलब्धीमा रमाइरहेको हुन्छ। तर, रिएक्टिभ अभियान ध्वङ्सात्मक हुन्छ । सधैं अरुको रिस गरेर बस्छ । यो “जीरो सम गेम” सिध्दान्तमा आधारीत हुन्छ । “जीरो सम गेम” अर्थात् त्यसको नाश मेरो प्राप्ति, त्यस्को पतन मेरो उत्थान र त्यस्लाइ सिध्याउनु नै म हुनु हो । यही सिध्दान्त अनुसार २०४७ सालमा कांग्रेस र एमाले पार्टीहरु पञ्चायत शब्द नामेट गर्दैथिए । आक्रोश पोख्ने ठाउँ अन्त नपाएर अक्षर र शब्दमाथि पो पोख्दैथिए । रिएक्टिभ अभियान सार र अन्तर्वस्तुमा प्रवेश गर्न नसक्ने भएकोले रुपमै अल्मलिन बिबश हुन्छ । २०६३ र २०६४ सालमा माओवादी पार्टी सबै काम छाडेर पृथ्बीनारायण शाह, वैदिक सनातनी हिन्दू धर्म र पहाडे बाहुनहरुमाथि अरिङ्गालको गोलोसरी खनिएका थिए । पृथ्बीनारायण शाहको शालीक तोडिरहेका थिए ।

अर्को समस्या के छभने पार्टीनेताहरुसँग पोलिटिकल कल्चर छैन । भन्नलाइ त सामन्ती राजालाइ फाल्यौं भन्छन्, तर यथार्थमा यिनीहरु आफैंपनि महासामन्ती नै छन्। यिनीहरु झन् चर्का अहङ्कारी छन् । यिनीहरुमा कोलिशन कल्चर पनि छैन । कोलिशन कल्चर नहुनुको प्रमुख कारण के होभने यिनीहरुसँग टीम स्पिरीट र टीम कल्चर नै छैन । कोलिशन कल्चर हुँदो हो त राजस्वको खण्डबाहेक बजेटको बाँकि भाग सरकारमा सँगै रहेको पार्टीलाइ देखाउनु र राय, सल्लाह र सुझाव प्राप्त गर्नु कुनै कठिनाईको बिषय हुँदैनथ्यो । अर्को पक्षको सुझाव ग्रहण गर्ने बानि हुन्थ्योभने बृद्धभत्तासँग मनमोहनको नाम गाँसिदिएर कसैलाइ हानिनोक्सान गर्दैनथ्यो । निषेधको राजनीति कतिसम्म तुच्छ र सङ्कीर्ण हुन्छ भन्ने यो लक्षण हो ।

बिषय सामान्य भएपनि च्वास्स बिझ्नेगरी सम्वेदनशीलतामा घोचिहाल्नु पनि हुँदैन । सम्वेदनशीलताको ख्याल गरेको हुन्थ्योभने एमालेका नेताले ऐया…आत्थु गरिरहेकै बेलामा रामचन्द्र पौडेलले रोष्ट्रममा उभिएर, “मदन भण्डारी त के हुन् र ? हरि खँड्काको मृत्यु हुनासाथ उहाँको गाउँमा म पुगेको थिएँ । उहाँको टोल र समुदायमा उहाँलाइ सम्झने मान्छे कत्ति भेटें” भनेर आलो घाउमा नुनचुक थप्ने काम गर्दैनथे ।

कोलिशन गभर्नमेन्ट बनाएपछि कोलिशन कल्चरको अभ्यास गरुन्, नेताहरुले व्यवहारमा पोलिटिकल कल्चर देखाउन्, सृजनात्मक राजनीति गरुन्; जनताले यहाँभन्दा बढी केही चाहेका छैनन् ।

तपाइँको प्रतिक्रिया